३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

स्फटिक रारामा सबलाइम अनुभूति

नीलो रारा दृष्टिभरि फैलिएको छ । अर्को नीलो त्यसरी फैलने आकाश मात्रै होला । त्यसैले भौतिक तहमा रारा धरतीको जलाशय भए पनि दार्शनिक तहमा धरतीको आकाश हो ।
रोशन शेरचन

माझघट्ट आइपुग्दा अँध्यारो भइसकेकाले त्यो दिन रारा ताल हेर्ने इच्छा पूरा भएन  । आधा घण्टाको दूरीमै रात बाधाको रूपमा उभियो  । बिहान भने मनमा भिन्दै स्फूर्ति पसेको थियो कारण रारा हेर्ने मेरो सपना पूरा हुँदै थियो । सपना पनि केटौले होइन । वयस्क । कुरै गर्ने हो भने, रारा हेर्ने सपना कहाँ व्यक्तिगत हुन्छ र ? त्यो त सामूहिक सपना हो ।

स्फटिक रारामा सबलाइम अनुभूति

जीवनमा एकपल्ट रारा पुग्ने धेरै नेपालीको सपना हुन्छ । बौद्वमार्गीको लुम्बिनी र मुस्लिमको मक्का पुग्ने सपनाजस्तै । तीर्थस्थल जसरी प्रकृति पनि सपनासँग जोडिनु सुन्दर पाटो हो ।


खासमा सिँजाली मित्र शेरबहादुर रोकायाकै सल्लाहमा पदयात्रा गर्दै रारा पुग्यौं । भुलभुले देउराली भएर पनि पदयात्रा गर्न सकिन्थ्यो तर हामी खाडापानीमा ओर्लेर मालिकाबोंता, रातेचौर, गोरुसैना, चुच्चेमारा, माँझघट्ट हुँदै रारा पुग्यौं । विष्टवारामा प्रस्तावित खस संग्रहालयबारे बुझ्दा ढिला भइसकेको थियो । हिँड्न सुरु गर्दा साढे एक नै बज्यो । रातेचौर पुग्दा सवा तीन बज्यो । कनकासुन्दरी गाउँपालिकामा पर्ने उच्चभेगीय यो चौरमा प्याउली पहेलै फूलेको थियो । रातेचौर अद्भुत सौन्दर्यको फाँट रहेछ । देवदार, लोठसल्ला, भोजपत्र, थिङ्ग्रेसल्ला, खस्रु, गुराँसको घना जंगलले चारैतर्फ घेरेको रातेचौर चरणक्षेत्र पनि रहेछ । चौरैभरि बस्तुभाउ चरिरहेको र यत्रतत्र गोठालाका टेन्टहरू देखिन्थ्यो । नजिकको पहाडी भिरालोमा परम्परागत ढाँचाका केही घरहरू देखिन्थे ।


चौरको खोल्सामा निर्मल पानी बगिरहेको थियो । त्यसैको किनारै किनार हिँडे । आकाशजस्तो फराकिलो चौरमा जता हिँडे पनि सुविधा । रातेचौर सक्किएपछि पदमार्ग केही साँगुरिंदै गयो । गोरुसैनाको आर्मी पोस्ट र रारा निकुञ्जको फिल्ड पोस्ट कटेपछि चियापसल देखिन्छ । त्यसैको अगि उभिएको साइनबोर्डमा लेखिएको छ– गोरुसैनादेखि चुच्चेमारासम्म ४ किमि (२ घण्टा) । थकाइ पनि लागेको थियो, केही खाने हिसाबले चियापसलमा छिर्छौं । एकतर्फ ओढार र तीनतिरै ढुंगाको गारो । काठका यामानको फलेकको छाना धूवाँले कालै भएको रहस्यमयी लाग्ने चियापसलमा पहिलेदेखि नै केही व्यक्ति थिए । मडारिएको धूवाँले पस्नासाथ केही देखिएन । दुई जना स्थानीय तीनपाने खाँदै थिए । खाजा खाँदै गरेको एक जनाचाहिँ रोकायाजीकै नजिकको आफन्त परेछन् । नातामा सायद मामा भने । उनले राराबाट फर्कंदा घरमा बस्ने गरी आउनुस् भने । रोकायाजीले प्रयास गरुँला भनेर आश्वस्त पारे । फरक स्वादको चिया पियौं । स्थानीय जडीबुडी मिसाएको रहेछ । भयो भयो भन्दा पनि मामाकै आग्रहमा अमलेट बन्यो । लेक काट्ने कुरा पनि लिने कि भन्दै थिए । नलिऊँ होला भन्दै तर्कियौं ।


लेक काट्ने चीज कुनै रहस्यमयी तत्त्व नभई नेपाली मात्रको सर्वप्रिय सर्वसुलभ कोदोको खाँटी झोल थियो । लेकचाहिँ चुच्चेमारा । लोथ थकाइमा केही घुट्को दिन मन थियो फेरि बाटो कस्तो हो ? खुट्टामा लागेर थुम्कोबाट ढुन्मुनिने हो कि भन्ने आशंकाले छोप्यो । त्यो पदयात्राकै सबभन्दा मनोरम खण्ड रहेछ । मध्यम स्तरको उकालो । अचम्मको साँगुरो घाँटी । नजिकै वन । थकाइलाई चिसो बतास । सानो उपत्यकामा बदलिँदै गएको गोरुसैना । क्षयीकरणले धाँजा फाट्दै बनेका पहाडका अद्भुत आकृतिहरू, वृक्षरेखामाथि लम्पसार परका फराकिलो बुकी । चरिरहेका घोडाहरू, चुच्चेमाराको आक्कासिएको थुम्का र विशाल छतजस्तो गाढा नीलो आकाश । करिब ४ हजार १ सय मिटरको उचाइमा रहेको चुच्चेमाराबाट देखिने ल्यान्डस्केपले अर्कै लोकमा पुर्‍याउँछ ।


त्यसपछि केही क्षणको तिरपाई हिँडाइ र माझघट्टसम्मै ओरालो । माझघट्ट पुग्दा साढे दस बजेको थियो । बाटामा टर्च नै बाल्नुपर्‍यो । कस्सो रोकायाजीले मामाले तपाईंकैमा बस्नु भनेको कुरा बताएपछि होटलवालाले झिंझो नमानी खाना बनाइदियो । मामाले त्यही होटल सुझाएका थिए । हामी पुग्दा होटल साहुजी सुत्ने तरखरमा थिए । दुर्गम ग्रामीण बस्तीमा भेटिने त्यस्तै आतिथ्यले स्पर्श गर्छ । सबैको आँखामा झपकी थियो । खाना बनाउन एकाध घण्टा लाग्ने भएकाले यसो लिऊँ भन्ने कुरा भयो । अब त बाटो भनेकै ओछ्यान थियो । भीरबाट ढुन्मुनिने भय पनि थिएन । फलामे चुल्होमा मन तातो पार्न भन्यौं । लेक काटी सिध्याएर मात्र लेक काट्ने कुरा लियौं । सुरुप्प सुरुप्प... ।


सखारै माँझघट्टको शकुन्तला गेस्टहाउसबाट निस्क्यौं । सल्लाको जंगल र छेवै कलकल बगिरहेको कञ्चन पानीले मन लछप्पै भिजायो । अप्रतिम आनन्द प्रवाहित भयो । केहीबेरमा रारा मुर्मा होमस्टे देखियो । काठैकाठले बनेको । अत्यन्त कलात्मक । होमस्टेको सञ्चालकसँग भेटौं भन्ने सल्लाह भयो । सञ्चालक धनसिंह रोकायाका अनुसार होमस्टेको निर्माण रारा पर्यटन विकास समिति र नेपाल टुरिज्म बोर्डको आर्थिक सहयोगमा सामुदायिक वनको जग्गा लिजमा लिई भएको रहेछ । त्यस्तो दुर्गम स्थानमा होमस्टेले पर्यटकहरूलाई सेवा सुविधा दिएर राराको प्रवर्द्धन गरेको छ । रोकायाको सुझाव छ, ‘राराले पर्यटकहरूलाई लोभ्याएको छ । दुई लेनको कालोपत्रे बाटो, हवाई सेवा सस्तो र नियमित भए रारा अझैं चम्कन्थ्यो ।’


माझघट्ट मध्यवर्त्ती क्षेत्रमा पर्छ । रारा तालभन्दा एकाध घण्टाको दूरीमा । ताल संरक्षणको दृष्टिले होटल, गेस्टहाउसहरू तालभन्दा केही दूरीमा भएकै उपयुक्त लाग्यो । फेवाताललाई मान्छेको लोभले ध्वस्त पार्दै लगेको कसैबाट लुकेको छैन । धनसिंहजीसँग बिदा हुन्छौं । चराचुरुंगीको चिरबिरले पदमार्ग संगीतमय बनेको छ । छेवैमा बगिरहेको खोलाको कलकल ध्वनिबाट हिलिङ इफेक्ट प्रवाहित भएको हुन्छ । करिब तीस पैंतालीस मिनेटको हिँडाइपछि पहिलो पटक रारा ताल देखिन्छ । अगाडि बढ्दै जाँदा रारा अनफोल्ड हुँदै दृष्टिभरि सोहरिन थाल्छ ।


राराको यौटा फरक विशेषता पनि रहेछ जसको चर्चा विरलै भएको पाउँछु । त्यो हो राराको प्राकृतिक वातावरणमा निहित गहिरो शान्ति । डिप साइलेन्स । प्रगाढ शान्तिको त्यो सम्मिलनले राराको स्फटिकजस्तो सङ्लो पानी र रम्य वातावरणलाई उपल्लो तहमा लगेको छ । हल्लाखल्लामा अभ्यस्त हामीलाई त्यसको सघन निर्जनताले बिथोल्छ । हामीलाई मन पर्ने नै त्यो भिन्न अनुभूति हो । उही अनुभूतिको निम्ति मान्छे किन यात्रा गर्छ र ?


नीलो रारा दृष्टिभरि फैलिएको छ । अर्को नीलो त्यसरी फैलने आकाश मात्रै होला । त्यसैले भौतिक तहमा रारा धरतीको जलाशय भए पनि दार्शनिक तहमा धरतीको आकाश हो । राराले मुग्ध बनाउने वास्तवमा आकाश सादृश्य शून्यताले होला । घना जंगलले घेरिएको त्यो तालको दशिणपश्चिममा मिलीचौर छ । चौर पर्तिर फेरि वन सुरु भैहाल्छ । राराको सङ्लो पारदर्शी पानी र वरपरको हरियोपना त देखिने पक्ष भयो । यो दृश्य पक्षमा जब सघन शान्तिको अदृश्य पाटो मिस्सिन्छ, राराको सौन्दर्य अद्वितीय बन्छ ।


गोरेटोबाट मोडिएर राराको किनारैकिनार हिँड्छु । बतासले उत्पन्न तालको लहरहरू फिजिँदै किनारमा बिलाउँछ । तालको माछाहरूले मन हर्छ । सहयात्रीहरू पनि एक्लाएक्लै प्रकृतिसँग रमाउन थाल्छन् । यो स्वस्फूर्तजस्तै हुँदो रहेछ । एक्लै हिँड्ने चाहना सायद मान्छेको आदिम चाहना हो । यो चाहना अतृप्त भएकाले मौका पर्नासाथ सतहमा देखिएको होला । आर्टिटेक्ट दिपिन पन्त राराको फोटो खिच्न व्यस्त देखिन्छन् । शेरबहादुर रोकाया राराको रस्वास्वादन गर्दै अगिल्तिर एक्लै हिँडिरहेको हुन्छ । प्रकृतिसँग नजिकिन मान्छे छुट्टिने स्वाभाविकै होला ।


राराको किनारमा हिँड्दा मलाई आफ्नो उपस्तिथिको ख्याल भैरहेको थियो । पदयात्रामा अनेकन विचारविम्बहरू आइरहेका थिए । भौतिक दृश्यहरूको गतिशीलताले मस्तिष्कको तन्तुहरूलाई झकझकाउँदो हो । कमै बोल्छु त्यस्ता क्षण । धेरै साथीहरूको तर फरक अनुभव सुनेको छु । मनोरम ठाउँ घुम्दा आफैंलाई बिर्सिए भन्ने । कतै हराएँ भन्ने । मेरो हकमा त्यस्तो हुँदैन । त्यो अप्रतिम आनन्दको क्षण हो भन्ने बोध झिनो नै सही बाँकी रहन्छ । निर्लिप्त म हुँदिनरहेछु । बोध गर्ने केन्द्र देखा परिरहन्छ । अब्जर्ड र अब्जरभर बीचको भेद मेटिन्न । मलाई हेक्का भैरहन्छ, अनुभव गर्ने म हुँ । भौतिकवादी भएकाले होला । योगी र ध्यानी होइन म । सांसारिक हुनुमा ग्लानि छैन । बरु त्यसलाई भौतिक तहमै कसरी सार्थक बनाउने ? त्यो प्रश्नलाई महत्त्वको मानेको छु ।


पर्यटकहरू सेल्फी खिचिरहेका थिए । कोही ताल किनारमा मुग्ध हिँडिरहेका थिए । घोडा सवारीको सुविधा पनि रहेछ । कोही घोडचढीको रोमाञ्च बटुल्दै थिए । रारा नजिकै दुईवटा होटल रहेछन् । होटलअगाडिको चौरमा टेन्टहरू गाडिएका थिए । कोठाहरू नपुग भएरै होला । टेन्ट वरपर देखिने युवाहरू प्रसन्नचित्त देखिन्थे । पर्यटकहरू विश्रामस्थलमा तालतिर आमुख भई प्रकृतिको रसपान गरिरहेका थिए । होटल पार गरेपछि थोरै उक्लेर रारा राष्ट्रिय निकुञ्जको कार्यालय हाताभित्र प्रवेश गर्‍यौं । निकुञ्जबाट राराको दृश्य सुन्दर देखिन्थ्यो । वार्डेन लालबहादुर भण्डारीका अनुसार साइकल लेन बनाउनेबारे पनि प्रदेश मन्त्रालयस्तरमा छलफल भई डीपीआर बनेको रहेछ । राराको निर्जनता (विल्डरनेस) कायम राख्न मानिस, साइक्लिस्ट र घोडाको छुट्टाछुट्टै मार्ग आवश्यक छ । राराको सौन्दर्य भनेकै प्रकृतिको निर्जनतासँगको साक्षात्कार हो जहाँ सूचना प्रविधिको व्यवधान नहोस् । नहोस् मान्छेका कोलाहल र दैनन्दिनका तनाव ।


एकनासे उचाइका छैनन् रारालाई पहरा दिइरहेका डाँडाहरू । प्रकृति वास्तवमा आकार, नापतौल र आयाममा एसेमेट्री हुन्छ । यथार्थपरक कलाकृति त्यसैले एसेमेट्रीकै छेउछाउ हुन्छ । ती एसेमेट्री डाँडाहरूले बनाएको हत्केलामा रारा छचल्किन्छ । स्वर्गको अप्सरा उपमा सही लाग्छ । राराको मोहनी रूप प्रशस्त कमनीय छ । आफूमा समाहित हुन पर्यटकहरूलाई संकेत गरेझैं । समानान्तर नीलो आँखा र गहिरो देह । रौद्ररूप धारण गर्ने आक्रामक पुरुषजस्तो छैन । बिहानी सूर्योदय, दिउसोको प्रचण्ड घाम र सूर्यास्तमा राराले स्फटिक जलराशीमा अद्भुत रङहरूको संयोजन गर्छ । आकाशै सर्लक्क आएर त्यो ल्यान्डस्केपमा बसेको राराले अभिभूत नगर्ने कुरै भएन । बोटिङ गर्दा राराको नीलाम्य देहमा भास्सिँदै गएको भान भने भैरहन्छ ।


समय पर्याप्त हुन्थ्यो भने हिँडेर राराको फन्को लगाउन मन थियो । मुर्मा टप भ्यूप्वाइन्टबाट रारालाई नियाल्न हुन्थ्यो । समयको कमीले सम्भव भएन । गोष्ठीको निम्ति एघार बजेसम्म सदरमुकाम गमगढी झर्नैपर्थ्यो । मिलीचौरसम्म बोटिङ गर्‍यौं । रारामा सुस्त गतिमा बोटिङ गर्नुको आनन्द वर्णनातीत छ । राराको निर्जनतालाई एउटै आवाजले बिथोलेको छ— बोट खियाउँदा उत्पन्न आवाजले । स्यार स्यार स्यार स्यार... । कुरै गर्न पनि सहज लाग्दैन । मानौं अवचेतन मनले भन्दै छ, प्रकृतिलाई डिस्टर्व नगर । रारालाई आफ्नै प्राकृत लयमा रहन दिन मन लाग्छ । तर दायित्व पनि छ ।


‘दिनमा कति ट्रिप गर्नुहुन्छ ?’ मैले बोटे दाइलाई सोधें । ‘सिजनमा छ, सात ट्रिप गर्छु । बाह्र बजेपछि हावा चलेर बोटिङ हुँदैन ।’ उनी जवाफ फर्काउँछन् । तालको मध्यभागबाट हेर्दा रारा झनै ठूलो देखिने रहेछ । जमिनको भूभाग चारैतर्फ उत्तिकै फैलिएको । रारा नेपालकै सबभन्दा गहिरो ताल पनि हो । मैले थपें, ‘पर्यटकहरू एकआपसमा कस्ता कुरा गर्छन् ? सँगै भएपछि सुनिन्छ नि’ प्रश्न थोरै घुमाए । ‘खुसी हुन्छन् । स्वर्ग रहेछ । बाटोको दुःख सबै राराले बिर्सायो भन्छन् ।’ उनी जवाफ फर्काउँछन् ।


र्‍याफ्टिङ बोट निकुञ्ज कार्यालयको भएकाले शुल्कबापत उठेको रकम निकुञ्ज, मध्यवर्ती क्षेत्र समिति र बोटेबीच बाँडिदोरहेछ । बाह्र बजेपछि आफ्नो काम पनि गर्न पाइने र गाउँमै बसी महिनाको पच्चीस–तीस हजार आम्दानी हुँदो रहेछ । आधा दिन काम गर्दा पच्चीस–तीस हजार भनेपछि मासिक पचास–साठी हजार राम्रै मानें । पार्कभित्रका दुई होटल, टेन्टहरू, निकुञ्ज कार्यालय, विश्रामस्थल र सूचना केन्द्र थोप्लाजस्तो बन्दै गए । करिब ४५ मिनेटमा मिलीचौर पुग्यौं । डुंगाबाट ओर्लेपछि रारालाई पुनः हेरें । थाहा छैन, दोस्रो पटक आइन्छ कि आइँदैन । मन एकतमासको भयो । उपल्लो मिलीचौर घोडामा जाने विचार गर्‍यौं । घोडामा चढेपछि सहकर्मीहरूको मुद्रा नै बदलियो । एकाएक सबै विजयीभावमा देखिन थाले ।

फरक अनुभूतिको मेलो सुरु भयो । गाडीमा आएका सहकर्मीहरू तुलसीप्रसाद आचार्य र सुशील शर्मा पनि घोडचढीमै रमाए । समयाभावले उनीहरू बोटिङ गर्न भ्याएनन् । घोडा साहु पनि घोडासँगै हिँड्थे । चढ्न ओर्लन सघाउन । सुरक्षाको खातिर । म चढेको घोडा भर्खर किनिएको रहेछ । पुगनपुग बाह्र दिन भएछ । घोडा साहु भर्खरको ठिटो थियो, उत्साहित हुँदै बताउन थाल्यो । सोझो घोडा तर जब अरू घोडाले ओभरटेक गर्न थाल्थे, बाटै छेकिदिने । ओभरटेक गर्न खोज्ने बायाँतिरको घोडाको मुख मेरो गोडामा जोत्तिएकै जोत्तियै भयो । नाकको पोरा र मुखबाट आउने घोडाको तातो श्वासले मेरो पिंडौलामा तातो अनुभव हुन्थ्यो । घोडा साहुले उसको घोडाले अरूलाई जित्नै दिंदैन भनेपछि मेरो आशंका सत्य सावित भयो । बडा आह्रिसे घोडा रहेछ । घोडा सवार नगरेको भए रारा भ्रमण अपूर्ण हुने रहेछ ।


सल्लाको वनको काठेपुल उक्लँदा रारा ओझेल भैसकेको थियो । दृष्टिबाट ओझेल हुँदै रारा तर स्मृतिपटमा थप्प बसेको थियो । सम्झनालाई दीर्घकालसम्म सुरक्षित राख्न सकिने स्मृतिमै हो । रारामै त सधैं कहाँ बस्न सकिन्छ र ?

प्रकाशित : श्रावण ४, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?