कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बूढाहरूको खेल

टेनिसमा राज गरिरहेका रोजर फेडेरर, राफेल नडाल र नोभाक जोकोभिचलाई चुनौती दिने खेलाडी अझै निस्किएका छैनन् ।
राजु घिसिङ

बेलायतमा गत आइतबार तीन ठूला प्रतियोगिताको फाइनल भए  । विश्वकप क्रिकेट, बिम्बल्डन ओपन टेनिस र फर्मुला वानको ब्रिटिस ग्राँ प्री  । त्यो दिन सबभन्दा पहिला बेलायती लेविस ह्यामिल्टनले छैटौंपल्ट ब्रिटिस ग्राँ प्रीको उपाधि जिते । टेनिस र क्रिकेटको उपाधि फैसला सँगसँगै भयो ।

बूढाहरूको खेल

दुवै फाइनल उत्तिकै सनसनीपूर्ण र रोमाञ्चक बन्यो । इतिहासकै सबभन्दा लामो फाइनलमा नोभाक जोकोभिचले रोजर फेडेररलाई पाँचौं सेटमा टाइब्रेकरमा हराएर बिम्बल्डन ओपनको उपाधि कब्जा गरे । सुपरओभरमा पनि टाई भएको फाइनलमा न्युजिल्यान्डलाई हराएर क्रिकेटको जन्मदाता इंग्ल्यान्डले एकदिवसीय विश्वकपको उपाधि जित्यो ।


बीबीसीका अनुसार विश्वकप क्रिकेटको फाइनल टेलिभिजनमा ७९ लाखले हेरेका थिए । फर्मुला वानको कार रेसमा २५ लाख दर्शक झुम्मिएका थिए । त्यो दिन सबभन्दा बढी ९६ लाख दर्शक बिम्बल्डनको फाइनल हेरिरहेका थिए । फेडेरर करिब ५ घण्टा कोर्टमा सक्रिय रहँदा उनी साँच्चै ३७ वर्षका हुन् भन्ने लाग्दैन थियो । उनले दुईपल्ट च्याम्पियनसिप प्वाइन्ट गुमाए, जसले जोकोभिचलाई १६ औंपल्ट ग्रान्डस्लाम च्याम्पियन बनाउन हौसला दिएको थियो । डाइट, ट्रेनिङ र फिटनेसकै कारण उनी अझै उच्चस्तरमा खेलिरहेका छन् ।


अमेरिकी पिट साम्प्रास १४ पल्टका ग्रान्डस्लाम विजेता हुन् भने स्विडिस जोन बर्ग ११ पल्टका च्याम्पियन । साम्प्रासले ३२ वर्षको छँदै संन्यास लिए । जोन बर्गले त २७ वर्षमै र्‍याकेट थन्क्याएका थिए । रोजर फेडेरर, राफेल नडाल र नोभाक जोकोभिचले गरिरहेको प्रदर्शनलाई हेर्ने हो भने साम्प्रास र जोन बर्गले त्यो उमेरमै संन्यास लिए भन्दा आश्चर्य लाग्छ ।


टेनिसको सबभन्दा ठूला प्रतियोगिता अस्ट्रेलियन ओपन, यूएस ओपन, फ्रेन्च ओपन र बिम्बल्डन ओपनलाई मानिन्छ । यी चार ठूला प्रतियोगितालाई सबभन्दा प्रतिष्ठित प्रतियोगिताको रूपमा ग्रान्डस्लाम भनिन्छ । पुरुष सिंगल्समा जोन बर्ग सर्वाधिक सफल खेलाडी थिए । उनलाई पिट साम्प्रासले उछिने । अहिले आएर दुवै खेलाडीलाई उछिनेका छन्, फेडेरर, नडाल र जोकोभिचले । उनीहरू सर्वाधिक सफल खेलाडीको सूचीमा शीर्ष तीन स्थानमा छन् । फेडेररले २०, नडालले १८ र जोकोभिचले १६ ग्रान्डस्लाम उपाधि जितेका छन् ।


जोकोभिचले आइतबार अल इंग्ल्यान्ड क्लबमा चार घण्टा ५७ मिनेटको क्लासिक फाइनलमा फेडेररलाई हराएर पाँचौंपल्ट बिम्बल्डन ओपन जिते । सर्वियाली जोकोभिच ३२ वर्षे हुन् । उनीभन्दा एक वर्ष जेठो हुन्, स्पेनी नडाल । स्विटजरल्यान्डका फेडेरर त अर्को महिना ३८ लाग्दै छन् । यो उमेरमा पनि यिनै खेलाडीहरूले टेनिसमा राज गरिरहेका छन्, अरू खेलाडीलाई कुनै अवसर दिएका छैनन् । त्यसैले लाग्छ, अहिलेको टेनिस बूढाहरूको खेल हो ।


टेनिसमा सर्वाधिक १ सय ९ उपाधि जित्ने खेलाडी जिम्मी कोनर हुन्, जसले ४३ वर्षमा संन्यास लिएका थिए । उनको कीर्तिमाननजिक पुगेका छन् फेडेरर (१०२ उपाधि) । नडालले ८२ र जोकोभिचले ७५ उपाधि जितेका छन् । साम्प्रासको संन्यास, आन्द्रे आगासीको करिअरको अन्त्यतिर जेन्टलम्यान फेडेररको उदयसँगै विश्व टेनिसमा नयाँ युग सुरु भएको हो, जसलाई फेडेरर—नडाल—जोकोभिचको युग भनिन्छ । यस युगको प्रारम्भ फेडेररको सफलताबाट भएको थियो । त्यसपछि आए, स्पेनी नडाल । अनि सर्वियाली जोकोभिच ।


फेडेररले पहिलो ग्रान्डस्लाम उपाधिको रूपमा सन् २००३ मा बिम्बल्डन ओपन जितेका थिए । उनले त्यस बेलाका जल्दाबल्दा एन्डी रोडिकलाई सेमिफाइनल र मार्क फिलिपोसिसलाई फाइनलमा हराएर सफलताको नयाँ अध्याय सुरु गरेका थिए । बेलायती एन्डी मुरेले २०१३ र २०१६ मा अल इंग्ल्यान्ड क्लबमा उपाधि जिते, बाँकी बिम्बल्डनको उपाधि यिनै फेडेरर, जोकोभिच र नडालको बन्यो । फेडेररले २००४ मा अस्ट्रेलियन ओपन र यूएस ओपन पनि जिते । मेलबर्नमा मारात सफिनले २००५, स्टान वावरिन्काले २०१४ तथा यूएस ओपनमा हुवा मार्टिन डेल पोर्टोले २००९, एन्डी मुरेले २०१२, मारिन सिलिचले २०१४ र वावरिन्काले २०१६ मा ट्रफी उचाले । फेडेररको पहिलो सफलतापछिका अरू संस्करणमा यिनै फेडेरर, जोकोभिच र नडाल नै च्याम्पियन भए । फ्रेन्च ओपन त सन् २००५ मा नडालले उपाधि जितेयता यिनै स्पेनी स्टारको प्रतियोगिताजस्तै भएको छ । उनले यो सिजनसहित पेरिसमा १२ औंपल्ट उपाधि जिते । बीचमा वावरिन्का, फेडेरर र जोकोभिचले एक–एकपल्ट सफलता हात पारेका थिए ।


जोकोभिचले पहिलो ग्रान्डस्लाम २००८ मा जितेका थिए, उनलाई दोस्रो उपाधि जित्न तीन वर्ष लाग्यो । लामो समय उनी फेडेरर र नडालको छायामा परे । अहिले दोस्रो ग्रान्डस्लाम जितेपछि भने उनले दुई प्रतिस्पर्धीलाई पनि उछिन्दै आएका छन् । अहिलेका नम्बर १ पनि जोकोभिच नै हुन् । उनले दर्शकको एकोहोरो साथ फेडेररलाई हुँदाहुँदै पनि उत्कृष्ट खेल पस्कँदै आइतबार बिम्बल्डनको उपाधि जितेका थिए ।जोकोभिचले पहिलोपल्ट ग्रान्डस्लाम जित्दा फेडेररले १३ र नडालले ५ उपाधि जितिसकेका थिए । मनोवैज्ञानिक रूपमा जोकोभिचलाई निकै बलियो खेलाडी मानिन्छ । उमेरको हिसाबले पनि फेडेरर र नडालभन्दा कान्छो भएकाले उनले सर्वाधिक सफलताको तथ्यांकमा आफूलाई नम्बर १ स्थानमा पुर्‍याउने अपेक्षा गरिएको छ । तर, उनी आफैं भने विश्वस्त छैनन् । टेनिसप्रतिको माया र नजिकका मानिसको समर्थनले मात्रै खेल जीवनमा सक्रिय भइरहेको र जीवनमा प्राथमिकता अरू पनि रहेको उनले बताएका छन् । फेडेरर र नडालको बढ्दो उमेरमा पनि उत्कृष्ट खेलले भने यो स्तरमा खेल्न आफूलाई उत्साहित बनाइरहेको उनले बिम्बल्डनको सफलतापछि प्रतिक्रिया दिएका थिए । ‘उनीहरूको इतिहासले मलाई उनीहरूले जे गरे, जे उपलब्धि हात पारे, त्योभन्दा बढी गर्न प्रयास गर्न प्रेरणा दिन्छ,’ उनलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘उमेर बाधक हुनेमा कुनै वास्ता गरेको छैन ।’ पछिल्ला पाँचमध्ये चार ग्रान्डस्लामको उपाधि उनले हात पारेका छन् ।


आफूलाई जोकरको रूपमा पनि चिनाइरहने जोकोभिचको सफलतालाई लिएर लिजेन्ड एवम् उनका पूर्वप्रशिक्षक बोरिस बेकर पनि आश्चार्य मान्छन् । जोकोभिचले दुई–तीनवटा ग्रान्डस्लाम जित्न सक्छन् तर यत्ति धेरै सफल होलान् भन्ने कहिल्यै नसोचेको बताएका छन् । उनी आफ्नै मिहिनेतले यो स्तरमा आएको बताइन्छ । उनीभन्दा अगाडि फेडेरर र नडाललाई एन्डी मुरेले उछिन्नसक्ने अनुमान गरिएको थियो । मुरे ३५ वर्षपछि ग्रान्डस्लाम जित्ने पहिलो बेलायती खेलाडी बने । तीन ग्रान्डस्लाम जिते । विश्वको नम्बर १ वरीयतामा पुगे । तर, उनको उच्च स्तरको प्रदर्शन नियमित भएन । उनलाई बारम्बार चोटले पनि सतायो ।


फेडेरर, नडाल र जोकोभिचको युगमा क्रोएसियन मारिन सिलिच, चेक टोमस बर्डिच, स्विस स्टान वावरिन्का, अमेरिकन एन्डी रोडिक, मिलोस राओनिक, केभिन एन्डरसन, फर्नान्डो गोन्जालेस, जो विल्फ्रेड सोंगा, मार्कोस बागडाटिस, डेबिड फेरर, रोबिन सोडरलिङ, डोमिनिक थिम, केई निसिकोरीले ग्रान्डस्लामको फाइनल खेले । तर, उनीहरूले तीन सुपरस्टारको लयलाई सधैं चुनौती दिन सकेनन् । त्यसैले त फेडेरर नम्बर १ स्थानमा ३१० सातासम्म रहे । यो कीर्तिमान जोकोभिच (२६० साता) ले तोड्न सक्छन् । नडाल पनि १९६ साता पहिलो स्थानमा रहे । यसबीच मुरे मात्रै नम्बर १ बने, त्यो पनि ४१ साता मात्रै । टेनिस करिअरमा सबभन्दा बढी कमाउने खेलाडी जोकोभिच हुन्, त्यसपछि फेडेरर, नडाल र मुरे । फेडेरर, नडाल र जोकोभिचको युग अझै केही वर्ष चल्ने अनुमान गरिएको छ ।

प्रकाशित : श्रावण ४, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?