गमगढी चंखेली

रोशन शेरचन

पट्यारलाग्दो अपराह्नमा आएको त्यो फोन लेकाली बतासजस्तो ताजगीपूर्ण थियो  । वैशाखको एक दिन, मोबाइलमा मित्र रामचन्द्र सेढाईको आवाज सुनिन्छ– ‘रोशन दाइ, समयको अनुकूलता के छ तपाईंको  ।

कर्णाली प्रदेशको पर्यटन गुरुयोजना बनाउने काममा छौं । तपाईंले जैविक विविधताविद्को रूपमा टिममा योगदान गर्नुपर्नेछ । तपाईंको एक्यापको अनुभव पनि काम लाग्छ ।’ सेढाई दुई दशकदेखि पर्यटन क्षेत्रमा समर्पित अनुसन्धानकर्मी । सिजन्ड ट्रेकर । हाल बुद्विज्म् र हिमालयन स्टडिज्मा अध्ययनरत । कर्णाली प्रदेश सुन्नासाथ मन प्रफुल्ल भयो । जवाफमा भने ‘राम्रो प्रस्ताव । कर्णाली प्रदेश घुम्ने मेरो सपना हो । म समय पक्कै मिलाउँछु ।’ भर्जिन ल्यान्डलाई नजिकबाट अनुभव गर्ने अवसर म कसरी गुमाउँथें र !


सधैं घर र अफिस गरिरहँदा म दिक्क भइहाल्छु । कामको आयतनले भन्दा एकैखाले दिनचर्याले हुने हो दिक्दारी । पुनरावृत्तिले मेरो मन अलि चाँडै भर्छ । पसल रुँगेर जिन्दगी बिताउने साहुजीहरूको दिनचर्या सम्झँदा म त्यसै आत्तिन्छु । सेक्युरिटी गार्डहरूको एकै ठाउँ उभिइरहने दिनचर्या देखेर झनै कहालिन्छु । एकै ठाउँमा मान्छेहरू कसरी बस्न सक्छन् ? धेरै युवाहरू फुर्सदको समय वार, पब, क्याफे जान्छन् तर मलाई भित्रैदेखि मज्जा आउँदैन । एकरसताको दैनिकी बिथोल्न र जीवनमा फरक पृष्ठ टाँस्न बरु भ्याउन्जेल हाइकिङ जान्छु । काठमाडौंमा त्यसो नगरे बाँच्न कठिन छ । तर मित्रको प्रस्ताव त कर्णाली प्रदेशको थियो । टौदह खोजेको व्यक्तिले रारै भेट्टाएजस्तो भो । भ्रमण गर्न त्यही एउटा प्रदेश बाँकी थियो । मनमा रारा, से–फोक्सुन्डो, सिंजा उपत्यका, जुम्ली मार्सी, सिमकोट, डोल्पा, डोरबहादुर विष्टको तस्बिरहरू देखिन थाल्यो । हिमाली लेकको यार्चागुम्बा क्याराभान, दुर्लभ हिउँचितुवा, नेपथ्यको सा...कर्णालीको दृश्यांकन, अमृत गुरुङ र थिन्ले पनि आँखा अगाडि उभिन आयो । मानौं आँखा पर्दा हो, प्रोजेक्टर त मस्तिष्कको कुनै गुप्त तहखानाबाट सञ्चालित छ । कल्पनाको सुदूर र अभेद्य अट्टालिका च्यात्दै उत्साहित मनहरू उडान भर्ने तयारीमा पंखहरू गाँस्न थाले ।


२७ जेठ, २०७६ मा अद्वितीय रारा भ्रमण गरेपछि सदरमुकाम गमगढी झर्‍यौं । रारामा समाहित प्रकृतिको सघन निर्जनता र पानीको स्वच्छता त अवर्णनीय छ । सकिएछ भने रारा–अनुभूति कुनै दिन लेखुँला । तर मन हर्ने अर्कै पक्ष पनि थियो । थोरै भिरालो खस्रो भूमिमा बसेको परम्परागत गमगढीको पृथक् ल्यान्डस्केप । साँगुरो बाटाको दुवैतर्फ विकसित दुई लाइनको बजार । भिन्न विशेषताको । मुस्ताङको झारकोटको सम्झना आयो । ठाउँहरू राम्रा नराम्रा भन्ने हुन्नन्, मात्र फरक हुन्छन् भन्ने एक जना चर्चित घुमक्कडको भनाइ सम्झें । विविधतालाई सम्मान गर्ने अभिव्यक्ति हो त्यो ।
गमगढीको गोष्ठी सकी जेठ २८ सबेरै हुम्लाको निम्ति हिँड्यौं । शेरबहादुर रोकाया, सहायक वन अधिकृत अर्जेन्ट कामले सुर्खेत फर्कनुपर्ने भयो । व्यवस्थापन र समन्वयको जिम्मेवारी रोकाया सरले कुशलतापूर्वक निर्वाह गरेका थिए । व्यवस्थापनको जिम्मा अब अधिकृत तुलसीप्रसाद आचार्यमा सरेको थियो । आर्टिटेक्ट दिपिन पन्त र मेरो काम त प्राविधिक सत्र सहजीकरण गर्नु, पर्यटकीय गन्तव्यको अवलोकन र इन्भेन्ट्री गर्नुमा सीमित थियो । मुगुसम्म त गाडीमै गइयो । पदयात्राचाहिँ बल्ल सुरु भयो । पोर्टर नपाएपछि तुलसीजी र गोकुलजी एक्स्ट्रा ब्याग बोक्दै ओरालो लागे । कर्णाली पुल नजिकको बस्तीमा पोर्टर पाइन्छ भन्ने सुनेका थियौं ।


कच्ची सडकबाट चंखेली हिमाल देखियो । चंखेलीको मनमोहक दुईवटा चुलीहरू प्रस्ट देखिन्थ्यो । यो त्यही हिमाल हो जसको तस्बिर एक रुपैयाँको नोटमा राखिएको छ । कर्णालीको यो हिमाललाई चिनाउने त्यो फोटोग्राफर को होला ? खुल्दुली लाग्यो । अहिले त त्यो नोट प्रचलनबाटै हराइसक्यो । सम्झना ठीक साँचो भए, चंखेली हिमालसँगै मृगको तस्बिर पनि त्यो नोटमा भएजस्तो लाग्छ । मोबाइलबाट चंखेलीको केही सटहरू लिए । खच्चडको लस्कर उकालो चढ्दै थियो । माथिबाट झरेका गाईका बथानहरू झोलुंगेपुलको मुखमा अल्मलिएका थिए । दुई चार जना व्यक्ति गाईहरूलाई पुल तार्न खोज्दै थे । तर गाईहरू मरिकाटे मानिरहेका थिएनन् । मुगु–कर्णाली बर्खामासको तीव्र उफानमा बेतोड बगिरहेको थियो । खच्चडको अर्को क्याराभान घण्टी हल्लाउँदै पुलको अर्को मुखबाट छिरेपछि हामी पुलनेरै अडियौं । पारिबाट खच्चड, वारिबाट धकेल्दै लगिएको गाई, तमासै भयो । गाई ज्यान जाला अगि नबढ्ने, खच्चड ठेलेरै बढ्ने । खच्चडको लर्कोले पन्ध्र मिनेटजसो नै पर्खन पर्‍यो । गाईहरू अन्कनाइरहेकै अवसर छोपेर हामी अगि बढ्यौं र पुल मुखैको चियापसलमा बिसायौं । यहाँ कर्णालीको ध्वनि केही मत्थर सुनिन्थ्यो । खाजा खाने सल्लाह भयो । साहुनी आटा गुथ्न थालिन् । हामी पोर्टर खोज्न । थकाइको कारण हाते झोला र ब्याकपाक भुइँमै लडाइदिएका थियौं । झोला उभ्याउने जाँगर पनि चलेन । नसकिने त होइन, तर सबै ठाउँमा त्यसो गर्न सम्भव थिएन । एक्स्ट्रा झोलामा स्टेसनरी र चार्ट पेपरहरू थियो । मेरै पनि दुईवटा ब्याग–प्याक भएकाले एउटा कसैलाई बोकाउनै पर्ने अवस्था थियो । लोड भारी बोकी चंखेलीको उकालोमा हिँड्न असम्भवप्रायः नै थियो ।


सातथाप्लासम्म झोला बोक्ने मान्छे खोजिदिनुपर्‍यो । रोटी बेल्दै गरेको साहुनीलाई आग्रह गर्‍यौं । खै कहाँ पाइएला र यतिखेर ? साहुनीको जवाफ थियो । खै त साहुजी ? सायद दिपिन पन्तले सोधे । उस्तै परे साहुजीलाई नै मनाउने विचार थियो । साहुनीले थपिन्, ‘मेरा बूढा त गाई तार्दै छन् । गाई धनीहरूले तानेरै लगे ।’ झोलुंगेपुलतिर दृष्टि दिएँ । असिनपसिन भई गाई तार्दै गरेका मध्येका एक पक्कै साहुजी हुँदा हुन् । त्यत्तिकैमा सानो डालोमा तात्तातो रोटी आइपुग्यो । रोटी त उही थियो तर चोयाको डालोमा त्यो प्रस्तुति गज्जबको देखिन्थ्यो । भोक शिथिल हुँदै गयो । हामी बलियो बन्दै गयौं ।


अन्य स्थानीयलाई पनि पोर्टर खोजिदिन अनुरोध गर्‍यौं । एक जना स्थानीय चालक रहेछन् । सहयोगी । स्थानीय ठिटो खोजेर ल्याइदिए । मैले भनें, ‘ल भाइ, तीनवटा ठिकैको झोला छ, सातथाप्लासम्म जाने हो । कति रुपैयाँ लिने ?’ तीन झोलाहरू देखाइदिएँ पनि । ‘तिमी कति दिन्छौ भन न ।’ सुक्खा गमगढीझैं ठिटोको भाषा खस्रो थियो । तर अप्रिय लागेन । कतै खराब अभिप्राय थिएन त्यहाँ । बरु अर्गानिक पो लाग्यो ! भाइ नै जाने भएपछि तिमी नै भन, मैले बल गरेपछि उनले बल्ल मुख खोल्यो– छ हजार । अर्जेन्सीमा केही बढी दिने मानसिकता त थियो । तर, उक्त रकम सोचेभन्दा बढी भयो । बढीमा तीन दिनको हिँडाइ थियो ।समूहबाट कसैले भन्यो, चार हजार । खानाबस्न हामी हेरौंला । तर ठिटो डेग चलेन । कहिले अनुहारमा, कहिले झोलालाई एकतमासले हेरेर मुस्किलले निर्णय सुनायो– पाँच हजार दिने हो भने जान्छु नत्र जान्नँ । हामीले तुरुन्त निर्णय लिन सकेनौं । ठिटो हाम्रो निर्णय सुन्न केही बेर अडिएको थियो । अनिर्णीत बितिरहेको समयलाई चिर्दै मैले खुसुक्क साथीलाई भनें, पाँच हजार दिऊँ तर ऊ मानेन । टिम स्प्रिटको कुरो जो थियो । त्यसपछि म पनि चुप लागे । एक हजारमा कुरा नमिल्दा समय घर्कंदै गयो । ठिटो केही समय वरपरै देखिइरह्यो । साथीहरू पोर्टर खोज्न गोरेटो बाटो उक्ले । ठिटो पनि कतै अलप भयो । चियापसलमा मात्र बाँकी रह्यो— कर्णालीको मत्थर ध्वनि, रित्तिएको डालो र थकित हामी ।


कर्णाली किनारमा पोर्टर खोज्दै पर्खेको पनि झन्डै दुई घन्टा भइसकेको थियो । समय कर्णालीको पानीझैं बगेर गइरहेको थियो । गोकुल र म धुम्धुम्ती बसेका थियौं । त्यत्तिकैमा एक जना प्रौढ व्यक्ति हामीतिर आए । कसैले भरिया खोज्दै गरेको खबर सुनाएछ । हामीले सोध्यौं, ‘जाने हो हामीसँग ?’ सकरात्मक जवाफ सुनेपछि सोध्यौं ‘सातथाप्लासम्म हो, कति लिने ज्याला ?’ जवाफ आयो— नौ हजार ।
अघिको ठिटोलाई झन् सम्झन थाल्यौं ।
फालाफाल फुर्सद भएपछि पुलतिर दृष्टि फ्याँके । गाईहरू अझै तारिंदै थिए । पालो गरी एक दुई गाईलाई एक जनाले अगाडिबाट तानेर र अर्कोले पछाडिबाट धकेल्दै थिए । डरले होला धेरै गाई झोलुंगेपुलको स्टिल डेकमा अटेरी बालकझैं ढसमस्स बसिदिन्थे । ज्यान जाला अगाडि बढ्दिन भनेर कसमै खाएजस्तो ! घिच्याउनै पर्ने । मधेसबाट ल्याएको गाईले बडेमाको उर्लंदो खोलामाथिको त्यस्तो पुल जीवनमा सायदै तरेको थियो । पशुवृत्तिले केही संकेत दिंदो हो । तीन चौथाइ दूरीजस्तो घिसारेर पछि भने हिँड्दा रहेछन् । फर्कनुभन्दा अगाडि नै बढ्दा कम जोखिम छ भन्ने थाहा पाएझैं । एक पटक पुलको मुख थोरै के कटेको थियो, गाई फनक्क फर्कियो । अगाडिको व्यक्तिले हतासिएर पुच्छर समातेर तान्न थाल्यो । पुच्छर नै चुँडिएला भन्ने डर ! दुष्कर रहेछ हिमाली जीवन । एउटा बाछो त पुल तारिएपछि कर्णालीमै हाम फाल्यो । त्यत्रो उर्लंदो भेल पारै गरेर पारि पुग्यो । कारण अधिकांश गाईहरू पारि नै थिए । ताज्जुब लाग्यो । अपरम्पार पशुशक्ति । त्यसको कैलो रौं लछप्पै भिजेको थियो र पुन पुल तार्ने लाइनमै राखिएको थियो । बाछो देखेर मायै लाग्यो ।


साहुनीलाई सुनाएँ, ‘भरिया पाउन कति गाह्रो हो यहाँ । हाम्रोतिर यति पैसामा सजिलै पाइन्छ ।’ साहुनी बोलिन्, ‘यहाँ सबैले केही न केही गरेकै हुन्छ । बिहानै ६–७ वटा गाई पुल तारिदेऊ, सात हजार दिन्छु भन्दै घरमै आए बूढालाई खोज्न ।’ त्यस्तैमा एक जना विकासे कार्यकर्ता चियापसलमा छिरे । उनको टिसर्टमा लेखिएको थियो, ‘र्‍याप ३ ।’ रुरल एक्सेस प्रोग्राम ३ का कर्मचारी रहेछन् । हाल कर्णाली करिडोरमा सडक बनाउँदै गरेको परियोजना । यो बाटो हुम्लाको सिमकोट हुँदै यलबाङसम्म पुगेपछि कैलाश मानसरोवर जाने तीर्थालुहरू गाडीमा पनि आउने छन् । हाल पैसा हुनेहरू मात्र जहाज र हेली मार्फत तीर्थाटन गर्छन् । रारा भ्रमणमा आउने पनि सिमकोटसम्म उक्लन सक्छ । मुगु–हुम्ला सडकखण्डको पर्यटकीय लाभ दूरगामी हुनेछ । प्रदेश मन्त्रालयबाट पर्यटन गुरुयोजना बनाउने सिलसिलामा हिँडेको तर भरिया नपाएर अड्किएको बताएपछि उनले सहयोगी भावमा दुईवटा ट्याक्टर स्काभेटरको निम्ति इन्धन लिएर जाँदै छ, दस–पन्ध्र मिनेटमा तयार रहनुहोला भने । गमगढीबाट ओरालो झर्दा कच्ची सडकको धमिलो डोब भीरको अक्करमा देखेको थिए । डरलाग्दो । जोड हिँड्नमै थियो तर ट्याक्टर चढ्न बाध्य भयौं ।


परको घुम्तीबाट ट्याक्टर फुक्त निस्कदा भने खुसी भयौं । जिन्दगीमा पहाडी बाटोमा ट्याक्टरको यात्रा कहिल्यै गरेको थिइनँ । रोमाञ्चले भरिएँ । इन्धन भरिएको नीलो प्लास्टिकको ड्रममाथि बस्यौं । भर्खर ट्र्याक खोलेको कच्ची सडकमा ट्याक्टर धूवाँ पुत्ताउँदै गुड्न थाल्यो । गुड्यो के भन्नु, ढलपल गर्दै अगि बढ्यो । साँगुरो सडक, त्यसमा थप चढाइ । जोखिम थियो । चंखेली हिमाल पुन देखा पर्‍यो । मानौं स्वागत गर्न थुम्कोसम्मै आएको छ । सल्ला, धुपी र खस्रुको घना जंगल र कलकल गर्ने खोलाहरू छेउ हिँड्न थालेपछि त त्यो स्वर्गकै बाटाजस्तो अनुभूति भयो । उकालो चढ्दै जाँदा चिसो बतास सल्लाको खोटोले सुगन्धित बन्दै गयो । कठिनाइको बाबजुद सातथाप्लासम्म पुग्नेमा ढुक्क भयौं । भोलि सर्केगाड पुग्नैपर्थ्यो कारण पर्सि त गोष्ठी थियो । साँगुरो र उकालो घुम्तीमा यात्रा गर्नु बाध्यता भए पनि त्यसले विस्मयकारी अनुभवको अवसर दिएको थियो । यात्रा जति रोमाञ्चक, सम्झना उति प्रगाढ । कर्णालीको यो यात्रा दुर्लभ र रोमाञ्चक हुने पक्कापक्की थियो । आखिर आफ्नो यात्रा हामी स्वयम्ले गरेका थियौं ।


न मैले, न कसैले तिम्रो यात्राको बाटो हिँड्न सक्छ
यात्राको बाटो स्वयम् तिमीले नै हिँड्ने हो
टाढा पनि होइन, स्वयम्को समीपमा छ त्यो
हुन सक्छ जन्मैदेखि तिमी त्यसमा थियौं, मात्र थाहा पाएनौं
हुन सक्छ त्यो सर्वत्र थियो, जल र जमिनमा
–वाल्ट ह्विटमैन

प्रकाशित : असार २१, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्

कसको सहर ?

सहरलाई जीवन्तता दिन सुकुम्बासी बस्ती, खुला स्थानका ठेलावाला कफी पसल र हाटहरूको भूमिका छ । यी सबै बिस्तारै संकटमा छन् । सुकुम्बासी बस्तीबारे अनेकौं मत छन् । बुटवल उपमहानगरपालिकाको प्रोफाइलमा भने सुकुम्बासीबारे एक शब्द पनि छैन 
रामचन्द्र श्रेष्ठ

जेठको मध्यतिर बुटवल उपमहानगरपालिका वार्ड नं. १ (पुरानो बुटवल), जामे मस्जिदअगाडिको एउटा पुरानो घरमा उपमहानगरपालिकाले डोजर चलायो । उक्त घर बिटौरी जग्गामा अवस्थित थियो  ।

खासमा राणाशासनको बेलामा शासकहरूको घोडा बाँध्ने तबला थियो त्यो । त्यहाँ १६ घरपरिवार बसोबास गर्थे । उनीहरू २०२८ सालदेखि त्यहाँ बसोबास गर्न थालेका थिए । त्यहाँ बसोबास गर्नेहरू प्रायः निर्माण मजदुर हुन् । केही हाटबजारमा नाङ्लो पसल गर्छन् ।

उपमहानगरपालिकाले कभर्डहल बनाउनका लागि त्यहाँ डोजर चलायो । डोजर चलाउनुअघि यी १६ घरपरिवारका मानिसबारे केही सोचेन । किनभने यी मानिस कुनै राजनीतिक शक्तिसँग पहुँचमा थिएनन् । यी कुनै दलका प्रतिबद्ध कार्यकर्ता थिएनन् । यी साधारण मानिस थिए । सायद साधारण मानिस हुनु नै यिनीहरूको दोष हो जसरी हत्याराको नजरमा जिउँदो हुनु नै अपराध हो । अहिले ती सोह्र घरपरिवार भत्काइएको घरअगाडि धर्ना बसिरहेका छन् । नौ महिनाकी गर्भवती महिला पनि छिन् त्यहाँ । उनीहरू जीवनमा अकस्मात आइलागेको भयंकर समस्यासँग जुधिरहेछन् । यो घटनाले सहर कसको हो भन्ने प्रश्न जन्माएको छ । सहर के हो ? सहर कसरी बन्छ ? सहरका बासिन्दा हुन् वा भनौं सहरिया बन्नका लागि के हुनुपर्छ जस्ता असंख्य प्रश्नहरू आइलागेको छ । नेपाल गाउँ नै गाउँको देशबाट सहरोन्मुख बस्तीहरूको देश बनिरहेको समयमा सहरबारे अनेकौं कोणबाट बहस हुन उत्तिकै जरुरी छ ।

कसरी बन्छ सहर ?
के सहर बाक्लो जनसंख्या हो ? वा थुप्रा घरहरू ? सहरलाई सामाजिक विज्ञानमा अनेकौ कोणबाट परिभाषित गर्ने कोसिस गरेको पाइन्छ । समाजशास्त्री लुइस विर्थले सहरलाई ठूलो भूगोल, बाक्लो जनसंख्या र विविधतायुक्त समाजको रूपमा परिभाषित गरेका छन् । त्यस्तै सहरलाई राजनीतिक, आर्थिक, सांस्कृतिक गतिविधिको केन्द्रको रूपमा पनि बुझिन्छ । सहरको निर्माण सभ्यतासँग गाँसिएको छ । प्राचीन सभ्यताहरूमा सहरहरू स्थापित भएका थिए । ती सहरहरू कृषि कर्मसँग गाँसिएका थिए । नेपालमा वाग्मती सभ्यताले स्थापित गरेको काठमाडौं उपत्यकाका सहरहरू यसका उदाहरण हुन् ।


औद्योगिक क्रान्तिपछि आधुनिक सहरहरू स्थापित हुन थाले । कृषिको जगमा स्थापित स–साना वाकिङ सहर (हिँडेर लम्बाइ पार गर्न मिल्ने) को ठाउँमा ठूला–ठूला सहरहरू स्थापित हुन थाले । त्यसपछि सहरीकरणले केही विशेष चरित्र निर्माण गर्‍यो । अहिले हामी सहरीकरण हुनु भनेको उत्पादनको मुख्य चरित्र कृषिबाट गैरकृषि हुनु, समाज विविधीकरणतर्फ लम्कनु, सामूहिकताको ठाउँ व्यक्तिवादले लिनुलाई बुझ्छौं । त्यस्तै उपभोक्तावाद सहरको विशेष गुण हो ।


नेपालमा तीन प्रकृतिले सहर निर्माण भएका छन् । एक, सभ्यता विकासको क्रममा काठमाडौं उपत्यकाको जस्तो । दुई, प्रशासनिक एकाइको रूपमा पाल्पा, तौलिहवाजस्तो र तेस्रो, व्यापार–व्यवसायको केन्द्रको रूपमा बुटवल, वीरगन्जजस्तो ।


बुटवल इतिहासदेखि नै पहाड र उत्तरी भारतका व्यापारीहरूको जमघटबाट निर्मित हो । विसं १९५० मा ‘चौतारा भन्सार अड्डा’ को स्थापनासँगै बुटवलमा बाह्रै महिना बसोबास हुन थालेको तथ्य भेटिन्छ । तथापि बुटवलको स्थायित्व औलोको उन्मूलन, सिद्धार्थ र महेन्द्र राजमार्गको संगमस्थल, बीटीआई, औद्योगिक क्षेत्रलगायतका संस्थाहरूको निर्माणसँग गाँसिएको छ । सहरको भूगोल निर्माणमा प्रशासनिक र व्यापारिक कारकहरू हावी देखिन्छन् । तर सहर यत्तिले बन्दैन । सहर मानवीय अन्तरक्रियाले बन्छ । सहर भूगोल मात्र होइन । न त यो मान्छेको बस्तीका लागि उपलब्ध स्थान (स्पेस) मात्र हो । यो त मान्छेका दैनिक गतिविधिले निर्मित समाजशास्त्रीय मानक हो । त्यसैले चेन, ओरम र पाउलसेनले बडो रोचक ढंगले लेख्छन्– ‘सहरहरू संरचना, व्यवसाय र प्रशासनिक कार्यहरूले निर्मित हुन्छन् । तर खासमा त्यहाँ बसोबास गर्ने र सास फेर्ने पुरुष, महिला, प्रौढ र केटाकेटीको दैनिक गतिविधिले सहर बनाएको हुन्छ ।’


सामाजिक विज्ञानको भाषामा भन्दा स्पेस (स्थान) भौगोलिक आयाम हो । स्पेसमा मानवीय गतिविधि मार्फत प्लेसको निर्माण हुन्छ । प्लेसले मान्छेलाई पहिचान, सुरक्षा र समुदाय दिन्छ । खासमा मानवीय गतिविधिले प्लेसको निर्माण गर्छ, पछि त्यहीं प्लेसले मान्छेको भविष्य कोर्छ । त्यसैले सहरलाई मान्छेको थुप्रो, प्रशासनिक वा व्यापारिक केन्द्रको संकुचित परिभाषामा मात्र नबुझी मान्छेका संवाद, अन्तरक्रिया र अनेकन गतिविधिको केन्द्रको रूपमा बुझ्नुपर्छ । बुटवल सहर पनि यस्तै मानवीय प्रयत्नहरूले निर्मित छ । बुटवललाई सहर बनाउने केही दृश्य यस्ता छन् ः

दृश्य एक ः श्रम मार्फत अन्तरक्रिया
संसारका सहरहरूमा अनौपचारिक बसोबास गर्ने ठूलो संख्या हुन्छ । त्यसलाई स्लम, स्क्वाटर र नेपालीमा सुकुम्बासीजस्ता शब्दले चिनिन्छ । रोबर्ट न्युअर्थले चर्चित पुस्तक ‘स्याडो सिटी’ मा संसारमा हरेक छ जनामध्ये एक जना यस्तै अनौपचारिक बस्तीमा बसोबास गर्ने उल्लेख गरेका छन् । त्यसैले उनी जिकिर गर्छन् कि नजरअन्दाज गरिने यी बस्तीहरू छाया सहरको रूपमा स्थापित छन् ।


बुटवलको हकमा पनि यहीं लागू हुन्छ । बुटवलमा ठूलो क्षेत्रफलमा सुकुम्बासी बस्ती स्थापित छ । बुटवलले सहरको स्वरूप ग्रहण गर्न थालेपछि गाउँ–गाउँबाट मानिसहरूको बसाइसराइ तीव्र भयो । यसले बुटवलमा आवासको समस्या सिर्जना गर्‍यो । सुरु–सुरुमा बुटवल आउनेहरूले बन्जर जमिन कब्जा गरे । २०२७ सालमा नापी भएपछि केही जमिनलाई पुर्जा प्रदान गरियो । सुरुमा ओगट्नेहरूले ठूलो क्षेत्रफलको जमिनलाई टुक्राउँदै बेच्दै गए । अर्को चरणमा आउने मानिसहरू पर्ती जग्गा, जंगल छेउ र सुखौरा खोला किनार ओगटे । त्यो बस्तीले २०५१ सालमा लालपुर्जा प्राप्त गर्‍यो जुन अहिलेको दीपनगर हो ।


पछि आउने मानिसका लागि बुटवलमा जमिनको अभाव थियो । त्यसपछि सुरु भयो तिनाउ नदीका उकास क्षेत्रमा बस्ती स्थापनाको लहर । यो लहर सबैभन्दा बढी चर्केको थियो २०५७/०५८ मा । अहिलेको चर्चित हात्तीसुँड, प्रगतिनगर, बुद्धनगरको विशाल बस्तीको सुरुआत त्यतिबेला भएको हो । यही क्रममा तिनाउ नदीको दुई भंगलाको बीचमा स्थापित भएको थियो ‘बिनापाते’ । बिनापातेका अधिकांश मानिस ज्यालादारी मजदुरी गर्छन् । गत वर्ष गरिएको एउटा खोजका अनुसार बिनापातेको दुईतिहाइ घरधुरीमा २ सय श्रमशक्ति पाइयो ।

ती २ सयमध्ये ९५ जना ज्यालादारी मजदुरी, ५९ जना स्वव्यवसाय (सानो पुँजीको किराना पसल, सिलाइकटाइ, इलेक्ट्रिसियन, प्लम्बरिङलगायत), १६ जना पसल तथा रेस्टुरेन्टमा सेवा व्यवसाय, ८ जना प्रहरी, गैरसरकारी संस्था वा सरकारीमा कर्मचारी, ११ जना ड्राइभिङ र ११ जना वैदेशिक रोजगारीमा रहेको पाइयो । (मार्टिन चौतारी र माहुरी होम मार्फत पंक्तिकारले गरेको खोजको अप्रकाशित रिपोर्टमा आधारित ।) यो तथ्यांकले पुष्टि गर्छ सुकुम्बासी बस्तीका बहुसंख्यक मानिसहरू श्रमशक्ति मार्फत सहरसँग अन्तरक्रिया गर्छन् ।


सहर श्रमको भोको हुन्छ । बन्दै गरेका नयाँ–नयाँ भवनहरू, पुनर्निर्माण, सडक निर्माणलगायतको विशाल क्षेत्रमा निर्माण मजदुरको खाँचो हुन्छ । विस्तार हुँदै गरेको होटल, रेस्टुरेन्ट, क्याफे, सपिङ मलमा विश्वविद्यालयको शिक्षा र तालिमप्राप्त जनशक्ति होइन झाडुपोछा लगाउने सरसफाइ मजदुर पनि चाहिन्छ । त्यस्तै सुरक्षा क्षेत्रमा ठूलो जनशक्तिको आवश्यकता छ । सहरको यी श्रमशक्तिको खाँचोलाई सुकुम्बासी बस्तीले पूर्ति गरिरहेको हुन्छ । यसरी श्रम मार्फत सहरसँग अन्तरक्रिया गर्नकै लागि सुकुम्बासी बस्तीहरू सहरको नजिक वा सहरीभित्रै अवस्थित हुन्छन् । खासमा सुकुम्बासी बस्ती सहरकै उत्पादन हो ।

दृश्य दुई : तनाव व्यवस्थापन गर्ने थलो
काठमाडौंबाट बुटवल आएका साथीले मलाई ‘कुकरवाला कफी’ खुवाउन अनुरोध गरे । यो ‘कुकरवाला कफी’ बुटवलको बेग्लै चिनारी हो । बुटवलको व्यापारिक केन्द्र ट्राफिकचोकमा साँझ परेपछि लस्करै ठेला देख्न पाउँछौं । ती ठेलामा जाडो महिनामा कफी र गर्मी महिनामा लस्सी पाइन्छ । यहाँ पाइने कफी नेसक्याफेलगायतको इन्स्ट्यान्ट कफी हो जसलाई दूधसँग पानीको बाफले स्प्रे गरिन्छ ।

पानीको बाफले स्प्रे गर्ने मेसिन विद्युत्बाट चल्छ । केही वर्षपहिले चरम लोडसेडिङको बेलामा यहाँ नौलो आविष्कार भयो । विद्युतीय मेसिनको ठाउँमा कुकरको सिठ्ठीमा सानो फलाम पाइप प्रयोग गरेर बाफ स्प्रे गर्ने तरिका अपनाइयो । यो एउटा अनौठो र रमाइलो खबर थियो जसले बुटवललाई ‘कुकरवाला कफी’ को रूपमा परिचित गरायो ।


साँझ परेपछि ट्राफिकचोक व्यस्त हुन्छ । सडक विस्तार हुनुअगाडि चोकमा नै यी ठेलाहरू अवस्थिति थिए । रातभरि व्यवसाय हुन्थ्यो । काठमाडौं जाँदै गरेका पश्चिमका बसहरू यहाँ रोकिएर कफी पिएर जान्थे । त्यो रौनक राति दस बजेपछिको अनौपचारिक कर्फ्यु र सडक विस्तारसँगै लोप भयो । अहिले बुटवलमा अनेकौ बिन्स क्याफेहरू सञ्चालनमा आएका छन् । अनेक रेस्टुराँ, पब, बारहरू छन् । तर ट्राफिकचोकमा अझै पनि साँझ परेपछि मान्छेहरूको बाक्लो उपस्थिति देख्न पाइन्छ ।


किनभने यो बुटवलमा उपलब्ध तनाव व्यवस्थापनको सबैभन्दा उपयुक्त थलो हो । एउटा अनौपचारिक अध्ययनको निष्कर्षले बताउँछ लगभग ५० प्रतिशत ग्राहकहरू दिनभरको थकान मेट्न र तनावबाट मुक्त हुनका लागि आउँछन् । यहाँ उपलब्ध हुने खुला वातावरण, साँझमा बहने शीतल हावा, अनि मान्छेहरूको लोभलाग्दो जमघटले तनाव व्यवस्थापन गरेको ग्राहकहरूको अनुभव थियो । त्यस्तै यो स्थान भेटघाटका लागि पनि प्रयोग गरिएका पाइयो । इनडोर क्याफेहरू तुलनात्मक रूपले महँगो हुने, बाहिरी वातावरण र बाक्लो जमघटको कमी हुने कारणले पनि यो स्थानको लोकप्रियता कायम नै छ ।

दृश्य तीन : डोको र ट्रकको संगमस्थल
बुटवलको बहुआयामिक चिनारी छ । त्यसमध्ये एक हो— डोको र लरीको संगमस्थल । बुटवल हाटबजारहरूको सहर हो । हाट खासमा गाउँको पहिचान हो । हाटमा आ–आफ्ना घरेलु उत्पादनको साटफेर हुन्छ । मुद्रा विनिमयले प्रभुत्व जमाउनुअघि वस्तु विनिमयको केन्द्र थियो हाट । बुटवलमा हरेक दिन हाट लागिरहेको हुन्छ । सबैभन्दा ठूलो र चर्चित हाट बुधबार र शनिबार लाग्छ । बुधबार र शनिबारको हाटलाई हेर्ने हो भने दोभान क्षेत्रका गाउँहरूबाट मानिसहरू कुखुराको भाले, तरकारी र अन्य उत्पादन डोकोमा लिएर आएका हुन्छन् ।

त्यही हाटमा प्रशस्त तरकारी, फलफूल, कपडा, किरानाका सामान, कस्मेटिक, चप्पल जुत्ता आदि बिक्री गरिन्छ । प्रायःजसो यस्ता सामानहरू भारतबाट ट्रकमा आयातित हुन्छन् । त्यसैले हाट डोको र ट्रकको संगमस्थल हो । बुटवलमा हाटको लोकप्रियता यस्तो छ कि यहाँ वर्गको लुप्पता महसुस गर्न सकिन्छ । समाजका सबै मानिसहरू सपिङ कप्लेक्स वा सुपरमार्केट जान सक्दैनन् तर हरेक मानिसहरू हाट गएकै हुन्छ ।

कसको सहर ?
यी तीन दृश्यले प्रस्ट पार्छ बुटवल सहर ठूला होटल, उद्योग, पब, क्याफे, रेस्टुराँ, मार्ट, सपिङमल, बैंक र वित्तीय केन्द्र, प्रशासनिक अड्डा, व्यापारिक कम्प्लेक्सहरूले मात्र निर्मित छैन । सहरलाई जीवन्तता दिन सुकुम्बासी बस्ती, खुला स्थानका ठेलावाला कफी पसलहरू र हाटहरूको भूमिका छ । तर यी सबै बिस्तारै संकटमा छन् । सुकुम्बासी बस्तीबारे अनेकौं मत छ । सुकुम्बासी बस्तीलाई सार्वजनिक जमिन अतिक्रमण गर्ने आरोप लगाइन्छ । तर सुकुम्बासी बस्तीका मानिसहरू किन सहर आएका हुन्, उनीहरूले सहरलाई के योगदान गरेका छन् भन्ने कोणबाट सोचिंदैन ।


नेपाल सरकारले लामो समयदेखि सुकुम्बासीलाई समस्या ठान्दै ‘सुकुम्बासी समस्या समाधान आयोग’ बनायो । अहिले सुकुम्बासी शब्दको ठाउँमा ‘स्लम’ प्रयोग गर्न थालेको छ । तर, सरकारी दस्तावेज, तथ्यांकहरूमा कतै पनि सुकुम्बासी बस्तीलाई उल्लेख गरिएको छैन । बुटवल उपमहानगरपालिकाको प्रोफाइलमा सुकुम्बासीबारे एक शब्द पनि छैन । जबकि यी बस्ती नै निर्वाचनको समयमा सबैभन्दा बढी केन्द्रित हुन्छन् । किनभने भोटको ठूला घनत्व यहाँ छ । यी बस्तीबाट भोट हत्याउन अनेकौं वाचा–कमस खाइन्छ । तर सरकारी रेकर्डमा यी बस्तीहरू कतै सार्वजनिक उल्लेख गरिएका छैनन् ।


त्यस्तै संकटमा छन् ठेलावाला कफी पसलहरू । सडक विस्तारको योजनासँगै यिनीहरूको भविष्य संकटमा छ । यदि यी पसलहरू हटे भने बुटवलका मानिसहरूको तनाव व्यवस्थापनको मुख्य थलोको विकल्प के हुनेछ ? के सबै मान्छे इनडोर क्याफे वा पब जान सक्छ ? के सहर दोहोरी साँझ वा क्लब जानेहरूको मात्र हो ?


बुटवल उपमहानगरपालिकाले हाटबजारको दिन सडकपेटीमा पसल थापेर सडक जाम गर्न नपाउने सूचना जारी गर्‍यो । सडक प्रयोगकर्ताको आँखाबाट यो ठीकै हो तर सडकपेटीका साधारण पसलेहरूको विकल्प खोइ ? तिनको उचित व्यवस्थापन आवश्यक पर्दैन ? यी साधारण मान्छेहरूको गतिविधिले नै सहर बनेको हुन्छ । सहरमा गगनचुम्बी महलहरू मात्र हुँदैनन्, टिनले बारेका साधारण घर पनि हुन्छन् ।

सहरमा बैठककोठा, भान्सा, सुत्नेकोठा, पढ्ने कोठालगायतका अनेकौं कोठा प्रयोग गर्ने मानिस मात्र हुँदैनन्, एउटै कोठामा कोचिने परिवार पनि हुन्छ । त्यसैले दिल्ली सहरबारे लेखिएको पुस्तक ‘इन्ट्यांगल्ड अर्बानिजम’ मा सञ्जय श्रीवास्तवले सुरुआतमै सहरलाई इन्ट्यांगल्ड (गुज्मुजिएको, अनेकौ गाँठा भएको) सम्बोधन गरेका छन् । उनले सहरलाई गेटभित्र अवस्थित महल र खुला सडकहरू, वातानुकूलित सपिङ मल र खुला बजारहरू, राष्ट्र–राज्यको स्वरूप र सुकुम्बासी बस्तीको संयोजनको रूपमा अर्थ्याएका छन् ।


सहरको अर्को बिर्सन नहुने पाटो सहरी गरिबी हो । धेरैलाई लाग्छ सहर गाउँभन्दा समुन्नत छ । सहरका हरेक मान्छे सम्पन्न छन् । झलक सुवेदी लेख्छन्– ‘सहर गाउँबाट हेर्दा वैभवको अर्को नाममा रूपमा देखिन्छ । हाम्रो मनोविज्ञानमा सहरको स्वरूपले अवसरको प्रचुरता, भौतिक तथा मानवीय विकासको प्रचुरता, सेवा तथा स्रोतको पर्याप्तताका रूपमा बास गरेको हुन्छ ।’ तर, सहर वर्गीय समाज हो । यहाँ गरिबहरू पनि उत्ति नै हुन्छन् । जसलाई सामाजिक विज्ञानमा ‘सहरी गरिब’ सम्बोधन गरिन्छ । आफ्नो श्रमशक्ति ज्यालादारी मजदुरीमा बेच्नेहरू, सानो पुँजी लगानी गरेर ठेलामा पसल गर्नेहरू, अनौपचारिक क्षेत्रमा श्रम गर्नेहरूलगायतको विशाल जनसंख्याले सहरी गरिबीको ठूलो भाग ओगटेको हुन्छ ।


उपमहानपाको डोजर चढेको ती १६ घरपरिवार सहरी गरिबका प्रतीक हुन् । अबको प्रश्न यही हो, के यो सहर हुनेखानेहरूको मात्र हो ? के राज्य (संघीयदेखि स्थानीयसम्म) को आँखामा सहर भन्नासाथ गगनचुम्बी महल मात्र आउँछ ? के सहरबारे नीति, योजना तर्जुमा गर्दा सहरी गरिबलाई सम्झना गरिन्छ ? आखिर यो सहर कसको हो ? कसको हो यो सहर ?

प्रकाशित : असार २१, २०७६ १०:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्