कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मीठो मसिनो

असार १५
सुरज कुँवर

 
धान नेपाल र नेपालीहरूको एक नम्बरको खाद्यान्न बाली हो  । खेती गरिने करिब ३० लाख हेक्टर जमिनमध्ये करिब १५ लाख हेक्टरमा धान खेती हुन्छ  ।

मीठो मसिनो

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार, यति ठूलो क्षेत्रफलमा लगाइने धान नै पहिलो बाली हो । अर्थात् नेपालमा सबैभन्दा धेरै खेती गरिने बालीका रूपमा धान पहिलो स्थानमा पर्छ । नेपालमा वार्षिक १ खर्ब रुपैयाँ हाराहारीको धान उत्पादन हुन्छ ।


धानबिनाको जीवन नेपालमा कल्पनै गर्न सकिन्न । प्रायः नेपालीले एकआपसमा भेट्नेबित्तिकै ‘भात खानुभो ? भान्सा भयो ?’ भनेर संवादको सुरुआत गर्छन् । यसले पनि भातको महत्त्वबारे प्रस्ट पार्छ । पहिले पहिले पेटभरि भात खान पाउने शक्तिशाली र धनी परिवारका रूपमा कहलिन्थे । गाउँघरमा अहिले पनि पाहुनालाई सत्कार गर्दा बास्नादार वासमती चामलको भात वा खीर खुवाउने चलन छ । यो सत्कारलाई अझै विशिष्ट मानिन्छ । असार १५ लाई मानो रोपेर मुरी फलाउने समयका रूपमा मानिन्छ । असार १५ नेपालीहरूका लागि चाड हो । नयाँ शिक्षा लागू हुनुअघि नेपालमा असार र साउनमा स्कुल, क्याम्पसमा छुट्टी दिने चलन थियो । यो धान रोप्नका लागि दिइएको छुट्टी थियो ।


धान र अक्षताबिना नेपालमा सायदै कुनै धार्मिक सांस्कृतिक कार्य सम्पन्न हुन्छ ! नेपाली जातिमा जन्मदेखि मृत्युसम्म र वर्षभरि मनाइने चाडमा धान चामल नभई हुँदैन । १६ संस्कार हुन् या जोगी घरमा माग्न आउँदा चामल नै दिने प्रचलन रहिआएको छ । जन्म, न्वारन, भातख्वाइ, चूडाकर्म, व्रतबन्ध, विवाह, पूजा, होम, दुःख फुकाउँदा, मुत्यु, बर्खी, श्राद्धलगायतका कर्म धान चामलबिना अधुरा हुन्छन् । नेपालमा १२ महिनामा आइपर्ने चाडपर्वहरू कृषिकर्म त्यसमा पनि धानसँग सम्बन्धित छन् । नेपाली कृषि वैज्ञानिकद्वय मीननाथ पौडेल र डिलाराम भण्डारीले ०७३ सालमा ‘राइस साइन्स एन्ड टेक्नोलोजी इन नेपाल’ नामको कमपेनडियममा बाह्रै महिनामा पर्ने सामाजिक सांस्कृतिक चाडबाड र पर्वमा धानको सम्बन्धबारे यसरी प्रस्तुत गरेका छन् ।


वैशाख
वैशाख १ गते नयाँ वर्ष हो । यस दिन शुभकामना दिने र टीका लगाउने चलन छ । टीका लगाउँदा दही, रातो रङ र चामलसहितकै टीका निधारमा लगाइन्छ । वैशाख पूर्णिमा, बुद्ध जयन्ती र चण्डी पूर्णिमा यस महिनामा पर्ने ठूला चाड हुन् । पूर्वी पहाडका राई, लिम्बूहरूले यो दिन साकेला नाच र उभौली नाच गर्ने चलन छ । यसको अर्थ धानको सिजन सुरु भएको जनमानसमा सन्देश प्रवाह गराउने रहेको छ । नेपाली परम्पराअनुसार, वैशाख/जेठमा जातीय समुदायले नयाँ वर्षका साथै दिवाली मनाई आफ्ना कुलदेवताको चामललगायतका कृषिउपजले पूजा गर्छन् । नेवार समुदायले देवाली मनाउँदा चामलको रोटी चटामरी बनाई देवतालाई चढाउँछन् ।


जेठ
यो महिना बर्खे धानको बीउ राख्ने बेला हो । अधिकांश किसानले शुभमुहूर्तअनुसार ब्याडमा बीउ राख्छन् । धान खेतका लागि हलो, कोदालो, गोरु, राँगालाई तयारी अवस्थामा राखिन्छ । असार र साउनमा धान रोपाइँमा घरपरिवारका सबै सदस्य व्यस्त रहने भएकाले जेठमा नै धान कुटाई भण्डारण गर्ने गाउँघरमा चलन अझै छ । यसै बेला चैतेधान काट्ने कार्य सुरु हुन्छ । वर्षेधानका लागि किसानहरू मिलेर कुलो र नहर सफाइ मर्मत गर्छन् ।


असार
यो महिना मानो खाएर मुरी फलाउने बेला हो । धान रोप्ने काम यसै महिना हुन्छ । असार १५ नेपालीहरूको एउटा चाड नै हो । यस दिन दही–चिउरा खाने, हिलोको टीका लगाउने सबैले खेतमा काम गर्ने दिन हो । असार १५ कृषि कार्य मात्रै होइन नेपाली संस्कृतिको एउटा परम्परादेखि चलिआएको विरासत हो । धान रोप्न २०२८ सालमा नयाँ शिक्षा योजना लागू हुनुअघि नेपालका स्कुल र कलेजमा असार र साउन दुई महिना बिदा दिने चलन थियो । यो सबै धान रोप्नका लागि दिइएको छुट्टी थियो ।


साउन
साउने संक्रान्ति धान रोपिसकेपछि गोरु नुहाउने दिन हो । यसलाई लुतो फाल्ने दिन पनि भनिन्छ । यस दिन असारभरि धान रोपेर थकित भएका परिवारका सदस्यहरूले मीठो चोखो खाने चलन छ । कतै चाम्रे, लट्टे, गण्डकी क्षेत्रमा अनदीको चामलको लट्टे खाने चलन छ । यस महिना धान खेतमा राम्रोसँग पानी लागोस् र खेती राम्रो होस् भनेर चामल र अक्षताको प्रयोग गरी नाग पुज्ने चलन छ । साउनमा दूध र चामल (खीर) खाने चलन पनि छ । साउनको अन्तिममा तागाधारीहरूले रक्षा बन्धन जनै पूर्णिमा मनाउँछन् । जनै पूर्णिमाको अघिल्लो दिन हविस्य (मीठो चोखो) खाने चलन छ ।


भदौं
यो महिना धान खेतमा किरा नलागून् भनेर हरेलो राख्ने गरिन्छ । हरेलो राख्नु भनेको खेतको बीचमा पर्ने आलीमा सिमलीको डाठमा कालो हाँडीमा भुस र त्यस्तै बाल्ने चीज राखेर धुँवाउने चलन हो । कृषि वैज्ञानिकहरूका अनुसार, यो किरा धपाउने परम्परागत प्रविधि हो । यसै महिना घैया धान तयार हुन्छ । भदौमा जनै पूर्णिमा, श्रीकृष्ण जन्माष्टमी आदि चाड पर्छन् । यी चाडमा मीठो मसिनो खाने चलन छ । मीठो मसिनो भनेको भातसहितको खान्कीलाई मानिन्छ । नेवार समुदायमा लाखे नाच गर्ने र सेलरोटी, चिउरा खाई रमाइलो गर्ने चलन छ । भदौमा काठमाडौंमा कुमारी जात्रा गरी चामलबाट तयार व्यञ्जन भोजन गर्ने परम्परा छ । थारू समुदाउमा यसै बेला जितिया पर्व पर्छ । यो पर्वलाई धान रोपाइँको अन्तिम दिनका रूपमा लिने गरिन्छ । यसको अघिल्लो दिनसम्म रोपाइँ गरिन्छ । यस दिनपछि बर्खे रोपाइँ सकिन्छ ।


असोज
यस महिना पितृपक्ष पर्ने हुनाले चामलबाट तयार गरिएका शुद्ध परिकार १६ दिनसम्म खाने गरिन्छ । धानबिना सोह्र श्रद्धा कल्पना गरिंदैन । पितृलाई स्वर्गमा तार्दा चामलको पिण्ड बनाई चढाउने र श्राद्धमा ब्राह्मणलाई सिदा दान र श्राद्ध ख्वाउँदा राम्रो चामलको भात दाल खुवाई बिदा गर्नुपर्छ । यो महिनामा पर्ने मुख्य चाड दसैं–तिहार हुन् । यस बेला घरका सबै सदस्य मिलन हुने र मीठो मसिनो खाने नयाँ लुगा लगाउने चलन छ । दसैंमा नवदुर्गा भवानीको पूजाको प्रसाद धान, जौ, मकै आदि अन्नबाट उमारिएको जमराबाट हुन्छ । नौ दिनसम्म जमरा पूजा गरी बडादसैंको दिन पहेंलो जमरासित रातो र सेतो टीका लगाउने हिन्दू र बौद्ध धर्मावलम्बीहरूमाको परम्परा छ ।


कात्तिक
अधिक मास परेको अवस्थामा कुनै बेला दसैं पनि यसै महिना आइपर्छ । तर, यो महिना दोस्रो ठूलो चाड तिहारको हो । तिहारमा गाईबस्तुलाई धानको लाहा बनाई दिन–दिन कुँडोमा मिसाई पिंडो खुवाउने चलन छ । यस महिनामा हरिबोधनी एकादशी पर्छ । उक्त दिन निराहार बसी साँझ मीठो चोखो खाने गरिन्छ । प्रायःले चामलबाटै बनेका रोटी, पुवा, खट्टे खान्छन् । कात्तिकमा अगौटे धान काट्न मुठी लिने चलन छ । तराईमा छठ मनाउनेले चामलको पिठोलाई भुटेर सख्खर, मरीच, नरिवल, छहरा मिसाई डल्लो लड्डु बनाउछन् र छठ परमेश्वरीलाई चढाउँछन् ।


मंसिर
यस महिना धान काटी दाइँ गर्ने, न्वागी खाने गरिन्छ । मंसिरमा छिटो पाक्ने धान काट्ने, कुनिया हाल्ने, टौवामा पराल राख्ने, खलाबाट धान बेची वर्ष दिनका लागि नुन–तेल जोहो गर्ने कार्य गरिन्छ । असारमा रोपेको धान यसै महिनामा थन्क्याउने चलन छ । यसै महिनामा सामाजिक कार्यका लागि धान दान गर्ने धान्याञ्चल पर्व गर्छन् । नेवार समुदायमा यसै महिना ताइचुङ धानको चामलको पिठोबाट यःमरी बनाउने र खाने चलन छ । पूर्वी पहाडमा राई, लिम्बूहरू उधौली पर्वमा धाननाच नाच्ने चलन छ । यसै बेला धानको पूजाआजा गरी भकारीमा भित्र्याउने चलन छ । ओमकार समूहले होम र रुद्री गर्छन्, जसमा चामलकै प्रयोग हुन्छ ।


पुस
यो महिना पछौटे धान भित्र्याउने चलन छ । धानको परालको दाइँ गर्ने गुन्द्री बुन्ने कार्य हुन्छ । पुस १५ पनि असार १५ जस्तै मीठो मसिनो खाने दिन हो । तमूहरूले नयाँ वर्ष मान्ने यस दिन मीठो मसिनोका रूपमा धानकै परिकार खाने चलन छ । धान थन्क्याएर अराम गर्ने महिना पनि हो यो । यो महिना जेठका लागि बल्याएको धान छुट्याएर राख्ने चलन छ । यो महिना नयाँ धानको चिउरा खाने चलनअनुसार चिउरा मिल चिउरा उत्पादनमा व्यस्त हुन्छन् ।


माघ
माघे संक्रान्तिमा मेला भर्ने काम हुन्छ । थारू समुदायले माघिका दिन अनदी धानको चामल पकाएर केराको पातमा पोका बनाई चिचर बनाउँछन् । मगर समुदायले पनि संक्रान्ति मनाउँछन् । माघ महिनामा चैतेधानका लागि कुलो खन्ने, खेत जोत्ने कार्य सुरु हुन्छ । माघको अन्त्यतिर चैतेधानको बीउ राख्ने कार्यका लागि ब्याड राख्ने गरिन्छ । यो महिनामा मास, चाम, हलेदो, अदुवा, घ्यू र नुन मिसाएर खिचडी खाने चलन छ ।


फागुन
नयाँ बाली सुरु गर्ने महिना हो । चैतेधान रोप्ने कार्य सुरु हुन्छ । टार र बेंसीमा घैया छर्ने कामका लागि बारी खनजोत हुन्छ । मंसिरमा काटेको धानको चामलमा पानी बढी हुने हुँदा गिलो हुने, कुट्दा चामल कम पर्ने हुने हुँदा फागुन महिनादेखि नयाँ चामलको भात खाँदा नरम, स्वस्थ र राम्रो हुन्छ भन्ने भनाइ छ ।


चैत
यस महिनाको मध्यसम्म चैतेधान रोप्ने काम हुन्छ । यसै महिना चैतेदसैं पर्छ । चैतेदसैं पनि मीठो मसिनो खाने अवसरकै रूपमा लिइन्छ । जुम्लामा चैत १२ गतेभित्र परदेश गएको व्यक्ति ब्याड राख्न घर फर्केन भने जुम्ली मरेको वा बिरामी परेको सम्झिने परम्परा छ ।

प्रकाशित : असार १४, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?