कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

'विवादले विचलित बनाउँदो रहेछ'

प्रकाश सपूतको 'गलबन्दी...’ गीत भाइरल भयो  । युट्युबमा भ्युजको रेकर्ड राख्दै गर्दा शम्भु राईले आफ्नो पुरानो गीत 'आऊ नाचौं साथी हो...’ सँग लय मिलेको आरोप लगाए  ।

'विवादले विचलित बनाउँदो रहेछ'

सपूत र राईबीचको विवाद पनि 'भाइरल’ भयो । विवाद चर्कंदै गएपछि गत बुधबार दुई सर्जकबीच सम्झौता भयो । जसमा 'गलबन्दी...’ को संगीतमा राई र पुनः संगीतमा सपूतलाई क्रेडिट दिने उल्लेख गरिनेछ । यस गीतको कमाइमा चाहिँ राईको हक हुने छैन । सम्झौतापछि सपूतसँग गरिएको कुराकानीको अंश :


'गलबन्दी...’ सिर्जना गरिरहँदा यस्तो विवादमा फसिएला भन्ने कल्पना गर्नुभएको थियो ?
न यो गीतले यति धेरै सफलता पाउँछ भन्ने सोचेको थिएँ, न समस्यामा परिन्छ भन्ने । स्वविवेकले सिर्जना गरेको थिएँ । तर यस्तो आइलाग्यो ।

विवाद कहाँबाट सुरु भयो ?
एक जना अग्रज कलाकारबाट थाहा पाएँ । मैले त शम्भु राई सरको ‘आऊ नाचौं...’ गीत सुनेकै थिइनँ । त्यसैले त्यो गीत सुनें, मिलेको जस्तै लागेन । तैपनि शम्भु सरसँग बसेर छलफल गरौं न भनेको थिएँ । पछि अचानक कुरा नियन्त्रणभन्दा बाहिर गयो ।

कुरा कसरी बिग्रियो ? तपाईंले सम्मानका साथ उहाँसँग छलफल नगरेको भन्ने पनि सुनियो नि ?
यो विवाद मिलाउन कुनै संस्था वा व्यक्तिबाट औपचारिक समन्वयकारी भूमिका भएन । बरु आफ्नो स्वार्थ पूरा गर्न खोजे । बीचको बाटो पहिल्याइएन । हामी पनि आफ्नै अडानमै बस्यौं । शम्भु सर लगातार मिडियामा जानुभयो तर मलाई व्यक्तिगत रूपमा बसेर छलफल गरौं भन्नुभएन । विवाद चुलिँदै गयो । खासमा यो पहिल्यै टुंगिनुपर्थ्यो । म हिजो पनि उहाँलाई मनबाटै सम्मान गर्थें, भोलि पनि गर्छु ।

यो घटनाले केही सिकायो कि ?
यहाँ शम्भु राई सर मात्र जोडिनुभएको छैन । केही गलत नियत भएकाले मलाई निरुत्साहित गर्न खोजे । ती मेरै वरपरका मान्छे पनि थिए । कोही सफल हुँदै गएपछि कमजोरीका बारेमा सोधीखोजी हुँदोरहेछ । मैले सिकेको चाहिँ यस्ता समस्या आए भने सामान्य रूपमा नलिई सुरुमै सल्टाउनुपर्दोरहेछ । तर सिर्जना गर्ने मामलामा चाहिँ यही घटनाबाट सचेत भए भन्न चाहन्नँ । किनभने, म हरेक सिर्जना गर्दा सचेत हुन्छु । कहिल्यै कपी गर्ने सोच हुन्न ।

यसअघि पनि तपाईंका दोहोरी ब्याटल र 'बोल माया...’ गीत विवादित बने नि ?
यसलाई म मेरो सफलतासँगै आएका चासोहरू ठान्छु । खोज्दै जाने हो भने लोकगीतमा सुन्दा उस्तै लाग्ने भाकाहरू धेरै छन् । युट्युबमा तपाईं आफैंले चेक गर्दा हुन्छ । लोकदोहोरीमा कतै–कतै कलर मिल्नु सामान्य हो ।

तपाईंलाई छिटो हिट हुन सजिलो बाटो समात्यो भन्ने आरोप पनि छ ।
म संगीतमा पोख्त छैन र मेरो मूल विधा संगीत पनि होइन । ब्याटल होस् वा ‘बोल माया...’ मैले लेखेको छु, गाएको छु र भिडियो पनि गरेको छु । गीतमा संगीत हाबी हुने भएकाले प्रकाश सपूतले कपी गर्‍यो भन्ने बढी चर्चा भएको हो । तर मेरो गीतमा संगीत मात्र मुख्य कुरा होइन । मेरा गीत–संगीतको कारण मात्र चलेको पनि होइन । म आफ्नै कर्म र सिर्जनाबाट अघि बढ्न चाहन्छु । चोर्ने कुरा सोच्दै सोच्दिनँ ।

यस्ता विवादले सिर्जनामा कस्तो असर पर्छ ?
विवादले साँच्चै विचलित बनाउँदोरहेछ । म शान्त स्वभावको छु, विवाद र बहसहरू मन पराउँदिनँ । पहिले पनि गीत बनेका थिए तर जुन सफल भयो, त्यसकै बारेमा अनेक कुराहरू आइरहेका छन् । (हाँस्दै) एक किसिमले म आफूलाई अभागी महसुस गर्छु । सँगसँगै मेरो सफलताको मापन यिनै विवाद र अरूको चासोहरू पनि हुन् कि जस्तो पनि लाग्छ ।

फेसबुकमा ॅइमोसनल ब्ल्याकमेल’ गरेर सहानुभूति बटुल्न खोजेको आरोप पनि लाग्यो, हैन ?
हेर्नुस्, हरेक मान्छेको आफ्नो स्वभाव हुन्छ । म कोमल मनको छु । मलाई मान्छेहरूले कमजोर रहेछ, लड्न नसक्ने रहेछ भनून्, केही छैन । मनमा जे आयो त्यही पोखेको हुँ । भावना र दुःख सेयर गर्दा हल्का महसुस गर्छु । सहानुभूति बटुल्ने नियत हुन्न ।

सम्झौताचाहिँ स्वविवेकले गर्नुभएको कि कुनै खालको बाध्यता वा विरक्ति थियो ?
साथीहरूले आलोचना पनि गर्लान्, चोरेको स्विकार्‍यो पनि भन्लान् । शम्भु सरले पनि बुढेसकालमा गाली खाइरहनुभएको छ । त्यसैले हामी दुवैलाई योभन्दा उपयुक्त अर्को विकल्प थियो त ? विवाद चर्काएर के फाइदा ? मचाहिँ खुसी छु ।

नयाँ गीत कहिले आउँछ ?
भनिहालें, आत्मसम्मान र मानसिक रूपमा केही विक्षिप्त भएको छु । यहाँबाट छिट्टै बाहिर आउने प्रयास गर्छु । त्यसमाथि दसैं–तिहारसम्म दुबई, कतार, साइप्रस, अस्ट्रेलिया, हङकङ र कोरियाका कार्यक्रममा व्यस्त हुन्छु । त्यसैले नयाँ गीत आउन केही समय लाग्छ ।

यो विवादलाई कतिपयले जातीयतासँग लगेर जोडे । तपाईंलाई ॅदलित समुदायको भएकै कारण ममाथि आक्रमण भयो’ भन्ने लाग्छ ?
धेरै गैरदलितले मेरो संगीतलाई मन पराएर सपोर्ट गर्नुभएको छ । तर सत्य यो पनि हो, हाम्रो समाजमा दलित समुदायलाई होच्याइन्छ, विभेद गरिन्छ । त्यसैले कहीँ न कहीँ यो अन्धविश्वासको सोचले सामाजिक सञ्जालमा ममाथि प्रहार गरियो होला । तर शम्भु सरले चाहिँ म दलित भएकै कारण दबाउनुपर्छ भनेर यस्तो गर्नुभयो भन्ने लाग्दैन ।

प्रस्तुति : गोकर्ण गौतम

प्रकाशित : असार १४, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?