मुगाबेको देशमा

दुर्गा विनय

स्वतन्त्रतासँगै 'नियो इलाइट' हरू पनि उदाउँदै गए  । मुगाबेकै राजनीतिक पार्टीका उच्च ओहोदाका राजनीतिज्ञहरूले महँगा गाडी, आलिसान घर र फाम हाउसहरू खरिद गर्न थाले  ।

स्वतन्त्रताका लागि युद्धमा होमिएका सर्वसाधारणहरू सरकार र उसका आसेपासेको सम्पत्ति भेला पार्ने कार्यले मुगाबे सरकारप्रति निराश बन्दै गए ।


फेब्रुअरी दस तारिखको दिन– दुबई अन्तर्राष्ट्रिय एयरपोर्टको टर्मिनल तीनमा उडान पर्खिरहेको थिएँ । त्यसैबेला फेसबुकमा ‘मुगाबेको देशमा’ भनेर स्टाटस अपडेट गरें । ‘थाहा लागोस् कता जाँदै छु,’ भन्ने लागेर ।
२०१९ को जनवरी महिनामा जिम्बाबेको राजधानीलगायत प्रमुख सहरहरूमा आन्दोलन भए । थुप्रै जनधनको क्षति पनि भयो । कत्तिलाई सरकारले पक्राउ गरेर बेपत्ता पारेको समाचार पनि पढेको थिएँ । जनवरीमा म जिम्बाबेको भिसा पर्खिरहेको थिएँ । आन्दोलन हुँदै गरेको कुरा घरमा भनिनँ, फेरि आत्तिन्छन् भन्ने लागेर । मैले फ्लाई दुबईको प्लेन चढ्ने बेलासम्म आन्दोलन मत्थर भइसकेको थियो ।


फेब्रुअरी ११ को साँझ चार बजे हाम्रो हवाइजहाज हरारेमा अवतरण भयो । २०१३ मा लामै घुमाउरो यात्रा गर्दा जिम्बाबेको एयरपोर्ट आइपुगेको थिएँ । अरू अन्तर्राष्ट्रिय एयरपोर्टजस्तो चहलपहल थिएन । सुनसान थियो ‘मुगाबे अन्तर्राष्ट्रिय एयरपोर्ट’ त्यस बेला । एयरपोर्टमा निकै सुधार भइसकेको रहेछ । लगेज लिने समयमा एक कर्मचारीसँग गफ गर्दा थाहा भयो, एयरपोर्टको निर्माणकार्यको ठेक्का चाइनिज कम्पनीले पाएको रहेछ ।
‘चाइनिज कहाँ पो पुगेका छैनन होला र ?’ मनमनै सोचें ।
‘आन्दोलन भइरहेको छ ?’ मैले सोधें ।
‘छैन, सकिगयो नि । यहाँ खान–लाउन नै धौ–धौ छ । आन्दोलन कसले गरोस्,’ जनता यस देशमा धेरै थाकेका रहेछन् भन्ने कुरा उसको प्रस्तुतिबाट प्रत्यक्ष अनुभव भयो ।
जिम्बाबेमा ओर्लनेबित्तिकै भेटिएको मानिस थियो ऊ । तर उसले आफ्नो पीडा/उदासी लुकाउन सकेन अथवा खोजेन । पाँच अमेरिकी डलर उसलाई धन्यवाद स्वरूप दिएर म बाहिर निस्कें ।
अध्यागमनदेखि केही पर्तिर कृषि मन्त्रालयका कर्मचारीहरू यात्रुको झोलामा रहेको खानाको बारेमा सोधपुछ, खानतलासी गर्दै थिए ।
‘के खाने कुरा ल्याएका छौ ? तिमीसँग अन्न ल्याउने अनुमतिपत्र छ ?’
म बाहिर निस्कनै लाग्दा कसैले मलाई त्यता जान भन्यो ।
‘के छ तिम्रो झोलामा ?’
‘लुगा, चामल, बिन्स ।’
‘खाने कुरा ल्याउन अनुमतिपत्र छ त तिमीसँग ?’ विगतमा ट्रान्जिट गरेको भए तापनि म पहिलो पटक जिम्बाबेमा केही समय बस्न लाग्दै थिएँ । मलाई कसैले खानेकुरा ल्याउन अनुमतिपत्र चाहिन्छ भनेको थिएन । मेरो अनुभवमा कुनै पनि देशमा झोलामा के खाने कुरा ल्याएका छौ ? अनुमतिपत्र छ भनेर कहीँ सोधिएको थिएन ।
‘यो मेरो पहिलो पटक हो जिम्बाबेमा । अनुमतिपत्र त छैन,’ मैले भनें । मेरो छेवैबाट एक भारतीय परिवार बिनारोकटोक अघि बढे । म छक्क परिरहेको थिएँ ।
‘खानेकुरा छ भने, तिमले पैसा तिर्नुपर्छ । डिक्लेर गर्नका लागि ।’
‘कति ?’


‘तीस डलर,’ऊ अमेरिकी डलरको कुरा गरिरहेकी थिई । म छक्क परें । मैले ल्याएको खाद्य सामग्री पनि तीस डलरबराबरको थिएन होला ।
‘मसँग खुद्रा पैसा छैन,’ साँच्चै नै थिएन ।
‘फोरेक्समा गएर साटेर आऊ । हामी यहीँ हुन्छौं ।’
‘मसँग र्‍यान्ड छ, त्यो लिँदा हुन्न,’ मैले डलर साट्नुभन्दा र्‍यान्ड दिने विचार गरें । देशको आफ्नै नोटको व्यापक गिरावटको कारण जिम्बाबेले भारतीय रुपैयाँ, अमेरिकी डलर, चाइनिज आरएमबी, दक्षिण अफ्रिकी र्‍यान्ड, यूके पाउन्ड, युरो चलाउने गरेको थियो ।
‘कति र्‍यान्ड दिन्छौ त ? हामी चार जना छौं ।’
‘दुई सय छ,’दुई सय र्‍यान्ड पन्ध्र सय रुपैयाँ जति हुन्थ्यो ।
‘यू आर अ फ्री म्यान नाउ,’ र्‍यान्ड हातमा लिएपछि एकले भनिन् ।
‘मेरो रसिद खै ?’ म अल्मलिएँ ।
‘जिम्बाबेमा तिम्लाई स्वागत छ,’ भनेर एक हाँसी– त्यसपछि सबै हाँसे ।
‘मुर्गा भइस् दुर्गा,’ म एयरपोर्टबाट बाहिरिएँ ।

हरारेमा अवतरण गर्दा साँझ चार बजिसकेको थियो । बाहिर अफिसको ड्राइभर पर्खिरहेका रहेछन् । लगभग आधा घण्टाको यात्रापछि ब्रोन्टे होटल पुग्यौं । अफिसले दुई रातका लागि रुम बुक गरिदिएको रहेछ ।
१४ तारिख बिहान आठ बजे कार्यस्थल टोंगोगारातिर हामी लाग्यौं । हरारेबाट लगभग छ सय किलोमिटर दक्षिण–पूर्व दिशामा रहेको टोंगोगारा मोजाम्बिकको सीमाक्षेत्रमा पर्थ्यो ।
टोंगोगारामा कंगो, बुरुन्डी, रुवान्डा, इथियोपिया आदि देशबाट विभिन्न समयमा भागेका शरणार्थीहरूको बास थियो । टोंगोगारा आफैंमा एउटा सानो संसार रहेछ ।
एडवार्ड चालक र म बिहानै हरारेबाट निस्क्यौं । आकाश धुम्म थियो । कालो बादल मडारिए पनि पानी परिहालेको थिएन ।
‘सरकारले यस साल अनिकाल घोषणा गरेको छ ।’
‘आज पानी पर्ला कि’ भन्ने मेरो संशयमा उसलाई खासै विश्वास थिएन । देशमा प्राकृतिक प्रतिकूलताले कृषि उत्पादन न्यून गरेको थियो । दक्षिण अफ्रिकाबाट हुने आयातमा जिम्बाबे आश्रित देखियो । यहाँको अर्थतन्त्र भयावह अवस्थामा पुगिसकेको रहेछ । १३ तारिख मैले एडवार्डलाई ‘यहाँ कसरी पैसा चलाउनु । डलर साट्नुप’रो,’ भनेर सोधेको थिएँ ।
मलाई दक्षिण अफ्रिकामा हुँदा नै साथीहरूले ‘डलर नचलाउनू, नत्र पैसा जोगिंदैन ।’ भनेर सम्झाएका थिए ।
‘चिन्ता नलेऊ, तिम्लाई म मद्दत गरौंला ।’एडवार्डको सान्त्वनाले म ढुक्क भएको थिएँ ।
दिउसो हामी पासपोर्ट साइज फोटो धुलाउन गएका थियौं । फोटो लिइसकेपछि फोटो स्टुडियो साहुले ‘बोन्डमा तिर्ने भए आठ डलर, अमेरिकी डलरमा तिर्ने भए छ डलर’ भने । म अलमल्ल परेको थिएँ, किनभने मैले त्यहाँको अर्थ मुद्राको डाइन्यामिक्स बुझिसकेको थिइनँ ।
अफिसका सहकर्मीहरूले संक्षिप्तमा बुझाउन खोजे पनि मैले बुझेको थिइनँ ।
‘यहाँ बोन्ड नोट चल्छ । यसलाई अस्थायी नोट भनेर सरकारले अघि सारेको छ । यो एक अमेरिकी डलरबराबर एक बोन्ड भन्ने सरकारको मान्यता छ । तर ब्लाक मार्केटमा एक अमेरिकी डलरबराबर तीन बोन्डमा कारोबार हुन्छ ।’
जिम्बाबेसँग अमेरिकी डलरको सञ्चय निकै कम छ । यहाँका बैंकहरू डलर दिन असक्षम प्रायः छन् । कूटनीतिक नियोग र तिनीहरूका कर्मचारीहरूलाई विशेष ग्राह्यतास्वरूप एक दिनमा पाँच सय डलरसम्म दिने व्यवस्था सरकारले गरेको रहेछ । सर्वसाधारणलाई भने पचास डलर मात्र ।
जिम्बाबेमा सर्वविदित डलरको ब्लाक मार्केट रहेछ । सबैलाई थाहा भएको– सबैले स्विकारेको । यहाँको केन्द्रीय बैंकले रोक्न खोजे पनि रोक्न नसकिरहेको । सरकारी कर्मचारी, डाक्टर, शिक्षकहरूलाई सरकारले मासिक तलब बोन्डमा दिने गर्दोरहेछ, जसले उनीहरूको क्रय क्षमता स्वतः घटाउँदो रहेछ । एक त तलब नै कम, त्यसमाथि बढ्दो महँगी । केही महिनादेखि सरकारी कर्मचारीहरूले ‘मासिक तलब अमेरिकन डलरमा भुक्तान हुनप’रो’ भनेर आन्दोलन गरिरहेको अलजजिराको वेभसाइटमा पढेको थिएँ । आन्दोलनको औचित्य मैले बिस्तारै बुझें ।
डलरको कालो बजारीलाई निरुत्साहित गर्न केही हप्ताअघि सरकारले बोन्डको विनिमय एक डलरबराबर तीन बोन्ड घोषणा गर्‍यो । मेरा जिम्बाब्बेन सहपाठीहरू यसले मुद्रास्फीतिलाई नरोक्ने ठान्छन् ।
‘हाम्रोमा नेताहरू नै भ्रष्ट छन् । कालो बजारीमा उनीहरूकै लगानी धेरै छ । उनीहरूकै संरक्षणमा सब काम हुँदै छ ।’
रुसापी पुग्दा सिमसिम पानी पर्न थालेको थियो । ‘यहाँदेखि दुई सय किलोमिटर छ मुतारे ।’हामी रुसापीमा केही बेर रोक्यौं । पानी खायौं । आराम केही क्षण गरेर हामी फेरि अघि बढ्यौं ।
रुसापीबाट हामी उकालो लाग्यौं । बाटो घुमौरो थियो । पहाडी बाटो । अघि बढ्दै जाँदा बाटो दायाँ विशाल हरियो फाँट देखिंदै गए ।
‘कति राम्रो दृश्य ।’
‘जे रोपे पनि उमार्न सकिने मलिलो जमिन हुन् यी ।’ मलाई लागेकै कुरा एडवार्ड भन्दै थिए ।
एक समय दक्षिण अफ्रिकी देशहरूको ‘ब्रेड बास्केट’ तथा ‘अफ्रिकाको गहना’भनेर उपनाम पाएको देशमा के भयो त यस्तो ? किन आर्थिक चरम संकट अनि बढ्दो बेरोजगारी र नैराश्यताले आक्रान्त भयो त यो ब्रेड बास्केट ?
यसको उत्तर पाउन धेरै पछाडि फर्किनै पर्दैन ।

१९८० को आम निर्वाचनबाट माओको सिद्धान्तमा हिँडेको जान्यू–पीएफ पार्टी बहुमतका साथ सरकारमा आयो । रोडेसिया उपनिवेशबाट स्वतन्त्र भयो । त्यसपछि दक्षिण रोडेसिया–जिम्बाबे भयो । साल्सबरी–हरारे भयो । थुप्रै अंग्रेजी नाम भएका स्थान, बाटाहरूको न्वारन गरियो ।
जिम्बाबे संयुक्त अधिराज्यको उपनिवेशबाट स्वतन्त्र भएपछि रोबर्ट मुगाबे सधैं शक्तिमा रहे । सन् १९८० देखि १९८७ सम्म उनी प्रधानमन्त्री रहँदा कार्यकारिणी शक्ति प्रधानमन्त्रीमै निहित थियो । तर १९८७ देखि २०१७ सम्म उनी राष्ट्रपति हुँदा शक्ति पनि सबै राष्ट्रपति पदमा सारियो ।
राष्ट्र स्वतन्त्र हुनेबित्तिकै देशले स्वास्थ्य र शिक्षामा राष्ट्रको ठूलो बजेट लगानी गर्‍यो । फलस्वरूप स्वास्थ्यमा सुधार, बाल मृत्युदरको कमी र शिक्षित जनशक्तिको उत्पादन भयो । देशले दक्षिण अफ्रिकी मुलुकहरूमा मकै, गहुँ, सुर्ती, बिफ तथा अन्य बालीको निर्यातले आर्थिक विकास पनि गर्दै गयो ।
स्वतन्त्रतासँगै ‘नियो इलाइट’ हरू पनि उदाउँदै गए । मुगाबेकै राजनीतिक पार्टीका उच्च ओहोदाका राजनीतिज्ञहरूले महँगा गाडी, आलिसान घर र फाम हाउसहरू खरिद गर्न थाले । सँगै भ्रष्टाचारले जरा तलसम्म फैलाउँदै गयो । स्वतन्त्रताका लागि सँगै युद्धमा होमिएका सर्वसाधारणहरू सरकार र उसका आसेपासेको सम्पत्ति भेला पार्ने कार्य अनि जनताप्रतिको जवाफदेहिताको कमीले मुगाबे सरकारप्रति निराश बन्दै गए ।
यो कुरा मुगाबेले राम्ररी बुझिसकेका थिए । आफ्नो लोकप्रियता र आउँदै गरेको निर्वाचनमा विजय हुने उद्देश्यले सन् २००८ मा उनले खाटो बस्नै लागेको घाउ उप्काए अनि त्यसमा नुन–खुर्सानीको राम्रो लेपन लगाइदिए– ‘यदि गोराहरूले हाम्रो भूमि त्यसै प्रयोग गर्न पाउँछन् भने हामीले पनि उनीहरूबाट त्यसैगरी हाम्रो भूमि फिर्ता लिन सक्नुपर्छ ।’


सन् १९८० मा स्वतन्त्र हुँदा एउटा कार्यविधि बनाएर जमिनको उचित बाँडफाँड गर्ने आफ्नै वचनलाई आफैंले मिल्काइदिए । त्यस घोषणासँगै मुगाबे ‘एरा’ को पतन प्रारम्भ भयो । उनको सो घोषणालाई अन्तर्राष्ट्रिय समुदायले संसारका विभिन्न तानाशाहको प्रवृत्तिसँग दाँजेर भर्त्सना गरे ।
–जसरी जनताको समर्थन प्राप्त गर्न जसरी स्तालिनले कुलाक किसानमाथि ज्यादती गरे,
–जसरी इदी अमिनले युगान्डाको सम्भ्रान्त भारतीय व्यापारी परिवारमाथि धाबा बोले,
–जसरी हिटलरले जर्मनीमा यहुदी व्यापारीमाथि अन्याय गरे ।
आफ्नो क्षणिक स्वार्थका लागि र अझ चुनावकै मुखमा दंगा भड्काएर न्यानो सेक्ने प्रथा त अझ कायमै छ । अहिलेकै समयमा पनि चुनावको मुखमा मोदी पाकिस्तानलाई गाली गरेर/युद्धको धम्की दिएर उग्रराष्ट्रवादबाट चुनाव जित्न खोज्छन् ।
दक्षिण अफ्रिकाको राष्ट्रपति रामाफोसाले भर्खरै मात्र ‘यदि तिमी गोरो वर्णको छौ भने तिमी अझै अपार्टाइटको समर्थन गर्छौं ।’ भनेर संसद्मा भाषण नै गरे ।


हाम्रै देशमा पनि उग्रराष्ट्रवादलाई प्रयोग गर्न नखोजिएको हैन ।
मुगाबेको सो घोषणापछि विभिन्न देशले प्रदान गर्दै गरेको सहायता बन्द भए । गोराहरू जो चौथो पुस्तासम्मका थिए पलायन हुँदै गए ।
बोत्स्वानाको एउटा एलिफेन्ट फार्ममा वृद्ध दम्पतीलाई भेटेको थिएँ २०१३ मा । गफको सिलसिलामा भनेको कुरा अझै सम्झन्छु ‘मुगाबेले घोषणा गरेपछि बसिरहन धेरै नै खतरनाक हुने भयो । हतियारधारी उद्दण्ड समूहले गोराहरूको घर/फार्ममा आक्रमण गर्न थाले । काट्ने बेला भएको बाली नष्ट मात्र गरेनन् । ट्याक्टर अनि अरू साधन तोडफोड गरे, घर जलाइदिए । कति परिवारलाई नै नष्ट गरिदिए । त्यसपछि हामी सकेजति सम्पत्ति बोकेर यता आयौं । छोरा–छोरी यूकेमा छन् ।’

‘तिमी क्रिकेट कत्तिको हेर्छौ ?’ एडवार्डको प्रश्नले झसंग भएँ । म आफैंमा हराएको रहेछु ।
‘हेर्छु । हाम्रोतिर क्रिकेट धेरै लोकप्रिय छ,’ हरारेको क्रिकेट ग्राउन्ड सम्झँदै पनि थिएँ । ‘हाम्रो देशको टोली अस्तिको साल यहाँ आएको थियो नि क्रिकेट खेल्न । हामीले राम्रो खेल्यौं । चार वर्षका लागि ओडिआई स्टाटस पाएका छौं ।’


‘हो र !’
‘हो नि । तिम्रो देशको पनि क्रिकेट टिम छ नि ।’
‘अहिले अलिक संकटमा छ हाम्रो टिम ।’
‘तर नयाँ खेलाडी आउँदै छन् नि ।’
गोराहरूलाई सबै पक्षबाट पाखा लगाउने क्रममा एक समय जिम्बाबेको खेलकुद पनि अछुतो रहेको थिएन । त्यसमा सबैभन्दा बढी प्रभाव क्रिकेटमा परेको थियो । उत्कृष्ट खेल खेल्दै गरेको भए तापनि गोरा खेलाडीहरूलाई खेलबाट निकालेर अश्वेतहरूलाई राख्न सरकारले निर्देशन दियो । फलस्वरूप जिम्बाब्बेन टोलीको खेलस्तर बिस्तारै खस्कँदै गयो ।
‘अहिले समय कस्तो छ भने दुर्गा, यहाँ क्रिकेट खेलेर परिवार नै पाल्न गारो छ । खेलप्रतिको मोहले मात्र पेट भरिंदैन नि ।’थुप्रै राष्ट्रिय खेलाडीहरू आप्रवास लागिसकेका रहेछन् ।


‘हाम्रोमा पनि लगभग यस्तै नै छ क्रिकेटको अवस्था ।’
‘हाम्रो देशको आधा जनसंख्या अहिले युवा पुस्ता छ । तर के गर्नु जागिर पाउनै गारो छ । अहिलेको ठूलो चुनौती युवालाई रोजगार बनाउनु हो । तिमीलाई थाहा छ कि छैन— हाम्रो युवा अहिले खोकीको सिरपको कुलतमा फसेका छन् । आधाभन्दा धेर । यिनीहरू देश निर्माणको बलिया खम्बा हुन् । तर बेरोजगारी, भ्रष्टाचार, कुशासन अनि कुलतले यिनीहरूलाई र देशलाई उठ्न दिनै सकेको छैन,’ उनले भने ।
नेपालजस्तै भूपरिवेष्टित राष्ट्र । नेपालजस्तै उर्बरभूमि र हाम्रैजस्तो समस्याले आक्रान्त रहेछ जिम्बाबे । सत्ताको स्वाद परेका नग्राा र दारालाई त्यो स्वाद चखाइराख्न कुनै पनि निर्णय गर्न पछि नपर्ने राजनीतिज्ञहरूबाट आक्रान्त रहेछ जिम्बाबे । हामीले उपनिवेश भोग्नुपरेन तर समस्या भने उस्तै भोगिरह्यौं ।

प्रकाशित : असार २१, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्

समानताको लडाइँ

महिलाको विश्वकप फुटबलको फाइनल आइतबार फ्रान्सेली सहर लियोनमा हुँदै छ । र, यतिबेला फुटबलमा लैंगिक समानताको पक्षमा चर्को अवाज उठिरहेको छ ।
राजु घिसिङ

 डिफेन्डिङ च्याम्पियन अमेरिका र नेदरल्यान्ड्स महिला विश्वकप फुटबलको फाइनलमा आइतबार प्रतिस्पर्धा गर्दै छन्  । विजेताले ट्रफीसँगै ४० लाख अमेरिकी डलर हात पार्नेछ, जुन सन् २०१५ मा अमेरिकाले प्राप्त गरेको पुरस्कारभन्दा दोब्बर हो  ।

यो पुरस्कार पुरुष फुटबलको विश्वकपसँग तुलना गर्ने हो भने अत्यन्तै न्यून हुन्छ । विश्वकप २०१८ को च्याम्पियन फ्रान्सले ३ करोड ८० लाख डलर हात पारेको थियो ।


दुवै विश्वकप अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले आयोजना गर्छ । तर, यसपालि महिला विश्वकप सुरु हुनुपूर्व नै पुरुष र महिला फुटबलमा रहेको असमान पुरस्कार र व्यावसायिक प्रतिस्पर्धामा तलबको ठूलो भिन्नतालाई लिएर बहस चर्किरहेको छ । फ्रान्समा ७ जुनमा २४ देश सहभागी महिला विश्वकपको आठौं संस्करण सुरु भएको थियो र सेमिफाइनल सकिँदासम्म पनि लैंगिक असमानतालाई लिएर बहस उस्तै चर्किरहेको छ । पुरस्कारमा रहेको भिन्न्ता हेर्दा लाग्छ, महिलाले खेल्ने फुटबल र पुरुषले खेल्ने फुटबल फरक हो । खेल नै फरकजस्तो । त्यसैले लैंगिक समानताको आवाज फुटबलमा पनि नउठोस् पनि कसरी ?


फिफाले यसपालि महिला विश्वकपमा जम्मा ३ करोड छुट्याएको छ, जुन चार वर्षअघिभन्दा दोब्बर हो । उसले रुसमा गत वर्ष भएको पुरुष फुटबलको विश्वकपमा पुरस्कार मात्रै ४० करोड डलर दिएको थियो । फिफाले विश्वकपको तयारीमा टिमलाई दिने तयारी खर्चलाई हेरौं, पुरुष टिमलाई ४ करोड ८० लाख र महिलालाई १ करोड १५ लाख डलर । लगानीमा यति ठूलो अन्तर छ भने हामी कसरी पुरुष र महिला टिमबाट मैदानमा समान स्तरको खेल अपेक्षा गर्न सक्छौं । केही वर्षयता महिला फुटबलको लोकप्रियता ह्वात्तै बढेको छ । महिला फुटबलको क्लबको प्रतियोगितामा पनि ६० हजारसम्म दर्शकले रंगशालामा प्रत्यक्ष खेल हेर्ने भएका छन् । तर, फिफाको पुरस्कार र लगानीको ठूलो खाडल रहेसम्म महिला खेलाडीबाट पुरुष टिम समानको खेलस्तर आशा गर्नु मूर्खता नै हुनेछ ।


अहिले फ्रान्समा भइरहेको महिला विश्वकपको आठौं संस्करण हो । यसको उपाधि सन् १९९५ मा नर्वेले जितेको थियो । उसले दुईपल्ट युरोपियन च्याम्पियनसिप पनि जित्यो । तर, फिफा बेलन डिअर २०१८ (महिला) को विजेता एडा हेजहेजरबर्गले यो विश्वकप नै बहिष्कार गरिन् । उनले नर्वेजियन फुटबल महासंघले महिला टिम र खेलाडीप्रति गरेको व्यवहार र लगानीलाई लिएर विरोध गर्दै उनले विश्वकप नखेल्ने घोषणा गरेकी थिइन् । समानताका लागि लड्दा नारीवादी भनिएको भन्दै उनले गुनासो गरेका छन् ।अमेरिकी म्यागजिन ‘फोर्ब्स’ ले सन् २०१७ मा प्रकाशित गरेको एउटा तथ्यांकले पनि फुटबलमा महिला र पुरुष खेलाडीबीच रहेको तलबको असमानतालाई प्रस्ट पार्छ । ब्राजिली स्टार खेलाडी नेयमरले क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट वार्षिक ४ करोड ३८ लाख डलर लिन्छन् । महिला फुटबलमा फ्रान्स, जर्मनी, स्विडेन, इंग्ल्यान्ड, अमेरिका, अस्ट्रेलिया र मेक्सिकोको लिगलाई विश्वकै उत्कृष्ट मानिन्छ । ती सात लिगका सबै महिला खेलाडीको तलब जोडे पनि नेयमरको भन्दा कम हुन्छ । लैंगिक समानताका लागि अचेल अस्ट्रेलिया, अमेरिका, बेलायतलगायत चर्को आवाज उठाइरहेको छ, करोडौं लगानी पनि गरिरहेको छ । यी देशमा पनि महिला र पुरुष फुटबललाई तुलना गरेर हेरौं ।


अस्ट्रेलियाका पूर्वस्टार टिम काहिलले मेलबर्न सिटीबाट २०१६–१७ मा खेल्दा ३५ लाख अस्ट्रेलियन डलर तलब पाएका थिए, जुन त्यहाँ त्यो सिजन महिला लिगमा सहभागी १ सय ८१ खेलाडीको भन्दा बढी हो ।अमेरिकाको पुरुष फुटबल टिम विश्वकपमा क्वाटरफाइनलमाथि कहिल्यै पुगेको छैन र २०१८ को विश्वकपमा त छनोट नै भएन । अमेरिकी महिला फुटबल टिमले भने निरन्तर सफलता हात पारिरहेको छ । उसको महिला टिमले तीनपल्ट विश्वकप र चारपल्ट ओलम्पिक स्वर्ण जितेको छ । सन् २०१५ मा त्यहाँको फुटबल महासंघलाई पुरुष टिमको तुलनामा महिला टिमले २ करोड डलर बढी आम्दानी दिएको थियो । तर, तलबमा भने पुरुष खेलाडीसँग महिलालाई दाँज्ने अवस्था छैन ।एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट पुरुष खेलाडीले १३ हजार १ सय ६६ डलर पाउँछ भने महिलाले ४ हजार ९ सय ५० डलर । त्यसैले गत मार्चमा कार्ली लोयड, मेगान रोपिनोन, रेबेका साउरब्रन, होप सोलो, एलेक्स मोर्गानजस्ता स्टारसहित २८ खेलाडीले विश्वकपमा छनोट नभएको पुरुष टिमका खेलाडीलाई भन्दा थोरै तलब दिएको भन्दै रोजगारसम्बन्धी आयोगमा उजुरी दिएका थिए । त्यसको सुनुवाइ अहिलेसम्म भएको छैन । असमान तलबकै विरोधमा केही स्टार खेलाडीले यो विश्वकपपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा निमन्त्रणा गरे पनि नजाने घोषणा गरिसकेका छन् ।


बेलायतको महिला सुपरलिगका अधिकांश खेलाडीले वार्षिक १८ हजार पाउन्डभन्दा थोरै पाउँछन् । प्रिमियर लिगका खेलाडीको औसत तलब २६ लाख पाउन्ड छ । युरोपेली क्ल्बमा खेल्ने महिला खेलाडीले मासिक १–२ हजार युरो कमाइरहेका छन् । प्रतिखेल भत्ता १–२ सय डलर दिइन्छ । पुरुष फुटबलको तुलनामा यो दयनीय अवस्था नै हो । अरू देशमा जस्तो इंग्ल्यान्डमा असमान तलबको त्यति चर्को विरोध भएको छैन । अरू देशमा भने खेल नै बहिष्कार गर्नेसम्म भयो ।डेनमार्कको महिला टिमले त थोरै तलब दिएको विरोधमा नेदरल्यान्ड्सविरुद्धको मैत्रीपूर्ण खेल नै बहिष्कार गर्‍यो । स्विडेनविरुद्ध विश्वकपको छनोट पनि खेलेन । पुरुष टिमले ५ लाख डेनिस क्रोनर दिएर समस्या सुल्झाउने प्रयास गर्‍यो । तर, महिला फुटबल विकासमा लगानी गर्ने र ठूला प्रतियोगितामा छनोट हुँदा महिला खेलाडीको ६० प्रतिशत तलब बढाउने सहमतिपछि मात्रै समस्या समाधान भयो ।
अस्ट्रेलिया महिला टिमको भत्ता प्रतिखेल ५ सय थियो भने पुरुषको ७ हजार ५ सय डलर । चर्को विरोधपछि त्यहाँको लिगमा ३३ प्रतिशत तलब बढाइएको एक महिना पनि बितेको छैन । राष्ट्रिय टिमका खेलाडीको पनि पहिलो श्रेणीको ४१ हजार, दोस्रो श्रेणीको ३० हजार अस्ट्रेलियन डलर बनाइएको छ । बेग्लै भत्ता पनि पाउनेछ । पहिलाभन्दा दोब्बर वृद्धि भएको हो ।


अफ्रिकी च्याम्पियन भएलगत्तै नाइजेरियाली महिला टिमले असमान तलबलाई लिएर गत वर्ष होटलमै विरोध जनाएको थियो । न्युजिल्यान्डमा भने पुरुषसमान महिला खेलाडीलाई पनि तलब र पुरस्कार दिइएको छ । नर्वे महिला र पुरुष खेलाडीलाई बराबरी तलब दिने पहिलो देश हो, यसले सन् २०१७ अक्टोबरमा समान तलबको घोषणा गरेको थियो । नेदरल्यान्ड्सले पनि दुईदेखि चार वर्षभित्र समान तलब बनाउने जनाएको छ । ग्लोबल फुटबल इम्प्लोयमेन्ट रिपोर्टका अनुसार ३ हजार ६ सय व्यावसायिक महिला फुटबलरको मासिक तलब औसत ६ सय डलर मात्र रहेको छ । त्यसमध्ये आधा खेलाडीले त तलब नै नपाएको बताएका छन् । महिला फुटबलको लोकप्रियता भने बढिरहेको छ । फ्रान्समा भइरहेको आठौं विश्वकपको ७ लाख २० हजार टिकट तुरुन्तै बिक्री भएको थियो ।नेपालमा राष्ट्रिय टिमका महिला खेलाडीले मासिक १० हजार रुपैयाँ तलब पाउँछन् भने पुरुषले १५ हजार । पुरुषको लिग विजेताले ५० लाखदेखि १ करोडसम्म थाप्दा महिलाको च्याम्पियनले ५ लाख मात्र हात पारेको छ ।


फिफाले सन् २०१५ देखि २०१८ को चक्रमा १ अर्ब ८ करोड ५० लाख डलर कमाएको थियो । उसले गत वर्ष महिला फुटबलको प्रवर्द्धनमा २ करोड ८० लाख डलर मात्र खर्च गर्‍यो । उसले आउने तीन वर्षमा ४० देखि ५० करोड डलर महिला फुटबलमा खर्च गर्ने योजना ल्याएको छ । फिफाका हरेक सदस्याले महिला फुटबलमा आफ्नो बजेटको १५ प्रतिशत लगानी गर्नुपर्ने प्रावधान छ । तर, यसलाई धेरैले लत्याइरहेको अवस्था छ । फिफाले महिला फुटबललाई बेवास्ता गरेको आरोप छ । त्यसैले उसले यसापलि महिला विश्वकपको फाइनललाई कोपा अमेरिका र कन्काकाफ गोल्डकपको अन्तिम खेलसँग जुधाएको बताइन्छ ।

प्रकाशित : असार २१, २०७६ १०:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्