२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

समयलाई प्रश्न

जनकराज सापकोटा

 
अचम्मसँग जुरेको निस्सन्तान महिलासँगको सहवास र त्यही कर्मबाट आर्जित एक मुठो पैसा  ।

समयलाई प्रश्न

घरबार त्यागेको मनमौजी तन्नेरी पात्रले अनायासै हात परेको पैसा कसरी खर्चेला ? पैसा खर्चिने उपायबारे मान्छेहरूले के सल्लाह देलान् ? मन मगन चरित्रको एक पात्र गोपेले पैसा सिध्याउन फरक काम गर्‍यो । उसले रक्सी किन्यो र सार्वजनिक चौतारामा बसेर निःशुल्क बाँड्न थाल्यो । वीर्य आम्दानीको रकमले किनिएको रक्सी कसले खाएन, मन्दिरको पुजारीले मुख छोपेर खायो । ज्यामीहरूले खाए । लेखनदासहरूले खाए । अनि नेताहरूलाई गाली गरे अनि चुनावका बेला दलहरूले टाँसेका पर्चा भएको भित्तामा पिसाब फेरे ।


हाम्रो सामाजिक यथार्थ यस्तै होला ? प्रश्नको उत्तर तपार्इं हामी आफैंले पर्गेल्न सक्छौं । उमा सुवेदीले नयाँ कथासंग्रह ‘सयौं पुतली’ का १७ कथामध्ये एउटा कथामा ‘गोपे’ पात्र मार्फत यस्तै परिस्थितिको वर्णन गरेकी छन् । गोपेको चरित्र मार्फत कथाकारले सामाजिक यथार्थको कुरूप अनुहारलाई अगाडि सारेकी छन् । त्यसो त उनका अधिकांश कथा बिब्ल्याँटो सामाजिक बुझाइ, महिलालाई भोग्याको रूपमा सोच्ने मानसिकताले सिर्जित समस्या र त्यसको किचघानबाट उम्किन संघर्ष गरिरहेका नारी पात्रहरूको वरिपरि घुमेको छ । त्यसभन्दा अलिक पर गएर केही कथामा उनले कुरूप राजनीति, दशक लामो द्वन्द्वपछि पनि इमानको खडेरीमा परेको विधि र स्वार्थी सम्बन्धहरूको जालमा छोपिएको हाम्रो यथार्थलाई अनेकन पात्र मार्फत प्रस्तुत गरेकी छन् ।


त्यसो त ‘गोपे’ लाई छाड्ने हो भने उनका अधिकांश कथाका मुख्य पात्र महिला छन् । तिनले औसत जिन्दगी बाँचिरहेका छन् । धेरैजसो आफ्नै औसत सपना, औसत खुसीको स–सानो परिधिभित्र अटाएका छन् । केहीले भने समय चक्रघट्टमा परेपनि आफैंलाई बदल्ने हिम्मत जुटाएका देखिन्छन् । केही कथामा उमाले प्रश्न गरेकी छन्– सम्बन्धमा प्रेमको फैलावट कहाँसम्म हुन्छ ? अनि कहाँबाट प्रेमले दैलो नाघेर शासन गर्न थाल्छ ? ‘उर्दी’ शीर्षकको कथा पढ्दा थाहा हुन्छ सम्बन्ध कसरी थाहै नपाई तख्ता उक्लेर शासनमा परिणत हुन्छ । अनि दाम्पत्य यात्रामा सहभाव र सहयात्रा कसरी विद्रोहमा बदलिन्छ भन्ने प्रश्नको उत्तर थाहा पाउन भने ढाड शीर्षकको कथा पढ्नुपर्छ । खासमा ‘सयौं पुतली’ सम्बन्धहरूको जटिलता र नारी जीवनका उहापोहको कथात्मक प्रस्तुति हो ।


दिनदिनै बलत्कारका खबरले अखबारका पाना भरिइरहेको यो उमाले पनि यौन हिंसा र बलात्कारका घटनालाई कथामा उनेकी छन् । ‘बेलुन’ कथामा आफ्नै बाबुको यौन दुराचारको प्रतिवाद गरेकी छोरीको कथा छ । ‘देश’ शीर्षकको कथा कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणपछि सतहमा देखा परेका घटनाहरूबारे छ । कसरी सामाजिक घटना कथाका रूपमा प्रस्तुत गर्न सकिन्छ र त्यसले मान्छेको शासकीय अहंकारलाई कसरी हिर्काउन सक्छ भन्ने जान्न यो कथा पढ्नैपर्छ । बलात्कार र यौन हिंसाको घटनाले कथाकारको मन भतभती पोलेको छ । निबन्धात्मक शैलीको कथाको अन्तमा उनले भनेकी छन्, ‘एउटा कुरा सबैलाई थाहा छ अचेल— छोरीहरू जन्मिन डराउन थालेका छन्, यो देशमा ।’


‘संविधान’ कथाले महिलाको कथा भनेजस्तो गरी हाम्रो राजनीतिको कथा भन्छ । झूटको महलमा उभिएको राजनीतिकको विद्रूप अनुहार ‘लालपुर्जा’ ले सम्झाउँछ । ललिता निवासको जग्गा हडप्नेमा राजनीतिक अनुहारहरू नै संग्लन भएको खबर आइरहँदा यो कथा सार्न्दभिक बन्छ । ‘बेसुर’ कथाले पनि हाम्रो समय र राजनीतिमाथि खिसी गर्छ । यो कथा पढ्दा जनयुद्धताका देश बदल्ने भाषण गर्दागर्दै शान्ति प्रक्रियापछि आफैं बदलिएका ‘काम्रेड’ हरूको झलझली सम्झना आउँछ ।


संग्रहका धेरै महिला पात्र भने यथार्थमा झैं दमित छन् । उनीहरू विद्रोहको परिकल्पना गर्न नसक्ने गरी लाचार देखिन्छन् । अनि समयको स्वाभाविक गतिले मात्रै उनीहरूको जीवनको मधुरो घाम छरिदिएको छ । ‘सयौं पुतली’ कथाकी मूल पात्र कर्किनी बज्यै हुन् या ‘हँसिया’ कि पात्र, दुवै समयको उचाट पचाउँदै बसेका छन् । केही कथाका नारी पात्र अन्यायलाई नै नियतिको खेल ठानेर स्विकारिरहेको जस्तो देखिन्छ । वैदैशिक रोजगारीका क्रममा इजरायल पुगेर फर्केपछि ‘तोदा’ उपन्यास लेखेकी उमा आफ्ना कथामा वैदेशिक रोजगारीको फैलिँदो सामाजिक प्रभावबारे सचेत देखिन्छन् । ‘माया दिदी’ र ‘साउदी’ मा उनले वैदेशिक रोजगारीको प्रभाव नेपाली समाजमा कसरी परिरहेको छ भनेर देखाएकी छन् । ‘माया दिदी’ मा दुबईबाट बिरामी भएर फर्केकी महिला कसरी श्रीमान्बाट परित्यक्त हुन्छन् र उनको मृत्युलगत्तै श्रीमान् अर्को बिहे गर्न हतारिन्छन् भन्ने देखाइएको छ । वैदेशिक रोजगारीलाई रेमिट्यान्सको हिसाबकिताब र विदेश जानेका स्वास्नी पोइल जान्छन् भन्ने संकथन मात्रै निर्माण गरिरहेकाहरूको भीडमा उमा अलग छिन् ।


केही कथा अपत्यारिला र असंगत देखिन्छन् । ‘अनुत्तरित’ त्यस्तै कथा हो । नपढेकी बैनीलाई गतिलो श्रीमान् परोस् भनेर दिदीले एउटा पढालिखा केटासँग प्रेम गर्छिन्, बिहेको चाँजोपाँजो मिलाउँछिन् र जन्ती आएपछि घरबाट आफैं गायब हुन्छिन् । अनि दिदी बिहे गर्न आएको केटा परिबन्दमा परेर बैनी बिहे गरेर फर्किन बाध्य हुन्छ । कथाको अन्तमा बैनी पात्रले भनेकी छन, ‘बिहेजस्तो कुरामा किन मलाई जुवाको गोटी बनाई । समाजशास्त्र पढेकी मेरी दिदीले किन मेरो बिहेको समाजशास्त्रीय अध्ययन भुली ? प्रश्न अनुत्तरित छ ।’ बैनीको भविष्यको खातिर कुनै केटाको भविष्यमाथि खेल्ने निर्णय धोका थियो कि बैनीका निम्ति दिदीको त्याग भन्ने प्रश्न भने यो कथा पढेसँगै मनमा खेलिरहन्छ ।


‘प्रश्न’ शीर्षकको कथा पनि यस्तै छ । ब्राह्मण कुलकी ठूली राईको छोरासँग प्रेम गर्छे र सुटुक्क बिहे गर्छे । कथित जातीय इज्जत मेटिदिएको रिसमा ठूलीकी आमाले बिहेको महिनौंपछि षड्यन्त्र गर्छिन । बिहे गरेकी छोरीलाई फर्काएर फेरि बाहुन केटासँगै दोस्रो बिहे गराइदिन्छिन् । परिबन्दमा परेकी ठूली चुपचाप सबै स्विकार्छे । छोरा पाउँछे, हुर्काउँछे अनि छोरालाई राईकी छोरी भगाएर बिहे गर्न सघाउँछे । यो कथाले जात व्यवस्थाको जाँतोमा पिसिएका सयौं ठूलीहरूको कथालाई त सम्झाउँछ । तर विद्रोह गरेपछि पनि हार खाएकी ठूलीलाई वर्षौंपछि विद्रोहीजस्तो देखाउन खोजिएको तारतम्यचाहिं नमिलेजस्तो लाग्छ । कथा पढेपछि प्रश्न उठिहाल्छ, के ठूलीले समाजसँग बदला लिई ? कतै कथाकारले जात व्यवस्थाको जाँतोमा पिसिएकाहरूलाई नजरअन्दाज गर्दै त्यस्तो दमनको हतियार चलाउनेहरूलाई निस्फिक्री छोडिदिन खोजेकी छ होइनन् भन्ने शंका उठ्छ ।


‘सयौं पुतली’ ले उमालाई सामाजिक यथार्थवादी कथाकारको पंक्तिमा उभ्याइदिएको छ । कथा भन्ने परम्परागत धार छोड्न नसकेजस्तो गरी उनले कतै–कतै खुम्चिएकी छन् । पात्रहरूले व्यतीत गरेको लामो समयको वर्णन उनको कथाको साझा विशेषता हो, जसले पात्र र परिस्थितिको सूक्ष्म टिप्पणी, पात्रको मानसिक अन्तर्द्वन्द्वजस्ता कुरालाई गौण तुल्याइदिएको छ । यद्यपि हामीले बाँचिरहेको समाजको कुरूप अनुहार उजिल्याउने र प्रश्न गर्न सक्ने उनको कथाको शक्तिलाई भने नजअन्दाज गर्न सकिँदैन ।

प्रकाशित : असार २१, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?