कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संकटमा बेल

राजु घिसिङ

वेल्सका गारेथ बेलको करिअर इंग्ल्यान्डको साउथह्याम्पटन क्लबबाट सुरु भएको थियो  । दोस्रो डिभिजनको टिममा उनी कम उमेरमै खेल्ने दोस्रो खेलाडी बनेका थिए  ।

संकटमा बेल

त्यहाँ दुई सिजन खेलेपछि उनी प्रिमियर लिग क्लब टोटेनहम पुगे । लन्डन क्लबमा उनको करिअरले उचाइ लिँदै गयो । हरेक सिजन उनको खेल उत्कृष्ट हुँदै गयो ।

सन् २०१०–११ को सिजन च्याम्पियन्स लिगमा इन्टरमिलनाविरुद्ध सनसनीपूर्ण ह्याट्रिक गरे । त्यसले उनलाई विश्व फुटबलमा चर्चामा ल्यायो । प्रिमियर लिगमा उनको प्रदर्शनमा निरन्तर सुधार आएको थियो नै । च्याम्पियन्स लिगको प्रदर्शनले उनलाई थप उचाइ दिलायो । उनी २०१२–१३ को सिजन खुबै चम्किए । प्रिमियर लिगमा २१ सहित त्यो सिजन २६ गोल गरेर बेलायती फुटबलकै ठूला स्टारको रूपमा उनले आफूलाई उभ्याए । त्यससँगै उनलाई अनुबन्ध गर्न युरोपका ठूला क्लबहरूबीच होड चल्न थाल्यो ।

त्यस बेला ब्राजिलियन लिगमा नेयमर युवा नै भए पनि उत्कर्षमा थिए । उनको एकपछि अर्को सनसनीपूर्ण प्रदर्शनको खबर दिनदिनै आइरहेको थियो । उनलाई भित्र्याउन स्पेनका दुई महारथी रियल म्याड्रिड र बार्सिलोनाबीच प्रतिस्पर्धा भइरहेको थियो । नेयमरले रोजे बार्सा । उनले दोब्बर रकम दिने रियलको प्रस्ताव पनि त्यागेका थिए । किनभने उनी आफ्ना आदर्श खेलाडी लियोनल मेसीसँगै खेल्न चाहन्थे । पछि उनी मेसीको छायाबाट मुक्त हुन पीएसजी गए, त्यसको कथा बेग्लै छ ।

रियल नेयमरलाई भित्र्याउन नपाएको झोंकमा अरू कुनै ठूला स्टारका लागि जति पनि लगानी गर्न तयार भयो । त्यसैले उसले नेयमरले क्याटलन क्लब रोजेको दुई महिनापछि गारेथ बेललाई ८ करोड ६० लाख पाउन्ड स्टर्लिङको विश्व कीर्तिमान बनाउँदै म्याड्रिडमा भित्र्यायो । बेलले साताको ३ लाख ५० हजार पाउन्ड तलब पाउने भए । त्यो तलब पनि बार्साले नेयमरलाई दिनेभन्दा बढी नै थियो । बेलले स्थानान्तरण बजारमा पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको कीर्तिमान तोडेका थिए । रोनाल्डोको कीर्तिमान प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट म्याड्रिड सरुवामा बनेको थियो । त्यसैले बेल पनि स्पेनी ला लिगामा पुग्दा प्रिमियर लिगमाथि ठूला खेलाडी जोगाउन नसकेको र त्यसले लिगकै स्तरमा प्रश्न उठ्ने भन्दै आलोचना भएको थियो ।

बेल र नेयमर स्पेन पुग्दा त्यहाँ मेसी र रोनाल्डोकै जगजगी थियो । बेल र नेयमरले उनीहरूको स्थान लिने अनुमान गरिएको थियो । रोनाल्डोको उमेर ढल्किँदै गएकाले बेलले क्लबमा उनको स्थान लिने रियलको योजना थियो । रियलमा रोनाल्डोपछि सबभन्दा बढी तलब बुझ्ने पनि बेल नै थिए । यी फरवार्ड म्याड्रिड पुग्दा रियलले युरोपेली च्याम्पियन्स लिग नजितेको धेरै भइसकेको थियो । जिनेदिन जिदान प्लेमेकर छँदा २००२ मा हात पारेको उपाधि नै अन्तिम सफलता थियो त्यस बेला युरोपमा । बेल भित्र्याएको पहिलो सिजन नै रियल युरोपेली च्याम्पियन बन्यो, जसले उसको १२ वर्षको खडेरी तोडेको थियो । रोनाल्डो, करिम बेन्जेमा र बेलको अग्रपंक्ति चम्कियो ।

बेल म्याड्रिड सरेको ६ वर्ष भयो र यसबीचमा रियल चारपल्ट युरोपेली च्याम्पियन भयो । क्लब विश्वकप र यूईएफए सुपरकप ३–३ पल्ट तथा ला लिगा, कोपा डेल रे र स्पेनी सुपरकप १–१ पल्ट जित्यो । त्यसर्थ बेलले रियलको ६ वर्षे करिअरमा १३ उपाधि हात पारे । उनले रियलका लागि २ सय ३१ खेलमा १ सय २ गोल गरेका छन् । थप ६५ गोलमा अन्तिम पास दिए । उनले प्रति १ सय ६३ मिनेटमा गोल गरे, जुन रियलका लिजेन्ड राउल (७४१ खेलमा ३२५ गोल) को तथ्यांकभन्दा राम्रो हो । बेलले रियलमा जिदानले भन्दा चार खेल बढी खेले । जिदानले २२७ खेलमा ४९ गोल र ६६ एसिस्ट गरेका थिए । जिदान मिडफिल्डर र बेल फरवार्ड भएकाले गोल र एसिस्टको तथ्यांकलाई तुलना गरेर खेलाडीको स्तर देखाउनु भने गल्ती हुन्छ । बेललाई चोटले पनि धेरै दुःख दियो । पाँच सिजन रोनाल्डोसँगै रहनु बेलको करिअरको ‘दुर्भाग्य’ भने पनि हुन्छ । पोर्चुगिज सुपरस्टारले रियलमा ४३८ खेलमा ४५० गोल र १३१ एसिस्ट गरे, जुन गोल प्रत्येक ८४ मिनेटको औसतमा हुन आउँछ ।

जिदानले खेलाडी छँदा म्याड्रिड बसाइमा ६ उपाधि जिते । उपाधिको गणनामा बेलले जिदानसँगै राउल, फिगो, ब्राजिली रोनाल्डोलाई पनि उछिने । उनी महत्त्वपूर्ण र ठूला खेलमा पनि चम्किए । कोपा डेल रे २०१४ को फाइनलमा बार्सिलोनाविरुद्ध आफ्नै क्षेत्रबाट अविश्वसनीय रूपमा बल अघि बढाउँदै उनले गरेको गोललाई जाभी अलोन्सोले ‘पहिला कहिल्यै नदेखेको’ भनी बयान गरेका थिए । उनी क्लब विश्वकपमा रोनाल्डो र लुइस स्वारेजपछि ह्याट्रिक गर्ने तेस्रो खेलाडी बने । च्याम्पियन्स लिग २०१८ फाइनलमा लिभपुरविरुद्ध दुई गोल गरे र त्यसको अन्त्यतिर गरेको ‘भली’ गोललाई हालसम्मकै उत्कृष्ट गोल मानिन्छ । उनी प्रिमियर लिगबाहिर सर्वाधिक सफल बेलायती फुटबलर भइसकेका छन् ।

रोनाल्डो म्याड्रिडमा भएसम्म उनकै छायामा रहे बेल । रोनाल्डो युभेन्टस् लागेपछि क्लबमा सबभन्दा बढी तलब पाउने भएर पनि उनी मुख्य खेलाडीको रूपमा स्थापित हुन सकेनन् । उनको रियलसँगको सम्झौता अझै तीन वर्ष बाँकी छ । तर, प्रशिक्षक जिदानले बेल रियलबाट चाँडै अलग हुने बताएपछि उनको भविष्य संकटमा परेको छ ।

गत साता रियल प्रि–सिजनमा अमेरिका भ्रमणमा थियो । रियलले मंगलबार आर्सनललाई २–२ को बराबरीपछि टाइब्रेकरमा पराजित गर्दा बेलले दोस्रो हाफमा गोल गरेका थिए । त्यसअघि शनिबार बायर्न म्युनिकविरुद्ध ३–१ ले हारेको खेलमा जिदानले बेललाई खेलाएन । ‘बेल बाहिरिनेमा क्लबले काम गरिरहेकाले उनलाई टिममा समावेश गरिएन, त्यसैले उनी खेलेनन्,’ हारपछि जिदानले एएफपीलाई भनेका थिए, ‘बेल क्लबबाट बाहिरिने चाँडै निश्चित भए त्यो सबैका लागि राम्रो हुनेछ ।’

उक्त भनाइलाई लिएर जिदानको खुबै आलोचना भइरहेको छ । बेलका एजेन्ट जोनाथन बार्नेटले जिदानलाई खेलाडीको ‘अपमान’ गरेको आरोप लगाए । बेल आफैंले पनि जिदानको बोलीपछि रियलको जर्सीमा खेल्न रुचि देखाएका छैनन् । तर, सत्य यो हो कि रियलको टिम जिदानले सम्हालेका छन् र उनको आउने सिजनको योजनामा बेललाई समावेश गरिएको छैन । सान्टियागो सोलारीलाई बर्खास्त गरेपछि ‘लस ब्लान्कोस’ सम्हाल्न गत मार्चमा फर्किएपछि जिदानले बेललाई खासै खेल्ने अवसर दिएनन् । उनी फर्कंदा ११ खेल बाँकी थियो र त्यसमा उनले बेललाई ९० मिनेटमा मात्र मैदानमा उत्रिने अवसर दिए । बेललाई चार खेलमा टिममै राखिएको थिएन, अरूमा अन्त्यतिर खेलाइएको थियो ।

जिदानले यसअघि रियलको टिम सम्हाल्दा रोनाल्डोलाई नभएर बेललाई बेच्न चाहेको तर क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेजले त्यो प्रस्ताव अस्वीकार गरेपछि जिदानले रियल छाडेको खबर पनि अहिले आएको छ । त्यसैले जिदानको पुनरागमनले बेलको निम्ति दुःख ल्याएको हुन सक्छ । ३० वर्षीय फरवार्ड रोनाल्डोजस्तै सुपरस्टार बन्न सकेनन्, उत्कृष्ट खेलाडीको बेलन डि’अर अवार्ड जित्न सकेनन् । उनी औसत खेलाडीमा अझै उत्कृष्ट छन् । उनलाई पूर्वक्लब टोटेनहमसँगै म्यानचेस्टर युनाइटेड र बायर्नले चाहेका छन् । चिनियाँ क्लब पपिन अघि सरेका छन् । तर, उनको मोटो तलब र चर्को स्थानान्तरण रकम युरोपका ठूला क्लबका लागि समस्या हुन सक्छ ।
Twitter: @rghising

प्रकाशित : श्रावण ११, २०७६ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?