कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

त्रिशूलीमा र्‍याफ्टिङ रहर

विद्या राई

 
अचेल काठमाडौंमा पनि तराई जित्ने गर्मी हुन थालेको छ  । बिहान, साँझबाहेक दिनको समय कटाउन निकै उकुसमुकुस लाग्छ  ।

त्रिशूलीमा र्‍याफ्टिङ रहर

धेरै अघिदेखिको र्‍याफ्टिङ गर्ने रहर पूरा गर्ने यही मौका छोपेर म त्रिशूली हानिएँ । यो पालाको ‘एड्भेन्चर ट्रिप’ बेग्लै थियो । अरूबेला चिनेजानेका साथीहरूसँग ट्रिप जान्थें । यो पटक म एक्लै, ट्रिपका अरू सबै मेरा लागि नयाँ ।


र्‍याफ्टिङ कम्पनीको रिजर्भ बसले कलंकी, थानकोट, धादिङको धार्के, मलेखु हुँदै र्‍याफ्टिङस्थल मालिंगा पुर्‍यायो । मध्याह्नको प्रचण्ड गर्मी । गाइडले पम्प हालेर र्‍याफ्टिङ डुंगा तयार गरे । सबैले लाइफ ज्याकेट र हेल्मेट लगाएपछि ‘टुर गाइड’ सञ्जीव ढकालले हातमा ‘प्याडल’ लिन लगाए । एकै ठाउँ भेला गरेर ‘रिभर गाइड’ सुसन पौडेलले ‘सेफ्टी’ बारे ‘ब्रिफिङ’ दिन थाले । र्‍याफ्टिङ गर्दा पानीमा गर्न मिल्ने र नमिल्ने नियम बताउन थाले । र्‍याफ्टिङ डुंगामा बस्ने, ‘प्याडलिङ’ अर्थात् डुंगा खियाउने र डुंगा पल्टिहाले वा डुंगाबाट खसिहाले एकअर्कोलाई उद्धार गर्ने तरिका सिकाउन थाले । अघिसम्म नलागेको डर यो ब्रिफिङ सुनेपछि मुटुको ढुकढुकी बढायो । ‘डुंगा नपल्टियोस्, डुंगाबाट नखसियोस्’ मनमनै भगवान् पुकारें ।


मसहित चारवटा समूहका २४ जना थियौं । चारवटा डुंगा तयार भए । ४ जना रिभर गाइड र दुई जना सेफ्टी गाइड पनि तयार भए । डुंगा वरिपरि बाँधिएको डोरीलाई ‘लाइफलाइन’ भनिन्छ जसले डुंगा पल्टिहाले वा डुंगाबाट केही गरी खसिहाले त्यहाँ पक्रेर उद्धार हुन वा गर्न सजिलो हुन्छ । डुंगाको आठवटा भाग हुन्छ । जसलाई च्याम्बर भनिन्छ । एउटा डुंगामा ८ जनाले सयर गर्न मिल्छ । सबैभन्दा अघिल्लो दुई भागलाई ‘फ्रन्ट साइड’ भनिन्छ । यो भाग सबैभन्दा ‘रिस्की’ तर ‘एड्भेन्चरस्’ हुने ब्रिफिङका बेला रिभर गाइडले भनेका थिए । दोस्रो च्याम्बर सबैभन्दा सुरक्षित भनेका थिए । डुंगा चढेपछि हतार–हतार मैले दोस्रो च्याम्बर रोजें ।


हाम्रो डुंगा मालिंगादेखि जवागंखोला (करिब २२ किमि) तर्फ अघि बढ्यो । उत्तरमा लाङटाङ र गणेश हिमालबाट आएको पानीको बहाव दक्षिणमा भारतको गंगातर्फ बग्दै थियो । चारवटा र्‍याफ्टिङ डुंगा अघिपछि, तलमाथि गर्दै उसैगरी अघि बढ्दै थिए, जवागंखोला गन्तव्यतर्फ । चर्को घाम । नदीमाथिको हावा पनि तातो । पानीको छाल डुंगा हुँदै शरीर र अनुहारमा जोडले ठोक्किन पुग्थ्यो । शीतल अनुभूति हुन्थ्यो ।


सबै डुंगा पानीको बहाबसँगै अघि बढ्दै थिए । अघि ब्रिफिङमा जस्तो डर त थिएन तर पानीकै छालमाथि डुंगा जोडले तलमाथि गर्दा भने डरको सीमा हुन्थेन । लाइफ ज्याकेट लगाएर ढुक्क लागे पनि पानीको असमान बहावले मनलाई घरी न घरी अस्थिर बनाइदिन्थ्यो । भोकले होकी बेला बेला जोस हराउँथ्यो । नयाँ परिचय भए पनि टोलीको हाँसोठट्टाले त्यति नै बेला ऊर्जाशील बनाउँथ्यो । सबै जना नेवारी समुदायका । नबुझे पनि उनीहरूबीचको नेवारी बोलचाल, नेवारी लवजले मन्त्रमुग्ध बनाउँथ्यो मलाई । तैपनि मनमा केही अपुगजस्तो, केही नपुगजस्तो ।


दिउसोको साढे तीन बजे खाना खाने ठाउँ कृष्णभीर पुगियो । रिभर गाइडले डुंगालाई पार्किङ गर्न किनारातर्फ डोर्‍याएपछि सबै जना आफ्ना डुंगाबाट ओर्लियौं । बाँकी आधा बाटोका लागि ४ बजे फेरि डुंगा चढ्यौं । यो पाला बस्ने स्थान परिवर्तन गरें । फ्रन्ट साइडमा बसे । डुंगा खियाउँदै अघि बढ्यौं । थोरै अघि बढेपछि ठूलो छाल आयो । फ्रन्टमा बसेपछिको पहिलो ठूलो छाल थियो यो । पानीको ठूलो चट्टान बनेको छालले जोडले मेरो अनुहार र शरीरमा हान्यो । अलिकति डर लाग्यो । जीउ निथ्रुक्क भिज्यो । तर निकै रमाइलो । रमाउँदै अघि बढिरहेका थियौं ।


दोस्रो छाल आयो । हामीभन्दा अघिको डुंगा छालमा घोप्टियो । दुई जनाबाहेक अरू ६ जना छालभित्र हराए । डुंगा खियाउनेभन्दा पनि ध्यानचाहिँ पल्टेको डुंगातर्फ गयो । आत्तिएका थियौं हाम्रो टोली । छालभित्र हराएकाहरूले लाइफलाइनमा समातेका रहेछन् । रिभर गाइडले एक एक गर्दै उद्धार गरे । यसबेलासम्म हामी पनि छालभित्र पुगिसकेका थियौं । एक छिन त सास फेर्नै गाह्रो भयो । भाँडोबाट पानी घोप्ट्याएजस्तै लाग्ने त्यो वेगको छालले गर्दा । डर लागे पनि चिच्याउँदै, हाँस्दै छाल पार गर्दा यो पाला भने साँच्चिकै एड्भेन्चरस फिल भयो ।


गन्तव्यमा पुग्नेबेला भयो । रिभर गाइडका अनुसार अन्तिम छालमा पुग्यौं । यो पटक पनि भाँडा घोप्ट्याएजसरी छालको वेगले हान्यो । मैले डुंगा खियाउनुको सट्टा हतारहतार लाइफडोरी पक्रिसकेको रैछु । हल्लाखल्ला गर्दै छालमा रमाउनुको मज्जा भने बेग्लै थियो । डराउँदै, रमाउँदै अघि बढिरहेको र्‍याफ्टिङ समय पनि सकियो । बेलुकीको ६ बजिसकेको थियो । सबै जना डुंगाबाट ओर्लियौं । सबैजसो निथ्रुक भिजेका थियौं । पश्चिमतर्फ अस्ताउँदो घामको सुनौलो साँझसँगै त्रिशूलीलाई बिदाइको हात हल्लाउँदै बस चढेर काठमाडौं फर्कियौं ।


त्रिशूली र्‍याफ्टिङका लागि प्रसिद्ध छ । काठमाडौं, चितवन र पोखराको पायक पर्ने भएकाले र्‍याफ्टिङ गर्नेको फ्लोमा पनि कमी हुँदैन । त्रिशूलीमा र्‍याफ्टिङ सुरु हुँदा बढीजसो विदेशी हुन्थे । पछिल्लो समय नेपालीहरू बढी हुन्छन् । अचेल २५ प्रतिशत जति मात्रै विदेशी हुन्छन् । उनीहरू साता, १५ दिनको ‘ट्रिप’ मा आउने गरेको र्‍याफ्टिङ सञ्चालकहरूले बताए ।

प्रकाशित : असार १४, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?