कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कहाँ छ स्तर ?

स्टार खेलाडी नेयमरबिना पनि ब्राजिलले नवौंपल्ट कोपा अमेरिकाको उपाधि जित्यो । समग्रमा दक्षिण अमेरिकी फुटबलको स्तर भने खस्किएको छ ।
राजु घिसिङ

ब्राजिललाई घरेलु मैदानमा सन् २०१४ मा भएको विश्वकपमा उपाधिको सबभन्दा बलियो दाबेदार मानिएको थियो  । त्यसैअनुरूप खेल प्रदर्शन गर्दै सेमिफाइनल पनि पुग्यो  ।

कहाँ छ स्तर ?

तर, उसलाई बेलो होरिजोन्टेमा जर्मनीले ७–१ ले स्तब्ध पारिदियो । त्यो नतिजालाई विश्व फुटबलमा ठूलै आश्चर्य मानिन्छ । र, ब्राजिलका लागि महाभूकम्पसरह । त्यसबेला ब्राजिलका मुख्य खेलाडी थिए, नेयमर । कोलम्बियाविरुद्ध क्वाटरफाइनलमा घाइते भएकाले उनी जर्मनीविरुद्ध मैदानमा थिएनन् । त्यसैले उनी भएको भए ब्राजिलको त्यस्तो गति (दुर्गति) नहुन पनि सक्थ्यो ।
कन्फेडेरेसन्स कप २०१३ मा सनसनीपूर्ण प्रदर्शन गर्दै ब्राजिललाई उपाधि दिलाएका नेयमर त्यसयता सधैं ‘साम्बा ब्वाइज’ का मुख्य खेलाडी रहँदै आएका छन् । सन् २०१४ मा जस्तै २०१८ (रुस) मा पनि ब्राजिललाई विश्वकपको सबभन्दा बलियो टिम मानिएको थियो । तर, नेयमर नेतृत्वको टिमको प्रदर्शन अपेक्षाकृत भएन र अन्तिम आठबाटै बाहिरियो । त्यसैले रुसी विश्वकपमा सेमिफाइनल पुग्ने चारै टिम युरोपेली बन्न पुगेको थियो । किनभने लियोनल मेसी कप्तानीको अर्जेन्टिनाले अन्तिम १६ बाटै बिदाइ लिइसकेको थियो ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएपछि नेयमरको दिन राम्रो भइरहेको छैन । च्याम्पियन्स लिग र फ्रेन्च कपमा हारेपछि देखाएको व्यवहार तथा बलात्कार मुद्दा लागेपछि उनको आलोचना बढ्न थाल्यो । त्यसैले ब्राजिलले ड्यानी आलभेसलाई कप्तान बनायो । टिमका सबभन्दा ठूला स्टारले मैत्रीपूर्ण खेलमा चोट बेहोरेपछि घरेलु मैदानमा कोपा गुमाउने भयो । त्यसले ब्राजिली टिमलाई अप्ठ्यारोमा पार्‍यो । त्यसको एक महिनाभित्रको अवस्था भने फरक रह्यो । मैदानमा नेयमरको खासै अभाव देखिएन । भलै उनको ग्ल्यामर र चर्तिकला छुट्यो होला । र, ब्राजिल दक्षिण अमेरिकी च्याम्पियन नै बन्यो ।
सुपरस्टार भए पनि अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाका लागि उपाधि जित्न असफल भइरहेका मेसीले ब्राजिललाई जिताउन पक्षपात गरेको आरोप लगाए पनि त्यो सीमित समय मात्रै चर्चामा रहन्छ । रेफ्रीले अर्जेन्टिनाको पक्षमा हुन सक्ने पेनाल्टीका लागि दुईपल्ट भिडियो हेर्न अस्वीकार गरिदिए पनि इतिहास जित्नेहरूकै लेखिन्छ । त्यसैले मेसीको आरोप, नेयमरको चोटभन्दा पनि ४६ औं कोपा ब्राजिलको च्याम्पियन यात्राकै लागि सम्झिइनेछ ।
पछिल्ला काण्डहरूले हुन सक्छ, नेयमरबिना ब्राजिलले हात पारेको सफलतामा उसका समर्थक बढी खुसी देखिए । त्यो ब्राजिली फुटबलकै लागि पनि राम्रो हो । किनभने कुनै एक खेलाडीमा निर्भर नरहेर उसले सामूहिक प्रदर्शनबाट सफलता हात पार्न सक्यो । नेयमर टिममा भएको भए विंगर एभर्टन बेन्चमै सीमित हुन सक्थे । तर, सब्स्टिच्युटको रूपमा पाएको अवसरमा आफूलाई सावित गर्दै पहिलो रोजाइमै स्थान बनाएका २३ वर्षीय एभर्टन यो कोपाबाट उदाएका छन् । सर्वाधिक गोलकर्ताको गोल्डेन बुट जितेका उनीप्रति कोपामा गरेको प्रदर्शनकै आधारमा युरोपमा ठूला क्लबहरू म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र पीएसजीले आबद्ध गर्न चाहेका छन् ।
कप्तान ड्यानी आलभेसले सर्वोत्कृष्ट खेलाडीको गोल्डेन बल कब्जा गरे । वास्तवमा ३६ वर्षीय उनको प्रदर्शन निकै लोभलाग्दो थियो । मेसीको टिमविरुद्ध सेमिफाइनलका हिरो पनि उनै थिए । १२ वर्षअघिको कोपा पनि जितेका उनी आफ्नो क्लब र अन्तर्राष्ट्रिय फुटबल करिअरमा उपाधि संख्यालाई ४० पुर्‍याए । उत्कृष्ट गोलकिपरको गोल्डेन ग्लोभ अवार्ड ब्राजिलकै एलिसनले हात पारे । फाइनलमा गोल गरेका रिचार्लिसन र ग्याब्रियल जेससले टिमलाई आक्रमक धार दिएका थिए । यो कोपामा सबभन्दा बलियो टिम देखिएको ब्राजिलले उपाधि अनौठो होइन । उसको उपाधि यात्रामा क–कसले चुनौती दियो ? अरू टिमको प्रदर्शन कस्तो रह्यो ? अहिले बहसको विषय बनेको छ ।
ब्राजिलले पेरूलाई समूह चरणमा ५–० ले हराएको थियो । त्यही पेरूलाई १७ दिनपछि माराकाना रंगशालामा ३–१ ले हराएर ब्राजिलले नवौंपल्ट महादेसीय प्रतियोगिता जितेको हो । पेरुले क्वाटरफाइनलमा लुइस स्वारेज र एडिन्सन कभानीको टिम उरुग्वे र सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन चिलीलाई सिकार बनाएको थियो । कोपा २०१५ र २०१६ को च्याम्पियन चिली उत्कृष्ट खेलाडीहरूको टिम भएर पनि विश्वकप २०१८ मा छनोट भएको थिएन । पेरूले भने रुसी भूमिमा प्रतिस्पर्धा गरेको थियो । त्यसैले पेरूको ३९ वर्षपछि कोपाको फाइनल यात्रालाई आश्चर्य मान्न मिल्दैन ।
यसपालि कोपामा एसियाली च्याम्पियन कतार र उपविजेता जापानलाई पनि बोलाइएको थियो । दुवै टिम समूह चरणबाटै फर्किए । भेनेजुएलाले समूह चरणमा ब्राजिललाई गोलरहित रोक्दै आफू सधैं कमजोर नभएको देखायो । एक सय ३ वर्ष पुरानो कोपा अमेरिकामा उपाधि नजित्ने टिम यिनै भेनेजुएला र इक्वेडर मात्र हुन् । यी दुई फाइनल पनि पुगेका छैनन् । उरुग्वे सर्वाधिक १५, अर्जेन्टिनाले १४, पाराग्वे, चिली र पेरुले २–२ तथा कोलम्बिया बोलिभियाले १–१ पल्ट उपाधि जिते ।
कोपामा नौपल्टको विजेता ब्राजिलले पछिल्ला दस संस्करणमध्ये पाँचमा ट्रफी चुमेको छ । ब्राजिलले पहिलोपल्ट ओलम्पिकमा स्वर्ण पदक रियो २०१६ मा जितेको थियो । ब्राजिल विश्वकपको सर्वाधिक सफल टिम हो र उसले पाँचपल्ट उपाधि जितेको छ । उसले पछिल्लोपल्ट सन् २००२ मा सफलता हात पारेको थियो । उरुग्वेले विश्वकपमा ४० वर्षपछि सेमिफाइनल २०१० मा खेल्यो । अर्जेन्टिना २०१४ मा फाइनलमा पुग्यो । विश्वकपमा युरोपेली टिमलाई चुनौती दिने दक्षिण अमेरिकी नै हो । तर, पछिल्ला चार सफलतासँगै युरोपले विश्वकपको उपाधिमा दक्षिण अमेरिकालाई १२–९ ले पछाडि पारेको छ । फाइनल खेल्ने पछिल्ला आठ टिममध्ये दक्षिण अमेरिकी एउटा मात्रै रह्यो । नयाँ शताब्दी सुरु हुनुअघि दक्षिण अमेरिकी टिम यत्ति कमजोर थिएन । सट्टेबाजीमा दक्षिण अमेरिकीले २०२२ को विश्वकप जित्ने सम्भावना पनि ३० प्रतिशत मात्रै देखाउँछ ।
गत वर्ष दक्षिण अमेरिकी क्लब फुटबलको सबभन्दा प्रतिष्ठित प्रतियोगिता कोपा लिबरटेडोर्सको फाइनल असुरक्षाको कारण ब्युनर्स आयर्स (अर्जेन्टिना) बाट म्याड्रिडमा सार्नुपर्‍यो । यूईएफए नेसन्स लिगले युरोपको ठूला टिमसँग प्रतिस्पर्धा गर्ने अवसरबाट दक्षिण अमेरिकीलाई टाढा बनाइदिएको छ । त्यसले उसको स्तर मापनको अवसर दिँदैन ।
यसपालि कोपा भइरहेकै बेला उत्तर तथा मध्यअमेरिकी क्षेत्रको कन्काकाफ गोल्डकप र महिला विश्वकप पनि भए । मैत्रपूर्ण खेल होस् वा कुनै पनि प्रतियोगितामा ब्राजिल र अर्जेन्टिनाको प्रतिस्पर्धाले विश्व फुटबलकै ध्यान तान्ने गर्छ । तर, यी चिरपरिचित प्रतिद्वन्द्वी कोपाको सेमिफाइनलमा यसपालि भिड्दा जति दर्शक थिए, त्योभन्दा बढी कन्काकाफ गोल्डकपमा मेक्सिकोविरुद्ध हैटीको खेलमा थिए । रेफ्रीका गलत निर्णयसँगै यसले दक्षिण अमेरिकी फुटबलको लोकप्रियता खस्किएको देखाउँछ ।
दक्षिण अमेरिकी फुटबल खासमा सुन्दर खेलका लागि लोकप्रिय हो । अब थियो भन्ने बेला आएको छ । किनभने जसरी हुन्छ खेल जित्ने हिसाबले प्रतिस्पर्धा गर्न थालेका छन् । दक्षिण अमेरिकी फुटबलमा प्रतिभाको कुनै कमी हुँदैन । विशेषतः ब्राजिल र अर्जेन्टिनामा । धन, लोकप्रियता र ग्ल्यामरका लागि चाँडै (सानै उमेर) युरोप जाने चलन बढेको छ, जसले दक्षिण अमेरिकालाई कमजोर बनाइरहेको छ, जुन युरोपका लागि फाइदा हो । यसपालिको कोपाले तथ्यांकले त्यस्तै देखाउँछ, एभर्टनसहित ब्राजिलका तीन खेलाडी मात्र घरेल लिग खेल्छन्, अरू २० युरोपमा । अर्जेन्टिनाको पनि चार खेलाडी मात्रै घरेलु लिग खेल्छन् । इक्वेडर र पाराग्वेका ९–९, चिलीका ६, कोलम्बियाका ३, भेनेजुएलाका २, उरुग्वे १ खेलाडी आफ्नै लिगमा छन् । समूहका तीनै खेल हारेको बोलिभियामा मात्रै घरेलु लिगका खेलाडीको वर्चस्व थियो । उसका दुई खेलाडी मेक्सिको र एक चीनको लिग खेल्छन् । पेरूका चार खेलाडी मात्र युरोपमा खेल्छन्, त्यो पनि ठूला लिगमा होइन । उसका एक खेलाडी त साउदी अरेबियाको लिग खेल्छन् । त्यसैले उसको फाइनल यात्रालाई ठूलै उपलब्धि मान्नुपर्छ ।
बीसौं शताब्दीसम्म ब्राजिल र अर्जेन्टिनी टिममा आफ््नै लिगका खेलाडीको बाहुल्य रहने गर्थ्यो । यी दुई लिगका धेरै खेलाडी अरू दक्षिण अमेरिकी टिममा हुन्थे । अहिले परिस्थिति फेरिएको छ । यसपाली अर्जेन्टिनी लिगका १६ र ब्राजिली लिगका १४ खेलाडी मात्रै कोपामा सहभागी थिए । मेक्सिको (२५), स्पेन (२४), इंग्ल्यान्ड (२२), इटाली (२०) को लिगको उपस्थिति बलियो रह्यो । महादेशीय हिसाबले पनि यो कोपाका १०४ खेलाडी युरोपमा लिग खेल्छन् । जबकि दक्षिण अमेरिकामा ९१, एसियामा ४३ र उत्तर तथा मध्यअमेरिकी क्लबमा आबद्ध ३९ खेलाडी छन् । आफ्नै महादेशीय लिगका खेलाडीको पालतिँदै गएको खेलाडी संख्याले पनि दक्षिण अमेरिकी फुटबलको स्तर खस्किरहेको जनाउँछ ।
अर्जेन्टिनाले पछिल्लोपल्ट कोपा १९९३ मा जितेको थियो । अर्जेन्टिनी राष्ट्रिय टिममा पाँच वर्षयताका चौथो प्रशिक्षक हुन्, लियोनल स्कालोनी । यो स्तरमा उनको पहिलो जिम्मेवारी हो र एक वर्ष बित्न लाग्दा पनि उनी कार्यबाहक मात्रै छन् । यसले टिमको व्यवस्थापकीय कमजोरी देखाउँछ । स्कालानीले माउरो इकार्डीलाई टिममा ल्याउने आँट गर्न सकेनन् । इटालियन क्लब इन्टरमिलानमा उत्कृष्ट प्रदर्शन गरिरहेका इकार्डीले साम्पडोरियाका सहकर्मी एवम् सिनियर खेलाडी म्याक्सी लोपेजको पत्नीसँग सम्बन्धविच्छेद गराइदिएका थिए र लगत्तै आफैं बिहे गरे । तिनै लोपेज मेसीको प्रिय साथी हुन् र मेसीकै दबाबमा इकार्डीलाई अर्जेन्टिनी टिममा राखिँदैन भन्ने छ । जे भए पनि इकार्डीको अभाव अर्जेन्टिनी टिममा देखिन्छ ।
क्लबको प्रतिस्पर्धामै पनि दक्षिण अमेरिकी कमजोर भएको छ । दक्षिण अमेरिकी टिमले क्लब विश्वकपको उपाधि २००७ यता जितेको छैन । स्तर खस्किुनमा दस देश मात्र रहेको दक्षिण अमेरिकी फुटबल महासंघ र यसका सदस्यहरूको प्रशासनिक र व्यवस्थापकीय कमजोरी पनि एउटा कारण हो । किनभने यहाँका ठूला पदाधिकारीहरू भ्रष्टाचारमा मुछिएका छन् । फिफाको भ्रष्टाचार काण्ड (२०१५) मा परेका १८ जनामध्ये १५ पदाधिकारी/अफिसियल दक्षिण अमेरिकी छन् ।

प्रकाशित : असार २८, २०७६ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?