म उभिएको ठाउँ

राजेन्द्र पराजुली

कोटेश्वर चोकमा एक घण्टामा कतिवटा सवारीसाधन आवतजावत गर्लान् ? अहिले यो प्रश्न मात्रै छ मसँग, जसको उत्तर छैन  । एउटा समय यस्तो पनि थियो, जुन समयमा मसँग यो प्रश्नको जवाफ हुन्थ्यो  ।

सडकबीच र छेउछाउमा उभिने ट्राफिकसँग पनि सायद यसको जवाफ छैन । सोधूँ कि दोबाटोको बीचमा मास्क लगाएर उभिइरहेको एक जना ट्राफिक भाइलाई भन्ने पनि लाग्यो । तर यो प्रश्नले उसलाई हैरान बनाउनेछ र सम्भवतः ऊ मसँग रिसाउनेछ भन्ने लाग्यो । सोधिनँ । चाक्ला सडकमा वेगवान् गतिमा कीरासरह कुदिरहेका गाडी गन्नु र आकाशका तारा गन्नुमा के नै फरक होला र !


त्यो साँझ कोटेश्वर चोकमा उभिएर सवारीसाधन गन्नु मेरो उद्देश्य थिएन । उद्देश्य अर्कै थियो— एक घण्टा चोकमा उभिँदा कति जना स्थानीय भेटिएलान् भनी खोज्नु । कस्तो उद्देश्य हो यो ? किन यो उद्देश्यले मेरो दिमाग केही महिना अघिदेखि चाटिरहेको छ ? म दिमागलाई आनन्द दिन मध्यचैतको एउटा कलिलो साँझमा कोटेश्वर चोकमा गएर उभिएँ । र, आँखा नचाउन थालेँ— कोही स्थानीय त कसो नभेटिएलान् भन्दै ।परबाट एक जना बूढा मानिस हातमा सेतो टालोले बेरेको झोला बोकेर बाटो काट्ने प्रयास गरिरहेको देखेँ । ढाका टोपी र दौरा–सुरुवाल अनि इस्टकोट लगाएका ती मानिस मलाई आफ्ना पुरेतजस्तै लागे । चिरपरिचित व्यक्ति लाग्यो । जतिजति उनी नजिक आउँथे, मलाई उतिउति आफ्नै पुरेतबाजस्तो लाग्न थाल्यो । श्राद्ध गरेर दानमा पाएका सामान (दुना–टपरीमा राखिएका) पोको पारेर मेरा पुरेत त्यसैगरी घर लैजाने गर्थे । आफ्नै घरबाट धेरै पटक सोही आकारप्रकारमा पुरेतबालाई बिदाइ गरेको मलाई याद छ । जीउडाल, हिँडाइ र घर पनि कोटेश्वर नै भएकाले मलाई उनी आफ्नै पारिवारिक पुरेत लाग्न थाल्यो ।


उनले हस्याङफस्याङ गर्दै बल्लतल्ल बाटो पार गरे । र, झ्याप्पै मेरो नजिक आइपुगे । पुरेतबा केही वर्षअघि नै यो धर्तीबाट बिदा भइसकेको कुरा मेरो दिमागमा एक छिनअघिसम्म सुझेन । जब हातमा दान गरिएका सामान बोकेका बूढामान्छे मेरो सामुन्ने आइपुगे, तब म झस्किएँ । मेरो छातीमा केही अड्किएजस्तो लाग्यो, छाती गह्रुँगो हुन थाल्यो । ती पूर्णतः अपरिचित मानिस थिए ।मैले उनलाई केवल एक पटक हेरेँ, दोहोर्‍याएर वा फर्किएर हेर्न मन पनि लागेन । बल्लतल्ल एक जना परिचित अर्थात् स्थानीय बासिन्दा भेटिए भन्ने लागेको सोच पनि त्यसै असफल हुन पुग्यो । म पुनः सडकको वल्लो छेउदेखि पल्लो छेउसम्म आँखा ओछ्याउन थालेँ । थुप्रै मानिसका अनुहार नियालेँ । तर स्थानीय त के परिचित मात्रै पनि कोही भेटिएनन् ।सडकपारि (पूर्वतिर) का पुराना बस्ती उजाडिइसकेका थिए । तिनका ठाउँ त्रिभुवन विमानस्थल विस्तार गर्न राखिएका बालुवा–गिट्टी र माटोले लिएका थिए । अलि परतिर अलकत्रा तताउने मेसिनबाट निस्किएको धूवाँको मुस्लो आकाश ताकिरहेको थियो । पुरानो बस्ती भएको क्षेत्रलाई काँडेतारले घेरिएको थियो । मान्छे कोही पनि त्यहाँ प्रवेश गर्न नसकून् भन्ने उद्देश्यले त्यसो गरिएको थियो । कुनै बेला म उभिएको त्यो ठाउँ अब बिस्तारै बिरानो बन्दै गएको थियो ।


लामो समय स्पर्श गर्न नपाएपछि जन्मिएको माटो पनि विरानो लाग्ने रहेछ ! त्यो मेरो खेलभूमि थियो, जहाँ मेरा खाली खुट्टाले थुप्रै पटक फुटबल पोस्टमा गोल गरेका थिए । त्यो चौर अब चाँडै नै कालोपत्रेमा परिणत हुँदै थियो । पारितिरका मानिसको ओहोरदोहोर गर्ने बाटोलाई काँडेतारले पूर्णतः छेकिसकेको थियो । त्यो क्षेत्र निर्जन बनिसकेको थियो । त्यहाँको हरियाली हराएको थियो, स्थानीयता गायब थियो ।कोरियन एयरको जहाज सुस्तरी ओर्लियो विमानस्थलमा, त्यसैबखत । केही मिनेटमा कतार एयरवेजको जहाजले भुइँ छाड्यो, कर्कश आवाज निकाल्दै । सडकमा गुडिरहेका सवारीसाधनका आवाज कतै हराए । एक घण्टा चोकमा उभिएर कोही न कोही स्थानीय भेट्ने मभित्रको हुटहुटी पनि बिस्तारै शिथिल हुँदै गयो ।


सडकछेउको फलामे रेलिङमा अडेस लागिरहेको मेरो शरीरले अनायासै अर्कै मोड लियो । मेरा पाइला बिस्तारै ओरालो अर्थात् तीनकुनेतर्फ मोडिए । झन्डै दुई दशकअघिसम्म सडकपारि रहेका चियापसल स्थानीयका जमघटस्थल हुने गर्थे । ती चियापसलबाटै गाउँका सबैको अवस्थाबारे जानकारी पाइन्थ्यो । कुनै सभा–समारोहमा निम्ता गर्नुपर्दा पनि तिनै चियापसल उपयुक्त थलो बन्थ्यो ।कठै, ती चियापसलको स्थान त अब पूर्वतिर जाने (भक्तपुर, बनेपा वा त्योभन्दा पनि टाढा) सार्वजनिक सवारीसाधनको पार्किङस्थल बनिसकेको थियो । बस परिचालकहरू कराउँदै थिए— ठिमी, भक्तपुर, सूर्यविनायक, बनेपा, पनौती । एकै छिन टक्क अडिएर ती दृश्य हेरिरहेँ । पुराना पदचापको स्मृति मात्रै थिए मेरो मस्तिष्कमा, जो पत्रपत्र परेर कतै जमेर बसिरहेका छन् ।


कोटेश्वर हाइट, जहाँबाट कुनै बेला मीनभवन, बानेश्वर, बबरमहल र सिनामंगलसम्म देख्न सकिन्थ्यो । परपरबाट आइरहेका सवारीसाधन कता जान्छन् भन्ने यकिन गर्न सकिन्थ्यो । मीनभवनको हाइट (देब्रेतिर) मा एउटै मात्र घर थियो, त्यो घर अग्रज आख्यानकार दौलतविक्रम विष्टको हो भन्ने कुरो मैले धेरै पछि थाहा पाएको थिएँ । जब आफू नै लेखनमा लागेँ, तब मैले ती आदरणीय व्यक्तिलाई घरमै गएर भेटेको थिएँ । उनको प्रख्यात पुस्तक ‘चपाइएका अनुहार’ बारे कुरा गरेको थिएँ ।अब देखिँदैन कोटेश्वर हाइटबाट विष्टको घर । उनको घरभन्दा अग्ला कम्प्लेक्स बग्रेल्ती त्यहाँ ठडिइसकेका छन् । तर ती कम्प्लेक्स जतिसुकै अग्ला भए पनि तिनले विष्टको रचनाकारिताको उचाइलाई कहिल्यै छुन सक्ने छैनन् भन्नेमा म स्पष्ट छु ।


तीनकुने ओरालोको आधा भागमा पुगेर मेरा पाइला टक्क अडिए । शरीर पूर्वतिर फर्कियो । दायाँतिरको ५५ खुट्किलोयुक्त ढुंगे भर्‍याङको संकेत मात्र बाँकी रहेको थियो । कुनै समय घर तीनकुने–कोटेश्वर भन्यो भने ‘५५ खुट्किलाबाट कता ?’ भन्ने गरिन्थ्यो । स्थान चिनाउनका लागि त्यसबखत अन्य कुनै वस्तु उपलब्ध थिएनन् । ५५ खुट्किले भर्‍याङलाई अग्लाअग्ला झारपातले छोपिसकेको थियो । त्यो भर्‍याङसँग जोडिएका मेरा बाल्यकालीन स्मृति लेखेर नसकिने गरी चाङ लागेर बसेका छन् । त्यही भर्‍याङ चढेर म आमाको धोती समाउँदै गाउँ डुल्न जान्थेँ । गाउँमा जोसुकैका घरमा जाँदा पनि मकै, भटमास, गुन्द्रुक अघिल्तिर आइहाल्थ्यो । खुट्किला पार गर्दा गोडा थाक्थे, पसिना निस्कन्थ्यो, तर जब खुट्किलाको माथितिर पुगेर टुसुक्क बसिन्थ्यो, तब सिरसिर बतासले जीउ चंगा बनाइदिन्थ्यो । जस्तै गर्मी महिनामा पनि त्यहाँ निकै शीतल हुन्थ्यो । त्यो उचाइलाई छेक्ने कुनै तत्त्व त्यहाँ मौजुद थिएन ।


कुनै बेला सडकका दायाँ–बायाँ बाक्लो गरी पैयुँका रूख अग्लिएका थिए । थाहा छैन हत्या गरिएका ती पैयुँका रूखहरूले कति जनाको भान्छा तताए ! तिनले प्रदान गर्ने शीतलता र हरियाली अब केवल सम्झनामा थिए । कोटेश्वरबाट हरियाली हराइसकेको थियो । अन्यत्रको झैं यहाँको तापक्रम पनि बढिरहेको थियो । अहिले पनि हरियाली देख्न नपाउँदा मभित्र ठूलै तनाव उत्पन्न हुन पुग्छ । त्यो दिन पनि त्यस्तै भयो । मलाई ‘साइकोटेराटिक’ हुन खोजेको त होइन ? मैले आफैंसँग प्रश्न गरेँ । प्रकृति र मस्तिष्कबीचको सम्बन्धबारे उत्पन्न यो शब्दले मलाई हैरान बनायो । मलाई मस्तिष्क पीडा हुन थाल्यो । मेरै आँखाअघिल्तिर बदलिएर विरूप बन्दै गएको म जन्मिएको ठाउँको वातावरणले केही बेर मलाई विक्षिप्त पारेको थियो । सुन्दर, शान्त र हरियालीयुक्त कोटेश्वरको सम्झना नै पनि अब धूमिलधूमिल बन्दै गएको थियो ।


मैले स्मृतिमै ५५ खुट्किला चढेँ र चुलीमा पुगेर टुसुक्क बसेँ । तर मेरो शरीरले शीतल महसुस गर्न पाएन । सडकमा कुदिरहेका अनगिन्ती सवारीसाधनले निकालेको धूवाँ र बेपर्वाह उडिरहेको धूलोबाट जोगिन मैले मास्क निकालेँ र मुख छोपेँ । सडक पार गर्नका लागि झन्डै पाँच मिनेट कुर्नुपर्‍यो । सम्झिएँ ती दिन, जतिखेर हामी स्थानीय बालक सडकमै खेल्थ्यौं । फाट्टफुट्ट आउने गाडीलाई हामी टेर्दैनथ्यौं, त्यसले बेस्सरी हर्न बजाएपछि मात्रै साइड लाग्थ्यौं । न ट्राफिक लाइट, न त जेब्राक्रसिङ नै थियो ! तर पनि मानिस सुरक्षित बाटो काट्थे । साँझ बिस्तारै घना बन्दै गइरहेको थियो । वाग्मती हेर्न वाग्मतीकै किनार पुग्नुपर्ने अवस्था आएको पनि दुई दशकभन्दा अलि बढी समय भयो होला । आफू हुर्किएको घरतर्फ हेरेँ, त्यहाँ त्यो घर थिएन । जग्गा त थियो तर त्यो अर्कैको स्वामित्वमा गइसकेको थियो । अब त्यो विरानो भइसकेको थियो । जमिन बेच्नुजतिको नालायकी केही पनि लाग्दैन अचेल मलाई ।


बालापन बितेको जमिनतर्फ आँखा पुर्‍याएँ । त्यही घरबाट म नाङ्गै वाग्मतीसम्म दौडेर गएको र झ्वाम्लाङ्ङ त्यस नदीमा हामफालेको सम्झना ताजा भएर आयो । त्यही घरबाट वाग्मती छेउतिर गाई चराउन लैजाँदाका दिनहरू आँखाअघिल्तिर नाच्न थाले । खेतका आलीआली दगुर्दै को पहिला नदीमा पुग्ने भन्ने प्रतिस्पर्धा चल्थ्यो हाम्रो । वर्षादमा उर्लेको वाग्मतीमा पुग्न हामी आलुका ड्याङ माड्दै कुद्थ्यौं, धानका बोट कुल्चँदै नदीमा पुग्थ्यौं । हिउँदमा गाई चराउन जाँदा त्यही वाग्मतीको पानीबाट हामी तिर्खा मेट्थ्यौं । त्यो साँझ मलाई एक पटक पुनः वाग्मती हेर्न मन लाग्यो । म घरतिर नमोडिई सीधै वाग्मती पुलतर्फ लागेँ । वाग्मती ठसठस कन्दै सकीनसकी बगिरहेको थियो । मानव मलमूत्र र मानवसिर्जित फोहोर बोकेर त्यसले यात्रा गरिरहेको थियो । सम्झेँ र आश्चर्यचकित भएँ, यही वाग्मतीको पानी मेरो शरीरमा कति लिटर पर्‍यो होला !


फैलिएको वाग्मती खुम्चिएर कतैकतै त नाघ्न सकिने अवस्थामा थियो । कसले खोसेको होला यो वाग्मती उभिएको ठाउँ ? कुनै बेला वाग्मतीले आफू उभिएको जमिन खोज्दै आयो भने यी मिचाहा मान्छेको हालत कस्तो होला ! म पुलको बीच भागमा उभिइरहेको थिएँ । ठीक त्यसैबेला वाग्मती सफाइ अभियानको सन्देश मेरो मोबाइलमा देखापर्‍यो । अभियानले थुप्रै साता पूरा गरिसकेको थियो, वाग्मतीमा थोरै भए पनि सुधार आएको देखिएको थियो । तर फेरि वाग्मती उही र उस्तै कञ्चन बन्ने कुरामा सन्देह कायमै थियो । यो त्यही पुल हो जहाँबाट वर्षामा उर्लिएको वाग्मतीमा म हामफाल्थेँ । पुल र नदीको दूरी दस फिटजति थियो । पौडी खेल्न नआए पनि छाप्लाङछुप्लुङ गर्दै अलि पर पुगेर देव्रे किनारा लाग्थेँ म । वाग्मती जतिसुकै ठूलो होस्, मलाई त्यसले कहिल्यै बगाएन । मन उदास हुँदा, दिमागले काम गर्न गाह्रो मान्दा वा दिक्दारीले छोप्दा म अहिले पनि वाग्मतीको पुलमाथि गएर उभिने गर्छु । विगतले रन्थनाउँदै मेरो छातीमा कोर्रा हिर्काउँछ ।


साँझको बत्तीमा मैले वाग्मतीको परपरसम्म आँखा दौडाएँ । वाग्मती पुल त्यही ठाउँ हो, जहाँबाट कुनै बेला पशुपति मन्दिर देखिन्थ्यो । साँझपख मन्दिरमा बज्ने आरतीका धुन यता तलसम्म सुनिन्थ्यो । अहिले थुप्रै बहुतले भवनले आँखा छेकिदिएका छन्, ध्वनि स्थगित गरिदिएका छन् कतै ।
त्यही वाग्मतीको पानी सिञ्चित भएर मलिलो र उर्वर बन्न पुगेको फाँटमा उब्जिएका अन्नपात खाएर हुर्किएको मेरो शरीरले थाहा छैन अहिले कहाँको जमिनको उब्जनी खान्छ ! चीनको खान्छ कि भारतको ? शुद्ध खान्छ कि अशुद्ध ? न त वाग्मती नदी न त वाग्मतीको दायाँबायाँका सुन्दर फाँट नै थिए अहिले मेरा आँखाअघिल्तिर । थिए भने केवल अग्ला भवन थिए, तिनमा पोतिएका कृत्रिम रङहरू थिए । ती रङहरू कत्ति पनि प्रिय थिएनन् ।
कोटेश्वर हाइटदेखि वाग्मती पुलसम्म बाटाका छेउछाउमा कत्ति थिए इनार र कुवाहरू विगतमा ? ती कुवा त सबै लोप भइसकेका छन्, इनारचाहिँ घरभित्र कैद हुन पुगेको छ । त्यो अब सामूहिक सम्पत्ति होइन, नितान्त निजी बन्न पुगेको छ । वाग्मती फाँटमै रहेको आफ्नो घरमा इनार खन्दा दुई सय फिटमा पनि पानी नआएको निकट विगत सम्झिएँ र सम्झिएँ अलि वर्ष अगाडिको समय, जतिबेला त्यही तीनकुनेमा दस फिट खन्दा कञ्चन पानीको फोहोरा छुटेको थियो ।


कत्ति ठूलो मूल्य चुकाउनुपरेको यो वाग्मतीले ? यो तीनकुने–कोटेश्वरले ? कसले गर्ला यसको हिसाबकिताब ? यो अव्यवस्था र प्रकृतिविरोधी पाइलालाई दण्डित कसले गर्ने होला ? या हामी नै अहिले यसको दण्ड दिनप्रतिदिन भोगिरहेका त छैनौं ! के सजाय यतिमै सीमित होला ?
म अहिले पनि ‘स्थानीयतावाद’ ले प्रभावित हुन पुग्छु । संसारका अधिकांश मानिस विश्वग्रामको सोचलाई प्राथमिकता दिँदै छन् ! मभित्र भने त्यस दिन तीव्र वितृष्णा उत्पन्न भएको थियो यो सोचप्रति । उक्त दिन मलाई यो स्थानीयतावाद शब्दले अलि बढी नै रन्थनाएको थियो र म कोटेश्वर चोकमा पुगेर एक घण्टा उभिएको थिएँ ।


एक जना पनि स्थानीय नभेटिँदा चिन्तित थिएँ म । कोटेश्वर अब मेरो रहेन र म कोटेश्वरको रहिनँ भन्ने महसुस गरेको थिएँ । म उभिएको स्थानमा उभिने अब हजारौं भइसकेका छन् । कसैले कसैलाई चिन्दैन । चिने पनि स्नेह दर्साउँदैन । कति हतारमा हुन् मानिसहरू ! ती अपरिचित अनुहारहरू, जो बाध्यता वा रहरले यो कचौरे काठमाडौंमा कोचिन आइपुगेका छन् । गाउँगाउँमा सिंहदरबार पुर्‍याउने गफ दिएको सरकार, केन्द्रीकृत राज्यव्यवस्थाले पिरोलिएका आममानिस ! राज्यपीडाले थिलथिलो बनेका मजस्ता थुप्रै नागरिक, जो नचाहँदानचाहँदै पनि आफ्नो थातथलो छाड्न बाध्य छन् ।
थातथलो राज्यबाट पटकपटक खोसिएको एउटा पात्र म, स्थानीयतावादसँग समाजको सम्बन्ध अत्यन्तै नजिकको रहेको पाउँछु । कोटेश्वरवासीको त्यो आपसी सम्बन्ध, मिलजुल, एकलाई अर्कोको बारेमा सबथोक जानकारी र सहज जीवन । मेरी आमा थुप्रै पटक छिमेकीको घरमा आगो लिन गएको मलाई सम्झना छ । चामल, पिठो, नुन, चिनी, दालजस्ता वस्तु त प्रायः सरसापटमै चल्थ्यो । नगद कमै मान्छेसँग हुन्थ्यो, अप्ठेरो पर्दा सरसापट नै प्रमुख आधार थियो । आफ्नो भान्छामा रित्तिएका सामान छिमेकको भान्छाबाट ल्याउने चलन खुबै प्रेमिल लाग्थ्यो ।


म एक प्रकारको यायावर । घुम्नु, फिर्नु, मन परेका पुस्तक कतै गएर पढ्नु अनि मन लागे लेख्नु मेरो सबैभन्दा प्रिय कर्म । देशविदेश उतिसारो डुल्न नपाए पनि देशका थुप्रै भूभाग टेक्ने अवसर पाएको छु । कतिपय स्थानसँग मेरो गहिरो प्रेम पनि हुन पुगेको छ । त्यस्ता प्रेम परेका स्थानमा पटकपटक जाने गरेको छु । तर फर्किएर यही तीनकुने–कोटेश्वर आइपुग्दा खै किन हो, अचम्मकै आनन्दले छोप्न थाल्छ । यस्तो लाग्छ, मैले थुप्रै ठाउँसँग प्रेम गरेको छु, तर मलाई मेरो कोटेश्वरले अगाध प्रेम गरिरहेको छ । धेरै पटक कोटेश्वर छाड्ने सोच मेरो मनमा पलाएको हो । घर बेच्ने र कतै पर गएर अलि सुविधाजनक ढंगमा बस्ने विचार घरीघरी मभित्र पलाउँदै आएको हो । तर त्यो सोचलाई तात्त्विक निष्कर्षमा पुर्‍याउन मैले सकेको छैन । अब त सक्छुजस्तो पनि लाग्दैन । कहिलेकाहीँ अर्कै सोच घनीभूत बनेर मेरो दिमाग रन्थनाउँछ— जीवनको अन्तिम क्षण मैले यही मेरो थातथलोमै बिताउनुपर्छ । अन्तिम श्वास यही कोटेश्वरकै भूमिमा फेर्नुपर्छ ।


फेसबुक मेसेन्जरमा घरबाट फोन आयो । ‘कति ढिला गरेको घर आउन ?’ वाग्मती पुलमाथि उभिएको एक घण्टा नाघिसकेछ । मलाई भने त्यहाँ पुगेको केही मिनेट मात्रै भएको महसुस थियो । मेसेन्जरको आवाज कुनै पनि कोणबाट प्रेमिल थिएन । त्यो प्राविधिक थियो । डिजिटल बोलावट थियो त्यो । मेरा खुट्टा घरतर्फ मोडिए । पाइला डिजिटल गतिमा चलिरहेका थिए ।

प्रकाशित : असार २१, २०७६ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्

अफगान असफलता

हिमेश

 अन्ततः अफगानिस्तान विश्वकप क्रिकेट २०१९ को चुत्थो टिम सावित भयो  । यसपल्टको विश्वकपमा छनोटका लागि दुई स्थान उपलब्ध थियो, त्यसबाट छानिने दुई टिम थिए— अफगानिस्तान र वेस्ट इन्डिज  ।

संयोगले यिनै दुई टिम नै पुछारतिर रहे । अफगानिस्तान त वेस्ट इन्डिजभन्दा पनि पछाडि रह्यो । जस–जसले वान–डे क्रिकेटको विश्वकपमा धेरै टिम हुनु हुन्न भन्छन्, उनीहरूका लागि चिताएजस्तै नतिजा हो ।


नत्र ज–जसले वान–डे विश्वकपमा बढीमा १६ टिम हुनुपर्छ भन्छन्, त्यसका लागि यो खराब नतिजा हो ? विशेषतः जसरी अफगानिस्तानले यो विश्वकप खेल्यो, त्यो वास्तवमै निराशाजनक रह्यो । वेस्ट इन्डिजभन्दा पनि अफगानिस्तानको खेलमा हाम्रो रुचि हुनु स्वाभाविक नै हो । यो त्यही टिम हो, जसले नेपाली क्रिकेटको नाकमुनिबाटै लोभलाग्दो प्रगति गर्‍यो र हामी हेरेको हर्‍यै भयौं । हामीले ईर्ष्या मात्र गर्न सक्यौं । अब त हामीले अफगानिस्तान क्रिकेटलाई छुन पनि गाह्रो हुन सक्छ । यही टिमले विश्वकप खेलिरहेका अरू टिमलाई भने छुन सकेन । यस्तो किन भयो त ?


उत्तर खोज्न प्रयास सुरु भएको छ र यसका केही कारण पनि देखिन्छन् । पहिलो ठोस कारण हो, कम अनुभव । अफगानिस्तानले विश्वकप क्रिकेटको माथिल्लो स्तरमा खेल्न थालेको धेरै भएको छैन, खालि केही वर्ष न हो । यसबीच उसले केही सम्झनयोग्य जित पनि निकाल्यो । यसमध्ये अधिकांश जित आफूभन्दा मुनिकै थिए, आयरल्यान्डजस्ता टिम । अफगानिस्तानले २०१५ को विश्वकप पनि खेलेको थियो, त्यति बेला प्रतियोगिताको ढाँचा नै बेग्लै थियो । यसपल्टको विश्वकपमा सहभागी १० टिममध्ये सबैले सबैसँग खेल्नुपर्छ । यही कारणले अफगानिस्तानी क्रिकेट पनि वास्तविक परीक्षाबाट गुज्रियो, अनि थाहा भयो– अफगान क्रिकेटले सिक्नुपर्ने त अझै धेरै रहेछ, गर्न बाँकी धेरै रहेछ ।


अफगानिस्तानले यति ठूलो प्रतियोगितामा यति धेरै खेल यसअघि कहिल्यै खेलेकै थिएन, त्यो पनि सबै आफूभन्दा माथिका टिमसँग । सीधा सीधा भन्दा अफगानिस्तानको क्रिकेट स्तर अझै कमजोर नै छ । यसले जे जति चर्चामा रहन जित निकालेको थियो, त्यो आफू जत्तिकै टिमविरुद्ध थियो, होइन भने आफूभन्दा कमजोर नै । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का लागि लेख्दै अफगानिस्तानका पूर्वखेलाडी मिर्वाइस असरफले भनेका छन्, टिममा यति ठूलो प्रतियोगिता खेल्ने अनुवभ नै थिएन । उनको ठहर थियो, ‘विश्वकपमा अफगानिस्तानले केही राम्रो गर्छ भन्ने अपेक्षा छ भने त्यसका लागि पर्याप्त अनुभव चाहिन्छ । सबैले के बुझ्नुपर्छ भने विश्वकपमा अफगानिस्तानले गरेका सबै टिम अब्बल दर्जाका हुन् । यी टिमविरुद्ध खेल्नु कहिले पनि सजिलो हुन्न । त्यसैले विश्वकपजस्तो प्रतियोगिताबाट अफगानिस्तानले रातारात केही गर्छ भनेर अपेक्षा धेरै गर्नु हुन्न ।’ हुन पनि बंगलादेशजस्तो टिमलाई अहिलेको स्तरसम्म पुग्न पनि धेरै समय लाग्यो ।


अफगानिस्तानका लागि तीन वर्षअगाडि अन्तिम पटक खेलेका असरफ के पनि मान्छन् भने विश्वकप ठूलो शिक्षाका रूपमा रह्यो । त्यो अर्थमा लगभग सबै हारेर पनि सबैभन्दा ठूलो विजेता रह्यो, अफगानिस्तान नै । एउटै प्रतियोगितामा सबै माथिल्लो वरीयताका टिमसँग खेल्नु पाउनु भनेको अफगानिस्तानका लागि भाग्य पनि हो । असरफकै भाषामा अफगानिस्तानले इंग्लिस भूमिमा जे जत्ति खेल्यो, त्यसमा गर्व गर्दा नै हुन्छ, त्यसले पछि काम गर्नेछ । यी त भए, पर्दाअगाडिका कुरा । पर्दापछाडिका विवाद र कलहले पनि टिमको प्रदर्शनका निकै खराब प्रभाव पार्‍यो । सबैलाई के राम्रोसँग थाहा छ भने अफगानिस्तानको क्रिकेटमा पनि फोहोरी राजनीति चल्छ । यही राजनीतिकै कारण त्यहाँका खेलाडी पनि दुई अलग र विरोधी धारमा विभाजित हुन्छन् । विवाद र कलह नहुँदो त अफगानिस्ताको प्रदर्शन वास्तवमै यति कमजोर हुने थिएन । कम्तीमा सायद केही खेल त जित्थ्यो नै ।


विश्वकप सुरु हुन ठीकअगाडि नै अफगान क्रिकेट एउटा नचाहिंदो विवादमा फस्यो । विश्वकप सुरु हुन दुई महिना मात्र बाँकी थियो, त्यहाँको क्रिकेट बोर्डले नयाँ कप्तान नियुक्त गर्‍यो, गुलबदिन नइबका रूपमा । विश्वकपअगाडि धेरैले अचम्म मानेका पनि हुनुपर्छ, आखिरमा यी नइब हुन् को ? यसअघिका कप्तान थिए, असघर अफगान । यिनी भने सबैले चिनेका खेलाडी हुन् । त्यसैले उनको नाम आउँदा लाग्थ्यो, यी असली कप्तान हुन् ।
हुन पनि अफगानिस्तानले गम्भीर रूपमा क्रिकेटमा प्रगति गरेको यिनकै नेतृत्वमा हो । त्यसै क्रममा अफगानिस्तानले पछिल्लो एसियाकपमा बंगलादेश र श्रीलंकालाई पनि हरायो । अझ भारतविरुद्धको एक खेल टाईसमेत भयो । असगर कति आत्मविश्वासी कप्तान थिए भने उनलाई तीन खेलाडीमा खुबै विश्वास थियो र तीनै जना स्पिनर थिए, रसिद खान, मुजिब उर रहमान र मोहम्मद नाबी । उनी केसम्म भन्थे भने यी तीन खेलाडी छन् भने जस्तै स्कोरको पनि रक्षा गर्न सकिन्छ ।


त्यही बेला रसिद भन्थे, ‘विश्वकपको ठीकअगाडि कप्तान फेरिनु राम्रो होइन । यसले टिमको प्रदर्शनमा फरक पार्छ । असघर नै कप्तान रहनुपर्थ्यो ।’ नाबीले पनि त्यसमा होमाथि हो थपे । सबैको एउटै राय थियो, कप्तान नै फेरिनु थियो भने विश्वकपपछि गरे भइहाल्थ्यो नि । विश्वकप सुरु हुनुअगाडि पुराना प्रशिक्षक कबिर खानले पनि ठोकुवा गरेका थिए, हेर्दै जाऊ, कप्तान परिवर्तन गरेको कारणले टिमको प्रदर्शनमा नकारात्मक असर पर्छ ।
अझ उनले केसम्म भने भने यो सबै परिवर्तन राजनीतिक कारणले हो । विश्वकपको लिग चरणका खेल समाप्त हुने क्रममा यी सबै दाबी सही ठहरिएका छन् । नइब खासमा कच्चा खेलाडी नै हुन्, कच्चा खेलाडी कच्चा कप्तान हुने भए नै । अफगानिस्तान यसपल्ट दुई अवसरमा जितको नजिक पुगेको थियो, एक पल्ट भारतसँग, दोस्रो पल्ट पाकिस्तानसँग । विशेषतः पाकिस्तानविरुद्धको खेल त धेरै लामो समय अफगानिस्तानकै पकडमा थियो ।


खेलको निर्णायक मोड रह्यो ४६ औं ओभरमा । यसअघि नाबी, रहमान र खानले पाकिस्तानलाई संघर्ष गर्न बाध्य पारेका थिए । पाकिस्तानलाई त्यस स्थितिमा सेमिफाइनल प्रवेशको सम्भावना कायम राख्न निश्चित जित आवश्यक थियो । खेलको ४५ ओभर सकिंदा चार विकेट हातमा रहेको स्थितिमा पाकिस्तानलाई ३० बलमा ४६ रन चाहिएको थियो । लगत्तै अर्को ओभरमा खेल नाटकीय रूपमा पाकिस्तानको पक्षमा मोडियो ।
इमाद वासिमले त्यस नइबको त्यस ओभरमा तीन चौका प्रहार गरे । अझ नइबले एक बल वाइड पनि फाले । त्यसयता पाकिस्तानलाई २४ बलमा २८ रन चाहिएको स्थिति तयार भयो र टिम थप दबाबमा आएन । नइबले ९.४ ओभरमा कुनै विकेट लिन सकेनन् र उल्टै ७३ रन खर्चे । पछि नइबले आफैंले बलिङ गर्नुपर्ने कारणको बचाउ गर्न नाटक पनि गरे । तर कसैले पत्याएनन् । सबैले माने, अफगानिस्तान हार्‍यो किनभने नइबले राम्रो गर्न सकेनन् ।


केही समय भयो, अफगानिस्तानमा बोर्ड र खेलाडीबीच झगडा सुरु भएको । बोर्डले यही निहुँमा अफगान क्रिकेटलाई सफा गर्नु पर्छ भनेर नयाँ नयाँ नियुक्त गरे, बोर्डको नेतृत्वदेखि खेलाडीको नेतृत्वसम्म । अहिले अफगान क्रिकेटमा ठ्याक्कै दुई समूह छ, त्यही परिवर्तन गर्नु पर्छ भन्ने बोर्ड र त्यसमा फरकमत राख्ने सिनियर खेलाडीको समूह । यसै कारण टिममा चर्को बेमेल छ । अब यस्तो कलह चलिरहेको टिमबाट विश्वकपमा कसरी ठूलो अपेक्षा राख्नु ?
twitter : @himeshratna

प्रकाशित : असार २१, २०७६ १०:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्