पानी विश्वकप !

डर के पनि छ भने पानी परेर थप केही खेल रद्द भयो भने सेमिफाइनल पुग्ने समीकरणमा सबैभन्दा हाबी पानी नै हुनेछ, टिमको प्रदर्शन होइन । प्रतियोगिताको अन्त्यमा विश्वकप कसले जित्यो भन्दा वर्षाले भन्दा मज्जा त आएन नै !
हिमेश

सबैभन्दा पहिला एउटा कल्पना  । पानी परेपछि पनि फुटबलमा जसरी खेल चलिरहन्छ, त्यसरी नै क्रिकेटमा खेल भइरह्यो भने के होला ? यति कल्पना गर्न पनि गाह्रो छ किनभने क्रिकेटमा पानी पर्‍यो कि खेल रोकिन्छ  ।

पानी पर्दै गर्छ, क्रिकेट चल्दै गर्छ भनेर कसैले भन्न सकेका छैनन् । यस्तो हुँदो हो भने कि त बलिङ गर्ने टिमलाई धेरै फाइदा हुन्थ्यो कि ब्याटिङ गर्ने टिमलाई ?


क्रिकेटको एउटा आधारभूत सिद्धान्त हो, बलिङ र ब्याटिङमा सन्तुलन हुनुपर्छ । फेरि पिच आफैंले पनि बेसरी झिज्यो भने गर्ने व्यवहार कस्तो हुँदो हो, त्यसबारे पनि भन्न सकिन्न । यो सबै हावादारी कल्पना किन भन्दा वर्षाले सबैभन्दा कुनै एक खेललाई बढी सताएको छ भने त्यो क्रिकेट नै हो । क्रिकेटलाई सधैं एउटा डरले सताइरहन्छ, पानी परेपछि के गर्ने ? रमाइलो के भने क्रिकेट खेलकै जन्म त्यो देशमा भएको छ, जहाँ अरूतिरभन्दा बढी पानी पर्छ ।


भनिन्छ, इंग्ल्यान्डमा कति बेला पानी पर्छ र कहाँनिर पानी पर्छ, टुंगो नै हुन्न । त्यहाँको मौसम साह्रै बदमास छ, त्यसैले त कुनै बेला कमेन्ट्री गर्दै नवजोत सिंह सिद्धु भन्थे, “इंग्ल्यान्डको ‘मौसम’ र श्रीमतीको ‘मुड’ को कहिल्यै भर हुन्न ।” अहिले यो सबै चर्चा किन भन्दा क्रिकेटको वान–डे विश्वकप चलिरहेको छ र यो संयोगले इंग्ल्यान्डमै भइरहेको छ । यति बेला विश्वकपको सबैभन्दा ठूलो मुद्दा बनेको छ, वर्षा । अहिले लिग चरणका खेल भइरहेका छन् र त्यसको तीन खेल वर्षाकै कारण कुनै पनि बल नफ्याँकेर रद्द भएको छ । अर्को एउटा खेलमा केही क्षण खेल त भयो, तर त्यो पूरा हुन सकेन् ।


इतिहासले के भन्छ भने यति धेरै खेल रद्द भएको यो नै पहिलो विश्वकप हो । सन् १९९२ र २००३ का विश्वकपमा दुई दुई खेल मात्र वर्षाले हुन सकेका थिएनन् । खास भन्ने हो भने यसपल्टको विश्वकपको मज्जा नै किरकिरा सावित भइरहेको छ । दर्शकलाई पनि ठूलै घाटा छ । एउटा खेल हेर्न भनेर दर्शकले वर्षौंदेखि योजना बनाउँछन्, लामो न लामो यात्रा गर्छन्, उत्तिकै खर्च पनि गर्छन् ।


तर मैदानमा पुग्दा पानी परेपछि खेल हुन्न । फेरि जुन टिमले वर्षाका कारण खेल गुमायो, त्यसलाई चर्को घाटा पर्ने भयो नै । लिग चरणमा अझै धेरै खेल बाँकी छन् । डर छ, कतै यस्तै केही खेलमा पानी पर्‍यो भने ? डर के पनि छ भने पानी परेर थप केही खेल रद्द भयो भने सेमिफाइनल पुग्ने समीकरणमा सबैभन्दा हाबी पानी नै हुनेछ, टिमको प्रदर्शन होइन । प्रतियोगिताको अन्त्यमा विश्वकप कसले जित्यो भन्दा वर्षाले भन्दा मज्जा त आएन नै !


यसपल्ट वर्षाको मुद्दा किन पनि बढी बहसको विषय भएको भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यसपल्ट रिभर्ज डे राखेको छैन । त्यसो भनेको आज पानी परेर खेल भएन भने त्यही खेल भोलि गर्ने । आईसीसीले किन रिजर्भ डे राखेन होला त ? भन्नेहरू के भन्छन् भने आईसीसी लोभी छ । उसको पैसा कमाउनमै बढी ध्यान जान्छ । हुन पनि, यसपल्टको विश्वकप एक महिना होइन, ४५ दिन चल्छ । एक प्रकारले धेरै लामो छ, यो अवधि । अनि लगभग दिनको एक खेल । दुई खेल विरलै केही दिनमा मात्र छन् । एकै दिन धेरै खेल राख्यो भने टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्न गाह्रो हुन्छ, गाह्रो भयो भने कमाइ कम हुन्छ, आईसीसीको विचार यस्तै–यस्तै छ ।


पानी परेपछि खेल गुमाउनेमा पर्छ, बंगलादेश । उसलाई लागेको छ, वर्षाले खेल हुन नसकेपछि उसलाई ठूलै घाटा लागेको छ । त्यसैले बंगलादेशी प्रशिक्षक स्टिभ रोड्सले पनि भनिहाले, ‘मान्छे चन्द्रमा पुग्न सक्छ, तर रिजर्भ डे राख्न सक्दैन ।’ सन् १९९९ मै इंग्ल्यान्डमा विश्वकप हुँदा रिभर्ज डे थियो । यसपल्ट खालि सेमिफाइनल र फाइनलका लागि मात्र रिभर्ज डे छन् । वर्षाको मुद्दा चर्को बनेपछि आईसीसी खासमा ‘ब्याक फुट’ मा आएको छ । त्यसैले आईसीसीबाट स्पष्टीकरण पनि आइसकेको छ । उसका कार्यकारी प्रमुख डेबिड रिचर्डनले भनेका छन्, ‘त्यसै पनि यसपल्टको विश्वकप धेरै दिनको छ, यसबीचमा अझ रिजर्भ डे त राख्दै सकिन्न । फेरि विश्वको जुनसुकै कुनामा खेल भए पनि वर्षालाई कसरी रोक्न सकिन्छ त ?’


हुन पनि नेपाली घरेलु क्रिकेटमै पनि त्यस्ता दिन थिए, जति बेला एक त खेल नै हुन्न थियो, भए पनि पानी परिहाल्थ्यो । पानी ठूलै समस्या थियो । एकपल्ट ज्ञानेन्द्र राजा हुँदा जन्मदिनको अवसर पारेर असारमा क्रिकेट प्रतियोगिता राखिएको थियो । लगभग कुनै खेल नै हुन सकेन, लगातार पानी परेपछि । केही चाटुकारको काम हुनुपर्छ, नेपालमा असारतिर क्रिकेटको प्रतियोगिता गर्ने । पानी पर्छ भनेर राम्रोसँग थाहा पाएर पनि असारमै क्रिकेट, नतिजा पूरा प्रतियोगिता नै ‘वास आउट’ ।


फेरि अहिलेको विश्वकपमै फर्कने हो भने केही महत्त्वपूर्ण खेल वर्षाले सम्भव नभएपछि के गर्ने त भनेर थरीथरीको उपाय अगाडि आएका छन् । यसको एउटा राम्रो उपाय त रिजर्भ डे नै हो । अब प्रतियोगिता नै सुरु भइसकेपछि अहिलेको विश्वकपमा यसको व्यवस्था गर्न सकिन्न । भविष्यमा अब कुनै ठूलो प्रतियोगिता आयोजना गर्न अगाडि यो ठूलो मुद्दा हुने नै छ । आखिरमा रिजर्भ डेको व्यवस्था गर्नु भनेको चन्द्रमा जानु जत्तिको जटिल र खर्चिलो त होइन ।


अनि क्रिकेट आयोजना हुने पूरा रंगशालामै छाना राख्दा कसो होला ? छानाले पानी त रोक्छ, अनि जस्तै पानी परे पनि तनाव भएन । सन् २००६ मा दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच एउटा वान–डे यस्तै छाना भएको रंगशालामा भएको पनि थियो र त्यो स्टेडियमको नाम थियो, डकल्यान्ड्स । त्यसपछि कुनै खेल छानामुनि भएन, किनभने क्रिकेटले जुन मज्जा खुला आकाशमुनि खेल्दा प्राप्त हुन्छ, त्यो बन्द छानामा भएन । क्रिकेट छानामुनि खेल्ने खेल नै थिएन । जस्तो, बादल लागेको बेला बल अत्यधिक स्विङ हुने सम्भावना हुन्छ, त्यति बेला बलरले मौसमको फाइदा लिन सक्छ । चरक्क घाम लाग्दा स्थिति अर्कै बन्छ । एक छेउबाट सरर्र हावा बग्दा खेलले नयाँ मोड लिन्छ । छानासहितको बन्द रंगशालामा यस्तो मौसमी फाइदा कहाँ लिन सकिन्छ ? फेरि यो उत्तिकै महँगो पनि छ । अहिलेको विश्वकप ११ मैदानमा चलिरहेको छ, ती सबै मैदानमा छाना हाल्ने हो भने पूरा प्रतियोगिताको खर्च त्यही छाना राख्दैमा सकिन्छ ।


विम्बल्डन हुने लन्डनकै सेन्टर कोर्टमा पनि केही वर्ष भयो, छाना राखिएको । यो वास्तवमै कति खर्चिलो छ भने विम्बल्डनका आयोजकले अर्को दोस्रो कोर्टमा छाना हाल्न सकेका छैनन् । छाना हालेर क्रिकेट खेल्ने सम्भावना लगभग यहीं सकिन्छ । पानी परिहाल्यो भने मैदानलाई पूरै छोपेर बचाउने उपाय पनि छ र यो जताततै देख्न पनि पाइन्छ । यसले खेल रोक्नबाट त बताउन सक्दैन, तर कम्तीमा पानी रोकिएपछि फेरि खेल सुरु गर्न भने मदत गर्छ ।


निचोड के भने जति बेला क्रिकेट खेल जन्मिएको थियो, त्यति बेला नै यसको जन्मकुन्डलीमा ‘पानीले दुःख दिन्छ’ भनेर लेखेको हुनुपर्छ । जति बेलासम्म क्रिकेट हुनेछ, त्यति बेलासम्म पानी परेपछि हुने दुःख रहिरहन्छ । अबको सय वर्षपछि के हुन्छ, त्यो भन्न सकिन्न, किनभने त्यति बेला पर्न लागेको पानी रोक्ने प्रविधि पनि हुनेछ कि ? सिद्धुकै भाषामा श्रीमतीको ‘मुड’ परिवर्तन हुँदा एक खाले मज्जा पनि त छ नि, त्यही सम्झेर क्रिकेटमा पनि मज्जा लिनुपर्छ, पानी परेपछि ।
twitter : @himeshratna

प्रकाशित : असार ७, २०७६ १०:५०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

नेवाः मुस्मां

हिमेश

गुठी विधेयकको विरोधमा सहभागी भइरहेको एउटा समूह छ– नेवाः मुस्मां । अर्थात्, नेवार मुस्लिम समाज । केही दिनअगाडि मात्र गठन भएको यो समाज आफ्नो वास्तविक पहिचान खोज्ने प्रयासमा छ ।

मानिसको स्वभाव नै हुँदो रहेछ, आफू को हो र के हो भनेर खोज्ने । पहिचानको खोजी भन्दा हुन्छ यसलाई । अहिले सरकारले ल्याएको गुठी विधेयकको चारैतर्फबाट विरोध भइरहेको छ । विशेषतः उपत्यकाका नेवार समुदाय यस विधेयकको खुला विरोधमा छन् र यसलाई लिएर दिनहुँ कुनै न कुनै प्रकारले विरोध गरिरहेका छन् । यस्तै विरोध कार्यक्रममा सहभागी भइरहेको एउटा समूह हो, नेवाः मुस्लिम समाज । अर्थात्, नेवार मुस्लिम समाज ।


नेपाल भाषामा भन्दा ‘नेवाः मुस्मां’ हुन्छ, नेवार मुसलमानलाई । उनीहरूले केही दिनअगाडि मात्र गठन गरेको हो, यो समाज । अहिले यही समाज आफ्नो वास्तविक पहिचान खोज्ने प्रयासमा पनि छ । मानवशास्त्री र सामाजशास्त्रीका लागि मात्र यो कम्तीको रुचिको विषय होइन, सबैका लागि उत्तिकै कौतूहलपूर्ण छ र यसले पनि देखाउने गर्छ, हामी र हाम्रो देशमा वास्तवमै कति विविधता छ र मौलिक रूपमा यो कति परिस्कृत र फरक पनि छ ।


यहाँनिर पहिलो प्रश्न हुने गर्छ, नेवार के हो त ? प्रायः के भनिन्छ भने यो जाति होइन, यो त एउटै भाषा बोल्ने समूह हो । फरक समय तथा कालमा जो जाति काठमाडौं उपत्यका छिरे र त्यसले यो भाषालाई अपनाएर आफूलाई यहाँकै बनाए, तिनै नेवार भए र हुन् । इतिहासकार तुलसीराम वैद्य भन्थे, नेवारलाई एकै स्थानमा राख्ने एउटै तत्त्व भनेको भाषा मात्र हो ।


नेवारभित्र फरक संस्कृति र संस्कार मात्र छैन, फरक धर्म पनि छ । नेवारले अभ्यास गर्दै आएका धर्ममा बढी हिन्दु र बौद्ध नै हो । त्यसपछि इसाई धर्म पनि आउँछ । नेवारमा इस्लाम धर्म मान्ने पनि छन्, यसको कम मात्र चर्चा हुन्छ । अब यिनै नेवार मुसलमानले आफ्नो पहिचानका लागि समूह गठन गरेपछि यो विषयमा अब स्वाभाविक रूपमा उत्तिकै चर्चा हुनेछ, त्योभन्दा बढी बहस पनि हुनेछ । त्यस समाजका अध्यक्ष निसार उद्दिन हुन् । यो समाजले तत्काल प्रमुख रूपमा दुई काम गर्न खोजेको छ ।


पहिलो, अब चाँडै हुने राष्ट्रिय जनगणनामा समाजले आफूहरूलाई नेवार मुसलमानका रूपमा पहिचान लेखाउनेछ । दोस्रो काम, यो समुदायका युवा पुस्तामा नेपाल भाषा बोल्ने र बुझ्न कम हुन थालेकाले अब चाँडै भाषा सिकाउने काम पनि हुनेछ । मूलतः उनीहरू नेपाल भाषामै बोलचाल गर्ने हुन् । अहिलेका बाजेबज्यैको पुस्तासम्म मज्जाले नेपाल भाषामै कुरा गरिरहेका हुन्छन् । नाति पुस्तामा आएर मात्र केही समस्या भएको हो, भाषालाई लिएर ।


पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका जितेपछि हिन्दु र बौद्ध धर्म मान्ने नेवारलाई चलाउन खोजेनन्, उनी विशेषतः इसाई धर्म मान्नेप्रति कठोर भए । त्यो बेलाका इसाई नेवार देश निष्कासनमै परे र पुगे, भारतको बेतियासम्म । अझै पनि त्यहाँ इसाई नेवारको नयाँ पुस्तामाझ काठमाडौंका केही न केही संस्कृति बाँकी छ । इस्लाम मान्नेलाई भने पृथ्वीनारायणले राज्यले दिने सुविधा कटौती गरे । उनीहरूले देश नै भने छाड्नु परेन । पछि जंगबहादुरका पालामा जारी भएको मुलुकी ऐनमा भने नेवार मुसलमानलाई पानी नचल्ने बनाइयो । तर त्यो कानुन न थियो, समाजले त्यसलाई स्विकार्ने काम भने गरेन । ‘नेवारभित्रै अरू समुदायले मुसलमानलाई कहिले पनि त्यसरी पानी नचल्ने जातका रूपमा लिएनन् । यसको सबैभन्दा ठूलो प्रमाण हो, अरू नेवार र मुसलमान नेवारको घरको धुरी जोडिएको हुन्छ । यो भनेको समानताको प्रतीक नै हो,’ नेवार मुसलमानबारे लामो समय अध्ययन गरेका रास जोशी मान्छन् ।


घना नेवार बस्तीकै बीचमा कहीं न कहीं कतै न कतै मुसलमानको एउटा घर त हुन्थ्यो नै । अधिकांश नेवारको पूजामा देवतालाई चढाउने भनेको हाँसको फुल हो । पूजामा कुखुराको फुल अहिले पनि चल्दैन । केही समयअगाडिसम्म पनि हाँसको फुल बेच्ने काम मुसलमानकै हुन्थ्यो र टोलटोलमा फुल बेच्ने क्रममा उनीहरू भन्थे, ‘खे माला... ?’ अर्थात् हाँसको फुल चाहिन्छ कि ? त्यति मात्र होइन, केही वर्षअगाडिसम्म पनि नेवार मुसलमानबीच भएको घरको अंशबन्डा र अरू कानुनी काम नेपाल भाषामै हुने गरेको थियो ।


अब प्रश्न उठ्छ, कहिलेदेखि काठमाडौं उपत्यकामा मुसलमानहरूको प्रवेश भयो त ? दाबी त के गरिन्छ भने लिच्छिविकालमै काठमाडौं उपत्यकामा मुसलमानहरूको प्रवेश भइसकेको थियो । तर लिखित इतिहास सुरु हुन्छ, राजा रत्न मल्लदेखि । उनको पालामा व्यापार गर्ने उद्देश्यले कश्मीरका केही मुसलमान यहाँ आए । ती व्यापारीको मुख्य गन्तव्य तिब्बत थियो तर समयको अन्तरमा उनीहरू काठमाडौंमै रोकिए । इतिहासले भन्छ, नेपाल र कश्मीरबीचको सम्बन्ध निकै पुरानो हो । ती कश्मीरी मुसलमानले सुरुमा अत्तर र बहुमूल्य ढुंगाको व्यापार गरेका थिए ।


तिनै मुसलमानले रत्न मल्ललाई बाज उपहार दिएको पनि भनिन्छ । केही मुसलमान प्रताप मल्लको पालामा पनि आए । हाम्रोमा इतिहास र मिथकबीच अन्तर छुट्याउन निकै गाह्रो छ । कथाजस्तै गरेर अहिलेसम्म पनि सुनाउँदै आइएको के छ भने यी मुसलमानले प्रताप मल्ललाई एउटा जादु देखाए र त्यसबाट उनी खुबै प्रभावित भए । त्यस जादुका क्रममा रानीपोखरीको हात्ती नै केही समयका लागि गायब गरिदिएका थिए । पछि प्रताप मल्लले त्यसैकारण जमलतिर मस्जिद बनाउन जग्गा दिएको पनि भनिन्छ ।


यी दुई फरक कालखण्डमा भित्रिएका मुसलमानसँगै अत्तर र बहुमूल्य ढुंगाको व्यापार मात्र भित्रिएन, जादु, झारफुक विद्या, घोडचढी, उस्ताजसहितको गायन पनि भित्रियो । कालान्तरमा उनीहरूले बोल्ने पनि नेपाल भाषा भयो । उनीहरूको घर पनि पारम्परिक नेवारकै जस्तो हुन थाल्यो । उनीहरूको अर्को प्रभाव नेवारको खाना, आभूषण र लुगामा पनि उत्तिकै पर्‍यो ।


‘मुसलमानको ताबिजबाटै नेवारको लोकप्रिय गहना ताय बनेको हो । उनीहरूले नै काठमाडौंमा चुरा पोते, मेहेन्दी पनि ल्याए,’ जोशी मान्छन् । उनले ०७१/०७२ तिर गरेको अध्ययनअनुसार काठमाडौं उपत्यकामा हजारको हाराहारीमा नेवार मुसलमान छन्, जसले आफ्नो नाम पछाडि प्रायः सय्यद, ख्वाजा, पट्ठान, मियाँ र खान प्रयोग गर्छन् । भित्री नेवारको बस्तीमध्ये उनीहरू काठमाडौंमा प्रायः जनबहाल, छत्रपाटी, वटु र इन्द्रचोकमा छन् । ललितपुरमा गाबहाल र मंगलबजारतिर छन् । यस्तै भक्तपुरमा भने गोलमढीको वरिपरि ।


उनीहरू अरू नेवारजस्तै यहाँका चाडपर्वमा सहभागी हुन्छन् । घरमै समयबजी ज्वर्ने र खाने पनि गर्छन् । चटामुरी पनि खान्छन्, छ्वयला पनि खान्छन्, आलुका परिकारको मज्जा पनि लिन्छन् । भोजतिर पनि सजिलै सहभागी हुन्छन् । फरक धेरै अर्थमा मासुमा हुन्छ । नेवार मुसलमान पनि हलाल गरिएको मासु मात्र खान्छन् ।


त्यसैले उनीहरूले मुसलमानले चलाएका पसलबाट मात्रै मासु किन्ने गर्छन्, हलाल गरिएका । अहिले अधिकांश नेवार मुसलमानको व्यापार भनेको चुरापोतेकै हो र यसको केन्द्रविन्दु रहेको छ, इन्द्रचोकको प्रसिद्ध राखी बजार । केसम्म भनिन्छ, भने यसको खास नाम इराकी बजार थियो, किनभने केही मुसलमानका पुस्ता इराकबाट आएका थिए । पछि यसको नाम राखी बजार भयो । मीठो संयोग के भने यस बजारका अधिकांश ग्राहक भने हिन्दु हुने गर्छन् । चुरा–पोते शौभाग्यको प्रतीक मानिन्छ र त्यसका लागि हिन्दुहरू मुसलमानको बजारमा निर्भर छन् ।


यहाँनिर थप्नुपर्ने एउटा अर्को विषय पनि छ । यो संयोगले फुटबलसँग जोडिएको छ । राणा शासनको अन्त्यतिर नेपालमा फुटबल भित्रिएको थियो । पछि त्यो आम जनताले रुचाएको खेल पनि भयो । राणा शासनको अन्त्यसँगै टोलटोलमा फुटबल टिम बन्न सुरु भयो । यसै क्रममा इन्द्रचोकमा पनि एउटा टिम बनेको थियो, जसका सबै खेलाडी मुसलमान थिए । त्यो टिमले खुबै तहल्का मच्चाएको पनि थियो, लामो समयसम्म । यसकै एक खेलाडी हुन्, अफताब उद्दिन ।


सन् १९६३ मा नेपालले आगा खाँ गोल्डकप खेलेको थियो र यसलाई नै नेपाल सहभागी पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता मानिन्छ । यसको आयोजना गरेको थियो, अहिलेको बंगलादेशले । त्यति बेला बंगलादेशलाई पूर्वी पाकिस्तान भनिन्थ्यो । त्यस टिममा पनि परे, तिनै उद्दिन । उनी डिफेन्डर थिए । अहिले पनि उनलाई भेट्नुपर्छ, एउटा मुसलमानको छवि जुन मनमा आउँछ, त्यो उनमा पाइन्न । बरु उनी देखिन्छन्, ठ्याक्कै आम नेवारजस्तै । यस्तै मुसलमानहरू अहिले आफ्नो पहिचानको खोजीमा छन्, नेवाः मुस्मांका रूपमा ।


twitter : @himeshratna

प्रकाशित : जेष्ठ ३२, २०७६ ११:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्