कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

मन परेको कविता

सरिता तिवारी

साहित्य यान्त्रिक ‘पाठ’ मात्रै होइन  । यो गहिरो प्रेरणा हो  ।

त्यसमा पनि कविता ! एक कविका लागि त कविता बारम्बार मनको, विचारको पुनर्जीवनको लागि पढ्ने विधा हो । यस्ता केही कविता छन् जुन मैले अनेकौंपल्ट पढ्छु, सुन्छु र आफूलाई पुनर्जिवित गराउँछु ।‘मानुषी’ त्यस्तै एउटा कविता हो । पारिजातका कविता मैले निकै ढिलो गरी पढें । कविता लेख्न थालेको झन्डै दशकपछि । उनका कवितामा पत्याउनै नसकिने विविधता छन् । उनको काव्यरचनाको थालनी अतिभावुकता, नैराश्य र कमनीय भावबाट भएको हो तर दृष्टिकोणहरूको सघन संक्रमण झेल्दै विचार र आन्दोलनसहित ‘राजनीतिक लेखन’ को स्पेसलाई नेतृत्व गर्न आइपुगिन् उनी । त्यसैको उत्पादन हो– ‘मानुषी’ ।


कलाशिल्पको दृष्टिले यो उत्कृष्ट भन्न मिल्ने कवितामा नपर्ला । यसलाई प्रखर र संवादमय बनाएको विचारले हो । यसले मानवसमाजको सांस्कृतिक, राजनीतिक इतिहासतर्फ फर्किएर आर्थिक उत्पादन सम्बन्धका आधारमा निर्मित लिंगवादी प्रभुत्वको मिथलाई कुशलतासाथ बयान गरेको छ । श्रमविभाजनको मानकलाई स्त्रीशरीर र आत्मसम्मानमाथिको शासनका रूपमा विषयान्तर गरेर कुन हदसम्म पुगेर महिलामाथि नियन्त्रण गरियो, गरिएको छ भन्ने कुरालाई यति छोटो आयामको कवितामा अटाउन सक्नु कविको सानो खुबी होइन । थपमा, यो कविताले अतीतका पुरुष अत्याचारी भए त भए, वर्तमानको पुरुष समता र सहअस्तित्वको विषयमा उदार हुनु जरुरी छ भन्दै सहकार्य र सहयात्राको सहिष्णु अपिलसमेत गरेको छ ।


‘मानुषी’ कवितालाई नारीवादी कविताको रूपमा मात्रै व्याख्या गरिनु यसले बोकेको ऐतिहासिक र समकालीन दुवै तथ्यका गुरुत्वलाई इन्कार गर्नु हो । तीस–चालीसको दशकमा यति बुलन्द कविता लेखियो ! आज धेरै कविहरूले लैंगिक प्रभुत्व र हिंसाको राजनीतिमाथि कठोर रूपले कलम चलाइरहेका छन् । मलाई लाग्छ, ती सबै कविता ‘मानुषी’ कै सन्तान हुन् !

प्रकाशित : असार १४, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?