समयलाई प्रश्न

जनकराज सापकोटा

 अचम्मसँग जुरेको निस्सन्तान महिलासँगको सहवास र त्यही कर्मबाट आर्जित एक मुठो पैसा  ।

घरबार त्यागेको मनमौजी तन्नेरी पात्रले अनायासै हात परेको पैसा कसरी खर्चेला ? पैसा खर्चिने उपायबारे मान्छेहरूले के सल्लाह देलान् ? मन मगन चरित्रको एक पात्र गोपेले पैसा सिध्याउन फरक काम गर्‍यो । उसले रक्सी किन्यो र सार्वजनिक चौतारामा बसेर निःशुल्क बाँड्न थाल्यो । वीर्य आम्दानीको रकमले किनिएको रक्सी कसले खाएन, मन्दिरको पुजारीले मुख छोपेर खायो । ज्यामीहरूले खाए । लेखनदासहरूले खाए । अनि नेताहरूलाई गाली गरे अनि चुनावका बेला दलहरूले टाँसेका पर्चा भएको भित्तामा पिसाब फेरे ।


हाम्रो सामाजिक यथार्थ यस्तै होला ? प्रश्नको उत्तर तपार्इं हामी आफैंले पर्गेल्न सक्छौं । उमा सुवेदीले नयाँ कथासंग्रह ‘सयौं पुतली’ का १७ कथामध्ये एउटा कथामा ‘गोपे’ पात्र मार्फत यस्तै परिस्थितिको वर्णन गरेकी छन् । गोपेको चरित्र मार्फत कथाकारले सामाजिक यथार्थको कुरूप अनुहारलाई अगाडि सारेकी छन् । त्यसो त उनका अधिकांश कथा बिब्ल्याँटो सामाजिक बुझाइ, महिलालाई भोग्याको रूपमा सोच्ने मानसिकताले सिर्जित समस्या र त्यसको किचघानबाट उम्किन संघर्ष गरिरहेका नारी पात्रहरूको वरिपरि घुमेको छ । त्यसभन्दा अलिक पर गएर केही कथामा उनले कुरूप राजनीति, दशक लामो द्वन्द्वपछि पनि इमानको खडेरीमा परेको विधि र स्वार्थी सम्बन्धहरूको जालमा छोपिएको हाम्रो यथार्थलाई अनेकन पात्र मार्फत प्रस्तुत गरेकी छन् ।


त्यसो त ‘गोपे’ लाई छाड्ने हो भने उनका अधिकांश कथाका मुख्य पात्र महिला छन् । तिनले औसत जिन्दगी बाँचिरहेका छन् । धेरैजसो आफ्नै औसत सपना, औसत खुसीको स–सानो परिधिभित्र अटाएका छन् । केहीले भने समय चक्रघट्टमा परेपनि आफैंलाई बदल्ने हिम्मत जुटाएका देखिन्छन् । केही कथामा उमाले प्रश्न गरेकी छन्– सम्बन्धमा प्रेमको फैलावट कहाँसम्म हुन्छ ? अनि कहाँबाट प्रेमले दैलो नाघेर शासन गर्न थाल्छ ? ‘उर्दी’ शीर्षकको कथा पढ्दा थाहा हुन्छ सम्बन्ध कसरी थाहै नपाई तख्ता उक्लेर शासनमा परिणत हुन्छ । अनि दाम्पत्य यात्रामा सहभाव र सहयात्रा कसरी विद्रोहमा बदलिन्छ भन्ने प्रश्नको उत्तर थाहा पाउन भने ढाड शीर्षकको कथा पढ्नुपर्छ । खासमा ‘सयौं पुतली’ सम्बन्धहरूको जटिलता र नारी जीवनका उहापोहको कथात्मक प्रस्तुति हो ।


दिनदिनै बलत्कारका खबरले अखबारका पाना भरिइरहेको यो उमाले पनि यौन हिंसा र बलात्कारका घटनालाई कथामा उनेकी छन् । ‘बेलुन’ कथामा आफ्नै बाबुको यौन दुराचारको प्रतिवाद गरेकी छोरीको कथा छ । ‘देश’ शीर्षकको कथा कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणपछि सतहमा देखा परेका घटनाहरूबारे छ। कसरी सामाजिक घटना कथाका रूपमा प्रस्तुत गर्न सकिन्छ र त्यसले मान्छेको शासकीय अहंकारलाई कसरी हिर्काउन सक्छ भन्ने जान्न यो कथा पढ्नैपर्छ । बलात्कार र यौन हिंसाको घटनाले कथाकारको मन भतभती पोलेको छ । निबन्धात्मक शैलीको कथाको अन्तमा उनले भनेकी छन्, ‘एउटा कुरा सबैलाई थाहा छ अचेल— छोरीहरू जन्मिन डराउन थालेका छन्, यो देशमा ।’


‘संविधान’ कथाले महिलाको कथा भनेजस्तो गरी हाम्रो राजनीतिको कथा भन्छ । झूटको महलमा उभिएको राजनीतिकको विद्रूप अनुहार ‘लालपुर्जा’ ले सम्झाउँछ । ललिता निवासको जग्गा हडप्नेमा राजनीतिक अनुहारहरू नै संग्लन भएको खबर आइरहँदा यो कथा सार्न्दभिक बन्छ । ‘बेसुर’ कथाले पनि हाम्रो समय र राजनीतिमाथि खिसी गर्छ । यो कथा पढ्दा जनयुद्धताका देश बदल्ने भाषण गर्दागर्दै शान्ति प्रक्रियापछि आफैं बदलिएका ‘काम्रेड’ हरूको झलझली सम्झना आउँछ ।


संग्रहका धेरै महिला पात्र भने यथार्थमा झैं दमित छन् । उनीहरू विद्रोहको परिकल्पना गर्न नसक्ने गरी लाचार देखिन्छन् । अनि समयको स्वाभाविक गतिले मात्रै उनीहरूको जीवनको मधुरो घाम छरिदिएको छ । ‘सयौं पुतली’ कथाकी मूल पात्र कर्किनी बज्यै हुन् या ‘हँसिया’ कि पात्र, दुवै समयको उचाट पचाउँदै बसेका छन् । केही कथाका नारी पात्र अन्यायलाई नै नियतिको खेल ठानेर स्विकारिरहेको जस्तो देखिन्छ । वैदैशिक रोजगारीका क्रममा इजरायल पुगेर फर्केपछि ‘तोदा’ उपन्यास लेखेकी उमा आफ्ना कथामा वैदेशिक रोजगारीको फैलिँदो सामाजिक प्रभावबारे सचेत देखिन्छन् । ‘माया दिदी’ र ‘साउदी’ मा उनले वैदेशिक रोजगारीको प्रभाव नेपाली समाजमा कसरी परिरहेको छ भनेर देखाएकी छन् । ‘माया दिदी’ मा दुबईबाट बिरामी भएर फर्केकी महिला कसरी श्रीमान्बाट परित्यक्त हुन्छन् र उनको मृत्युलगत्तै श्रीमान् अर्को बिहे गर्न हतारिन्छन् भन्ने देखाइएको छ । वैदेशिक रोजगारीलाई रेमिट्यान्सको हिसाबकिताब र विदेश जानेका स्वास्नी पोइल जान्छन् भन्ने संकथन मात्रै निर्माण गरिरहेकाहरूको भीडमा उमा अलग छिन् ।


केही कथा अपत्यारिला र असंगत देखिन्छन् । ‘अनुत्तरित’ त्यस्तै कथा हो । नपढेकी बैनीलाई गतिलो श्रीमान् परोस् भनेर दिदीले एउटा पढालिखा केटासँग प्रेम गर्छिन्, बिहेको चाँजोपाँजो मिलाउँछिन् र जन्ती आएपछि घरबाट आफैं गायब हुन्छिन् । अनि दिदी बिहे गर्न आएको केटा परिबन्दमा परेर बैनी बिहे गरेर फर्किन बाध्य हुन्छ । कथाको अन्तमा बैनी पात्रले भनेकी छन, ‘बिहेजस्तो कुरामा किन मलाई जुवाको गोटी बनाई । समाजशास्त्र पढेकी मेरी दिदीले किन मेरो बिहेको समाजशास्त्रीय अध्ययन भुली ? प्रश्न अनुत्तरित छ ।’ बैनीको भविष्यको खातिर कुनै केटाको भविष्यमाथि खेल्ने निर्णय धोका थियो कि बैनीका निम्ति दिदीको त्याग भन्ने प्रश्न भने यो कथा पढेसँगै मनमा खेलिरहन्छ ।


‘प्रश्न’ शीर्षकको कथा पनि यस्तै छ । ब्राह्मण कुलकी ठूली राईको छोरासँग प्रेम गर्छे र सुटुक्क बिहे गर्छे । कथित जातीय इज्जत मेटिदिएको रिसमा ठूलीकी आमाले बिहेको महिनौंपछि षड्यन्त्र गर्छिन । बिहे गरेकी छोरीलाई फर्काएर फेरि बाहुन केटासँगै दोस्रो बिहे गराइदिन्छिन् । परिबन्दमा परेकी ठूली चुपचाप सबै स्विकार्छे । छोरा पाउँछे, हुर्काउँछे अनि छोरालाई राईकी छोरी भगाएर बिहे गर्न सघाउँछे । यो कथाले जात व्यवस्थाको जाँतोमा पिसिएका सयौं ठूलीहरूको कथालाई त सम्झाउँछ । तरविद्रोह गरेपछि पनि हार खाएकी ठूलीलाई वर्षौंपछि विद्रोहीजस्तो देखाउन खोजिएको तारतम्यचाहिं नमिलेजस्तो लाग्छ । कथा पढेपछि प्रश्न उठिहाल्छ, के ठूलीले समाजसँग बदला लिई ? कतै कथाकारले जात व्यवस्थाको जाँतोमा पिसिएकाहरूलाई नजरअन्दाज गर्दै त्यस्तो दमनको हतियार चलाउनेहरूलाई निस्फिक्री छोडिदिन खोजेकी छ होइनन् भन्ने शंका उठ्छ ।


‘सयौं पुतली’ ले उमालाई सामाजिक यथार्थवादी कथाकारको पंक्तिमा उभ्याइदिएको छ । कथा भन्ने परम्परागत धार छोड्न नसकेजस्तो गरी उनले कतै–कतै खुम्चिएकी छन् । पात्रहरूले व्यतीत गरेको लामो समयको वर्णन उनको कथाको साझा विशेषता हो, जसले पात्र र परिस्थितिको सूक्ष्म टिप्पणी, पात्रको मानसिक अन्तर्द्वन्द्वजस्ता कुरालाई गौण तुल्याइदिएको छ । यद्यपि हामीले बाँचिरहेको समाजको कुरूप अनुहार उजिल्याउने र प्रश्न गर्न सक्ने उनको कथाको शक्तिलाई भने नजअन्दाज गर्न सकिँदैन ।

प्रकाशित : असार २१, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्

समानताको लडाइँ

महिलाको विश्वकप फुटबलको फाइनल आइतबार फ्रान्सेली सहर लियोनमा हुँदै छ । र, यतिबेला फुटबलमा लैंगिक समानताको पक्षमा चर्को अवाज उठिरहेको छ ।
राजु घिसिङ

 डिफेन्डिङ च्याम्पियन अमेरिका र नेदरल्यान्ड्स महिला विश्वकप फुटबलको फाइनलमा आइतबार प्रतिस्पर्धा गर्दै छन्  । विजेताले ट्रफीसँगै ४० लाख अमेरिकी डलर हात पार्नेछ, जुन सन् २०१५ मा अमेरिकाले प्राप्त गरेको पुरस्कारभन्दा दोब्बर हो  ।

यो पुरस्कार पुरुष फुटबलको विश्वकपसँग तुलना गर्ने हो भने अत्यन्तै न्यून हुन्छ । विश्वकप २०१८ को च्याम्पियन फ्रान्सले ३ करोड ८० लाख डलर हात पारेको थियो ।


दुवै विश्वकप अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले आयोजना गर्छ । तर, यसपालि महिला विश्वकप सुरु हुनुपूर्व नै पुरुष र महिला फुटबलमा रहेको असमान पुरस्कार र व्यावसायिक प्रतिस्पर्धामा तलबको ठूलो भिन्नतालाई लिएर बहस चर्किरहेको छ । फ्रान्समा ७ जुनमा २४ देश सहभागी महिला विश्वकपको आठौं संस्करण सुरु भएको थियो र सेमिफाइनल सकिँदासम्म पनि लैंगिक असमानतालाई लिएर बहस उस्तै चर्किरहेको छ । पुरस्कारमा रहेको भिन्न्ता हेर्दा लाग्छ, महिलाले खेल्ने फुटबल र पुरुषले खेल्ने फुटबल फरक हो । खेल नै फरकजस्तो । त्यसैले लैंगिक समानताको आवाज फुटबलमा पनि नउठोस् पनि कसरी ?


फिफाले यसपालि महिला विश्वकपमा जम्मा ३ करोड छुट्याएको छ, जुन चार वर्षअघिभन्दा दोब्बर हो । उसले रुसमा गत वर्ष भएको पुरुष फुटबलको विश्वकपमा पुरस्कार मात्रै ४० करोड डलर दिएको थियो । फिफाले विश्वकपको तयारीमा टिमलाई दिने तयारी खर्चलाई हेरौं, पुरुष टिमलाई ४ करोड ८० लाख र महिलालाई १ करोड १५ लाख डलर । लगानीमा यति ठूलो अन्तर छ भने हामी कसरी पुरुष र महिला टिमबाट मैदानमा समान स्तरको खेल अपेक्षा गर्न सक्छौं । केही वर्षयता महिला फुटबलको लोकप्रियता ह्वात्तै बढेको छ । महिला फुटबलको क्लबको प्रतियोगितामा पनि ६० हजारसम्म दर्शकले रंगशालामा प्रत्यक्ष खेल हेर्ने भएका छन् । तर, फिफाको पुरस्कार र लगानीको ठूलो खाडल रहेसम्म महिला खेलाडीबाट पुरुष टिम समानको खेलस्तर आशा गर्नु मूर्खता नै हुनेछ ।


अहिले फ्रान्समा भइरहेको महिला विश्वकपको आठौं संस्करण हो । यसको उपाधि सन् १९९५ मा नर्वेले जितेको थियो । उसले दुईपल्ट युरोपियन च्याम्पियनसिप पनि जित्यो । तर, फिफा बेलन डिअर २०१८ (महिला) को विजेता एडा हेजहेजरबर्गले यो विश्वकप नै बहिष्कार गरिन् । उनले नर्वेजियन फुटबल महासंघले महिला टिम र खेलाडीप्रति गरेको व्यवहार र लगानीलाई लिएर विरोध गर्दै उनले विश्वकप नखेल्ने घोषणा गरेकी थिइन् । समानताका लागि लड्दा नारीवादी भनिएको भन्दै उनले गुनासो गरेका छन् ।अमेरिकी म्यागजिन ‘फोर्ब्स’ ले सन् २०१७ मा प्रकाशित गरेको एउटा तथ्यांकले पनि फुटबलमा महिला र पुरुष खेलाडीबीच रहेको तलबको असमानतालाई प्रस्ट पार्छ । ब्राजिली स्टार खेलाडी नेयमरले क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट वार्षिक ४ करोड ३८ लाख डलर लिन्छन् । महिला फुटबलमा फ्रान्स, जर्मनी, स्विडेन, इंग्ल्यान्ड, अमेरिका, अस्ट्रेलिया र मेक्सिकोको लिगलाई विश्वकै उत्कृष्ट मानिन्छ । ती सात लिगका सबै महिला खेलाडीको तलब जोडे पनि नेयमरको भन्दा कम हुन्छ । लैंगिक समानताका लागि अचेल अस्ट्रेलिया, अमेरिका, बेलायतलगायत चर्को आवाज उठाइरहेको छ, करोडौं लगानी पनि गरिरहेको छ । यी देशमा पनि महिला र पुरुष फुटबललाई तुलना गरेर हेरौं ।


अस्ट्रेलियाका पूर्वस्टार टिम काहिलले मेलबर्न सिटीबाट २०१६–१७ मा खेल्दा ३५ लाख अस्ट्रेलियन डलर तलब पाएका थिए, जुन त्यहाँ त्यो सिजन महिला लिगमा सहभागी १ सय ८१ खेलाडीको भन्दा बढी हो ।अमेरिकाको पुरुष फुटबल टिम विश्वकपमा क्वाटरफाइनलमाथि कहिल्यै पुगेको छैन र २०१८ को विश्वकपमा त छनोट नै भएन । अमेरिकी महिला फुटबल टिमले भने निरन्तर सफलता हात पारिरहेको छ । उसको महिला टिमले तीनपल्ट विश्वकप र चारपल्ट ओलम्पिक स्वर्ण जितेको छ । सन् २०१५ मा त्यहाँको फुटबल महासंघलाई पुरुष टिमको तुलनामा महिला टिमले २ करोड डलर बढी आम्दानी दिएको थियो । तर, तलबमा भने पुरुष खेलाडीसँग महिलालाई दाँज्ने अवस्था छैन ।एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट पुरुष खेलाडीले १३ हजार १ सय ६६ डलर पाउँछ भने महिलाले ४ हजार ९ सय ५० डलर । त्यसैले गत मार्चमा कार्ली लोयड, मेगान रोपिनोन, रेबेका साउरब्रन, होप सोलो, एलेक्स मोर्गानजस्ता स्टारसहित २८ खेलाडीले विश्वकपमा छनोट नभएको पुरुष टिमका खेलाडीलाई भन्दा थोरै तलब दिएको भन्दै रोजगारसम्बन्धी आयोगमा उजुरी दिएका थिए । त्यसको सुनुवाइ अहिलेसम्म भएको छैन । असमान तलबकै विरोधमा केही स्टार खेलाडीले यो विश्वकपपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा निमन्त्रणा गरे पनि नजाने घोषणा गरिसकेका छन् ।


बेलायतको महिला सुपरलिगका अधिकांश खेलाडीले वार्षिक १८ हजार पाउन्डभन्दा थोरै पाउँछन् । प्रिमियर लिगका खेलाडीको औसत तलब २६ लाख पाउन्ड छ । युरोपेली क्ल्बमा खेल्ने महिला खेलाडीले मासिक १–२ हजार युरो कमाइरहेका छन् । प्रतिखेल भत्ता १–२ सय डलर दिइन्छ । पुरुष फुटबलको तुलनामा यो दयनीय अवस्था नै हो । अरू देशमा जस्तो इंग्ल्यान्डमा असमान तलबको त्यति चर्को विरोध भएको छैन । अरू देशमा भने खेल नै बहिष्कार गर्नेसम्म भयो ।डेनमार्कको महिला टिमले त थोरै तलब दिएको विरोधमा नेदरल्यान्ड्सविरुद्धको मैत्रीपूर्ण खेल नै बहिष्कार गर्‍यो । स्विडेनविरुद्ध विश्वकपको छनोट पनि खेलेन । पुरुष टिमले ५ लाख डेनिस क्रोनर दिएर समस्या सुल्झाउने प्रयास गर्‍यो । तर, महिला फुटबल विकासमा लगानी गर्ने र ठूला प्रतियोगितामा छनोट हुँदा महिला खेलाडीको ६० प्रतिशत तलब बढाउने सहमतिपछि मात्रै समस्या समाधान भयो ।
अस्ट्रेलिया महिला टिमको भत्ता प्रतिखेल ५ सय थियो भने पुरुषको ७ हजार ५ सय डलर । चर्को विरोधपछि त्यहाँको लिगमा ३३ प्रतिशत तलब बढाइएको एक महिना पनि बितेको छैन । राष्ट्रिय टिमका खेलाडीको पनि पहिलो श्रेणीको ४१ हजार, दोस्रो श्रेणीको ३० हजार अस्ट्रेलियन डलर बनाइएको छ । बेग्लै भत्ता पनि पाउनेछ । पहिलाभन्दा दोब्बर वृद्धि भएको हो ।


अफ्रिकी च्याम्पियन भएलगत्तै नाइजेरियाली महिला टिमले असमान तलबलाई लिएर गत वर्ष होटलमै विरोध जनाएको थियो । न्युजिल्यान्डमा भने पुरुषसमान महिला खेलाडीलाई पनि तलब र पुरस्कार दिइएको छ । नर्वे महिला र पुरुष खेलाडीलाई बराबरी तलब दिने पहिलो देश हो, यसले सन् २०१७ अक्टोबरमा समान तलबको घोषणा गरेको थियो । नेदरल्यान्ड्सले पनि दुईदेखि चार वर्षभित्र समान तलब बनाउने जनाएको छ । ग्लोबल फुटबल इम्प्लोयमेन्ट रिपोर्टका अनुसार ३ हजार ६ सय व्यावसायिक महिला फुटबलरको मासिक तलब औसत ६ सय डलर मात्र रहेको छ । त्यसमध्ये आधा खेलाडीले त तलब नै नपाएको बताएका छन् । महिला फुटबलको लोकप्रियता भने बढिरहेको छ । फ्रान्समा भइरहेको आठौं विश्वकपको ७ लाख २० हजार टिकट तुरुन्तै बिक्री भएको थियो ।नेपालमा राष्ट्रिय टिमका महिला खेलाडीले मासिक १० हजार रुपैयाँ तलब पाउँछन् भने पुरुषले १५ हजार । पुरुषको लिग विजेताले ५० लाखदेखि १ करोडसम्म थाप्दा महिलाको च्याम्पियनले ५ लाख मात्र हात पारेको छ ।


फिफाले सन् २०१५ देखि २०१८ को चक्रमा १ अर्ब ८ करोड ५० लाख डलर कमाएको थियो । उसले गत वर्ष महिला फुटबलको प्रवर्द्धनमा २ करोड ८० लाख डलर मात्र खर्च गर्‍यो । उसले आउने तीन वर्षमा ४० देखि ५० करोड डलर महिला फुटबलमा खर्च गर्ने योजना ल्याएको छ । फिफाका हरेक सदस्याले महिला फुटबलमा आफ्नो बजेटको १५ प्रतिशत लगानी गर्नुपर्ने प्रावधान छ । तर, यसलाई धेरैले लत्याइरहेको अवस्था छ । फिफाले महिला फुटबललाई बेवास्ता गरेको आरोप छ । त्यसैले उसले यसापलि महिला विश्वकपको फाइनललाई कोपा अमेरिका र कन्काकाफ गोल्डकपको अन्तिम खेलसँग जुधाएको बताइन्छ ।

प्रकाशित : असार २१, २०७६ १०:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्