कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन विद्रोह

टंक चौलागाईं

शिल्पी थिएटरको ‘कन्ट्रोल रुम’ । हपहपी गर्मी ! ‘कन्ट्रोल रुम’ मै लेखिसकेको यो लेख अहिलेको सचेत पाठकका लागि असाध्यै झुर लेख हुन सक्छ ! पुरुष मानसिकताले लेखेको यो लेख सतही टिप्पणी मात्रै पनि भइदेला ! ‘क्लीशे’ नारा मात्रै । तीनवटा नाटक मञ्चनले भन्दा निर्मला पन्तको हत्याले निकै उकुसमुकुस भइरहेको छ ।

तीन विद्रोह

निर्देशकले नयाँ दृष्टिकोण दिन सकेको भए तीनवटा नाटकका अन्त्य नै फरक हुन सक्थे । म पुरानै धारबाट बगिरहेको पुरुष हुँ । पुरुषले निर्देशन गरेको योगमाया हेर्न शिल्पी थिएटरमा धेरैजसो महिलाहरू आए । छाता ओढ्दै, पानीमा भिज्दै, परेको पानी छल्दै ।
वर्षायाम, क्षणमै भीषण पानी पर्छ, क्षणमै चर्को घाम लाग्छ ।

योगमाया समाज सुधारका लागि धर्मराज्यको माग राख्दै चिच्याइरहेकी छन शिल्पी थिएटरको प्रेक्षालयमा । पुरुष वर्गको विजयका लागि आफ्नो यौवन त्यागेर भिक्षुणी भएकी थिइन् माधवी, शिल्पी थिएटरमै दुई वर्षअगाडिको वर्षायाममा । माघको चिसोमा ययाति मञ्चन भयो । ससुराको महत्त्वाकांक्षा पूरा गर्न आफ्नो जीवन नै दान गरेकी थिइन् चित्रलेखाले । कठ्याङ्ग्रिने चिसो, बाढीपहिरो ल्याउने वर्षायाम जत्तिकै कहालीलाग्दा थिए ती तीन अन्त्य !


तीनवटा बहुचर्चित कृति निर्देशक गरी मञ्चन गर्दा अन्त्य अनुभूति समान भयो । कथा फरक, कथाको बनोट फरक, परिवेश फरक, लेखक फरक, अभिनय गर्ने कलाकार फरक, निर्देशक अनि नाटकको बोली समान !


तीनवटै नाटकमा महिला पात्रहरू चिच्याइरहेका हुन्थे । तीनै महिला पात्रहरूको चिच्याहट हरसमय कानमा गुन्जिरहन्छ । आफ्नै गतिमा हिँडिरहेको समाज ती महिलाहरूको चिच्याहटले बदलिएन न पुरुष बदलियो । पितृसत्तात्मक राज्यमा समाज बदलिन पुरुष बदलिनु आवश्यक छ पहिला । र, तीनवटै नाटकमा अन्तिम विन्दुसम्म महिलाहरू अधिकारका लागि विद्रोह गर्छन्् । परिवर्तनको संकेत नदेखेपछि पलाएन हुन्छन् या मर्छन् र कथानक अन्त्य भइदिन्छ ।


समाजतिर फर्की हेरौं न ! हाम्रो समाजमा महिलाहरूको अवस्था नाटकको जस्तै छ कि फरक छ ? समाजमा महिला जसरी नै पुरुषहरू पनि चिच्याइरहेका होलान् । पुरुषहरू आफ्ना अधिकारका लागि लडिरहेका होलान् । यो फरक विषय भयो । तर मेरो मष्तिस्कमा आफैंले मञ्चन गरेका तीनवटा नाटकका अन्त्य किन समान भए भन्ने कुरा घोत्लिरहेको छ ।

विद्रोह एक : माधवीको त्याग
आफ्ना गुरुबाट अश्वमेध घोडाहरू ल्याउनू भन्ने आदेश पाएपछि गालब भौतारिइरहेको थियो । ऊ एक दिन ययातिको आश्रममा पुग्यो भौतारिँदै । दानवीर राजा ययातिले आफ्नी छोरी माधवी दान दिएर पठाएपछि आफ्नो चर्चा अझ चुलिएको महसुस गरे । माधवीलाई भोग गर्ने राजाहरूबाट अश्वमेध घोडाहरू उपलब्ध हुन्छ भन्ने विश्वासका साथ गालबले माधवीलाई स्वीकार गर्‍यो ।


तीन जना राजासँग भोगका लागि तयार भएर माधवीले गालबका लागि आवश्यक घोडा जुटाई । यतिबेलासम्म गालब र माधवीको प्रेम उत्कर्षमा पुगेको बुझ्न सकिन्छ ।


माधवीले गालबका लागि घोडा जुटाउन आफ्नो यौवनको त्याग गरी । यसको पछाडि गालबलाई प्रेमीको रूपमा पाउने अभिलाषा थियो भन्न सकिन्छ । तर गालबले गुरुकी छोरी हुन् भन्ने बहानाले माधवीलाई अस्वीकार गर्‍यो । स्वयंवरकै दिन माधवी गालबलाई छोडेर हिँड्छे भिक्षुणीको भेषमा ।


माधवीको आँट अनि साहसले पुरुष वर्गमा हलचल ल्यायो । महाभारतकालीन कालखण्डको यो कथामा कुनै पनि पुरुषले माधवीको त्यागमा सहानुभूति राखेको देखिन्न ।


सबै पुरुषहरूले विजय मनाउँछन् : ययाति छोरीलाई दान दिएर, गालब घोडा पाएर, निःसन्तान राजाहरू माधवीबाट छोरा जन्माएर ! माधवीको निर्णयले महिलावादीहरू खुसी हुन्छन् भने पुरुषवादीहरू दुःखी !


विद्रोह दुई : चित्रलेखाको जित
ययाति भोगविलासमा रमाउन चाहने राजा हो । ययाति पुत्र पुरु चित्रलेखासँग विवाह गरेर दरबारमा भित्रियो । शर्मिष्ठा र देवयानीको द्वन्द्व चुलीमा थियो त्यसबेला । बुहारी भित्रिएसँगै विश्वामित्र पुत्री देवयानी दरबार छोडेर गई । विश्वामित्रले रिसाएर ययातिलाई साँझ परेपछि बूढो हुने श्राप दिए ।


विलासी राजा ययाति चाँडै बूढो हुन चाहँदैन । पुत्र पुरुलाई विश्वामित्रको श्राप निवारणको उपाय खोज्न पठायो । उसको श्राप कसैले लिइदिएमा ययाति चाँडै बूढो नहुने उपाए पनि विश्वामित्रले छोडेका थिए ।


अरू कोही नभेटेपछि ययाति पुत्र नै आफ्ना पिताको बुढ्यौली स्वीकार गर्न तयार भयो । सुहागरातको समय
आफ्नो श्रीमान् बूढो भएर आउँदा चित्रलेखाले सहन सक्दिन र आत्महत्या गरी ।
ययाति आत्मग्लानिले आफ्नो बुढ्यौली छोरासँग फिर्ता लिएर वानप्रस्थ गयो । पुरु आफ्नी श्रीमतीको लाससँग रह्यो । यहाँनेर चित्रलेखाले आफ्नो बहादुरी देखाएकी थिई । अरूका लागि जीवन त्याग गर्नु जति पुण्य के होला ? ऊ पुण्य कमाएर गई ।
ययातिले आफ्नो गल्ती महसुस गर्न बुहारी शवको सामना गर्नुपरेको थियो । यो महाभारतकालीन कथामा पनि पुरुषकै लागि एउटी महिलाले आफ्नो जीवन बलिदान गरेकी थिई ।

विद्रोह तीन : योगमायाको धर्मराज्य माग
राणा शासनको समय हो । राज्यमा व्यापक अन्याय, अत्याचार, थिचोमिचो, असमानता थियो भनेर भनिराख्नु पर्दैन । अहिले पनि फरक रूपमा सही अत्याचार, थिचोमिचो, असमानता नभोग्ने कमै छन् । योगमायाले समाज सुधारका लागि समाजभित्रैबाट आन्दोलन गरिरहेकी थिइन् । समाजका जो योगमायाको पक्षमा छैनन् उनीहरू सरकार पक्ष वा समाजका धनाढ्य वर्ग वा माथिल्लो जात भनिएकाहरू हुन् । सामन्ती व्यवस्था हो । दुईमत छैन ।


समाज सुधारका लागि पत्र लेखेर पटक पटक आफ्ना दूत मार्फत सरकारसमक्ष कुरा पुर्‍याइन् योगमायाले । केही नलागेपछि आफैं सरकारलाई भेट्न गइन् । आश्वासन पाइन् तर समाजमा न्याय स्थापित भएन । उनका माग सुन्न छोडेर दुःख दिन थाले ।
सामन्तीहरूको रजाइँ ज्यूँका त्यूँ थियो । अनेकौं कोसिस गर्दा पनि योगमायाको धर्मराज्य माग सुनुवाइ हुँदैन ।


योगमाया अग्निमा आत्मदाहका लागि तयार भइन् । उनीसँग उनका २४० जना समर्थकहरू पनि तयार भए । सरकारले उनीहरूलाई कैद गर्‍यो । उनीसँग विधवा, दलित, दासदासी, गरिबहरूको साथ थियो । भएको सारा सम्पत्तिमा आगो लगाएर योगमायालाई साथ दिने पनि थिए । योगमायाले समाजका विस्थापित वर्गमा जागरण ल्याएकी थिइन् । तर सामन्ती पितृसत्ताले उनको जागरण अभियानलाई नकारात्मक रूपमा लियो । चार सहिदको हत्यापछि उनको पनि हत्या गर्ने योजना थियो भन्ने पनि कतै सुनिन्छ ।
कैदमुक्त भएपछि कसैलाई थाहा नदिईकन योगमाया जलसमाधिका लागि तयार भइन् । उनका समर्थकहरू पछि लागे । सरकारले सुइँको पाउनुअगाडि नै योगमायासँगै उनका समर्थकले जलसमाधि लिए ।


जब योगमायाको जलसमाधिको दृश्यमा संगीत बजाउन थाल्छु एकोहोरो हुन्छु । आफूले गरिरहेको काम व्यर्थ भइरहेझैं लाग्छ । किन महिलाको कुरा सुनिँदैन भन्ने प्रश्नले गहिरो खाडल बनाउँछ !


तीनवटै नाटकको अन्त्य वियोगान्त भयो । तीनवटै नाटकमा महिलाहरूले विद्रोह गरे । विद्रोहको बीज पुरुषकै कारण रोपिएको हो ।
हामीलाई किन वियोगान्त अन्त्य उचित लाग्छ ? सन्देश सुधारको तर अन्त्य वियोगको ! के साँच्चै वियोगात्मक अन्त्यले सकारात्मक सन्देश दिन्छ ? पाठकले वियोगान्त अन्त्य नै रुचाउने हुन् ? म निर्देशक भएर फरक अन्त्य सोच्न सक्थें तर केही कारणवश त्यसो भएन ।


यो आफ्नै कामको अनुभूति हो । पुरुषवादी वा पुरुषहरू असहमत हुने ठाउँ प्रशस्तै छन् । पुरुषहरूलाई पीडित देख्न पनि सक्छन् । पितृसत्तात्मक राज्यमा पुरुष आफैं पीडित भएँ भन्नुको के औचित्य !


मेरो आफ्नै घर, कार्यालय सबैतिर माधवी, चित्रलेखा र योगमायाहरूसँग दिनहुँ जम्काभेट भइरहन्छ । यिनीहरूको बाटो सहज छैन । महिलाको बाटोमा मुख्य बाधक पुरुषहरू हुन् । राष्ट्रपति पनि पुरुषहरूले स्थापना गरेको मूर्ति हुन् । महिलाहरू आफैं घरबाहिर निस्किनु जरुरी छ ।


सबै महिलाहरू माधवी, चित्रलेखा, योगमाया जति साहसी हुँदैनन् । उनीहरूमा पितृसत्तासँग टक्कर दिने आँट हुँदैन । यो समाजले महिलालाई सजिलै निर्मला पन्त बनाइदिने हैसियत राख्छ ।

प्रकाशित : असार १४, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?