दहेज

मुना चौधरी

सूर्य अनुशासनमा बाँधिएको थियो तर अनुशासनमा बाँधिएको थिएन ठकिया हुर्किएको समाज  । लहान वरपरका खेतका हरिया फाँटहरू सजिसजाउ र पूर्ण देखिन्थे  ।

इँटा भट्टाबाट निस्केको धूवाँ मौन थियो । तर, लागिरहेको थियो त्यो धूवाँले धेरै गहिरो पीडा बोकेर आफूलाई आकाशमा सामहित गर्न तयार थियो । सबै वस्तु देख्दा कति सुन्दर थिए तर विचार गर्दा त्यति नै अशान्त र अमर्यादित !


हातभरि रातो चुरा, थरीथरीको टीका, सिउँदोभरि रातो सिन्दूर, नङमा रातो अल्ता, औँला औँठीले सजिसजाउ भएकी ठकियाको अनुहार उज्यालो थिएन । उसले गर्नुपर्ने सबै शृङ्गार गरेकी थिई । पाँच फिट छ इन्च अग्ली, कालो बाक्लो आँखीभौँ, मिलेका सेता दाँत, गोरी, गोलो अनुहार भएकी ठकिया लोभलाग्दी थिई । तर, घुम्टोभित्र उसको सुन्दरता र शृङ्गार कसले पो देख्थ्यो र उसको लोग्नेबाहेक ? घुम्टोभित्र ऊ सजिएर बसेकी हुन्थी । तर, उसको पीडा कसले पो अनुभव गर्न सक्थ्यो र ? उसको श्रीमान् रामजीवन डाक्टर थियो । विवाहको शुरुशुरुमा उसले ठकियाप्रति राम्रै व्यवहार गर्थ्यो तर जति दिनहरू बित्दै थिए त्यति नै ठकिया असुरक्षित अनुभव गर्न थाली त्यो घरमा । बिहे गर्ने बेलामा ३५ लाख तिलक (दहेज) मागेको थियो रामजीवनले । लमीले कुरा मिलाउन छ महिना लागेको थियो । छ महिनापछि ५ लाख कम गरेर ३० लाख तिलक लिएर विवाह गर्न रामजीवन र उसको परिवार राजी भयो । चार दिदी–बहिनीमा ठकिया जेठी । उसको बिहे धुमधामसँग भयो ।


एक वर्षपछि माइली बहिनीको बिहे इन्जिनियरसँग भयो । इन्जिनियरले ३० लाख तिलक माग्यो । ३० लाखको मिलेमतोमा माइलीको विवाह भयो । इन्जिनियरलाई पनि डाक्टरसरह तिलक दिएको देखेर रामजीवन ससुरासँग धेरै रिसायो तर केही भन्न सकेन । अर्को वर्ष फेरि साइँली बहिनीको विवाहको कुरा चल्यो । केटो डाक्टर थियो । केटोको बाले केटो जन्मदाखेरिदेखि केटोको खाना, लुगा पढाइ, लेखाइमा लागेको खर्च जोडेर राखेको थियो ५० लाख । उसले छोरोमा अहिलेसम्म जति खर्च गरेको थियो त्यति केटीको बासँग असुल गर्ने योजना बनायो । सोही योजनाअनुरूप ५० लाख तिलक माग्यो । मागेअनुसार साइँलो ज्वाइँलाई ५० लाख तिलक दिन ठकियाको बुबा फेकुवा तयार भयो । माइलोलाई ५० लाख तिलक दिएको देखेर रामजीवन ससुरासँग झनै रिसायो । ऊ पनि डाक्टर थियो तर उसले ३० लाख मात्र पाएको थियो । साइँली सालीको विवाहमा ऊ बसेन । ठकियालाई लिएर घर हिँड्यो । ससुराले आफ्नो अपमान गरेजस्तो लाग्यो उसलाई । त्यो दिनदेखि ऊ ससुराली जानै छोड्यो । ठकियालाई पनि माइती जान प्रतिबन्ध लगायो ।


हप्ता दिनपछि रामजीवनले ससुरालाई सन्देश पठायो— साइँलो ज्वाइँलाई दिएसरह तिलक मलाई पनि दिनुपर्छ । पहिलेको ३० लाखमा २० लाख थपेर दिनुपर्ने माग उसको थियो । उताबाट ससुराले आफूसँग पैसा नभएको र कान्छी छोरी बिहे गर्न बाँकी रहेकीले उसको बिहेका लागि राखेको सन्देश पठायो । कुनै अवस्थामा पनि फेरि पैसा नदिने अडान ससुरा फेकुवाले लियो । ससुराको अडान सुनेर रामजीवन रिसले उग्रै भयो । ऊ ठकियालाई देख्यो कि झनक्क रिसाउँथ्यो । जुन कुरामा पनि उसको बुबाको नाम जोड्दै ठकियालाई गाली गर्थ्यो । एक दिन उसले ठकियालाई भन्यो, ‘जो आपन बाप से २० लाख रुपैयाँ माइङ के आन । कार किन बै ।’ (जा आफ्नो बाउसँग २० लाख रुपैयाँ मगेर आ । कार किन्नु छ ।) ठकियाले पनि तुरुन्तै जवाफ फर्काई, ‘हम आपन बाबु से पैसा नै माङब । कार चरहै के सोख आइछ त कम्या के किनु ।’ (म आफ्नो बुबासँग पैसा माग्दिन । कार चढ्ने सोख छ भने कमाएर किन्नू ।) उसको कुरा सुनेर रामजीवन आगो भयो । यसरी श्रीमती कहिल्यै उसको मुख लागेकी थिइन । ठकिया पहिलो पटक मुख लागेको देखेर, ‘मुहे मुह लागै चिही’ (मुखै मुख लाग्छेस् ।) भन्दै रामजीवनले कसेर ठकियाको गालामा एक झापड हान्यो ।
ठकिया खाटमा लडी । उसको गाला झमझम, रमरम गर्दै दुख्न थाल्यो । एक छिनसम्म कान पनि सुन्न छोडी । रुन पनि सकिनँ, हाँस्न पनि सकिन । अनुहारभरि चिटचिट पसिना आयो । गाला रातो भयो । पूरै जीउ डरले थरथर कामिरहेको थियो । घुम्टोले अनुहार छोपी । आँखा आँसुले भरिए । उसले ढोकातिर हेरी । रामजीवन त्यहाँबाट हिँडिसकेको थियो । उसले दुखेको गाला समातेर बसिरही ।


एक महिनापछि ठकिया आमा बन्ने भई । यो खबरले घरमा रौनक छायो । सासू, जेठानी र लोग्नेले उसको स्याहार गर्न थाले । बिहान उठ्नुअघि नै उसको कोठामा चिया पुगिसकेको हुन्थ्यो । उसलाई भोक लाग्नुअघि नै खाना तयार भइसकेको हुन्थ्यो । अचानक यति धेरै स्याहार र सुख पाउँदा ठकियाले लोग्नेप्रतिको गुनासो बिर्सिंदै गई । उसलाई त्यहाँको सबै कुरा राम्रो र सबैको व्यवहार प्यारो लाग्न थाल्यो । तीन महिनापछि रामजीवनले उसलाई आफ्नै क्लिनिकमा लग्यो । उसको परीक्षण गर्‍यो । उसको गर्भमा छोरी भएको कुरा पत्ता लाग्यो । गर्भमा छोरी भएको थाहा पाएपछि स्याहार सुसारमा कमी आउन थाल्यो । उसको अगाडि चिया, खाना, खाजा आउन छोड्यो । उसको स्याहार गर्न सबैले छोडे । बरु गर्भपतन गर्न दबाब दिन थाले । ठकिया गर्भपतन गराउदिन भनेर विलाप गर्न थाली । उसको विलाप कसले पो सुन्थ्यो ? रामजीवनले उसलाई जबरजस्ती गर्भपतन गर्न लगायो । उसले पाएको स्याहार सुसारको ब्याज जोडेर उसलाई हप्ता दिनभित्रमा नै घरको सबै काम गर्न अरायो । कमजोर शरीर त्यसमाथि कामको भारले ऊ धेरै थाक्थी । त्यसमाथि हरेक दिन ‘माइतबाट २० लाख मागेर ले’ भनेर उसलाई पुनः मानसिक यातना दिन थाल्यो । जवाफ फर्काएको बेला उसले कुटाइ खान्थी ।


तीन महिनापछि ऊ फेरि आमा बन्ने भई । पहिलो पटक पाएजस्तै स्याहार सुसार फेरि पाउन थाली । यो पटक पनि उसलाई डर लाग्यो । छोरो होस् भन्ने मनमनै कामना गरिरही । यस पटक पनि रामजीवनले उसलाई आफ्नै क्लिनिकमा लग्यो । गर्भमा फेरि छोरी नै देखियो । उसलाई गर्भपतन गराउन फेरि दबाब दिन थाल्यो । उसले गर्भपतन गराउन अस्वीकार गरी । अस्वीकार गरेको देखेर घरमा ल्याएर रामजीवनले उसलाई लातैलात हान्न थाल्यो । ऊ चुप लागेर बसिन । उसले पनि रामजीवनको पिसाब फेर्ने ठाउँमा एक लात हानी । रामजीवन जहाँको त्यही बस्यो । ऊ चल्न, चल्मलाउन सकेन । उसको जीउको सारा शक्ति र ऊर्जा हराएजस्तो भयो । एक छिनपछि रामजीवनको पीडा हट्यो । ऊ आँगनबाट बाँसको भाटा लिएर आयो । ठकियालाई ड्यामका ड्याम गाई, गोरुजस्तै भाटाले हिर्काउन थाल्यो । ठकियाले लातले हानेको सबै रिस ऊमाथि खन्यायो । ठकिया रुँदै विलाप गर्न थाली । उसको विलाप सुनेर उसलाई बचाउन कोही आएनन् । उसको आर्तनादले कसैलाई केही फरक परेन । उसको जीउभरि डाम बस्यो । राम्ररी हिँड्न सकिन । कुटाइले जीउ सुनिएको थियो । जतासुकै दुखिरहेको थियो । राम्ररी उठ, बस गर्न सकेकी थिइन ।


भोलिपल्ट ऊ गर्भपतन गराउन तयार भई । घाँटीसम्म घुम्टो ओढेर सबै डाम छोपेर ऊ क्लिनिक गई । केही छिनमै उसको गर्भपतन भयो । यो क्रम पटक–पटक चलिरह्यो । गर्भपतन गराउने उसको बानी नै परिसकेको थियो । छोरी भएको थाहा पाएपछि उसले विरोध गरेको बेलामा कुटाइ खान्थी । कुटाइ खानुभन्दा ऊ मौन बस्न उचित ठान्थी । हुँदाहुँदा नौ पटक गर्भपतन गराइसकेकी थिई उसले लोग्नेको दबाबमा । ऊ माइती नगएको चार वर्ष भइसकेको थियो । आफूले मागे जति पैसा नपठाएसम्म ठकियालाई माइती जान नदिने अडान लिएर रामजीवन बसेको थियो । बुबा, आमा र बहिनीहरूको सम्झना आउँदा ठकियाले सयौँ पटक आँसु बगाइसकेकी थिई । अब त रुन खोज्दा उसको आँखाबाट आँसु निस्किँदैन्थ्यो । माइतीको सम्झना पनि आउन छोडिसकेको थियो । माइती सम्झिन खोज्दा सम्झना धमिलो हुँदै जान्थ्यो । माइती जान्छु भन्दा पनि उसलाई रामजीवनले कुट्थ्यो । उसले बन्दीजस्तै जीवन बिताउन थाली । डाक्टर ज्वाइँले छोरीलाई राम्ररी राखेको होला भन्ने आसमा बाआमा ढुक्कसँग बसिरहेका थिए । के उनकी छोरी सुरक्षित थिई ?


ठकिया सोच्थी, गर्भमा छोरी भएको थाहा पाएर भ्रूण हत्या गर्न लगाइन्छ किन ? के छोरीबिना यो सृष्टि चल्छ ? जुन छोरीले छोराको जन्म दिन्छे त्यही छोरीलाई यति धेरै पीडा किन ? उसको जीउ पहिलाको भन्दा कमजोर भइसकेको थियो । उसभित्र अब बाँच्ने इच्छा मर्दै गइरहेको थियो । उसलाई जीवन व्यर्थ लाग्न थाल्यो । आँखा र गाला एक इन्च तल धसिइसकेका थिए । हातका नसाहरू छर्लंग देखिन्थ्यो । मानसिक र शारीरिक यातनाले ऊ आफ्नो उमेरभन्दा बढी देखिन्थी । रुँदा आँखाबाट झरेको आँसु उसको खाल्डो परेको गालामा अड्किन्थ्यो । आलो घाउका गहिरा खाल्डाहरू कति थिए कति उसको मनभित्र । एक हप्तादेखि उसलाई बाउसँग २० लाख मागेर आ भन्दै पुनः मानसिक यातना दिन सुरु भएको थियो । ऊ आफ्नो बुबासँग पैसा माग्न तयार भइरहेकी थिइन । एकाबिहानै रामजीवन अस्पताल जानका लागि तयार हुँदै थियो । उसको कमिज कच्याककुचुक्क परेको थियो । लगाउन नमिल्ने थियो । उसले ठकियालाई, कमिजमा स्त्री गर्न अरायो । ठकिया स्त्री गर्न थाली । रामजीवनले पाइन्ट लगाउँदै ‘तेरो बाबुलाई जे–जे भन्नुपर्ने हो भन् तर म भरे अस्पतालबाट फर्केर आइन्जेलसम्ममा पैसा चाहियो’ भन्न थाल्यो । ठकियालाई झनक्क रिस उठ्यो । एउटै कुरामा कति सहेर बस्नु ? उसले ठाडो जवाफ फर्काइ, ‘म कुनै हालतमा पनि पैसा माग्दिनँ । कार किन्ने सपना छ भने आफ्नै बाउको पैसाले किन । मेरो बाउले तिम्रा सबै सोख पूरा गर्ने जिम्मा लिएका छैनन् ।’


ठकियाको कुरा सुनेर रामजीवनको रिसको सीमा रहेन । उसले ठकियाको चुल्ठो समातेर उसको हातबाट स्त्री खोस्यो । लुगामा स्त्री लगाएझैँ उसको जीउभरि स्त्रीले डाम्न थाल्यो । उसले, ‘बाउ गौ, बाउ मोइर गेलियै’ (मरें बा) भन्दै पीडाले भरिएको स्वरमा विलाप गर्न थाली । विलाप गरेको देखेर उसको मुख बायाँ हातले रामजीवनले थुनिदियो । उसको आवाज मुखबाट बाहिर निस्किन सकेन । ऊ पसिनै पसिना भई । स्त्रीले पोलेर ऊ सहनै नसक्ने भई । उसको आँखाबाट आँसुको भेल बग्न थाल्यो । मुखभित्रको थुक तातो भयो । आगोमा हालेको जिउँदो माछाजस्तै ऊ छटपटाउन थाली । जीउ तातो भयो, मुटु जोडले ढुकढुकाउन थाल्यो । उसले जीउ कुप्र्याउँदै गई तैपनि उसलाई डाम्न छोडेन । उसको जीउका नशाहरू तीव्र गतिमा चल्न थाले । जीउमा खुर्सानीको धूलो दलेको जस्तै उसको जीउ पोल्न थाल्यो । रक्तसञ्चारको गति बढ्यो । उसलाई बचाउन कोही आएनन् । रिस शान्त नभएसम्म रामजीवनले उसलाई डामिरह्यो । ठकिया शिथिल भई । बोल्नै नसक्ने अवस्थामा पुगी । कराउन छोडी । शिथिल भएको देखेर बल्ल उसले स्त्रीको लाइन काट्यो । अनि, कमिज लगाएर अस्पतालतिर गयो ।


बेलुकीसम्म ऊ शिथिल अवस्थामा पुगिसकेकी थिई । उसको जीउभरि कालो डाम थियो । डामिएका ठाउँमा फोकाहरू उठेका थिए । खाना खान छोडिसकेकी थिई । हात, खुट्टा चलाउन सकिन । मात्र घरको भित्तातिर हेरिरहन्थी । आँखाबाट मौन तर निःशब्द र पीडाले भरिएको आँसु बगिरहेको थियो । सायद त्यो मौनतामा यो समाजको विरोध थियो । उसलाई सास फेर्न गाह्रो हुँदै गयो । भोलिपल्ट बिहान सखारै ठकियाको सास बन्द भयो ।
उसको मृत्युको खबर माइतीमा पुग्यो । बुबा आउनुभन्दा अगाडि नै ठकियाको लास आधा जलिसकेको थियो । कुनै प्रमाण थिएन । जसको पैसा थियो उसकै जित भयो । छोरी हुने बुबाको हार भयो । दहेजमा दिइएको पैसा र छोरी दुवै अरूले बर्बाद पार्‍यो ।


ठकियाको निधनले उसको माइती स्तब्ध भयो । कान्छी बहिनी भुलोको बिहेको कुरा चलिरहेको थियो । दिदी ठकियाजस्तो पीडाले भरिएको जीवन नहोस् भनेर भुलोले दहेज नलिने केटोसँग बिहे गर्ने निर्णयमा पुगी । उसको कुरालाई बाआमाले पनि समर्थन गरे । अब उसलाई संसारको कुनै शक्तिको डर थिएन । विभिन्न ठाउँबाट लमीले केटापट्टिका मान्छेलाई लिएर आउँथे । आफ्नो परिचय दिनुभन्दा अगाडि उसले उनीहरूको आँखाको जिज्ञासा र दहेजको भूत शान्त गर्नका लागि बोल्थी, ‘म बिना दहेजको बिहे गर्छु ।’उसको कुरा सुनेर केटापट्टिका मान्छेहरू रिसाउँथे । आँखा राताराता पार्थे । पछिबाट लमीलाई भन्थे, ‘लरकी नै भेलै । बहौत बेसरम छै लरकी । मुहे मुह लागै छै ।’ (केटी भएन । केटी सारै बेसरम छे । मुखै मुख लाग्छे ।)


त्यति भनिसक्दा पनि उनीहरूले फेकुवासँग लेनदेनको कुरा गर्थे । डाक्टरले ५० लाख र इन्जिनियरले ३० लाख तिलक माग्थे । सामान्य केटाहरूले दस, बारदेखि पन्ध्र लाखसम्म दहेज माग्थे । उसलाई हेर्न जनकपुर, बारा, वीरगन्ज, राजविराजदेखि भारतको मधुवनी, पटना, जयनगर र दरभंगाजस्ता ठाउँबाट केटा र उनीहरूका आफन्त आइसकेका थिए तर बिनालेनदेनको बिहे गर्न कसैले मानेनन् ।बिनादहेजको बिहे गर्छु भन्दा कोही कोही त चियासमेत नखाईकन रिसाउँदै फर्केर गए । एक दर्जनभन्दा बढी ठाउँबाट भुलोलाई हेर्न आइसकेका थिए तर बिनादहेजको बिहे गर्न कसैले मानेका थिएनन् । लमीले पनि फेकुवालाई सम्झाउँदै ‘बिनातिलक केटा पाइँदैन । छोरीलाई बूढी कन्या बनाएर घरमै राख्ने विचार छ । तिलक नदिने हो भने म केटा खोज्न सक्दिनँ’ भनेर लमी रिसाउँदै आँगनबाट निस्कियो ।


लमीको कुरा सुनेर फेकुवा कति पनि उदास भएन । उसको अनुहारमा अनौठो प्रकारको चमक थियो । उसको अनुहारमा सन्तुष्टि र खुसीका रेखाहरू चलमलाइरहेका थिए । लाथ्यो, वर्षौंदेखि लुकेको पीडा पखालिएको थियो । भुलोकी आमा खोरी सानले छाती फुलाउँदै गाउँभरिका मान्छेहरूलाई सुनाउँदै हिँड्थी, ‘हमर बेटी भुलो बिनादहेज के बियाह करतै ।’ (मेरी छोरी भुलो बिनादहेजको बिहे गर्छे ।) खोरीको कुरा सुनेर गाउँलेहरूले मुख खुम्च्याउँदै अस्वीकृति जनाउँथे । तैपनि उसलाई कसैको कुराले फरक पर्दैनथ्यो । उसको अनुहारमा साहस, धैर्य, विश्वास र परिवर्तनका अनगिन्ती रेखाहरू प्रस्ट देखिन्थ्यो ।बिनादहेज बिहे गर्ने केटा आएका थिएनन् । उनीहरूले तिलक माग्थे कि आफ्नो दाम लगाउँथे ? दहेज माग्ने त्यस्ता केटाहरूलाई भुलोले नामर्द देखी । दहेजको नाममा अरूको सम्पत्ति सित्तैमा पाएर आफूलाई ठूलो ठान्ने र शिक्षित मान्छेको तहमा राख्ने केटाहरूलाई भुलोले संसारकै गरिब र असभ्य देखी । त्यस्ता शिक्षित भनाउँदाहरूलाई सम्झेर भुलोले ‘हाँक्क थु’ गरेर आँगनमा थुक फाली । थुक फालेर उसको मनभित्र भएको विष कम भयो । उसले लामो सास तानी । उसको मनभित्र सहास पलायो । उसलाई विश्वास छ एक न एक दिन तिलक नलिने केटो अवश्य आउनेछ । त्यो केटो उसका लागि असल मर्द हुनेछ । उसले त्यो केटोलाई लोग्नेको रूपमा स्विकार्नेछे । बिहेको नाममा तिलक खोज्दै उसको घरमा आइपुगेका नामर्दहरूलाई सम्झेर उसले अर्को पटक फेरि आँगनमा थुकी ।

प्रकाशित : असार २१, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्

बर्मुडाको क्रुज

रामजीवी पन्त

मानव सभ्यताको क्रमिक विकास र नवीन आविष्कारले भौतिक जगत्मा ल्याएको परिवर्तन अद्भुत छ  । यसले मानिसको जीवनमा थपेको रोमाञ्चकता पनि अतुलनीय लाग्यो मलाई  ।

जब पहिलो पटक पानीजहाजमा लामो यात्रा गरियो । हाम्रो यात्रा बाल्टिमोरको बन्दरगाहबाट सुरु भयो । सन् १८१४ मा बेलायतसँग भएको युद्ध (ब्याटल अफ बाल्टिमोर) मा अमेरिकीहरूले यो बन्दरगाहलाई प्रयोग गरेका थिए । बाल्टिमोरबाट बर्मुडासम्मको ५ दिनको हाम्रो यात्रा क्यारेबियन क्रुजमा हुने तय भयो । साथमा थिए भाइ कृष्णजीवी र बालसखा भाइ राजन त्रिपाठी ।


पानीजहाजमा लामो यात्रा गर्नुअघि यात्रीहरूलाई केही विशेष ज्ञान र निर्देशनहरू दिइन्छ । हामी पनि पहिलो दिन ती निर्देशनहरू पाएपछि आफ्ना कोठातिर लागियो । सफा र सुन्दर कोठाको सजावट अविस्मरणीय थियो । एटलान्टिक महासागरलाई आफ्नो शयनकक्षबाट नियाल्द मलाई शान्त र विशाल समुद्र साँच्चिकै रोचक लाग्यो । अनन्तसम्म फैलिएको जस्तो लाग्ने नीलो पानी । पानीको सतहमा छाल, अन्तर्यमा हज्जारौं जीव । यी सबैलाई बोकेर कुनै लामो यात्रामा निस्केको यात्रीजस्तो लाग्ने सुन्दर समुद्र ।


समुद्रमाथि चिप्लिइरहेको पानी जहाजभित्र स्पा, साउना, क्यासिनो, जिम, पब, बार, स्विमिङ पुलका अलावा नाटकघर, सांगीतिक प्रस्तुति र पुस्तकालय पनि थिए । यी सबै चीजले गर्दा लामो यात्रा पनि यात्रीलाई लामो लाग्दैन । र, एकोहोरो यात्रा पट्यारलाग्दो हुँदैन । करिब ३ हजार यात्रुको व्यवस्थापान निकै कुशल थियो ।

जहाजका ‘क्रु’ हरूको सीप र दक्षता उत्कृष्ट थियो । स्वादिला परिकार त हुने भई नै हाले । कहिले नाटक त कहिले नृत्य हेर्दै, संगीत सुन्दै, डिस्कोमा नाच्दा–नाच्दै रात बितेको थाहा हुँदैन थियो । बर्मुडा टापुमा सन् १५०५ पहिलो पटक स्पेनको सामुन्द्रिक जहाजका क्याप्टेन जुन दी बेर्मुडेज पुगेको मानिन्छ । उनकै नामबाट यस टापुको नामकरण गरिएको इतिहास छ ।


बर्मुडाको नाम सुन्नेबित्तिकै धेरैको नाममा बर्मुडा ट्र्यांगलको छवि आउँछ । बर्मुडा ट्र्यांगलमा छिरेका ठूलाठूला जहाजहरू गायब भएका त्रासद कथाहरू छन् । यो ट्र्यांगल (त्रिभुज) को एउटा कोणमा फ्लोरिडा छ भने अर्कोमा बर्मुडा र तेस्रो कोणमा पोर्तोरिको छ । बर्मुडा ट्र्यांगल शब्दको पहिलो पटक प्रयोग अमेरिकी लेखक विनसेन्ट गड्डिसले सन् १९६४ मा ‘आरगोसी’ नाम पत्रिकामा ‘द डेड्ली बर्मुडा ट्र्यांगल’ शीर्षकमा लेख लेखेर गरेका थिए ।

यस ट्र्यांगललाई सैतानहरूको समुद्र पनि भन्ने गरिन्छ । यो ट्र्यांगलमा छिरेका अजंगका पानीजहाजहरूको अहिलेसम्म अवशेषसमेत नभेटिएका उदाहरण छन् । असामान्य रूपमा जहाजहरू गायब हुनुको कारण सामुद्रिक ज्वारभाटा र भुमरीहरू भएको वैज्ञानिकहरूको ठम्याइ छ । तैपनि, रहस्यहरू नसुल्झिएका कारण यो ट्र्यांगललाई रहस्यमयी नै मानिन्छ ।


सन् २०१७ को मे महिनामा स्काइलाइट समूहका संस्थापक तथा सीईओ जेनिफर ब्लुमिन ३ र ४ वर्षका छोराहरू जहाजमा गइरहेकी थिइन् । लिएर पाइलट नाथन उर्लिचले पुर्तोरीको नजिकै २४ हजार फिटमाथि जहाज उडाइरहेका थिए ।

फ्लोरिडाको पूर्वी समुद्र तटको सानो गाउँ तितुस भिल्लाका लागि उडेका उनीहरूको यात्रा बर्मुडा ट्र्यांगलमा आएर समाप्त भयो । हामी भने बाल्टिमोरदेखि बर्मुडासम्म ८ हजार १ सय ८५ किलोमिटरको यात्रा करिब ४५ घण्टामा पार गर्दै बिहान ११ बजे बर्मुडा ट्र्यांगललाई धेरै पर राख्दै गन्तव्यमा पुग्यौं ।

सन् १७०७ को स्कट्ल्यान्ड र इङ्ल्यान्ड एकीकरणपश्चात् यो टापु बेलायतको अधीन छ । कुल जनसंख्याको ५४ प्रतिशत काला जातिका रहेको यो टापुको मुख्य आयस्रोत कृषि र पर्यटन हो । ६७ हजार जनसंख्या रहेको यो टापु ट्याक्स हेवनका साथै गल्फरको स्वर्गका रूपमा पनि परिचित छ । ५३.२ वर्गमाइल क्षेत्रफल रहेको यो टापुमा ६ वटा गल्फ कोर्स छन् । बिहानको खाना खाएर बर्मुडाको राजधानी ह्यमिल्टन घुम्नलाई समुद्रको किनारै किनारै निस्कियौं ।

गल्फ कोर्स र समुद्र तटको दृश्य मनमोहक थियो । ह्यमिल्टन जाँदै गर्दा हरिया गल्फ कोर्सहरू देखेर मलाई ह्यम्जाबाट पोखरा जाँदा देखिने हरिया फाँटको याद आयो । हृयमिल्टनका नीला समुद्रले पोखराका नीला ताललाई सम्झाइदिए । यिनको समुद्रमा खाली एकै चीजको कमी थियो, माछापुच्छ्रे छाया ! त्यो त यिनले खोजेर पनि कहाँ पाउन् !


ह्यमिल्टन सहरमा कोट, हाफ प्याइन्ट, टाई, लामा मोजा अनि छालाका जुत्तामा सजिएका युवाहरू देखिन्थे । यिनको पहिरन देखेर मलाई अचम्म लाग्यो । साधारण सामुद्री तटमा मात्र पुगेको अनुभव भएकाले गुलाबी बालुवाको तटको सुन्दरता देख्दा प्रकृतिको सिर्जनालाई मानव कलाले उछिन्न गाह्रै पर्छजस्तो लाग्यो ।

प्रकाशित : असार २१, २०७६ १०:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्