कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

'हिउँ परे हिँड्नू'

गोरख विष्ट

मान्छेहरू किन ताप्लेजुङको कञ्चनजंघा क्षेत्रलाई घुन्सा भनेर चिन्दा रहेछन्, मलाई घुन्सा पुगेपछि अनुभव भयो  । नेपालको सुदूरपूर्वमा अवस्थित कञ्चनजंघा हिमालको काखैमा रहेको शेर्पाहरूको सुन्दर गाउँ हो घुन्सा  ।

'हिउँ परे हिँड्नू'

घुन्सा गाउँको छेवैबाट कञ्चन तमोर बगेको छ । माथि मिलेका हिमालहरूको ताँतीले घुन्सालाई सुन्दरता प्रदान गरेको छ । शेर्पाहरूको गाउँ भएकाले यहाँ हरेक घरको छतमा, रूखहरूमा चिटिक्क पर्ने गरी प्रेफल्यागहरू टाँसिएका छन् । एउटा परापूर्वकालको बस्तीजस्तो देखिने घुन्सा पूर्वको नमुना गाउँ रहेछ ।
घुन्सा गाउँ कञ्चनजंघा बेसक्याम्पको गेटवेको रूपमा रहेको छ । कञ्चनजंघा सगरमाथा र केटुपछिको संसारको तेस्रो अग्लो हिमाल हो । यसको उचाइ ८,८१६ मिटर छ । हिमालमा हिँड्न मन पराउनेका लागि एउटा महत्त्वपूर्ण गन्तव्यको रूपमा परिचित कञ्चनजंघा बेसक्याम्प एकातिर नेपाल छ भने अर्कोतिर भारत । ताप्लेजुङको सुकेटार एअरपोर्टबाट ३ दिनको हिँडाइमा घुन्सा पुगिन्छ र अर्को २ दिनमा कञ्चनजंघा बेसक्याम्प ।
म १६ मार्च २०१६ को एकाबिहानै काठमाडौंबाट टिमसहित ताप्लेजुङको सुकेटार उडें । मनसुन सुरु नभइसकेकाले मौसम एकदम राम्रो थियो । जहाजको झ्यालबाट दृश्य बिल्कुलै सफा र सुन्दर देखिएको थियो । मौसम सफा भएकैले होला हाम्रो अनुरोधबिनै पाइलटहरूले पाथिभरा मन्दिर घुमाएर हामीलाई सुकेटार पुर्‍याए । सुकेटारको धावनमार्ग डाँडैमा भएकाले डरलाग्दो रहेछ । करिब ३५ मिनेटमै हामी सुकेटार पुगेर योजनामुताबिक नै घुन्सातिर अगाडि बढ्यौं ।
कञ्चनजंघा आधार शिविर जाने योजना बनाइरहेका बेला मैले घुन्सामा एउटा असाइनमेन्ट पनि लिएको थिएँ । असाइनमेन्ट टिमले मेरो यात्राको सबै बन्दोबस्त मिलाइसकेकाले मलाई सुकेटार पुगेर केही गर्नुपरेन । सुकेटारबाट केही बेर कच्ची बाटो जिपमा पपगीत सुन्दै ओरालो लागेर करिब ३ घण्टामा तमोर खोला किनार पुगियो । तमोर किनारको बाटो केही गर्मी थियो । तमोर सुसेल्दै तलतिर झरिरहेको थियो भने हामी लाग्यौं तमोरको मुहान कञ्चनजंघा फेदीतिर । मेरो टिममा थियौं म, मेरो साथी नीरज चौधरी, मेरो असाइनमेन्ट लिडर जो चाफर, कञ्चनजंघा बुद्धिस्ट सोसाइटीका अध्यक्ष डण्डु शेर्पा, हँसिला भाइ नुप्पु लामासहित २ जना सहयोगी ।

बाटो रमाइलो थियो । नेपालमा ट्रेकिङ गर्न किन आउने भन्ने कुराको गतिलो जवाफ हो यो बाटो । हामी हिँड्ने बाटो तमोरको किनारैकिनार रहेछ, त्यही किनारका सबै पाखामा अलैंची खेती गरिएको रहेछ । ठूलाठूला उत्तिसका बोटहरूभित्र गरिएको अलैंचीको खेतीले व्यवसायीहरूलाई फाइदा मात्र हैन, यात्रुलाई शीतलता पनि प्रदान गरेको छ । अलैंची खेतीको बीचबीचमा अग्ला खम्बा गाडेर अलैंचीलाई घुम्दै छरिरहेको पानी हामी कहाँसम्म पनि आइपुग्थ्यो । मलाई यो रमाइलो लाग्यो । बेला बेलामा रोकिएर त्यो पानीलाई छल्दै भाग्नुपर्थ्यो, ‘पानी परे बस्नू हिउँ परे हिँड्नू’ भन्ने बूढापाकाहरूको कथन सम्झँदै । तीन दिनमध्ये २ दिनको बाटो यसरी बित्यो । म यो बाटो नहिँडेको भए यात्रा अधुरो रहने रहेछ भन्ने मलाई लाग्यो । यो बाटोमा हिँड्न पाउनु मेरा लागि शौभाग्य हो भन्ने लाग्यो । सानातिना खोलाहरू, हरियो, रसिलो वन, जताततै लटरम्म अलैंचीका बगान हेर्दै बेलुकापख सुखेताम पुग्यौं । सुखेताममा खाने–बस्ने राम्रो व्यवस्था भएका साना स्थानीय होटलहरू रहेछन् ।
भोलिपल्ट बिहान सबेरै बाटो लाग्यौं । बाटोमा तमोरमा माछा मारेर फर्किंदै गरेका केही केटाकेटी भेटिए । उनीहरूले ल्याएका सबै माछा किनेर हामी अगाडि बढ्यौं । नुप्पु भाइले करिब २ घण्टा जति माछा हातमै बोके । एउटा सानो चिटिक्क परेको होटलमा माछा बनाउन लगाएर तमोरको माछा–भात खाइयो । माछा कति मीठो थियो भने अहिले सम्झिँदै मुखमा पानी रसाउँछ ।
खाना खाएर उकालो लाग्नेबित्तिकै नुप्पु भाइको जोक सुरु भयो । भाइको ठट्टाले त्यो बाटो कस्तो थियो फर्किंदा मात्र थाहा पाएँ मैले । बाटोभरि फुलेका गुराँसले बाटोको दायाँ–बायाँको जंगल रातै थियो । सुकेटारबाट सुखेताम हुँदै घुन्सासम्मै कतै पनि सुक्खा बाटो देखिनँ मैले । हामी यसरी नै सुकेटार, सुखेतम, ग्याब्ला अनि ग्याब्लाबाट तेस्रो दिन घुन्सा पुग्यौं ।

घुन्सा पुग्नेबित्तिकै एउटा पुरानो बस्तीमा आएको महसुस भयो । यहाँका प्रायः सबै घरहरू पुरानो शैलीका । एकैनासको काठको फल्याकको छाना भएका, सबै घरको आँगनमा दाउराका खात झट्ट हेर्दा एउटा छुट्टै संसारमा आएजस्तो । चारैतिर ठूला हिमालहरूले घेरेर राखेको घुन्सा गाउँबाट आकाश भने सानोजस्तो देखिन्थ्यो । यहाँको शेर्पा समुदायले आफ्नो गाउँलाई व्यवस्थित तरिकाले संरक्षण गरेको देख्दा लाग्छ, यो कैयौं सालसम्म पनि यहाँ आउने पर्यटकलाई पुर्खाको अनुभव चखाइराख्नेछ र पर्यटकले सधैं भन्नेछन्— वाः घुन्सा ।
यहाँ एउटा सानो अस्पताल छ । एउटा विद्यालय, अनि विद्युत् सेवासमेत भएकाले घुन्साको बसाइ कुनै सहरको भन्दा कम लागेन । म हिमालतिर एक्लै यात्रा गर्दिनँ । हिमालमा लामो समय एक्लै यात्रा गर्नु जोखिमपूर्ण हुन्छ । घुम्ने मात्र भए त सम्भव छ तर म फोटोग्राफी एक्सपिडिसनका लागि जाने भएकाले मलाई एउटा टिमकै खाँचो पर्छ । प्रायः गरी टिममा २ जना सहयोगी हुन्छन् । फोटोग्राफीका सामग्री बोक्ने तथा फिल्डमा सहयोग गर्न पनि मलाई साथी चाहिन्छ । त्यसैले मेरो छोटो फोटोग्राफी एक्सपिडिसनका लागि कम्तीमा ४ देखि ५ जना र लामो यात्राका लागि कम्तीमा ८ देखि १० जनासम्मको टिम हुने गर्छ । यसपालि पनि २ जना स्थानीय सहयागीहरूसहित हामी ५ जना तयार भयौं कञ्चनजंघा बेसक्याम्प यात्राका लागि ।

बेसक्याम्पतिर जानुभन्दा एक दिनअगाडि घुन्सामा परेको हिउँले घुन्साको रूप बदलेर सेतै बनाएको थियो । हामी बिहानै बेसक्याम्पतिर लाग्दा प्रायः सबैका घरको आँगनमा चौंरीका बाछा र घुन्सेलीहरू न्यानो घामको मज्जा लिइरहेका थिए । हामी बिस्तारै लाग्यौं तमोरको मुहान कञ्चनजंघा आधार शिविरतिर । बाटोभरि हिउँ थियो । वरपरका रूखहरू हिउँले सेताम्य थिए । तमोर तलतिर निरन्तरै बगिरहेको थियो हामी माथितिर । आधा बाटो पुगेपछि फेरि हिउँ पर्न थाल्यो । बीचमा बस्ने ठाउँ नभएकाले खाम्बाचेन (४१५० मि) पुग्नुको विकल्प थिएन । त्यसैले हामी निरन्तर हिँडिरह्यौं । खाम्बाचेन पुग्नुभन्दा केही पहिले एउटा पहिरो बगिराख्ने उकालो अप्ठ्यारो बाटो रहेछ । लगातार बाक्लो हिमपात भैरहेकाले हामीलाई यो बाटो काट्न निकै मुस्किल पर्‍यो । करिब ४५ मिनेटमा त्यो बाटो क्रस गर्दा सबैको टाउको र झोलामाथि करिब आधी फिट हिउँ जमिसकेको थियो । यस्तो अवस्थामा एकले अर्कालाई देख्ने दूरीमा मात्र हिँड्नुपर्छ नत्र बाटो बिराएको खण्डमा अकालमा ज्यान जाने सम्भावना हुन्छ । बल्लतल्ल हामी खाम्बाचेन पुग्यौं । त्यहाँ एउटा चौंरी गोठालाबाहेक कोही रहेनछन् । खाम्बाचेनमा एउटा टी हाउस जहिले पनि खुला हुने हामीले जानकारी पाएका थियौं । तर आज भने बन्द रहेछ, त्यसैले त्यही चौंरीखर्कमा बास बस्नुको विकल्प रहेन । चौंरी गोठाला दाइले मीठो तिब्बतियन चिया, सातु र याकको घिउ दिनुभयो डिनरमा । हामी सबै भोक, थकाइ र चिसोले लखतरान परिसकेकाले त्यो वरदान सम्झेर खायौं । बिहानसम्मका लागि त वरदान भयो तर बिहान भने यसले कमाल देखायो । त्यहाँबाट मलाई डायरिया सुरु भयो । सामान्यतया खाम्बाचेनबाट लोनाक ४ देखि ५ घण्टामा पुगिन्छ तर अलि बिसन्चोका कारण हामीलाई करिब ७ घण्टा लाग्यो । लोनाक (४७९० मि) नपुगी बीचमा खाने–बस्ने ठाउँ नभएकाले हामीलाई अगाडि बढ्न गाह्रो । बल्लतल्ल हामी करिब ३ बजे लोनाक पुगेर लन्च खायौं ।
लोनाक नै अन्तिम बास बस्ने ठाउँ हो । त्यहाँबाट कञ्चनजंघा बेसक्याम्प गएर फेरि लोनाकमा बास बस्न आउनुपर्छ । कञ्चनजंघा बेसक्याम्पबाट एउटा कञ्चनजंघा मात्र देखिँदैन, यहाँका कञ्चनजंघा मेन ८५८६ मि, कञ्चनजंघा साउथ ८४७६ मि, कञ्चनजंघा सेन्ट्रल ८४७३ मि, यालुङखाङ ८५०५ मि र यालुङखाङ ओएस्ट ८०७७ मि गरी नयाँ तथ्यांकअनुसार हाल नेपालमा रहेका १४ वटा आठ हजार मिटरका हिमालमध्ये ५ वटा कञ्चनजंघा क्षेत्रमा लहरै देखिने हुनाले छुट्याउन गाह्रो पर्छ । घुन्साजस्तो गाउँ, सुकेटारदेखि ग्याब्लासम्मको बाटो अनि आठ हजार मिटरका हिमालको ताँती हेर्न पाइने ठाउँ संसारमा अन्त कतै छैन ।

प्रकाशित : असार २८, २०७६ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?