१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

युनानको रोबोट

घनश्याम खड्का

 
उसको छातीमा टाँसिएको थियो एउटा आइप्याड  । ‘तपाईं ऊसँग कुरा गर्ने कि उसले नाचेको हेर्ने ?’ चिम्सो आँखा मुन्तिरको एक जोर चिनियाँ ओठले मलाई सोध्यो  ।

युनानको रोबोट

‘दुवै !’ मैले संक्षिप्त प्रतिक्रिया दिएँ । त्यसपछि उसका सुरिला औंलाहरू आइप्याडको एउटा एप्स क्लिक गर्न तल्लीन भए । तत्काल एउटा गीत बज्न थाल्यो र ऊचाहिँ नाच्न । बाटामा हिँडिरहेकाहरू टक्क रोक्किए, पर उभिएकाहरू नजिक आए र आपसमा गफिएकाहरू चुप लागे । सबका उत्सुक आँखा उसको नाच हेर्नमा केन्द्रित हुन पुगे । स्टिलले बनेका उसका हात–खुट्टाको लयदार नृत्य अनि सिसाले बनेका उसका आँखामा टल्किएको आनन्दजस्तो लाग्ने उज्यालो हेर्दा सबको अनुहार आश्चर्य र खुसीले एकसाथ बलेजस्तो भएको थियो ।


चीनको प्रसिद्ध प्रान्त युनानको राजधानी कुनमिङमा गएको साता भेटिएको यो रोबोट मान्छे आकारको थियो र चिनियाँ भाषा बोल्नेसँग मज्जाले कुरा गर्न सक्थ्यो । सुन्दरी युवतीको आकारमा निर्माण भएकी सोफियाको चर्चा संसारभर भइरहेका बेला चीनले आफ्नो भाषामा गफिन सक्ने रोबोट बनाउने भित्रभित्रै तयारी गरिरहेको रहेछ । गत साताको एक भव्य प्रदर्शनीमा यो राखिएको थियो । टाउको र छाती मात्रै भएकी सोफियाभन्दा यो चिनियाँ रोबोट के कुरामा फरक थियो भने यो हिँड्न सक्थ्यो किनभने मान्छेजस्तै देखिनका लागि चाहिने सबै अंग ऊसँग थियो । अनुहारको बान्कीमा दुईतिर टाँसिएका ठूला चम्किला आँखाले भने यो कान्छो रोबोटको अनुहार अंग्रेजी सिनेमाको कुनै एलियनलाई सम्झाउने खालको थियो ।


गएको वर्ष राष्ट्रसंघले एक दिनका लागि नेपाल झिकाएको सोफियासँग हूलमूलमा झुलुक्क भेटेको थिएँ तर कुराकानी भने समय नहुनाले हुन पाएन । पूरै कदको चिल्लो जीउ भएको त्यस रोबोटलाई भेटेको दिनचाहिं म जति समय पनि ऊसँग कुरा गर्न सक्थें तर समस्या के भने ऊ अंग्रेजी नबुझ्ने म चिनियाँ बोल्न नजान्ने । जसरी साताभर अन्य चिनियाँसँग दोभाषे मार्फत कुरा गरेर काम चलाउनुपरेको थियो, त्यस रोबोटसँग पनि उसैगरी दोभाषे मार्फतै कुरा गर्नुपर्ने अवस्था आइलाग्यो ।


सिनेमाहरूमा वा वेभ पेजहरूमा रोबर्टका बारेमा देखे सुने पनि कुनै मान्छेजस्तो बोल्ने र हिँड्ने अमानुषलाई पहिलो पटक भेटेको अवसर भने मेरो त्यही एक थियो । त्यसैले पनि म उसप्रति ज्यादा उत्सुक थिएँ । कृत्रिम बौद्धिकताको कमाल के थियो भने यो रोबोट आम मानिसले झैं बातचित गर्न र तर्कपूर्ण निष्कर्षहरू निकाल्न सक्थ्यो । क्यानबोट नाम पाएको यो रोबोटलाई छिट्टै नै अंग्रेजीमा पनि कुरा गर्न सक्ने बनाएर विश्व बजारमा पुर्‍याउने योजना प्रदर्शनीस्थलकी युवतीले सुनाउँदै गर्दा म भने उसको लयपूर्ण नित्य हेर्नमा ज्यादा उत्सुक थिएँ ।


कुनमिङले हरेक वर्ष आयोजना गर्ने दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियाको व्यापार मेलामा गत साता घुम्दै गर्दा अरू पनि थुप्रै रोबोटहरूसँग भेट भयो । चीनका प्रदर्शनीस्थलहरूमा रोबोटका अतिरिक्त रेल, हावाबाट बिजुली निकाल्ने संयन्त्र र अरू यस्तै भव्यतम प्राविधिक र वैज्ञानिक खोजका कुरा ज्यादा थिए । त्यस विराट हाट बजारमा मेला भर्न आएका अरू देशका सामग्री भने काठ, फलाम र अरू यस्तै धातुले बनेका थिए । जस्तो कि, श्रीलंकाले पत्थरका गहना र केही चियाका परिकारहरू बेच्न राखेको थियो भने पाकिस्तानले चाहिँ ज्दादातर सिंगमरमर र धातुका सामग्री अनि छालाका कपडा । भारतले काठका सामान र खद्दरका लुगा राखेको थियो भने नेपालको स्टलमा चाहिँ बुद्धका मूर्ति थाङ्का चित्र अनि सिंगिङ बाउलहरू थिए ।


प्रदर्शनी हेर्दा यस्तो लाग्थ्यो, हरेक देश आफूसँग भएको उत्कृष्ट चीज बोकेर बजारमा बेच्न भनी आएको छ । अरू सबको बजार हेरिसकेपछि नेपालको प्रदर्शनीका मालहरू दाँजी हेर्दा मलाई के लाग्यो भने, विदेशीका लागि बेच्न भनेर हामीसँग यही एउटा बुद्धको मूर्ति र उनका उपदेश अनि ध्यानहरूसँग जोडिएका सामग्रीबाहेक अरू केही छ भने भने पस्मिनाको पच्छ्यौरा र सल नै त रहेछ नि । हामीलाई सुरुदेखि नै कुनमिङमा हिँडडुल गर्दा दोभाषेको काम गर्दे आएकी चिनियाँ कम्युनिस्ट पार्टीकी स्वयंसेविका विन्जीले नेपालको प्रदर्शनीस्थलमा खास चासो देखाई, मैले चीनका प्राविधिक कुराहरूमा चाख देखाएजस्तै गरी ।


खासगरी सिंगिङ बाउल उसलाई मन परेछ, किनी । मन अशान्त भएका बखत यसलाई रगडेर निक्लने धुनले भित्री आनन्द मिल्छ भन्ने नेपाली व्यापारीको कुरा उसले पत्याई । त्यस क्षण मलाई लाग्यो, मान्छेले आफूजस्तै रोबोट बनाए पनि र चन्द्रमामै पुगे पनि खोज्न त सुखै खोज्ने हो जो एउटा कचौराको आवाजमा पनि मिल्न सक्छ लिन जान्यो भने । यही भएर होला, हरेक वर्ष बुद्धका अन्धोन्मिलित मूर्तिहरू बेच्न भनेर नेपाली व्यापारीहरू कुनमिङ पुग्दा रहेछन् । रेलजस्तो छिटो कुद्न थालेको जिन्दगीबाट केही बेर फुत्किऊँ भनेर चिनियाँहरू यसलाई किन्न भनेर आउँदारहेछन् ।


भारत, पाकिस्तान, बंगलादेशदेखि इन्डोनेसिया, थाइल्यान्ड र भियतनामदेखि आएका पत्रकारहरूचाहिँ मैलेझैं उन्नतिको शिखरमा चढ्दो चमकधमकवाला चिनियाँ समाज र वस्तुहरू हेर्नमा ज्यादा फुरफुर गरिरहेका थिए । प्रेस ट्रस्ट अफ इन्डियाका सञ्चिव चोप्रा गोलीझैं कुद्ने बुलेट ट्रेनका बारेमा निकै सोधपुछ गर्नतिर लागे । बंगलादेशकी अनलाइन पोर्टलकी संवाददाता जस्मिन पप्रीलाई चीनको हरेक तरक्कीले उदेक पारिरहेको थियो ।


पाकिस्तान टेलिभिजनका सलिम र अलीचाहिँ हरेक कुरामा आफ्नो देशको अस्तव्यस्तता र चीनको उन्नतिलाई दाँज्दै गुनासिइरहेका थिए । ‘हाम्रा नेताहरू नगएको देश छैन, तर सिक्नचाहिँ के सिके त विदेशबाट ?’ वीरगन्जमा प्रतीक दैनिक पत्रिका निकाल्ने काम गरिरहेकी हाम्रै टोलीकी सुष्मा शर्मा पनि सलिमहरूकै लयमा भनिरहेकी थिइन्, ‘संसारमा यस्तो भइसक्दा पनि नेपालचाहिँ जहिल्यै उस्तै !’ यसरी अरूको प्रगति हेरेर आफ्नो देशको उपद्रवलाई सम्झँदै हामीले कुनमिङको त्यो भव्यतम हाट बजारका नौला चीजहरू नियाल्यौं, चिनियाँ उड्ने कारमा पसेर तस्बिरहरू खिचायौं र युनानका आदिवासीहरूले देखाएको सांस्कृतिक नृत्यहरू ग्रिन टीको चुस्की लिँदै हेरिरह्यौं ।


फुजियान लेकको किनारमा उभिएको पाँचतारे होटल हिल्टनको फराकिलो सभाहलमा सबै देशका सञ्चारकर्मीलाई भेला गराएर सूचनाको एसियाली सञ्जाल तयार पार्नेबारे बहस छेड्ने चिनियाँ सरकारको तयारी रहेछ । आफ्नो क्षेत्रलाई आर्थिक सूचना र समृद्धिको सपनाहरूले कसरी जोड्ने भन्नेबारे हामीले बहस गर्‍यौं । विश्व बजारमा तीव्र गतिका साथ आफ्ना मालहरू र संस्कृतिसमेत पुर्‍याउन उद्यत रहेको चीन कुनै समय आफूले प्रयोग गर्ने गरेको रेसमी मार्ग आधुनिक साजसज्जाका साथ पुनः ब्युँताउन ज्यादै व्यग्र छ भन्ने कुरो त्यहाँ पुग्दा त्यसै थाहा पाइन्थ्यो ।


संसारमा सबभन्दा बढी डलरको सञ्चिति भएको देश चीनले पछिल्लो दस वर्षमा भौतिक संरचनाहरूको निर्माणमा जति बालुवाको प्रयोग गर्‍यो, त्यति बालुवाको प्रयोग अमेरिकाले एक सय वर्षमा मात्रै गर्न सकेको थियो भन्ने तथ्याङ्क आइरहेका बेला उसका फराकिला सडकहरू, फ्लाइओभर र कोसौंकोस विस्तार भएका रेलमार्ग अनि चारकोसे झाडीझैं फैलिंदै गएका गगनचुम्बी भवनहरूले सुसज्जित चिनियाँ सहर हेरेर दक्षिण एसियाका र दक्षिणपूर्वी एसियाका खबरकर्मीहरू विस्मित भइरहेका थिए ।


आधुनिक संरचना र प्रगति मात्रै नभएर चीनको सांस्कृतिक सम्पदा र यसको इतिहास हेर्दा पनि ऊ संसारमा बेग्लै सभ्यताका साथ अस्तित्वमा थियो भन्ने बुझाउन हामीलाई सहर घुमाउने काममा खटिएका स्वयंसेवी युवतीहरू आफूले जानेको अंग्रेजी भाषाको प्रयोग गरिरहेका थिए । हुन पनि उत्पादन र व्यापारमा पूर्णतः लागिपरेको चीनजत्तिको अर्को देश उतिबेला पनि थिएनझैं लाग्छ इतिहास उधिन्दा । कागज, पैसा र कम्पासको आविष्कार चीनमा भएको थियो ।


आवश्यकता नै आविष्कारकी आमा हो भन्ने बेलायती उखान मान्ने हो भने यी तीन चीज उत्पादन गर्ने आवश्यकता व्यापारकै कारण चीनलाई परेको थियो भन्न सकिन्छ । व्यापारको हिसाबकिताब राख्न कागजले, एउटा सामान लिएर अर्को सामान दिने सट्टापट्टाको कारोबारलाई नगदमा बदल्न पैसाले र संसारभर पुगेर मालहरू बेच्न जाँदा बाटो नभुल्न कम्पासले चिनियाँहरूलाई सघाएको थियो । त्यसैले पनि चीन एक व्यापारिक देश हो भन्ने अर्थ प्रस्टै खुल्छ । त्यसैले उनीहरू पश्चिमा उपनिवेशको सिकार हुनुअघि संसारभर व्यापारकै कारण फैलिएका थिए र समृद्ध भएका पनि थिए । अहिले फेरि उनीहरूको उत्पादन प्रणाली र त्यसलाई संसारभर बेच्नका लागि छ वर्षअघि राष्ट्रपति सी जिन पिङले अघि सारेको वान रोड वान वेल्टको अवधारणा हेर्दा चीन समृद्धिको पुरानै लयमा फर्किन लागेको प्रस्ट हुन्छ ।


चीनले हरेक वर्ष संसारका हजारौंलाई आफ्नो देशमा बोलाएर गराउने व्यापार मेलादेखि विभिन्न सांस्कृतिक गोष्ठी र पर्यटकीय भ्रमण उसको त्यही समृद्धि अनि त्यसलाई फैलाउने व्यापारको भावनाले अनुप्राणित छ । आफ्नो हुवावे कम्पनी मार्फत फाइभजीको व्यापार विश्वभर विस्तार गरेर सूचना र सञ्चारको क्षेत्रलाई एकलौटी कब्जा गर्न खोजेको चीनदेखि कुँढिएर अमेरिकाले उसको व्यापारमा लगाएको अनेक करमाथि अनेक चर्चा गर्दै पत्रकारहरूको अन्तर्राष्ट्रिय डफ्फा बुलेट रेल चढेर डाली युनिभर्सिटी पुग्यो । त्यहाँ आफ्ना देशबाट सयौं विद्यार्थी पढ्न भनेर पुगेको देख्दा दक्षिण एसियाली पत्रकारहरू जिल परे ।


सबले पढ्ने एउटै विषय रहेछ, मेडिकल साइन्स । भारत, पाकिस्तान, बंगलादेश, नेपाल इत्यादि जतै पनि मेडिकल कलेजहरू महँगा भएको र हजारौं हजार विद्यार्थीले चाहेर पनि डाक्टरी पढ्न नपाइरहेको तथ्य बुझेपछि चीनले तिनका लागि अलिक सस्तोमै पढाउने योजना ल्याएर भटाभट आफ्ना देशका विद्यार्थी तानिरहेको रहेछ भन्ने पत्तो पाउँदा भारतीय, पाकिस्तानी र बंगलादेशी मित्रहरू अचम्ममा परे । उति टाढा सयभन्दा बढी नेपाली छात्रछात्रा भेट्दा म पनि जिल परेको थिएँ ।


‘चीनभरिमा हामी हजारौं हौंला, यहाँचाहिँ अहिले पढिरहेका सय जना छौं,’ चिकित्साशास्त्रको अन्तिम वर्ष पढिरहेका वीरगन्जका पवीन्द्र शाह भन्दै थिए, ‘भाषा नजानेर मात्रै हो, पढाइ त नेपालमा भन्दा राम्रो हुन्छ ।’नेपालमा भन्दा आधै सस्तोमा पढ्न पाइने हुनाले चीनमा पवीन्द्रजस्ता असंख्य युवा डाक्टरी पढ्न जाँदा रहेछन् जसलाई हरेक दिन चिकित्साशास्त्रको कक्षमा छिर्नुअघि भाषा चिनियाँ भाषाको कक्षा पनि लिनुपर्ने आवश्यकताले पढाइमा भनेजति समय छुट्याउन मुस्किल परिरहेको थियो । यही हालतमा भारतदेखि पाकिस्तानसम्मका विद्यार्थीहरू पनि भेटिए । मालतालको मात्रै होइन, भाषा, संस्कृति र शिक्षाको पनि व्यापार गर्न चीन अब लागिपरिरहेको छ भन्ने तथ्यको एक उदाहरण थियो डाली युनिभर्सिटीमा भेटिएका यी विद्यार्थी ।


कृषिदेखि शिक्षासम्म र रेलदेखि रोबोटसम्मलाई व्यापारिक जीवन दिएको चीनको चमकधमक जता गए पनि छताछुल्ल हुन्थ्यो युनानमा । पश्चिमा समाजले समृद्धिले मात्रै नभएर भाषा र सम्यताले पनि संसार जितेका बेला त्यसलाई परास्त गर्ने तहमा पुगेर चीनले गरेको यो तरक्कीको आखिर राज के हो ? मौका मिल्यो कि यसबारे दक्षिण एसियाली पत्रकारहरू छलफलमा जुटहाल्थे । साँझ तलाउको छेउमा बियर पिउँदै यसबारे थप विमर्श गर्थे भारतीय मित्रहरू । सन् १९४९ पछि चीनमा छाएको शान्ति, राजनीतिक स्थिरता र योग्य नेतृत्व नै यसको मूल कारण हो भन्ने निचोड उनीहरू निकाल्थे ।
Twitter: @bodhighanashyam

प्रकाशित : असार १४, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?