हायमनदासको युद्ध–साहित्य

आइतबार भारतीय नेपाली साहित्यका शताब्दी पुरुष हायमनदास राईको निधन भयो । राईले लेखेको कथा ॅशूर–वीर’ लाई नेपाली भाषाको पहिलो युद्धकथा मान्ने गरिएको छ । के थियो त्यो कथा ? र कस्तो थियो राईको लेखन ?
मनप्रसाद सुब्बा

नेपाली साहित्य यात्रामा माध्यमिककाल नेपथ्यमा ओझेलिँदै गएपछि आधुनिककालका अभिनयीहरूलाई मञ्चमा उभ्याउने महत् कार्य ‘शारदा’, साहित्यिक मासिकले गरेको कुरा विद्वान्हरू मान्छन्  ।

त्यो आधुनिक युगलाई डोर्‍याएर यात्राको उकालो हिँड्ने बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गुरुप्रसाद मैनाली, भीमनिधि तिवारीजस्ताका युवा रचनाहरूको नवोन्मेषले शारदा शारदीय भएको हुन्थ्यो । त्यसताक बालकृष्णशमशेरले कुनै समय आफू समताका उन्नायक ‘सम’ हुन्छु सोचेकै थिएनन् ।

पच्चीस–छब्बीस वर्षे लक्ष्मीप्रसाद देवकोटा, बीए बीएल, पनि ‘देवकोटा’ मात्रैले चिनिइने भइसकेका थिएनन् । हो, त्यै समय र त्यै शारदाको वर्ष २, संख्या २ मा हायमनदास राई (पछि ‘किरात’ मात्र) को कथा ‘शूर–वीर’ प्रकाशित पाइन्छ । किरात त्यसबेला सोह्र वर्ष मात्र पुग्दै थिए । सम्भवतः यही नै उनको पहिलो प्रकाशित कथा पनि हो ।


भारतीय नेपाली आधुनिककालीन कथाको पहिलो चरणका कथाकार इन्द्र सुन्दासभन्दा पाँच महिनाले कान्छा अनि शिवकुमार राईभन्दा दुई महिनाले जेठा हायमनदास राई तर कथा लेखन–प्रकाशनमा अघिल्लोभन्दा दुई वर्षअघि अनि पछिल्लोलाई दस वर्षैले उछिनेको तथ्य ‘शारदा’ वर्ष २ र अंक २ ले बताउँछ ।हायमनदास राई (शारदामा ‘हाईमन दास राई’) को ‘शूर–वीर’ प्रकाशित हुनुभन्दा अघिको पृष्ठभूमिलाई झलक्क मात्र हेर्दा– पहिलो आधुनिक नेपाली कथाको मान्यता दाबी गर्न खोज्ने ‘अन्नपूर्ण’ (रूपनारायण सिंह) ‘गोर्खा संसार’ मा प्रकाशित भएको सात वर्ष मात्र पुग्दैथ्यो अनि दस महिनाअघि मात्रै ‘शारदा’ (संवत् १९९१, जेठ) मा गुरुप्रसाद मैनालीको ‘नासो’ प्रकाशित भएथ्यो जसलाई अधिकतर समालोचकहरूले पहिलो आधुनिक नेपाली कथा मानेका छन् । यिनै पृष्ठभूमि र परिप्रेक्ष्यमा ‘शूर वीर’ लाई हेरे यस कथा र यसका कथाकारको ऐतिहासिक गुरुत्व बुझ्न सकिनेछ ।


कथ्यबारे चर्चा गर्नुअघि त्यो समयलाई फर्केर अलिकति चियाऊँ ः भारत ब्रिटिस औपनिवेशिकताभित्र छटपटाइरहेको थियो भने नेपाल निरंकुश राणातन्त्र र सामन्ती व्यवस्थामा निस्सासिरहेको थियो । ‘नब्बे साल’ (विसं १९९० र इ १९३४) को विध्वंसकारी भुइँचालोले नेपाल अनि विहारमा ताण्डव नाचेको थियो । अनि दार्जिलिङ पहाडमा पनि त्यो भयावह भुइँचालोको भूतको गाढा छाया राम्ररी मन्सिसकेको थिएन । जर्मनीमा हिटलर समग्र युरोप नै अँठ्ययाउने अति महत्त्वाकांक्षी हुंकारसित उठिरहेको थियो । यस्तो राष्ट्रिय तथा वैश्विक अवस्थामा आधुनिककालीन नेपाली कथा लेखनको आरम्भिक उठानले समातेको मूल प्रवाह थियो स्वाच्छन्दिक सामाजिक यथार्थवादी, अनि यौटा सानो भंगालो देख्छौं यौन मनोविज्ञानको (विश्वेश्वरप्रसाद कोइरालाको ‘चन्द्रवदन’बाट थालिएको) । यस्तो समयमा हायमनदासको ‘शूर वीर’ बेग्लै कथावस्तु र छरितो प्रस्तुतिसित निज जातीय सामरिक संवेदन ब्युँझाउन देखा पर्‍यो ।


शीर्षकले भनेअनुसार मूलपात्र साँच्चै शूरवीर रहेको यो एक युद्धकथा हो । जापान र रूसमाझ भएको एक युद्धको दृश्य छ । जापानी कप्तान ओसाका आफ्नो घरमा युद्धको समाचार पढ्दै बसिरहेको बेला हठात् फौजमा झट्ट फर्किजानुपर्ने आदेश टेलिफोनद्वारा आउँछ । आफू हाजिर हुनैपर्ने स्थिति बुझेपछि तरबार भिरी निस्कन तयार हुन्छ । निस्कनुअघि आमालाई भेटेर बिदा माग्दा ओसाकाको मुखबाट ‘अद्भुत तौरले’ यी शब्द निस्कन्छन्, ‘माता ! बिदा देऊ जन्मभूमिको रक्षाको निम्ति मलाई बलिदान गरिदेऊ...’ छक्क परेकी आमाले भन्छिन्, ‘यदि मेरो एउटा पुत्रले गर्दा सहस्र देशवासीको रक्षा भए जाऊ ! आशीर्वाद छ !’ त्यसपछि युद्धमैदानभन्दा पहिले आफ्नी नवविवाहितासित ‘भीषण प्रेमयुद्ध’ हुन्छ । अनि घोडामा सवार भई निस्कन्छ कप्तान । शक्तिशाली रूसी फौजसित पहिलो दिन हारेपछि दोस्रो दिन विशेष सोच लिई आफू तोपको मोहोरीभित्र पसेर लुक्छ ।

शत्रुहरूले त्यो पड्काउँदा रूखहरूभरि रगत लागेको देखी सबै भाग्छन् अनि जापान विजयी बन्छ । कथासार यत्ति हो ।
रूस–जापान युद्ध काल्पनिक नभएर यथार्थ हो, इतिहाससम्मत हो । फेब्रुअरी १९०४ देखि सेप्टेम्बर १९०५ सम्म चलेको रूस–जापान युद्धलाई बीसौं शताब्दीको पहिलो ठूलो युद्ध मानिन्छ । जमिन तथा समुद्रमा लडिएको यो उन्नाइस महिने युद्धमा दुई देशको फौजमाझ कैयौंपल्ट घमासान मुठभेड भयो । तर किरातले आफ्नो कथामा केवल यौटै मुठभेडको अति संक्षिप्त चित्रण गरेका छन् । कथाको कलेवरलाई उकास्न प्रशस्त ठाउँ छँदाछँदै पनि लेखकले कथालाई लघुरूपमै राख्न रुचाएका छन् । अर्थात् कलिलो किशोर लेखकले आफ्नो कल्पनाभिव्यक्तिको सीमिततालाई सश्रम तन्काउनपट्टि नलागेर आफ्नो अपरिपक्वताबारे बरु आत्मस्वीकृति दिएका छन् कथा भन्दाभन्दै बीचमा, यसरी– ‘...यो म आफ्नो भरखरको सिकुवा कलमले लेखी देखाउन सक्दिनँ...।’


कल्पनाको स्थूल रूपदेखि पर्तिर त्यसको सूक्ष्म तत्त्व लेखकभित्र विकसित भइनसकेको अवस्थामा लेखिएकाले कथाको जीउडाल पनि केही अविकसित देखिनु अस्वाभाविक होइन । तर कथामा भावुकतालाई लोभ्याउने खालका कति ठाउँहरू छन्, तथापि लेखक आफ्नो बैंसको कलिलो बिहानीमा पनि भावुकता पोख्ने लोभले खिँचिएका छैनन् । कथाका ती खाल्डाखुल्डी भावुकताले भर्दै गएको भए त्यो कथाको काया थिल्थिलाउँदो बोसोले अलिक अल्सीलाग्दो पनि देखिनसक्थ्यो । यस कथामा भावुकतालाई न्यूनतम भूमिका दिइएको छ । यही नै ‘शूर वीर’ को सकारात्मक पक्ष हो । प्रारम्भिक पंक्तिदेखि नै कथामा पाठक युद्ध परिवेशमा पर्छ । त्यै परिवेशलाई यथावत् राख्न लेखकले मूलपात्रको नववधूसितको रागात्मक प्रेमक्रीडालाई समेत ‘भीषण प्रेमयुद्ध’ भनेर पाठकलाई, यस्तो भावनात्मक स्थितिमा पनि ‘युद्ध’ शब्दसित अल्झाइराख्न खोज्छन् । कथनशिल्पको एक चम्किलो झिल्को मान्न सकिन्छ यसलाई । यो कोमल स्थितिमा भावनासित बग्ने पर्याप्त ठाउँ हुँदाहुँदै पनि लेखकले कप्तान अनि नवदुलहीलाई ‘सम्झाउनी–बिर्साउनी चुम्बन’ मात्र गराएर छुटाउँछन् । कथामा तर ती खाल्डाखुल्डी त्यत्तिकै रहेका छन् । तिनीहरूले माग गर्छन् सिर्जनशील सूक्ष्म कल्पना–तत्त्व जसले कथालाई एक सग्लो र बान्किलो रूप दिन सक्थ्यो ।


यो कथा र कथाकारबारे अर्को एक विवेच्य कुरा : साधारणतः किशोरावस्थाका धेरैले नै आफ्नो अभिरुचिको विधामा कुनै प्रिय अग्रजलाई प्रभाववश अनुसरण–अनुकरण गर्न खोज्छ, अनि केही समयपछि, सचेत सर्जकले, उनै अग्रजलाई उछिन्ने या उनीबाट अलग्गिने प्रचेष्टा चलाउँछ । हायमनदास राईका अग्रजहरू रूपनारायण सिंह, बालकृष्ण सम, मैनालीहरू अनि दौँतरीहरूले स्वाच्छन्दिक तथा सामाजिक यथार्थवादी ढाँचामा रागात्मक प्रेमका अनि सामाजिक विषयवस्तु नै टिपेर नेपाली कथा लेखनमा आधुनिक युगको पहिलो उठानलाई उठाइरहेका थिए । यस्तो समय सोह्रवर्षे हायमनदास राईले रूस–जापान युद्धलाई कुन प्रेरणाले आफ्नो कथाको विषय बनाए होलान्, ‘शूर वीर’ भन्दा अघि युद्ध नै विषय बनेको कुनै कथा नेपाली भाषामा लेखिएको छ–छैन, सांगोपांग शोधकार्य नभइन्जेल हायमनदास राईको ‘शूर वीर’ नै पहिलो नेपाली युद्धकथा हो भन्छौं ।

त्यसो त ‘शारदा’ को त्यही अंक (पृष्ठ ३–५) मा कुनै लक्ष्मीनारायण ठाकुरको ‘वीर छेत्रिनी’ पनि युद्धकथाकै ढाँचामा लेखिएको छ । स्त्रीलिंगी ‘छेत्रिनी’ लाई विशेषित तुल्याउने ‘विरांगना’ को सट्टा पुलिंगी ‘वीर’ लेखेर उक्त लेखकले यथोचित वीरताचाहिँ देखाएकै छन् । तर यस कथामा मूल युद्ध गौण रहेर यौटी नारीको प्रेम र प्रतिशोध नै बढी टड्कारो भई अग्रभूमिमा आएको छ अनि कथाको अन्त्यमा नारीहरूको सामूहिक सती गमनलाई गौरवीकरण गरिएको छ । तर ‘शूर वीर’ मा सुरुदेखि अन्त्यसम्मै पाठकलाई युद्धको चर्को गन्ध र आवाजले छोड्दैन । ‘शूर वीर’ पछि अर्को चर्चित युद्धकथा पढ्नलाई नेपाली पाठकले बाह्र वर्ष पर्खिनुपर्ने हुन्छ जुन बेला ‘युगवाणी’ (संवत् २००४) मा सुदक्ष कथाशिल्पी शिवकुमार राईको ‘फ्रन्टियर’ प्रकाशित हुन्छ ।


आरम्भदेखि अन्त्यसम्मै यौद्धिक हावा हुँइकिरहेको कथा ‘शूर वीर’ मा इतिहासबाटै टिपिएको रूस–जापान युद्धलाई कथ्य बनाइएको भए तापनि तर त्यस युद्धबारे पर्याप्त अध्ययन–अनुसन्धान नगरी त्यस युद्धको यौटा मुठभेड (ब्याटल) लाई स्वच्छन्दतावादी प्रभावमा सरल रेखीय कथारूप दिइएको छ । देशमा स्वाधीनता संग्रामको आगो बलिरहेको समय थियो त्यो अर्थात् मातृभूमिको निमित्त त्याग र बलिदानको भाव उर्लिरहेको बेला थियो । अनि किशोर हायमनदासले आफ्नो बैंसालु बलिदानको भाव पोख्ने प्रतीक भेट्टाए सुदूर रूस–जापान युद्धमा । त्यसैले यो कथामा छ युद्ध र योद्धाको स्वाच्छन्दिक गौरवीकरण (रोम्यान्टिक ग्लोरिफिकेसन) । औपनिवेशिक बन्धनबाट मातृभूमि–मुक्तिको निमित्त सारा सचेत र स्वाभिमानी देशवासी जुर्मुराइरहेको बेला युद्धमा होमिने कृत्यलाई गौरवीकरण गर्नु अत्यन्त स्वाभाविक थियो ।


भौगोलिक आयतनमा धेरै सानो जापानले बृहदाकारको तथा शक्तिशाली रूसमाथि पाएको विजयगाथा सुनेर ठिटौले हायमनदासलाई गहिरो प्रभाव परेको थियो सायद । बृहदाकार र विजय दुई बेग्लाबेग्लै कुरा हुन् भन्ने प्रत्यक्ष ज्ञानको उदय उसबेला उनीभित्र भयो होला । अनि कहिल्यै घाम नअस्ताउने उसबेलाको बृहत् ब्रिटिस साम्राज्य र स्वाधीनता संग्रामको झन्डा लिई दृढतासित उठेको भारतमा उनले रूस र जापानकै सामन्जस्य पाए होलान् । अर्थात् यसो भनूँ, देशप्रतिको आफ्नो तीव्र भावानुभूतिलाई समुचित निकास दिने इलियटको शब्द सापट लिँदै उही अनुपातको वस्तुनिष्ठ समीकरण (अब्जेक्टिव् को–रिलेटिव) को रूपमा रुस–जापान युद्ध भेट्टाए । अनि तोपको मोहोरीभित्र पसेर आफ्नो ज्यान बलि चढाउने ओसाकाको त्रासद कथाले हायमनदासभित्रको भावावेगलाई उस्तै तीव्रतापूर्वक निकास दिन एरिस्टोटलीय ‘कथार्सिस’ कै काम गरेको अनुमान पनि लाउँदा अतिशयोक्ति नै चैं नहोला ।


यसरी हायमनदास राईले हामीलाई हाम्रो आधुनिक (आधुनिकतावादी होइन) कथा लेखनको आरम्भिककालमै अनि आफ्नो कथालेखन–यात्राको थालनीमै यौटा युद्धकथा दिए । यस कथाको विषयगत ऐतिहासिक महत्त्वमाथि आजसम्म विज्ञ समालोचक तथा अनुसन्धाताहरूको दृष्टि परेको छैन कि या त परे पनि कथा संरचना उति पुष्ट नभएकाले बेवास्ता गरिएको हो कि, तर अघि भनेझैँ ‘यस कथाको विषयगत ऐतिहासिक महत्त्व’ सधैं स्मरणीय र उल्लेख्य छ । सामरिक स्वभाव हाम्रो पुरानो परिचय छ संसारमा । रणक्षेत्रमा गोर्खा फौजको छाया मात्रले पनि शत्रुको रौँ ठाडो हुन्छ भन्ने दन्तेकथा नै बनिसकेको लडाकु जाति । उन्नाइसौं शताब्दीको दोस्रो दशक (अंग्रेज–नेपाल युद्ध) देखि यता बीसौं शताब्दीका दुईवटा विश्वयुद्ध हुँदै आजपर्यन्त अनगिन्ती युद्ध लडेर उदेकलाग्दो शौर्यका तक्माहरू कमाउने यो जाति । त्यसैले, युद्धका हज्जारौं कथाहरू छन् हामीसित ।

युद्धका असंख्य अनुभव–अनुभूतिहरूको ठूलो भण्डार छ हामीसित । अहिलेसम्म हाम्रो युद्धसाहित्यको एक उदाहरणीय पुस्तकालय भइसक्नुपर्ने । तर संसारप्रसिद्ध यो सामरिक जातिको युद्धसाहित्य कति छ ? युद्धकथा, युद्धाख्यान, युद्धकविता, युद्धसंस्मरण हाम्रा लाहुरेहरूबाट कति लेखिएका छन् ? थोरै जे–जति छन् तीमध्ये पनि धेरजसो कहिल्यै युद्धभूमि नदेखेका अ–सिपाहीहरूले सुनेका–पढेका भरमा लेखेका छन् । (चर्चा गरिएको युद्धकथा ‘शूर वीर’ का लेखक अनि अघि माथि प्रसंगमा उल्लेख गरिएको ‘फ्रन्टियर’ का लेखक शिवकुमार राई दुवैमा फौजी जीवनको अनुभव थिएन ।) यौद्धिक अनुभव–अनुभूतिको सुनखानी छ यो जातिसित । तर त्यहाँबाट सुन निकाली आकर्षक गहना जति बनिसक्नुपर्थ्यो, त्यति बनिएकै छैन ।


उन्नाइसौं शताब्दीको अन्तिम दशकतिर केही सिपाहीहरूले लडाइँका सवाईहरू लेखे । लडाइँमा आफूले देखेका भोगेका कुराहरूलाई लोकलयमा विवरण गरिएका ती सवाईमा तर सूक्ष्म काव्यिकता खोज्नु अत्यापेक्षा नै हुन जाला । वर्तमान पुस्ताका केही सिपाहीहरू छन् ब्रिटिस गोर्खा फौजमा जसले अचेल आफ्निा युद्धानुभूतिहरूलाई धेरै आसलाग्दा किसिमले कवितारूप दिइरहेका छन् । यस बेला म सम्झिरहेछु एक ब्रिटिस गोर्खा सिपाही कुमार इस्बोका ती केही युद्ध कविताहरू : फकल्यान्ड, बोस्निया, कोसोवो र क्रोएसियाका यौद्धिक जर्जरताको मार्मिक अभिव्यक्ति ।उनको ‘हिउँद आउँदै छ’ का प्रारम्भिक पंक्तिहरू हेरौं—
‘आउँदै छ हिउँद
यसपालि पनि कुटिल मुस्कान छर्दै
गोलीले प्वाल पारेका भित्ताहरूबाट सिरेटो भई चियाउन
बमले लडाएका घरमाथि ताण्डव नाच्न
माइनले उडाएका अर्धखुट्टाहरूमा घनले ठोक्न
सिंगो बोस्नियालाई सेट च्यादरले ढाक्न’

बोस्नियाकै अवस्थामाथि उनको अझ प्रभावी अभिव्यक्ति छ कविता ‘अनुरोध’ मा । केही अंश हेरौं—
‘बोस्निया घुम्दा
केही अनुहारहरू रङ उडेको देखेँ
कलाकार !
रङ भरिदेऊ ती अनुहारहरूमा ।
बोस्निया घुम्दा
केही वृद्धहरूले बन्दुकको लौरो टेकेको देखेँ
कलीगढ !
बनाइदेऊ लौरो ती वृद्धरूलाई ।
बोस्निया घुम्दा
केही किशोरहरू निद्रामै हिंडिरहेको देखेँ
बतासको झोंका !
ब्युँझाइदेऊ निद्राबाट ती किशोरहरूलाई ।’


युद्ध र योद्धालाई हेर्ने पारम्परिक रोमान्टिक दृष्टिलाई विरुमानीकृत गर्दै युद्धको विभीषिकालाई नै आफ्नो काव्य लेखनको प्रमुख विषय बनाई उत्कृष्ट युद्धकविता लेख्ने अंग्रेज सिपाही–कविहरू विल्फ्रेड ओवेन, सिग्फ्राइड ससुन, एडवार्ड टोमसजस्ता कविहरूकै परिपाटीका देखिन्छन् कवि इस्बोका उक्त कविताहरू पनि । यी कविताहरूपछि तर कुमार इस्बोलाई फेरि पढ्न पाइएको छैन ।


युद्ध विषयक आख्यान र गद्य विधाको बाँझो फोर्ने काम समकालीन लेखनमा थोरै जे भएको छ त्यो नेपालको बाह्रवर्षे जनयुद्धको पृष्ठभूमिमा लेखिएका ‘छापामारको छोरो’ (कथासंग्रह/महेशविक्रम शाह), पल्पसा क्याफे, मयूर टाइम्स (उपन्यास/नारायण वाग्ले), उर्गेनको घोडा (उपन्यास/युग पाठक) र अन्य कतिपय कृतिहरूमा भएको छ । तर यी लेखकहरू पनि त्यस जनयुद्धका सिपाहीहरू थिएनन् । स्पेनी गृहयुद्धमा सक्रिय सहभागी बनेका अर्नेस्ट हेमिङवेको ‘फर हुम द बेल टोल्स’, ‘फेयरवेल टु आर्म्स’ तथा अरू अमेरिकी, युरोपेली सिपाहीहरूका युद्ध उपन्यास र कथाहरूका हाराहारीमा उभिन सक्ने युद्धाख्यानहरू (सिपाहीहरूद्वारा नै लेखिएका) हामीसित कति छन् विज्ञ अध्येताहरूले खोज्नुपर्ने यौटा कार्य छ ।


आफ्नो देशको इतिहासका पानामा ढुकढुकाइरहेका जातीय र राष्ट्रिय मान–अभिमानको शिर उठेको र ढलेको घटनाबाट प्रेरित–प्रभावित भएर पनि उत्कृष्ट युद्धसाहित्य लेखिएका छन् । बालकृष्ण समको ‘अमरसिंह’ त्यस्तै यौटा उल्लेख्य युद्धनाटक हो । २०१२ को नोबेल प्राइज विजेता चिनियाँ उपन्यासकार मो यानको ‘रेड सोरगम’ तत्कालीन असंगठित चीन र जापानमाझ लामो समयसम्म चलेको युद्धको एक अत्यन्त सशक्त युद्ध उपन्यास हो ।


दुई सय वर्षदेखि विश्वले चिनेको–मानेको हाम्रो सबभन्दा टड्कारो परिचय छ ः त्यो हो युद्धभूमिबाट पीठ फर्काउन नजान्ने इमानदार सामरिक जाति । अनि यही जातिको चाहिँ उन्नत सामरिक साहित्य आजसम्म किन हुन सकेन ? चिन्तनीय कुरो हो । आजका संवेदनशील तथा सिर्जनशील लाहुरेहरूले यस प्रश्नको जवाफ दिँदै जानेछन् युद्ध विषयक कविताले, आख्यानले, संस्मरणले । विश्वस्त रहौं ।

प्रकाशित : श्रावण ४, २०७६ १०:२०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दुइटा फूल इतिहासका

जगत नेपाल

मुलुक र समाजको उच्च तहमा बसेर लामो अनुभव सँगालेका (उमेरले असी नाघेका) झन्डै डेढ दर्जन लब्धप्रतिष्ठित व्यक्तिहरूसँग दुई महिनायता लामै कुरा गर्ने अवसर मलाई मिल्यो  । नेतृत्वपंक्तिमा निष्ठा र इमानदारीको खडेरी लागिरहँदा राजनेताको अभाव किन खड्किएको होला भनेर बुझ्ने चाहनाले यो अवसर जुटाएको हो ।

मैले भेटे जतिलाई सोधेको एउटा प्रश्न थियो— राणा, शाह, पञ्च, बहुदल हुँदै गणतन्त्रसम्मको शासन व्यवस्था हेर्नुभयो, देशले सम्झनैपर्ने पाँच जना नेताको नाम बताइदिनुस् न ?

लामो सास तानेर कनीकुथी धेरैले एक दुई नाम लिए । अधिकांशले पाँचै नाम उच्चारण गर्न चाहेनन् । प्रायःले पहिलो नम्बरमा बीपी कोइराला र पुष्पलाल श्रेष्ठलाई सम्झिए । उनीहरूको अनुभवमा सम्झनलायक अन्य नेता हुन्– गणेशमान सिंह, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी र सुशील कोइराला ।

हालका राजनीतिक खेलाडीमध्ये कोसँग आशावादी हुनुहुन्छ भन्ने अर्को जिज्ञासामा धेरैले प्रधानमन्त्री केपी ओलीसँग अलि बढी नै अपेक्षा गरिएको तर सत्तामा पुगेपछि उनी हल्ला बढी काम कम गर्ने नेता निस्किएको बताए । दुई तिहाई बहुमतको सरकार बनेर मुलुक प्रतिपक्षविहीनजस्तो देखिनु राम्रो संकेत नभएको धेरैको बुझाइ छ । आखिर राजनीतिकर्मीमाथि यतिबिघ्न अविश्वास र वितृष्णा आउनुको कारण के हुन सक्छ ? यो प्रश्नमा प्रायः सबैको समान धारणा पाइयो । त्यो के भने नेतृत्वपंक्तिबाट हुने गरेका सिद्धान्तविपरीत काम र आचरण, राजनीतिक अस्थिरता, विकास निर्माणमा देखिएको ढिलासुस्ती अनि अनियमितता र भ्रष्टाचार ।

किन सम्झने बीपी र पुष्पलाललाई छ दशकअघि कांग्रेस सभापति बीपी कोइरालाको नेतृत्वमा दुई तिहाई बहुमतको पहिलो जननिर्वाचित सरकार बनेको थियो । त्यसपछि दुई तिहाईको सरकार भएको अहिले नै हो । १२ वर्षअघि आफैंले स्थापना गरेको दललाई दुई तिहाईमा पुर्‍याएर बीपी मुलुकको कार्यकारी प्रमुख भएका थिए । पुष्पलालले सात दशकअघि स्थापना गरेको कम्युनिस्ट पार्टीबाट ओली शक्तिशाली प्रधानमन्त्री बनेको १५ महिना हुँदै छ ।

त्योबेला बीपी मन्त्रिपरिषद्को पहिलो बैठकले प्रधानमन्त्रीको तलब २५ सयबाट १५ सय र मन्त्रीको तलब १५ सयबाट १ हजार बनाएर काम सुरु गरेको थियो । १ सय ९ सदस्यीय प्रतिनिधिसभामा १९ सिट जितेको राष्ट्रिय गोर्खा परिषद्का नेता भरतशमशेरलाई बीपीको जोड–बलले प्रमुख प्रतिपक्षी दलको नेता बनाइयो । हैसियत नपुगेको त्यसमा पनि प्रतिगामी राणाहरूकै दललाई प्रतिपक्षी बनाउनु हुँदैन भनेर त्यतिबेला चर्को विरोध नभएको पनि होइन । विपक्षीको अभावमा संसदीय व्यवस्था फस्टाउन सक्दैन भन्ने मान्यता स्थापित गर्न उनले आफ्नै सहकर्मीको विरोधका बाबजुद यो निर्णय लिएका थिए । त्यति मात्र होइन, चार सिटमा सीमित कम्युनिस्ट पार्टीका सदस्यलाई समेत उच्च प्राथमिकता दिने गरेका थिए । बिर्ता र राजा रजौटाको उन्मूलन, क्रान्तिकारी भूमिसुधार, वनको राष्ट्रियकरण, समाजवादी सिद्धान्तबमोजिम धनीलाई बढी कर लगाउने र गरिबका लागि लोकल्याणकारी योजना लागू गर्ने कामको सुरुआत गरे । नेपालको भूराजनीतिलाई बुझेर भारत र चीनसँग सन्तुलित परराष्ट्रनीति अवलम्बन गरे ।

समय बलवान छ । चार सिटमा सीमित वामपन्थीले अपार सफलता हासिल गरेको छ भने संसदीय सिटमा केही फरक भए पनि कांग्रेस त्यतिबेलाको कम्युनिस्टजस्तै खुम्चिन पुगेको छ । राष्ट्रिय पञ्चायतका अध्यक्ष रहिसकेका नवराज सुवेदी र शाही चिकित्सक डा. मृगेन्द्रराज पाण्डेले सुनाए— राजा महेन्द्र भन्ने गर्थे बीपीजस्तो दुनियाँलाई देखाउनलायक अर्को प्रधानमन्त्री सायद मैले मेरो जीवनकालमा देख्न पाउने छैन । जनताको अपार मत (दुई तिहाई बहुमत) बाट निर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गर्ने राजा नै बीपीबारे किन यस्तो अभिव्यक्ति दिन्थे ? सुवेदी र डा.पाण्डेले सुनाएकै शैलीमा राजाले बारम्बार बीपीको तारिफ गरेको प्रसंग पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले पनि लेखकसँगको भिडियो अन्तर्वार्तामा यो प्रसंग सुनाएका थिए ।

चानचुन डेढ वर्ष प्रधानमन्त्री र आठ महिना गृहमन्त्री भएका बीपी सबैको रोजाइमा पर्नुको कारण के हुन सक्छ ?
२००८ सालतिरको कुरा हो मातृका प्रधानमन्त्री थिए । बीपी आत्मवृत्तान्त (पेज १८३) मा लेख्छन्, ‘ठूल्दाइ (मातृका) ले काठमाडौंको सार्वजनिक सभामा मलाई र सुशीलालाई चुटाउनुभयो । म बोलिरहेको मञ्चमा वासु पासामाथि जान्छ । मलाई धकेल्छ र पिट्छ ।’

पुष्पलालका कान्छा भाइ विजयलाल श्रेष्ठले मलाई सुनाए, ‘म पनि त्यो सभामा पुगेको थिएँ, मानिसहरू मञ्चमा उक्लिँदै बीपीलाई हान्दै थिए । हिजोआज चोरको आरोपमा भीडले कसैलाई कुटेझैं गरी ।’ ‘ती दिन बीपी भारतीय दलाल हुन् भन्ने वामपन्थीहरूको बुझाइ थियो,’ विजयले सुनाए, ‘मलाई लाग्यो अभी नही तो कभी नही । मौका यही हो । सरासर मञ्चमा गएँ । एक लात हानें । ऐया भने बीपीले । छेउमा गणेशमान थिए, उनलाई देखेर डर लाग्यो । कुस्तीबाज । राणाको जेल तोडेर भागेका । भेटे भने सिध्याउँछन् भन्ठानेर भागें ।’

साढे सात दशकअघिको त्यो दिन सम्झिँदा उमेरले ८६ लागेका विजयले हाँसो रोक्नै सकेनन् । युवा जोस र त्यो बेलाको बुझाइ न हो । भन्दै थिए— बीपीको योगदान र महत्त्वलाई आजको दिनमा कसले पो नजरअन्दाज गर्न सक्छ र ?

कोइराला परिवारका सदस्य तथा वामपन्थी नेता कमल कोइरालाको बुझाइमा १८ महिनाको छोटो शासनकालमा भएका काम हेर्ने हो भने पनि बीपी एक नम्बर राजनेता हुन् । मदन भण्डारीको भनाइ स्मरण गर्दै उनले भने, ‘कुराकानीमा मात्र होइन, प्रकाशित अन्तर्वार्तामै समेत बीपी नै मदनले आफ्नो मन पर्ने नेता भन्नुभएको छ । जसरी चमेलीको फूल एक रातमै झर्छ । तर पनि त्यसको वासना मानिसले सधैं सम्झिन्छन् । त्यसको ठीकविपरित पलासको फूल ठूलो हुन्छ । लामो समयसम्म रहन्छ तर वासना नहुने भएकाले कसैले सम्झिँदैन ।’


राष्ट्रकवि माधवप्रसाद घिमिरे राष्ट्रियता र देशभक्ति भावका दृष्टिले पहिलो पुस्ताको तुलनामा अहिलेको नेतृत्व निरन्तर स्खलित हुँदै गएको अनुभव सुनाउँछन् । उमेरले शताब्दी टेकेका राष्ट्रकविको भनाइ छ, ‘हुन त कविको काम पार्टी र नेताको टीकाटिप्पणी गर्ने होइन तर नेतृत्व आफैं सिद्धान्त, नैतिकता र देशभक्तिबाट विचलित भयो भने कुनै मुलुकले प्रगति गर्न सक्दैन ।’ घिमिरेको यो भनाइमा नेपाली राजनीतिको तस्बिर देखिन्छ ।

घिमिरेले चन्द्रशमशेरको शासनकालयताका सबै राजनीतिक परिवर्तन आफ्नै आँखाअघि देखे । उनकै जीवनकालमा २००७ सालको क्रान्तिले एक सय चारवर्षे राणाशाहीको अन्त्य गर्‍यो । २०१७ साल पुस १ मा राजा महेन्द्रले सैन्य बलबाट प्रजातन्त्रमाथि ‘कु’ गरी ३० वर्षसम्म पञ्चायती शासन चलाए । २०४६ सालको जनआन्दोलनबाट बहुदलीय व्यवस्था स्थापना भयो । अनि, २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सुरु गरेको निरंकुश शासन व्यवस्थाविरुद्ध २०६२/०६३ को जनआन्दोलनमा लाखौं जनता सडकमा ओर्लिए । फलस्वरूप संविधानसभाको पहिलो बैठकबाट २०६५ जेठ १५ गते २ सय ३८ वर्ष लामो राजतन्त्रको अन्त्य मात्र भएन, मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रतर्फको यात्रा तय गर्‍यो ।

यसबीच २००५ सालयता, छ दशकको अवधिमा ४६ पटक सरकारको नेतृत्वमा फेरबदल भयो, २२ जना प्रधानमन्त्री बने । मुलुकको कार्यकारी प्रमुख हुनेमा आधाभन्दा बढी अर्थात् छ–छ जना कांग्रेस र कम्युनिस्टकै नेता छन् । सिद्धान्तअनुकूलको जीवनशैली, राष्ट्रियताबारेको अडान, तात्कालिक लाभभन्दा पनि देश र जनताको हितका पक्षमा लिएका निर्णयले बीपी सबैले सम्झिने राजनेतामा स्थापित भए ।

कम्युनिस्ट बीपी, कांग्रेस पुष्पलाल
राणाहरूको कोपभाजनमा परेर १४ वर्ष वनवासमा रहँदा बीपी आफैं कम्युनिस्ट थिए । भारतीय स्वतन्त्रता आन्दोलनका क्रममा जेल पर्दासमेत उनमा कम्युनिस्ट प्रभाव थियो । पछि जयप्रकाश नारायणको संगतले समाजवादी बने । पिताजी कृष्णप्रसादको प्रेरणाबाट राजनीतिमा लागेका बीपीले २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरे । त्यही राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीचको एकीकरणपछि भएको सशस्त्र क्रान्तिले १०४ वर्षे राणा शाहीको अन्त्य गर्‍यो ।

उता दाजु सहिद गंगालालको प्रेरणाबाट राजनीतिमा लागेका पुष्पलाल राष्ट्रिय कांग्रेसकै झन्डामा राणाविरोधी आन्दोलनमा होमिएर जेल परे । बीपी र डा. डिल्लीरमण रेग्मीबीचको कचिङ्गलबाट आजित उनले कांग्रेस छोडेर २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरे । मृत्युदण्ड दिनुभन्दा एक दिनअघि परिवारका सदस्यसँग गंगालाललाई भेट्न उनी भद्रगोल जेल पुगेका थिए । त्यही गंगालालले भनेका थिए, ‘भाइ (माइला) प्रजातन्त्रको दियोलाई कमजोर हुन नदिनू ।’ गंगालाल भन्ने गर्थे, ‘रुसमा कोही भोका नाङ्गा छैनन्, हामीले पनि त्यस्तै व्यवस्था ल्याउनुपर्छ ।’ दाजुको त्यही वचनले पुष्पलाललाई गरिब दुःखीको हितमा काम गर्ने कम्युनिस्ट पार्टी स्थापना गर्न प्रेरणा मिल्यो ।

बीपी र पुष्पलाल दुवैको राजनीतिक प्रशिक्षण राणा शाहीको अत्याचार उत्कर्षमा रहँदा भएको हो । कोइराला र श्रेष्ठ परिवारको संस्कारमा पनि धेरै कुराको समानता पाइन्छ । ज्येष्ठ सदस्यको उपस्थितिमा भारतीय स्वतन्त्रता आन्दोलन, भारतीय पत्रपत्रिकामा प्रकाशित समाचार र विचारबारे दुवै परिवारमा दैनिक छलफल हुन्थ्यो । कोइराला परिवारका सदस्य एक बिहानै जम्मा भएर अनेकौं विषयमा छलफल गर्थे । जसमा घर कसरी चलेको छ, केटाकेटीको पढाइ कस्तो छ आदि विषय हुन्थे ।

उता श्रेष्ठ परिवारमा भने बेलुका यस्तो छलफल चल्थ्यो । पुष्पलालकी बहिनी पुष्पलताले भनिन्, ‘बेलुका बाको कोठामा परिवारका सबै सदस्य भेला हुन्थ्यौं । सुरुमा घर कसरी चलेको छ, केटाकेटीको पढाइ कस्तो छ जस्ता विषयमा कुरा हुन्थ्यो । त्यसपछि देश विदेशका घटनाक्रममा कुरा हुन्थ्यो ।’ दुवै परिवारका सदस्यहरूबीच आपसमा कुरा गर्दाचाहिँ राजनीतिक विषयले प्रायः प्रवेश पाउँदैनथ्यो ।

समानता अनेक, विमति एक
बीपी उमेरमा पुष्पलालभन्दा १० वर्ष जेठा । भिन्न राजनीतिक दर्शनको नेतृत्व गरे पनि यी दुईबीच कैयौं समानता छन् । बीपी कांग्रेसका संस्थापक तथा सिद्धान्तकार, पुष्पलाल नेपाल कम्युनिस्ट पार्टीका । दुवै परिवारका माइला छोरा । दुवैका बाबु राणाकालमा खरिदार । सारा जीवन निष्ठा र आदर्शको राजनीतिका निम्ति खर्चेका बीपीलाई लामो समयसम्म अराष्ट्रिय तत्त्व र भारतीय दलालको आरोप लाग्यो । खासगरी यस्तो आरोप लगाउनेमा पञ्च र कम्युनिस्ट थिए । पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले भनेका छन्, ‘हामी नै कहिले राजासँग घाँटी जोडिएको त कहिले मित्रराष्ट्र भारतका लागि काम गर्ने नेताका रूपमा बीपीलाई हेर्ने गर्‍यौं । धेरै पछि मात्र बुझियो वास्तवमा बीपी न राजावादी थिए न त भारतपरस्त ।’

उता पुष्पलालको सन्दर्भमा पनि त्यस्तै संयोग परेको छ । २०१७ सालको ‘कु’ पछि संसदीय व्यवस्था पुनःस्थापनाको पक्षमा उभिएका पुष्पलाललाई सहयात्री कम्युनिस्टहरूले नै ‘गद्दार’ को संज्ञा दिए । त्यही घटनाबाट आहत भएर राजनीति छोडेका काठमाडौंका प्रथम निर्वाचित मेयर जनकमान श्रेष्ठले सुनाए, ‘राजासँग चोचो–मोचो मिलाउनेहरूले नै पुष्पलाललाई गद्धार भनेका थिए । केशरजंग रायमाझीसहित धेरै नेता दरबार पसे । तर राजाले बारम्बार बोलाउँदा पुष्पलाल भेट्नसमेत गएनन् ।’

गंगालालका साथी गम्भीरमान मार्फत ‘भेट्न आउनू’ भन्ने सन्देश राजाले भारत प्रवासमै रहँदा पुष्पलाललाई पठाएका थिए । तर पुष्पलालले जवाफ फर्काइदिए मैले भेट्नुपर्ने कुनै कारण छैन । हदै भए प्रधानमन्त्री खा भन्लान् । मलाई राजाले दिएको प्रधानन्त्री चाहिँदैन । पुष्पलालका भाइ विजयलालले सम्झिए, ‘राजाले दिन सक्ने सबैभन्दा ठूलो पद त्यही प्रधानमन्त्री हो । सिद्धान्त बेचेर मलाई कुनै लाभ लिनु छैन भन्ने सन्देश दिएर भेट्न मान्नुभएन ।’

अर्कोतिर थापाथलीमा तरुण दलको सम्मेलनलाई सम्बोधन गरिरहँदा सैन्य कब्जामा परेका प्रधानमन्त्री बीपीलाई पनि राजा महेन्द्रले पञ्चायत स्वीकार गरे जीवनभर सत्ताको केन्द्रमा राखिरहने प्रलोभन देखाए । राजाले बेलायती राजदूतमार्फत सुन्दरीजल बन्दीगृहमै खबर पठाएका थिए, ‘नाम मात्र पञ्चायत राखे हुन्छ । त्यसबाहेक बीपीले बनाएको संविधान मान्न म तयार छु ।’ तर बीपीले सिद्धान्तमा सम्झौता गरेनन् ।

राजनीतिक सिद्धान्तमा कट्टर भए पनि बीपी र पुष्पलाल दुवैले एकअर्का प्रति सधैं श्रद्धा भाव राखिरहे । पञ्चायतको अन्त्यका लागि कांग्रेस कम्युनिस्ट एकतामा सधैं पुष्पलालले जोड दिए । तर, सोसलिस्ट इन्टरनेसनलका नेता बीपीले कम्युनिस्टमाथि विश्वास गर्न सकिँदैन भनेर जीवनभर सहकार्य गर्न मानेनन् । उनको निधनपछि मात्र कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा वामपन्थीसँग कांग्रेसको सहकार्य भयो । वामपन्थी पक्षबाट यसको नेतृत्व पुष्पलालकी श्रीमती सहाना प्रधानले गरिन् । अनि मात्र २०४६ को जनआन्दोलनले पञ्चायतको पतन भयो ।

पुष्पलालकै सैद्धान्तिक जगमा टेकेर मदन भण्डारीले जनताको बहुदलीय जनवादमार्फत कम्युनिस्ट पार्टीलाई चुनावी प्रतिस्पर्धामा उतारे र तत्कालीन नेकपा एमाले ‘ब्यालेट’ बाटै सत्तामा पुग्यो । मनमोहन अधिकारी देशको पहिलो कम्युनिस्ट प्रधानमन्त्री भए भने माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराई र केपी ओली गरी छ जना मुलुकको कार्यकारी प्रमुख बने ।

अर्कोतिर जीवनभर कम्युनिस्टमा भर नगर्ने बीपीकै कान्छा भाइ गिरिजाप्रसादले नेतृत्व गरेको आन्दोलनले कम्युनिस्ट पार्टीहरूसँगको सहकार्यमा २ सय ३८ वर्ष लामो राजतन्त्र अन्त्य गरी मुलुकमा गणतन्त्र बहाली गराए । बीपी र पुष्पलाल दुवै नेताले निष्ठा, आदर्श र सिद्धान्तका लागि जीवनप्रयन्त त्याग गरे तर राजनीतिक उपलब्धिको प्रतिफल देख्न पाएनन् । बीपीले झन्डै १० वर्ष जेल र त्यति नै समय भारत प्रवासमा बिताए । बीपी त सत्तामा पनि पुगे । केही समय गृहमन्त्री र प्रधानमन्त्री भए ।

तर, २०१५ सालको चुनावमा गणेशमान सिंहसँग पराजित पुष्पलालले राजनीतिक लाभका पदमा रहने अवसर पाएनन् । धेरै समय जेल–नेल सजाय नभोगे पनि लामो समय उनले प्रवासमा अभाव र कष्टपूर्ण जीवनयापन गरे । राजनीतिक अधिकार प्राप्तिका लागि संघर्ष गर्दा गर्दै २०३५ साउन ७ मा पुष्पलाल र २०३९ साउन ६ मा बीपीको निधन भयो ।

प्रकाशित : श्रावण ४, २०७६ १०:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT