गमगढी चंखेली

रोशन शेरचन

पट्यारलाग्दो अपराह्नमा आएको त्यो फोन लेकाली बतासजस्तो ताजगीपूर्ण थियो  । वैशाखको एक दिन, मोबाइलमा मित्र रामचन्द्र सेढाईको आवाज सुनिन्छ– ‘रोशन दाइ, समयको अनुकूलता के छ तपाईंको  ।

कर्णाली प्रदेशको पर्यटन गुरुयोजना बनाउने काममा छौं । तपाईंले जैविक विविधताविद्को रूपमा टिममा योगदान गर्नुपर्नेछ । तपाईंको एक्यापको अनुभव पनि काम लाग्छ ।’ सेढाई दुई दशकदेखि पर्यटन क्षेत्रमा समर्पित अनुसन्धानकर्मी । सिजन्ड ट्रेकर । हाल बुद्विज्म् र हिमालयन स्टडिज्मा अध्ययनरत । कर्णाली प्रदेश सुन्नासाथ मन प्रफुल्ल भयो । जवाफमा भने ‘राम्रो प्रस्ताव । कर्णाली प्रदेश घुम्ने मेरो सपना हो । म समय पक्कै मिलाउँछु ।’ भर्जिन ल्यान्डलाई नजिकबाट अनुभव गर्ने अवसर म कसरी गुमाउँथें र !


सधैं घर र अफिस गरिरहँदा म दिक्क भइहाल्छु । कामको आयतनले भन्दा एकैखाले दिनचर्याले हुने हो दिक्दारी । पुनरावृत्तिले मेरो मन अलि चाँडै भर्छ । पसल रुँगेर जिन्दगी बिताउने साहुजीहरूको दिनचर्या सम्झँदा म त्यसै आत्तिन्छु । सेक्युरिटी गार्डहरूको एकै ठाउँ उभिइरहने दिनचर्या देखेर झनै कहालिन्छु । एकै ठाउँमा मान्छेहरू कसरी बस्न सक्छन् ? धेरै युवाहरू फुर्सदको समय वार, पब, क्याफे जान्छन् तर मलाई भित्रैदेखि मज्जा आउँदैन । एकरसताको दैनिकी बिथोल्न र जीवनमा फरक पृष्ठ टाँस्न बरु भ्याउन्जेल हाइकिङ जान्छु । काठमाडौंमा त्यसो नगरे बाँच्न कठिन छ । तर मित्रको प्रस्ताव त कर्णाली प्रदेशको थियो । टौदह खोजेको व्यक्तिले रारै भेट्टाएजस्तो भो । भ्रमण गर्न त्यही एउटा प्रदेश बाँकी थियो । मनमा रारा, से–फोक्सुन्डो, सिंजा उपत्यका, जुम्ली मार्सी, सिमकोट, डोल्पा, डोरबहादुर विष्टको तस्बिरहरू देखिन थाल्यो । हिमाली लेकको यार्चागुम्बा क्याराभान, दुर्लभ हिउँचितुवा, नेपथ्यको सा...कर्णालीको दृश्यांकन, अमृत गुरुङ र थिन्ले पनि आँखा अगाडि उभिन आयो । मानौं आँखा पर्दा हो, प्रोजेक्टर त मस्तिष्कको कुनै गुप्त तहखानाबाट सञ्चालित छ । कल्पनाको सुदूर र अभेद्य अट्टालिका च्यात्दै उत्साहित मनहरू उडान भर्ने तयारीमा पंखहरू गाँस्न थाले ।


२७ जेठ, २०७६ मा अद्वितीय रारा भ्रमण गरेपछि सदरमुकाम गमगढी झर्‍यौं । रारामा समाहित प्रकृतिको सघन निर्जनता र पानीको स्वच्छता त अवर्णनीय छ । सकिएछ भने रारा–अनुभूति कुनै दिन लेखुँला । तर मन हर्ने अर्कै पक्ष पनि थियो । थोरै भिरालो खस्रो भूमिमा बसेको परम्परागत गमगढीको पृथक् ल्यान्डस्केप । साँगुरो बाटाको दुवैतर्फ विकसित दुई लाइनको बजार । भिन्न विशेषताको । मुस्ताङको झारकोटको सम्झना आयो । ठाउँहरू राम्रा नराम्रा भन्ने हुन्नन्, मात्र फरक हुन्छन् भन्ने एक जना चर्चित घुमक्कडको भनाइ सम्झें । विविधतालाई सम्मान गर्ने अभिव्यक्ति हो त्यो ।
गमगढीको गोष्ठी सकी जेठ २८ सबेरै हुम्लाको निम्ति हिँड्यौं । शेरबहादुर रोकाया, सहायक वन अधिकृत अर्जेन्ट कामले सुर्खेत फर्कनुपर्ने भयो । व्यवस्थापन र समन्वयको जिम्मेवारी रोकाया सरले कुशलतापूर्वक निर्वाह गरेका थिए । व्यवस्थापनको जिम्मा अब अधिकृत तुलसीप्रसाद आचार्यमा सरेको थियो । आर्टिटेक्ट दिपिन पन्त र मेरो काम त प्राविधिक सत्र सहजीकरण गर्नु, पर्यटकीय गन्तव्यको अवलोकन र इन्भेन्ट्री गर्नुमा सीमित थियो । मुगुसम्म त गाडीमै गइयो । पदयात्राचाहिँ बल्ल सुरु भयो । पोर्टर नपाएपछि तुलसीजी र गोकुलजी एक्स्ट्रा ब्याग बोक्दै ओरालो लागे । कर्णाली पुल नजिकको बस्तीमा पोर्टर पाइन्छ भन्ने सुनेका थियौं ।


कच्ची सडकबाट चंखेली हिमाल देखियो । चंखेलीको मनमोहक दुईवटा चुलीहरू प्रस्ट देखिन्थ्यो । यो त्यही हिमाल हो जसको तस्बिर एक रुपैयाँको नोटमा राखिएको छ । कर्णालीको यो हिमाललाई चिनाउने त्यो फोटोग्राफर को होला ? खुल्दुली लाग्यो । अहिले त त्यो नोट प्रचलनबाटै हराइसक्यो । सम्झना ठीक साँचो भए, चंखेली हिमालसँगै मृगको तस्बिर पनि त्यो नोटमा भएजस्तो लाग्छ । मोबाइलबाट चंखेलीको केही सटहरू लिए । खच्चडको लस्कर उकालो चढ्दै थियो । माथिबाट झरेका गाईका बथानहरू झोलुंगेपुलको मुखमा अल्मलिएका थिए । दुई चार जना व्यक्ति गाईहरूलाई पुल तार्न खोज्दै थे । तर गाईहरू मरिकाटे मानिरहेका थिएनन् । मुगु–कर्णाली बर्खामासको तीव्र उफानमा बेतोड बगिरहेको थियो । खच्चडको अर्को क्याराभान घण्टी हल्लाउँदै पुलको अर्को मुखबाट छिरेपछि हामी पुलनेरै अडियौं । पारिबाट खच्चड, वारिबाट धकेल्दै लगिएको गाई, तमासै भयो । गाई ज्यान जाला अगि नबढ्ने, खच्चड ठेलेरै बढ्ने । खच्चडको लर्कोले पन्ध्र मिनेटजसो नै पर्खन पर्‍यो । गाईहरू अन्कनाइरहेकै अवसर छोपेर हामी अगि बढ्यौं र पुल मुखैको चियापसलमा बिसायौं । यहाँ कर्णालीको ध्वनि केही मत्थर सुनिन्थ्यो । खाजा खाने सल्लाह भयो । साहुनी आटा गुथ्न थालिन् । हामी पोर्टर खोज्न । थकाइको कारण हाते झोला र ब्याकपाक भुइँमै लडाइदिएका थियौं । झोला उभ्याउने जाँगर पनि चलेन । नसकिने त होइन, तर सबै ठाउँमा त्यसो गर्न सम्भव थिएन । एक्स्ट्रा झोलामा स्टेसनरी र चार्ट पेपरहरू थियो । मेरै पनि दुईवटा ब्याग–प्याक भएकाले एउटा कसैलाई बोकाउनै पर्ने अवस्था थियो । लोड भारी बोकी चंखेलीको उकालोमा हिँड्न असम्भवप्रायः नै थियो ।


सातथाप्लासम्म झोला बोक्ने मान्छे खोजिदिनुपर्‍यो । रोटी बेल्दै गरेको साहुनीलाई आग्रह गर्‍यौं । खै कहाँ पाइएला र यतिखेर ? साहुनीको जवाफ थियो । खै त साहुजी ? सायद दिपिन पन्तले सोधे । उस्तै परे साहुजीलाई नै मनाउने विचार थियो । साहुनीले थपिन्, ‘मेरा बूढा त गाई तार्दै छन् । गाई धनीहरूले तानेरै लगे ।’ झोलुंगेपुलतिर दृष्टि दिएँ । असिनपसिन भई गाई तार्दै गरेका मध्येका एक पक्कै साहुजी हुँदा हुन् । त्यत्तिकैमा सानो डालोमा तात्तातो रोटी आइपुग्यो । रोटी त उही थियो तर चोयाको डालोमा त्यो प्रस्तुति गज्जबको देखिन्थ्यो । भोक शिथिल हुँदै गयो । हामी बलियो बन्दै गयौं ।


अन्य स्थानीयलाई पनि पोर्टर खोजिदिन अनुरोध गर्‍यौं । एक जना स्थानीय चालक रहेछन् । सहयोगी । स्थानीय ठिटो खोजेर ल्याइदिए । मैले भनें, ‘ल भाइ, तीनवटा ठिकैको झोला छ, सातथाप्लासम्म जाने हो । कति रुपैयाँ लिने ?’ तीन झोलाहरू देखाइदिएँ पनि । ‘तिमी कति दिन्छौ भन न ।’ सुक्खा गमगढीझैं ठिटोको भाषा खस्रो थियो । तर अप्रिय लागेन । कतै खराब अभिप्राय थिएन त्यहाँ । बरु अर्गानिक पो लाग्यो ! भाइ नै जाने भएपछि तिमी नै भन, मैले बल गरेपछि उनले बल्ल मुख खोल्यो– छ हजार । अर्जेन्सीमा केही बढी दिने मानसिकता त थियो । तर, उक्त रकम सोचेभन्दा बढी भयो । बढीमा तीन दिनको हिँडाइ थियो ।समूहबाट कसैले भन्यो, चार हजार । खानाबस्न हामी हेरौंला । तर ठिटो डेग चलेन । कहिले अनुहारमा, कहिले झोलालाई एकतमासले हेरेर मुस्किलले निर्णय सुनायो– पाँच हजार दिने हो भने जान्छु नत्र जान्नँ । हामीले तुरुन्त निर्णय लिन सकेनौं । ठिटो हाम्रो निर्णय सुन्न केही बेर अडिएको थियो । अनिर्णीत बितिरहेको समयलाई चिर्दै मैले खुसुक्क साथीलाई भनें, पाँच हजार दिऊँ तर ऊ मानेन । टिम स्प्रिटको कुरो जो थियो । त्यसपछि म पनि चुप लागे । एक हजारमा कुरा नमिल्दा समय घर्कंदै गयो । ठिटो केही समय वरपरै देखिइरह्यो । साथीहरू पोर्टर खोज्न गोरेटो बाटो उक्ले । ठिटो पनि कतै अलप भयो । चियापसलमा मात्र बाँकी रह्यो— कर्णालीको मत्थर ध्वनि, रित्तिएको डालो र थकित हामी ।


कर्णाली किनारमा पोर्टर खोज्दै पर्खेको पनि झन्डै दुई घन्टा भइसकेको थियो । समय कर्णालीको पानीझैं बगेर गइरहेको थियो । गोकुल र म धुम्धुम्ती बसेका थियौं । त्यत्तिकैमा एक जना प्रौढ व्यक्ति हामीतिर आए । कसैले भरिया खोज्दै गरेको खबर सुनाएछ । हामीले सोध्यौं, ‘जाने हो हामीसँग ?’ सकरात्मक जवाफ सुनेपछि सोध्यौं ‘सातथाप्लासम्म हो, कति लिने ज्याला ?’ जवाफ आयो— नौ हजार ।
अघिको ठिटोलाई झन् सम्झन थाल्यौं ।
फालाफाल फुर्सद भएपछि पुलतिर दृष्टि फ्याँके । गाईहरू अझै तारिंदै थिए । पालो गरी एक दुई गाईलाई एक जनाले अगाडिबाट तानेर र अर्कोले पछाडिबाट धकेल्दै थिए । डरले होला धेरै गाई झोलुंगेपुलको स्टिल डेकमा अटेरी बालकझैं ढसमस्स बसिदिन्थे । ज्यान जाला अगाडि बढ्दिन भनेर कसमै खाएजस्तो ! घिच्याउनै पर्ने । मधेसबाट ल्याएको गाईले बडेमाको उर्लंदो खोलामाथिको त्यस्तो पुल जीवनमा सायदै तरेको थियो । पशुवृत्तिले केही संकेत दिंदो हो । तीन चौथाइ दूरीजस्तो घिसारेर पछि भने हिँड्दा रहेछन् । फर्कनुभन्दा अगाडि नै बढ्दा कम जोखिम छ भन्ने थाहा पाएझैं । एक पटक पुलको मुख थोरै के कटेको थियो, गाई फनक्क फर्कियो । अगाडिको व्यक्तिले हतासिएर पुच्छर समातेर तान्न थाल्यो । पुच्छर नै चुँडिएला भन्ने डर ! दुष्कर रहेछ हिमाली जीवन । एउटा बाछो त पुल तारिएपछि कर्णालीमै हाम फाल्यो । त्यत्रो उर्लंदो भेल पारै गरेर पारि पुग्यो । कारण अधिकांश गाईहरू पारि नै थिए । ताज्जुब लाग्यो । अपरम्पार पशुशक्ति । त्यसको कैलो रौं लछप्पै भिजेको थियो र पुन पुल तार्ने लाइनमै राखिएको थियो । बाछो देखेर मायै लाग्यो ।


साहुनीलाई सुनाएँ, ‘भरिया पाउन कति गाह्रो हो यहाँ । हाम्रोतिर यति पैसामा सजिलै पाइन्छ ।’ साहुनी बोलिन्, ‘यहाँ सबैले केही न केही गरेकै हुन्छ । बिहानै ६–७ वटा गाई पुल तारिदेऊ, सात हजार दिन्छु भन्दै घरमै आए बूढालाई खोज्न ।’ त्यस्तैमा एक जना विकासे कार्यकर्ता चियापसलमा छिरे । उनको टिसर्टमा लेखिएको थियो, ‘र्‍याप ३ ।’ रुरल एक्सेस प्रोग्राम ३ का कर्मचारी रहेछन् । हाल कर्णाली करिडोरमा सडक बनाउँदै गरेको परियोजना । यो बाटो हुम्लाको सिमकोट हुँदै यलबाङसम्म पुगेपछि कैलाश मानसरोवर जाने तीर्थालुहरू गाडीमा पनि आउने छन् । हाल पैसा हुनेहरू मात्र जहाज र हेली मार्फत तीर्थाटन गर्छन् । रारा भ्रमणमा आउने पनि सिमकोटसम्म उक्लन सक्छ । मुगु–हुम्ला सडकखण्डको पर्यटकीय लाभ दूरगामी हुनेछ । प्रदेश मन्त्रालयबाट पर्यटन गुरुयोजना बनाउने सिलसिलामा हिँडेको तर भरिया नपाएर अड्किएको बताएपछि उनले सहयोगी भावमा दुईवटा ट्याक्टर स्काभेटरको निम्ति इन्धन लिएर जाँदै छ, दस–पन्ध्र मिनेटमा तयार रहनुहोला भने । गमगढीबाट ओरालो झर्दा कच्ची सडकको धमिलो डोब भीरको अक्करमा देखेको थिए । डरलाग्दो । जोड हिँड्नमै थियो तर ट्याक्टर चढ्न बाध्य भयौं ।


परको घुम्तीबाट ट्याक्टर फुक्त निस्कदा भने खुसी भयौं । जिन्दगीमा पहाडी बाटोमा ट्याक्टरको यात्रा कहिल्यै गरेको थिइनँ । रोमाञ्चले भरिएँ । इन्धन भरिएको नीलो प्लास्टिकको ड्रममाथि बस्यौं । भर्खर ट्र्याक खोलेको कच्ची सडकमा ट्याक्टर धूवाँ पुत्ताउँदै गुड्न थाल्यो । गुड्यो के भन्नु, ढलपल गर्दै अगि बढ्यो । साँगुरो सडक, त्यसमा थप चढाइ । जोखिम थियो । चंखेली हिमाल पुन देखा पर्‍यो । मानौं स्वागत गर्न थुम्कोसम्मै आएको छ । सल्ला, धुपी र खस्रुको घना जंगल र कलकल गर्ने खोलाहरू छेउ हिँड्न थालेपछि त त्यो स्वर्गकै बाटाजस्तो अनुभूति भयो । उकालो चढ्दै जाँदा चिसो बतास सल्लाको खोटोले सुगन्धित बन्दै गयो । कठिनाइको बाबजुद सातथाप्लासम्म पुग्नेमा ढुक्क भयौं । भोलि सर्केगाड पुग्नैपर्थ्यो कारण पर्सि त गोष्ठी थियो । साँगुरो र उकालो घुम्तीमा यात्रा गर्नु बाध्यता भए पनि त्यसले विस्मयकारी अनुभवको अवसर दिएको थियो । यात्रा जति रोमाञ्चक, सम्झना उति प्रगाढ । कर्णालीको यो यात्रा दुर्लभ र रोमाञ्चक हुने पक्कापक्की थियो । आखिर आफ्नो यात्रा हामी स्वयम्ले गरेका थियौं ।


न मैले, न कसैले तिम्रो यात्राको बाटो हिँड्न सक्छ
यात्राको बाटो स्वयम् तिमीले नै हिँड्ने हो
टाढा पनि होइन, स्वयम्को समीपमा छ त्यो
हुन सक्छ जन्मैदेखि तिमी त्यसमा थियौं, मात्र थाहा पाएनौं
हुन सक्छ त्यो सर्वत्र थियो, जल र जमिनमा
–वाल्ट ह्विटमैन

प्रकाशित : असार २१, २०७६ १०:२८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ब्ल्याक भिलेज

रोशन शेरचन

नेपालमा ब्ल्याक भिलेज भनी चिनिएको त्यही गाउँ मात्र हो कि ? किन ब्ल्याक भिलेज भनेको ?

त्यसले केही सामूहिक लाभ पनि प्रदान गर्छ ? ब्ल्याक भिलेज किन परम्परागत ज्ञान र प्रविधिसँग अन्योन्याश्रित सम्बन्ध राख्छ ? महाभूकम्पपछिको पुनर्निर्माण अभियानले किन त्यो गाउँको परापूर्वकालदेखि चली आएको यथार्थ र सौन्दर्यलाई आत्मसात् गर्न सकेन ? भर्खर रसुवा घुम्दा यस्तै प्रश्न मनमा खेलिरहे।


मे ३, २०१९ को दिन हामी चिलिमेबाट गोल्जुङ गाउँपालिकाको छलफल सक्काई गत्लाङका निम्ति हिँड्दै थियौं । गोल्जुङ्लाई पछिल्तिर छाडेर थोरै उकालो चढेपछि कच्ची बाटोमा आइपुग्यौं । स्याफ्रुबेंसीसँग जोडिने यो बाटो गत्लाङ हुँदै सोमदाङ पुग्छ । तिरपाई तिरपाई एक घण्टा हिँडेपछि गत्लाङ गाउँ देखा पर्‍यो । यहाँ नआएको झन्डै पाँच वर्ष पुगेको थियो । फेरि गत्लाङ आउन पाउँदा प्रफुल्ल थिएँ । तर अन्तिम घुम्ती कटेपछि जब गत्लाङ देखियो, म नराम्ररी झस्कें । पहिलाको गत्लाङ थिएन त्यहाँ । असन्तुष्टि लुकाउनै सकिनँ । टोलीमा रहेका धुन्चेका युवा छिरिङ लामालाई सोधें— कस्तो कुरूप भएको गत्लाङ, कसरी यस्तो भयो ? छिरिङले भने, ‘पहिला ब्ल्याक भिलेज भनेर चिनिन्थ्यो । अहिले कर्कटपाताले रगीविरंगी भयो ।’ ब्ल्याक भिलेज शब्द सुनेपछि मैले सोधें, ‘ब्ल्याक भिलेज किन ? सबै घरको छाना कालो रङको भएकाले ?’ छिरिङले सहमतिमा टाउको हल्लाए। थपे, ‘तर भूकम्पपछि पुनर्निर्माणमा ध्यान नपुग्दा गत्लाङको रूप फेरियो । त्यो फेराइ कमसल भयो । आँखामै बिझाउने ।’ उनको जवाफ सुन्दा खास अवस्थामा रङमा एकरूपता हुनु पनि सौन्दर्य रहेछ भन्ने बोध भयो ।


तामाङ हेरिटेज ट्रेल सम्भवतः काठमाडौंबाट सबैभन्दा नजिकको सांस्कृतिक पदमार्ग हो । स्याफ्रुबेंसी, गोल्जुङ, गत्लाङ, चिलिमे, तेताङ्चे, गोङगाङ, तातोपानी, नागथली, थुमन र ब्रिदिम यस मार्गका गाउँहरू । तामाङ आदिवासीको भाषासंस्कृति, बोन र बौद्व धर्म संस्कृति, परपम्रागत वेशभूषा, माने गुम्बाहरू यस पदमार्गको पर्यटकीय आकर्षण हुन् । यद्यपि यो ट्रेलमा अनुपम प्राकृतिक सौन्दर्यहरू जस्तै ः पार्वती कुण्ड, लालीगुराँस र खस्रुका जंगल, सान्जेन रिभर करिडोर, उच्च लेकाली खर्क र नागथलीजस्ता लाङटाङ हिमशृंखला देखिने भ्यू प्वाइन्ट छन् । यो ट्रेलको एक प्रमुख आकर्षणचाहिँ गत्लाङ हो । लस्करै जोडिएका ढुंगा र माटाका झुरुप्प घरहरू । काठमा कुदिएका बुट्टेदार झ्यालढोका । पहिलो तलामा उक्लने काठकै लिस्नो । भुइँ तलामा बस्तुभाउ राख्ने गोठ । हरेक घरको छाना काठबाट छाइएका। काठे छाना धुवाउँदै जाँदा कालो रङमा परिणत भई गाउँ नै सगोल कालो देखिन्थ्यो । डिसेम्बर २०१४ मा आउँदा, मलाई काँ–काँ आइपुगें भन्ने भावना मनमा उठेको थियो । गाउँ जति सुन्दर थियो । उत्तिकै युनिक पनि थियो । त्यस्तो गाउँ मैले अन्यत्र देखेकै थिइनँ ।


कर्कटपाता सहजै उपलब्ध नहुने समयमा गाउँले पुर्खाहरूले वरपर पाइने काठको कप्टेरा बनाई त्यसैले घर छाउने प्रचलन ल्याए । भिरालो भूसतहमा पूर्व फर्केका करिब साढे तीन सय घरको एकैनासको कालो काठको छाना नै गाउँको खास चिनारी बनेको थियो । कालान्तरमा त्यो गत्लाङको पहिचान बन्यो । घरको छाना कस्तो राख्ने भन्ने व्यक्तिगत स्वतन्त्रताको कुरा होइन र ? प्रश्न उभिन्छ । स्वतन्त्रताको कुरा त हो । तर, व्यक्तिगत स्वतन्त्रता बुद्घिमत्तापूर्ण चाहिं बन्न सकेन । व्यक्तिगत स्वतन्त्रता मात्र पर्याप्त हुँदैन । सामूहिक लाभलाई व्यक्तिगत स्वतन्त्रताको उपभोगले प्रतिकूल असर पार्छ भने, व्यक्तिगत स्वतन्त्रताको दुहाईले खास अर्थ राख्दैन । यहाँ यस्तै भएको थियो ।


कृषि र पशुपालनबाहेक गत्लाङको अर्को प्रमुख आयस्रोत पर्यटन हो । होटल व्यवसाय, होमस्टे, गाइड पेसा मार्फत स्थानीय तामाङहरूले जीविका चलाइराखेका छन् । होटलमा किसान आफ्ना कृषि उत्पादन बेच्छन् । पर्यटकहरूमाझ तामाङ संस्कृति, पहिरन, हस्तकला र वाद्यवादनको प्रवर्द्घन भएको छ । उच्च चरनमा चिज फ्याक्ट्री छ। यसका प्राथमिक ग्राहक पर्यटक नै हुन् । न्यानो आतिथ्य, प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, गाउँको एकीकृत बनोट र एकरूपको कालो छानाले पर्यटकलाई सम्मोहित तुल्याउँथ्यो । तर, कर्कटपाताको बाढीले गाउँको सौन्दर्य क्षतविक्षत बनायो । पर्यटकीय आकर्षणको मेरुदण्ड भाँच्ने काम भयो ।


अघि गत्लाङको सौन्दर्य बेस्सरी अनुभूत गरेको म यसपालि थकथकाइरहे । शब्दमै व्यक्त गर्न नसकिनेखाले खल्लो अनुभूत भयो । धेरै टाढा–टाढाबाट ब्ल्याक भिलेज हेर्न आउने पर्यटकहरूले सोचेअनुसार नभेट्दा उनीहरूको मनमा कस्ता भावना आउँदा हुन् ? सोच्दै नरमाइलो लाग्यो । साथै पुनर्निर्माणमा बनेका भिन्न डिजाइनका घरहरूमा कोही बस्दैनन् । पुरानै घरमा बस्छन् । यी गलगाँडजस्ता संरचनाले गत्लाङलाई भद्दा मात्र बनाएको थियो । गत्लाङकै सिरानमा डढेलोले खाएका हजारौं रूखहरू छन्, डिभिजन वन कार्यालयसँग छलफल गरेर त्यसको काठ चरणबद्घ रूपमा प्रयोग गर्न सकिन्छ । मेरो अनुरोध, आमाछोदिङ्मो गाउँपालिका, युवा क्लब र स्थानीय संस्थाले यस विषयमा केही सोचुन् ।


तातोपानीको लामा पूजा
गत्लाङको बसाइ सक्काएर, मे ४ को दिन ओरालो झर्‍यौं । सान्जेन खोलाको किनारैकिनार हिँड्यौं । त्यसपछि सान्जेन रिभर कोरिडोरलाई बायाँ पारेर झोलुंगेपुल तरेर उकालो चढ्यौं । भोर्लाको बुट्यान र स–साना काँडाघारीले ढाकेको उकालोमा धमिलो गोरेटो बाटो अगाडि जान हतारिएझैं देखिन्थ्यो । त्यसलाई पछ्याउँदै हामी हिंडिरहेका थियौं । कोही ठट्टा गर्दै थिए— गोङगाङको उकालोको हिँडाइ गमनाम स्टाइलजस्तो भो । सबै हाँस्यौं ।


ठाडो उकालोमा हिँड्दा म दुई तीन कदमभन्दा अगाडि हेर्दिनँ । यो रणनीतिले थकाइ कम हुने मेरो अनुभव छ । हामी सायद मनोवैज्ञानिक कारणले पहिला थाक्छौं। त्यसपछि मात्र शारीरिक हिसाबले । खोला किनारको झोलुंगेपुल सानो हुँदै गयो । अग्लाइबाट दृश्यहरू साना देखिन्छन् तर सट्टामा फैलावट थपिन्छ । फैलावटले नै टाढाटाढासम्म देख्न सम्भव हुन्छ । अब गोल्जुङ र गत्लाङको डाँडा देखिन थाल्यो । अघिसम्म छेलिएको हिमचुलीहरूले पनि चियाउन थाल्यो । सायद साँझको साढे पाँच–छ बजेको थियो । रिभर करिडोर साँगुरो भएकाले घाम बाहिरिएको थियो र त्यसको सट्टामा अँध्यारो पसेको थियो । बाटै छेउ, नागथली गेस्टहाउस अगि पुगेर हामीले आ–आफ्नो झोला बिसायौं । स्थानीय मुना तामाङले होटलमा हाम्रो बसाइको बन्दोबस्त गरेकी थिइन् ।


गोङगाङको त्यो बसाइ मेरो जीवनकै स्मरणीय
बसाइमध्येको एक भयो । गेस्टहाउसको खानपान र बसाइभन्दा पनि जुन लोकेसनमा त्यो बनाइएको थियो, त्यो अप्रितम थियो । यात्रामा खानपान त मेरो निम्ति दोस्रो महत्त्व हो । सफासुग्घरचाहिं हुनुपर्छ । स्वाद प्राथमिक होइन । कारण स्वाद रुचिपिच्छे फरक पर्छ । सान्जेन खोलाको पूर्वी मोहडामा जमिनबाट पिलर उठाएर गेस्टहाउस बनाइएको थियो । त्यसको किचन र डायनिङ हावामा तैरिएको थियो, फ्लोटिङ डाइनिङ हल । क्याम्पिङ साइटको छेउमा एकतले कोठाहरू निकालिएको थियो, पाहुनाका निम्ति । अग्लाइको कारण झ्यालबाट हेर्दा लाग्थ्यो, मानौं जहाजको झ्यालबाट सान्जेन खोला, तेताङ्चे, चिलिमे र अनन्तसम्म फैलिएको भू–दृश्य हेरिरहेको छु ।

झ्यालमुन्तिरको मयलको हाँगा झ्यालसम्म आइपुगेको थियो र पातहरू बतासले झ्यालमा ठोक्किएर खट्खट् ध्वनि आउँथ्यो । बांगोटिंगो बगेको सान्जेन खोला उत्तिकै चित्ताकर्षक थियो । अँध्यारो गहिरिंदै गएपछि चिलिमे र तेताङ्चे मानवनिर्मित जूनकिरीहरूले ढाकिन थाले ।
अर्को बिहान । नागथली डाँडाबाट घाम नखस्दै चिया पिएर उकालो चढ्यौं । कहीं कच्ची मोटर बाटो, कहीं सटकट हुँदै बिहानको सिरसिरे बतासको आनन्द लिंदै तातोपानीको निम्ति हान्नियौं । कहिले गीतको तुक्का जोड्दै, कहिले कविताका हरफहरू सोच्दै, वाचन गर्दै बाटो छिचोल्यौं । डा. राजेश राई सटकटभन्दा पनि बाटैबाटो हिंड्छु भन्दै ओझेल परे । नेपालमा असंख्य तातोपानीका कुण्डहरू छन् । म्याग्दी र सिन्धुपाल्चोकको तातोपानी त प्रख्यात नै छन् । तर पदमार्गले मात्र जोडिएको यो तातोपानीको कुण्डबारे सीमित मानिसलाई मात्र थाहा छ । विगतमा एक रात तातोपानीमा बसेको थिएँ । साँझ कुण्डमा नुहाउन पुगेको थिए । महिला र पुरुष खण्ड छुट्याइएको कुण्ड खचाखच थियो । विदेशी पर्यटकहरू उत्तिकै। तातोपानीमा बसेर तन र मन आनन्दित भएको थियो । तर यस पटक खल्लो लाग्यो । सन् २०१५ को महाभूकम्पलगत्तै तातोपानी आउन छाडेछ । भूकम्पले पानीको मुहान सर्‍यो वा पानी आउने मार्गमा अवरोध पैदा भयो ।


तातोपानी सुकेपछि गाउँको आभा हराएको थियो । गाउँ झोक्राएर बसेको जस्तो देखिन्थ्यो । पर्यटकहरूको चहलपहल थिएन । पहिला तातोपानी गन्तव्य थियो, अहिले ट्रान्जिट मात्र भएको छ । पर्यटक घटेकाले स्थानीय निराश देखिन्थे । हामी पुगेको दिन कुण्डमा लामा पूजा गरिंदै रहेछ । ध्वजा पताका फहराइरहेका थिए। काठमाडौंबाट ठूलो लामा झिकाई पूजा भइरहेको थियो । पूजाको उद्देश्य कुण्डमा फेरि तातोपानी बोलाउनु थियो । गाउँका अधिकांश महिलाहरू सायद तामाङ भाषामै मन्त्र उच्चारण गरिरहेका थिए वा शेर्पा भाषामा । यस ट्रेलमा तामाङहरू शेर्पाजस्तै देखिन्छन् । नाम पनि शेर्पाका जस्तै राख्छन् र तिब्बतियन धर्मसंस्कृति, परम्परागत विश्वास पद्धतिप्रति आस्था राख्छन् । यद्यपि तामाङहरू मूलतः बोन धर्मावलम्बी हुन् । बोन, याने प्रकृतिपूजक ।


ठूला लामाको आसन अग्लो भागमा बनाएको देखिन्थ्यो । फलफूल, प्रसाद, ध्वजापताका, धूप र दियो बत्तीहरू लामाको तस्बिरको नजिक राखिएको थियो । धूपीको सुगन्धित धूवाँ वातावरणमा फैलिएको थियो । जतिसुकै मनयोग र कर्मकाण्डीय पद्वति मिलाई बोलाए पनि तातोपानी नितान्त भौतिक र भौगर्भिक कारणले आउने हो । तसर्थ त्यसले लामा पूजाको आह्वानलाई सुन्ने सम्भावनै भएन । तर गाउँवासीहरूको मनमा क्षणिकै भए पनि त्यसले शान्ति र आशा जगाउने कुरामा शंका थिएन । सँगै आशा फेरि निराशामा परिणत हुने निश्चितै थियो । तर हामी होमोस्यापियन्सहरू गुफाकालदेखि नै यस्तै यस्तै गर्दै यहाँसम्म आइपुगेका छौं । इतिहासको ठूलो कालखण्ड यस्तै आस्था र विश्वासहरूले भरिएको छ । विगतमा पनि लामापूजा गरेको तर केही फाइदा नभएको स्थानीय होटलवालासँग कुराकानी गर्दा थाहा भयो । प्रसाद ग्रहण गर्‍यौं र हामी चिलिमेको निम्ति फर्कियौं । सय, दुई सय मिटर तलसम्म पनि पूजास्थलबाट बाजाका ध्वनि र मन्त्र आइरहेको थियो । मानौं सान्जेन रिभर करिडोरको पहरामा ठोक्किँदै त्यो मन्त्र हेरिटेज ट्रेलभरि छरिंदै छ । गोल्जुङभरि, गत्लाङभरि, चिलिमेभरि, गोङगाङ र तातोपानीभरि । आखिर त्यो सांस्कृतिक ट्रेल थियो।

प्रकाशित : जेष्ठ १८, २०७६ ११:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT