१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

यशोधराको बुद्धत्व !

सरला गौतम

प्रभातकाल छ  । रवि पूर्वमा लालिमा छरेर मुस्कुराइरहेछन् । गाइरहेछन् गीत चराहरू । खुलिरहेका छन् फूलका पत्र पत्र पनि । ‘अप्पो दिप्पो भव’ बुद्ध वाणीले झंकृत भएको छ मन । यही धर्म वाणी त हो जसले सहरको बिष शरीरका कोषहरूमा भरिएर पनि उज्यालो हुन सिकाउँछ ।

यशोधराको बुद्धत्व !

केही खोज्दै थिएँ म आफैंभित्र । रित्तो रित्तो मनमा खोज्दै थिएँ एक मुठी उज्यालो । ‘बालेर दीप हृदयमा हुनेछौ तिमी धपक्क । बन्नेछौ स्वावलम्बी ।’ आफ्नै प्रकाशमा हिँड्न सिकाउने बुद्ध ज्ञानको यो सार मलाई निकै मन पर्छ । यही सारको खोजमा बिहानी बन्दै थियो एक दिव्य समय । छेउमै थियो एउटा पुस्तक । भनेसा ससोनको उपन्यास ‘यशोधरा ।’


पानाहरू पल्टाउन थालें । पहिलो दृश्यमा तलाउमा खुट्टा चोपलेर बसिरहेछन् सातवर्षे राहुल । नजिकै उभिएकी छन् उनकी आमा यशोधरा । पुस्तकको ऐतिहासिक दृश्यमा सुटुक्क पस्छु म । फट्के किनाराको साक्षी बनेर । तलाउमा खुट्टा चोपलेर बसेका राहुललाई नजरभरि प्रीत भरेर हेर्छिन् यशोधरा । छरिएका केशराशिले अनुहार छोपेर मुर्झाएको सन्तानको मुहार । समेल्छिन कपाल, बनाइदिन्छिन् जुरो । यसै त गर्थिन् उनी सधैं । केही क्षणमै भुइँभरि हुनेछन् उनले स्याहारेका पुत्रका केशराशिहरू । सम्झेरैं काँप्छ यशोधराको मन । सोध्छिन् आफ्नो पुत्रलाई ‘तिमीलाई ठीक छ’ भनी । बालक राहुल आमालाई हेर्छन्, टाउको हल्लाउँछन् र भन्छन्, ‘ठीक छ ।’ आमाको हृदयमा उम्लेको करुणाको लाभा, वाणीभरि सोहोरेर उनी भन्छिन्, ‘तिमी डराउन पाउँछौ । ठीक हुनु पर्दैन ।’ छातीमै टाँसिन्छन् बालक राहुल । यशोधरा पनि त डराएकी छन् । लैजाँदै छन् उनको एक हृदयको एक टुक्रा गेरुवस्त्रधारीहरूले ।


अहो ! हुँदै छ वियोग केही बेरमै । त्रस्त थिए आमा छोरा हुँदैन कि भेट यो जुनीमा भनी । राहुल भन्दै थिए, ‘आमा म तिमीसँगै बस्न चाहन्छु । म गएँ भने तिमीलाई भेट्न पाउँछु कि पाउँदिनँ होला ।’ सम्झाउँदै थिइन् यशोधरा छोरालाई अनि आफ्नै मनलाई, होला नि फेरि भेट भनी । समेटिन् सानो मान्छेलाई, बाँधिन् अंगालोमा, सोहोरेर पुत्र सुगन्ध हृदयभरि । यो जबरजस्ती थोपरिएको वियोग, ज्ञान प्राप्तिको एक नियम, जसलाई मानिसहरू बुद्धिमताको नाम दिँदै थिए । यशोधरालाई यही नै सबैभन्दा नमीठो लाग्छ । आफ्नो प्यारो टुक्रालाई छातीमा लुकाएर छलाएर नजर सबैको भागूँ भागूँ लाग्छ । तर सक्दिनन् उनी यसो गर्न । दुःखी थिइन् आमा । निराश थिए छोरा । मूल फुटेको आँसुको भेल आँखैको डिलमा रोकेर हेरिरहिन् यशोधराले । परपर हुँदै गए राहुल । बाबु सिद्धार्थ गौतमको सान्निध्यमा रही ज्ञान आर्जनका लागि । बगिरह्यो यशोधराको आँसु । यस्तो लाग्यो, के एकै छिनअघि मैले खोजिरहेको हृदयको दीप यशोधराको आँसुले बलेको थियो ? बुद्धत्वको प्रकाशले प्रज्वलित इतिहासले किन खर्चेन एक झिल्को यशोधराको कथाका लागि । मेरो मनमा हुरी चल्यो । करायो एउटा काग बाहिरको आकाशमा । के ल्यायो होला समाचार । यस्तो लाग्यो, उधिनेर ल्यायो कि एउटा खबर इतिहासमै हराएको ।

सानी यशोधरा
सानी यशोधरा कौतूहल छन् । चञ्चल छन् । पानीमा नाच्न खोज्छिन् । उनकी आमाले रोक्दिनन् । उनकी आमा पनि पानीमा नाचेकी थिइन् सानी यशोधरालाई काखमा लिएर । झरीमा नाचिरहेकी आमालाई उनले काखमै लुकेर हेरेकी पो थिइन् । यशोधरा र सिद्धार्थको जन्म एकै दिन भएको हुन्छ । सिद्धार्थकी आमा मायाको मृत्यु भएकाले राजा शुद्धोधन गहिरो पीडामा डुब्छन् । पुत्र जन्मपछिको उत्सव रोकिन्छ । तर एक दिन सबै गाउँलेहरू झरीको परवाह नगरी राजाको दरबारवरिपरि जम्मा हुन्छन् । महामन्त्रीले राजालाई सम्झाउँछन्, ‘अब जनता उत्सवको मुडमा पुगिसके । शोकको घडी धेरै लम्बियो । उत्सव मनाउन दिनुपर्‍यो ।’ राजाको आदेशबिना सबै ठप्प हुन्छ । सारा प्रजा पानीमा कुँजिएर बसेका हुन्छन् । सोही भीडमा नाबालक यशोधरालाई च्यापेर उनकी आमा पनि उभिएकी हुन्छिन् ।


झरीले मनमा उमंग ल्याउँछ । यशोधराकी मातालाई नाचूँ नाचूँ लाग्छ । छेउमै उनका पति हुन्छन् । परवाह गर्दिनन् केही कुराको । ‘बाँकी कुरा गर्न नपाए पनि हामीलाई झरीमा नाच्न कसैले रोक्न सक्दैन’ भन्दै उनका पाइताला छमछमाउन थाल्छन् । अनि माहोलमा उल्लास छाउँछ । बालक यशोधरा आमाकै पाइतालाको नाचको तालमा काखमा लुट्पुटिएकी हुन्छिन् । झरीले गीत गाएको, आमा छमछमाएको एउटा चित्र, समयले उनको हृदयमा थमाएर जान्छ । राजा शुद्धोधनको दरबारमा उनी आफ्नी आमासँग गइरहन्छिन् बेला बेलामा । एक दिन खाना खान निम्तो मान्न गएका हुन्छन् । खानेकुरा टेबलभरि हुन्छ । भोकी यशोधरालाई वासनाले नै लोभ्याउँछ । खाना टेबलमा आएपछि उनले चाख्छिन् । आमाले कुनामा लएर सम्झाउँछिन् । राजाले नखाई खानु हुँदैन भनेर । सानी मान्छेको मन द्रवित हुन्छ । यत्तिकैमा राजकुमार सिद्धार्थ आउँछन् र उस्तै गरी खान्छन् । उनलाई त कसैले रोक्दैन । बालक सिद्धार्थको चकचकेपनमा रमाइलो भाव देखाउँछन् सबैले । यशोधराको मनमा प्रश्न उभिन्छ । यस्तो किन ? यो प्रश्नको जवाफ उनकी आमासँग पनि हुँदैन । यो मापदण्ड यशोधरालाई मान्य हुँदैन । उनको बाल मनमा प्रश्नको पहिलो बीउ रोपिन्छ । भविष्यमा आउन सक्ने अनेकौं प्रश्नलाई पर्खिएर जरा फैलाउँछ । दरबारभित्र केटा साथीहरूसँग तारो हान्ने खेलमा बुद्धका भाइ देवदत्त र उनका साथीहरूले यशोधराको खिल्ली उडाउँछन् । हामीबिना तिमीहरू सुरक्षित हुनै सक्दैनौ भनिदिन्छन् । यशोधराको स्त्री ईख त्यही बेला जाग्छ । तारो हान्ने खेलमा जुध्न जान्छिन् ।


बेलुका आमासँग सबै कुरा बिसाउँछिन् । आमाले दुर्गाको शक्तिबारे बताउँछिन्, ‘आइमाईको शक्ति भनेको कसैलाई हतियार लिएर मार्नुमा मात्र हुँदैन । परेमा त्यहाँ पनि उनीहरूको शक्ति उभिन्छ ।’ यसो भनेर व्याख्या गरिदिन्छन्, दुर्गाको असीमित शक्तिको बारेमा । आमाले थप्छिन्, ‘पुरुषको शक्ति मांसपेशीमा देखिन्छ । आइमाईको शक्ति शरीरमा लुकेर रहेको हुन्छ र यसले अग्निको राप बोकेको हुन्छ ।’ यति थाहा पाएपछि यशोधराको आक्रोशको ज्वाला मन्द हुन्छ । र आफ्नो नाभि मुसारेर शक्तिको प्रवाह महसुस गर्छिन् । आफ्नो शक्तिको सम्भावनामा सीमा बाँधेको, कर्ममा सीमा बाँधेको मन पर्दैन उनलाई । फैलन खोज्छिन् सानी यशोधरा अनन्त । के थाहा त्यो सानी केटीलाई आफ्नो जीवन दरबारका ठूला पर्खालहरूभित्र कैद हुनेछ एक दिन भनेर ।


रामायणको नाटक हेर्दै गर्दा बद्नामी त सुर्पणखाप्रति उनको सहानुभूति जाग्छ । राम र लक्ष्मणलाई मन पराउनु सुर्पणखाको गल्ती थिएन । बरु लक्ष्मणले सुर्पणखाको नाक कान काटिदिनु अमानवीय थियो । यही अन्यायको जमिनमा रामायणको युद्धको बीजारोपण हुन्छ । न्यायमूर्ति भनेर पुजिएका रामले सुर्पणखा र स्वयम् आफ्नी पत्नीमाथि गरेको अन्यायमा प्रश्न उभ्याउँछिन् यशोधरा । न्यायको मूल्यमा चुकेको मानिस नियमको मूल्यमा खरो उत्रँदैमा हुँदैन आदर्श । यशोधराले नियालेको नाटकमा यस्तै देखिन्छ रामायण ।


युवराज सिद्धार्थ र यशोधरा किशोरकिशोरी बन्छन् । सँगै खेल्दाखेल्दै एक अर्काको सामीप्य महसुस गर्न थाल्छन् । तन्नेरी युवराज सिद्धार्थको बिहेको कुरा चल्न थाल्छ । एक दिन सबै राज्यका राजकुमारीहरू सजिएर उनको दरबारमा जानुपर्ने हुन्छ । दरबारमा गएर छानिनका लागि उभिनु यशोधरालाई आत्मसम्मानको खिलाफ लाग्छ । बरकतले भ्याएसम्म उनी विरोधमा उभिन्छिन् । अन्ततः बाआमाको जिद्दी टार्न नसकेर जान्छिन् । सिद्धार्थ र यशोधराको मनमा एक अर्काका लागि पहिले नै घण्टी बजिसकेको हुन्छ । सँगै उभिएर एकअर्कालाई रोज्न पाएपछि उनको आत्मसम्मानले न्याय पाउँछ । यशोधराको सुख धेरै दिन टिक्दैन । यशोधराको बाबुले राजकुमारको क्षमतामा शंका गर्छन् । राजकुमारले क्षमताको परीक्षा दिनुपर्ने हुन्छ । यशोधराको घरमा तारो हान्ने प्रतियोगिता हुन्छ । सारा राज्यको राजकुमार जम्मा हुन्छन् । केटाकेटीले एकअर्कालाई रोजिसकेपछि बाबुहरूको हठको कारण यस्तो प्रतियोगिता चल्नु यशोधरालाई न्यायको खिलाफ लाग्छ । राजकुमार सिद्धार्थले नै प्रतियोगिता जितेनन् भने के हुन्थ्यो ? के हुन्थ्यो आफ्नो मन परेको मानिस छोडेर अर्कैलाई रोज्नुपरेको भए ? यस्तो समारोहलाई उनले केटीले वर छान्न पाउने अवसरको रूपमा लिन्नन् । यो त विजेतालाई केटी उपहार दिने प्रतियोगिताजस्तो लाग्छ उनलाई । आफू कुनै उपहारका लागि टक्राइने वस्तु होइन भन्नेमा उनी प्रस्ट छन् । विरोधका बाबजुद उनले यो सबै झेल्नुपर्छ । संयोगले सिद्धार्थ विजेता हुन्छन् । यशोधराले फेरि रोजेकै मानिसको साथ हुन पाउँछिन् । उनको खुसी फर्कर उनकै पोल्टामा हाजिर हुन्छ । आत्मसमानको लडाइँमा आँखा जुधाउने यशोधराको आभाले एउटा युगलाई एक झिल्को उज्यालो दिएर जान्छ ।

एक झिल्को उज्यालो
किशोरी यशोधराको स्वागतमा राजकुमारको दरबारले मखमली मुलायमता भरिदिन्छ । सेवा सुविधा उनको पाउमा हाजिर हुन्छन् । बतासको चालमा नाच फैलाएर उनैलाई खोज्दै आउँछन् खुसीहरू । मन परेको मानिस, बगैंचा र फूलहरू । मायाको मूल उनकै नाममा फुटिदिन्छ सबैको हृदयमा । स्वर्गको एक टुक्रा उनकै सामुन्ने छ । पलहरूमा फूलको सौन्दर्य छ । हावाहरूमा मायाको सुवास मात्र छ । हराउँछिन् यशोधरा यो मायावी संसारमा केही समय । दिनहरू बित्छन् । बिस्तारै बिस्तारै यी सबै कुरा दरबारको नियमितता प्रतीत हुन थाल्छ । दरबारको बडा बडा पर्खालमा टक्क रोकिन्छन् यशोधराका आँखाहरू । हराएझैं केही लाग्छ उनलाई । खोज्न मन लागेझैं हुन्छ । कहाँ हरायो उनका खुलेका पंखहरूका मयूरी नाच । अचानक खोज्न थाल्छ उनको मनले । उनको देहमा उकुसमुकुस उफ्रिन थाल्न । पाइलाहरूले नदीको गति खोज्छन् । आमासँग फुर्किंदै बजार चाहरेको सम्झना उनको नजरमा सलबलाउन थाल्छ ।


एक दिन राजा शुद्धोधनसँग बाहिर घुमफिरको प्रसंग निकाल्छिन् । आमासँग बजार गएको सम्झनासहित । राजाले सिधै भनिदिन्छन्, ‘यहाँ त्यो सबै सम्भव छैन ।’ सिद्धार्थको ग्रहदशासँग निकै त्रसित थिए राजा । उनी भागेर कतै नजाउन यसैका लागि लगाएका थिए भीमकाय पर्खाल । शुद्धोधनले उभ्याएका पर्खाल न सिद्धार्थ नाघ्न पाउँछन् न त यशोधरा । सिद्धार्थको भाग्यसँगै उनको भाग्य पनि कैद हुन्छ । आफ्ना माता पिताको घरसम्म पनि उनी जान पाउँदिनन् । यसैगरी वर्षहरू पनि बितेर जान्छन् । पर्खालभित्रको कैदी जीवन । एकनासको दिनचर्या । पट्यार लाग्न थाल्छ यशोधरा दम्पतीलाई । राजकुमार सिद्धार्थले त बाहिरी जीवन देखेकै हुँदैनन् । यशोधरा भने उड्ता पन्छीबाट एकै पटक पिँजराको कैदी बन्न पुगेकी हुन्छिन् । एक दिन उनीहरूले दाउ छोप्छन् । दुईवटा प्रेम पन्छीले दरबारमा सबैको आँखा छलेर पर्खालको घेरो नाघ्छन् ।


वर्षाको बेला हुन्छ । झरीमा निख्रिएर खुलेको हरियालीमा सौन्दर्य मोहक हुन्छ । सिद्धार्थ त हेरेको हेर्‍यै हुन्छन् । मोहकता संसारको, निहारेर थाक्दैनन् उनका आँखा । वृक्षहरू बडा बडा । मनोहर छन् रोपिँंदै गरेका खेतहरू । मग्न छन् किसानहरू । मानौं यो कुनै अर्कै लोक हो । उनको नजरले कहिले नदेखेको अद्भुत नजारा । दुवै खुसीले हावामा उडेसरि हुन्छन् । सधैंभरि यसरी प्रकृतिमा हराएर बाँचेको स्वतन्त्र जीवनको कल्पना गर्छन् । राजकुमार पहिलो पटक बाहिर आउँदाको रोमाञ्चकता । यशोधराको हराएको चाल पाउँदाको खुसी, खुलेर हाँस्छ पानी परेपछिको आकाशजस्तो गरी । निमको रूखमुनि बसेर उनीहरू यो सबै हेरिरहन्छन् । किसानले खेत जोतेको । हिलोमा गाडिएका गोरुका पाइलाहरूको परिश्रम । हेर्दाहेर्दै सिद्धार्थको मन द्रवित हुन्छ । सबैलाई सामान्य लाग्ने दृश्य उनलाई अद्भुत लाग्छ । झन्डै दौडेर खेतमा पुग्छन् । किसानलाई भन्न मन हुन्छ उनलाई, यी पशुहरूलाई यति दुःख नदेऊ । मिल्छ भने आफैं काम गर । गोरुको दुःखमा गएर समाहित हुन्छ उनको मन । सबै आत्माहरूको सहअस्तित्व बोध गर्छन् । सुनेका त थिए सन्तहरूले भनेको ‘अद्वैत सत्य ।’ आत्माहरूको मिलन अन्ततः एक विन्दुमा गएर हुन्छ । यही भन्थे सन्तहरूले । बुद्धिमा तैरिएको ज्ञानलाई पहिलो पटक आँखाले निहार्छन् र हृदयले अनुभूत गर्छन् ।


किसानको दुःख, पशुको सास्ती सबैले पोल्छ राजकुमारलाई । यशोधरा सम्झाउँछिन्, ‘दुःख अवस्यंभावी हो । यो नियमितता हो जीवनको । जीवन र मृत्युको बीचमा मानिसले दुःख भोग्नु, सुख भोग्नु कुनै अद्भुत कुरा नै होइन । यसको कुनै विकल्प नै छैन ।’ यशोधराले नै डोर्‍याउँछिन् उनलाई बाहिरी संसारमा पहिलो पटक । बुझाउँछिन् संसारको नियम कानुन र सत्य प्रकृतिको । बुद्ध ज्ञानको पहिलो दृष्टि बन्छिन् उनी । ढल्केको साँझ, सुन्तले प्रकाश । मोहकताको किरण देहभरि भर्दै उनीहरू दरबार फर्कन्छन् । यता राजकुमारको मनमा तुफान चल्न थाल्छ । उनले दरबारमा बाँचेको, देखेको जीवन र पर्खालबाहिरको जीवन फरक किन छ । उनको दिमागमा प्रश्नको गुजुल्टो पर्छ । हरेर लैजान्छ उनको मनको शान्ति । पतिको छट्पटीले यशोधरा त्रस्त हुन्छिन् । गर्भमा सन्तान आउन नसकेको छट्पटी र खुला संसारमा सास फेर्न नपाएको उकुसमुकुसले सँगै शिर उठाउन थाल्छन् । यसैमा थपिन्छ राजकुमारको अशान्त भाव ।


बाह्र वर्षको अवधिमा यशोधरा गर्भवती हुन्छिन् । बाह्र वर्षसम्म आमा बन्न नसकेको उकुसमुकुसमा आनन्दको एक झिल्कोले सुटुक्क चियाउँछ उनको जीवनलाई । यो उल्लास श्रीमान् सिद्धार्थसँग साट्ने हुट्हुटीले थामिदैन उनको मन । तर दरबारमा कतै भेटिँदैनन् राजकुमार । उनी आफ्नो टाँगा चालकसँग दरबारबाहिरको संसार नियाल्न जान्छन् । यता यशोधराको पर्खाइको छट्पटी । उता सिद्धार्थले बाहिर संसारको सत्य थाहा पाएर भएको छट्पटीले, सँगसँगै आँधीको नृत्य देखाउन थाल्छ । निकै पर्खेपछि दरबार फर्केका पतिको अनुहारमा बादलहरूको जुलुस देख्छिन् यशोधरा । हृदय सोहोरेर सुनाउन मन लागेको खबर आफैं मुर्झाउँछ । दुई प्रेमी भेट हुँदा मन्द रापले न्यायो हुँदैन वातावरण । ओसिलो हुन्छ । अचानक फेरिएको राजकुमारको मुड र चिसो भाव । यशोधरालाई सह्य हुँदैन । कारण खोज्छिन् । प्रश्न गर्छिन् । दुई जनाको वादविवाद चल्छ । निकै बेरमा विवादको पारो सानो हुन्छ ।


कुन मेसोमा उनले खबर सुनाउँछिन् । यशोधराको पेटमा आएको आफ्नो भ्रूणको खबरले राजकुमारको मुहार उज्यालो हुन्छ । माहोल शान्त र प्रेमिल बन्छ । एकातिर खुसी अर्कोतिर मनको अशान्ति । राजकुमार दोसाँधमा पर्छन् । तर अब राजकुमारको मनमा चलेको आँधी रोकिने छाँट देखिँदैन । दुई जीउकी यशोधराको मनमा यो आँधीको बाछिटाले हानिरहन्छ । त्रस्त बनाइरहन्छ । एउटा अनिश्चितताको कालो बादलले उनको मुहारको उज्यालो हरेर लैजान्छ ।

सत्यसँगको सामना
भय र त्रासमा नै उनको गर्भावस्था बितेर सकिन्छ । यदि राजकुमारले छोडेर जाने मुड बनाएको छ भने मलाई जानकारी हुनैपर्छ भन्ने उनको हठ हुन्छ । हरपल त्रसित अवस्थामा रहँदारहँदा उनी निकै कमजोर बनिसकेकी हुन्छिन् । दरबारका सेवकहरूका अगाडि आफ्ना श्रीमान्ले देखाएको चिसो व्यवहारले लज्जित बनाएको हुन्छ उनलाई । लज्जा र डरको मिश्रणमा उनको मस्तिष्क हल्लिएको हुन्छ । सिद्धार्थ उनीसँग परपर हुन थालिसकेका हुन्छन् । पेटमा हुर्कंदै गरेको बच्चा हुन्छ । आँखैअगाडि श्रीमान् हुन्छन् । सँगै हुन्छ भयानक एक्लोपन । उनलाई जीवनमा आउँदै गरेको बच्चाप्रतिको मोहभंग हुँदै जान्छ । जीवनको सबैभन्दा उत्तम मानिएको आइमाईको यो क्षणमा यति गहिरो रिक्तता उनले महसुस गरिन् । यशोधराको रिक्तताले इतिहासमा नपुरिने एक खाल्डो बनाएर जान्छ । बोधिसत्त्वको प्रकाशपुञ्जहरूले तिर्न नसक्ने ऋण लाएर जान्छ ।


बच्चा जन्मने समय आउँछ । यशोधरा अतिशय पीडासँग जुध्छिन् । उनको मन पतिले छोड्न सक्ने सम्भावित त्रासले चिरिन्छ । उनको शरीर आउँदै गरेको बच्चाले चिरिन्छ । मनमा भयको आहल, जमिनमा रगतको आहल । राजकुमार पितासँग भन्दै गरेका हुन्छन्, ‘म दरबारमा रहन सक्दिनँ । सत्यको खोजीमा जान्छु ।’ पति अलौकिक सत्यको खोजीको मुडमा रहेकै बेला यशोधराले लौकिक सत्यको सामना गरिरहेकी हुन्छिन् । शरीर र हृदयले एकैपल्ट छाम्दै गरेकी हुन्छिन् जीवनको यथार्थ । पीडाले धर्ती पनि काम्दै गर्दा बच्चा जन्मिन्छ । यशोधराको जीवन सुरक्षित भएपछि राजा, राजकुमार र दरबार शान्तिमा सुस्ताउँछ । कमजोर देहकी यशोधरालाई यही रात एक भयानक सत्यले पर्खेर बसेको हुन्छ । राजकुमार उनलाई एक घनीभूत पीडाको पोखरीमा डुबाएर नफर्किने गरी जान्छन् । यसपछिका एक–एक पल एक युगझैं भएर उभिन्छ यशोधराको सामुन्ने । एउटा पहाड छिचोल्छिन् अर्को उभिन्छ, त्यसपछि फेरि अर्को ।


सुसारे र सुविधाले भरिएको वैभवशाली दरबारमा यशोधरा केवल रित्ता पलहरूको साक्षी बस्छिन् । पर्खालभित्र कैद भएको जीवनले वृद्ध बाबुआमाको न्यानो स्पर्श पनि पाउँदैन । बल गरेर बिरामी आमा उनलाई भेट्न आउँछिन् । लगत्तै आमाको पनि मृत्यु हुन्छ । नाबालक छोराको अनुहारसमेत हेर्न मन नलाग्ने गरी दिक्दार हुन्छिन् यशोधरा । ममताको संसारमा स्वर्णिम मानिएको यो पलमा उनले झेलेको विक्षिप्तताको लेखाजोखा बोधिसत्त्वको चर्चाको कतिऔं धारामा हराएको छ । यशोधरासँग जति प्रश्न छन्, त्यसलाई दस गुना बनाएर एउटा सिंगो युग नाजवाफ उभिएको छ । प्रश्नको उत्तर युगयुगले दिन सक्दैन । यशोधराको त्यागको मान पनि राख्न सक्दैन ? उकुसमुकुस छट्पटीको आगोमा पोलिएकी हुन्छिन् यशोधरा शिसुको जन्म पछि । एक दिन बल गरेर निस्कन्छिन् पर्खालको बन्धन तोडेर । श्रीमती गुमाएर एक्लै परेका बाबुलाई भेटिन् । आफूजस्तै एक्लो परेका बिमार बाबुका कामिरहेका हातहरूमा सत्यको दर्शन गर्छिन् । दिवंगत आमाले छोडेको चिनो, दुर्गाको सानो मूर्तिमा शक्तिको दर्शन गर्छिन् । पितृभेटपछि काखीमा सन्तान च्यापेर फर्कन्छिन् । वृक्षको पिंधमा थचक्क बस्छिन् ।

एक्लोपन र असुरक्षाले त्रस्त सुत्केरी आमा यशोधरा, आफू र सन्तानको रक्षाका लागि रूखसँग याचना गर्छिन् । उनको एक्लोपनको फाइदा लिँंदै राजा शुद्धोदनको भतिज देवदत्त आइपुग्छ उनको देहमा दाह्रा गाड्न । राजकुमार हिँडेपछि दरबारको शक्ति र यशोधराको देह अब उसको दाउमा हुन्छ । सुत्केरी यशोधरामाथि ऊ जाइलाग्न थाल्छ । यशोधरा भएभरको बलले प्रतिकार गर्छिन् । उनकी सासू महापजातिको साथ पनि पाउँछिन् । देवदत्तले धुलाइ भेट्छ र दफा हुन्छ । यशोधराको सत्य, बिरामी बाबुको थर्थराएको हातमा कामिरहेको थियो । सुरक्षाका लागि याचना गर्दै गर्दा कम्पन भएको धर्तीमा हल्लिरहेको थियो । देवदत्तले झम्टिरहेको उनको देहमा काँपिरहेको थियो । शरीरको कणकणमा, बाँचिरहेको पलपलमा, एउटा भयानक सत्यको भूकम्प, परकम्प उनको काँधले थामिरहेको थियो । सत्यको खोजीमा पर्खाल नाघ्न उनलाई सम्भव थिएन । असरल्ल छरिएका जिम्मेवारीहरू उठाउनु थियो । परिस्थितिले गलाएको देह जगाउनु थियो । उनी पर्खालभित्र कैद थिइन् । पलपलमा उभिएको थियो एक कठोर सत्य ।


राजा शुद्धोधनको अविरल आग्रहपछि एक दिन सिद्धार्थ फर्कन्छन् दरबारमा । गौतम बुद्ध बनेर । दरबारमा हल्लीखल्ली र अलौकिक खुसियाली छाउँछ । सबै उनको दर्शनमा लामबद्ध हुन्छन् । झ्यालबाट आफ्ना पतिको दर्शन निहार्छिन् यशोधरा । पतिले छोडेपछिको ज्यानमारा एक्लोपनलाई उनले जितिन् । एक्लो अस्तित्वमा उभिइन् । यसैमा बानी पारिन् । उनको जीवनको सत्य फेरियो । उनले आफूलाई विधवाको रूपमा स्विकारिन् । फेरि अचानक श्रीमान् उनको आँगनमा आइपुगे एक साधुको भेषमा । एक अवस्थाबाट अर्को अवस्थामा तयार हुनै नपाई समय परीक्षा लिएर उभियो उनको सामु । अब उनको आँखै अगाडि, माया गरेको असाध्यै मन पराएको मानिस थियो सन्तको रूपमा । उसैलाई तटस्थ भावले हेर्नु कसरी । यो परीक्षामा उत्तीर्ण हुनु कसरी ।


सँगै उभिएको आफ्नो छोरालाई बाबु भनेर चिनाउने वा सन्त ? यो दोधारलाई झेल्नु कसरी । उनले झेलिन् । छोरालाई सबै कुरा भनेर पितृदर्शनका लागि पठाइन् । राजादेखि रंकसम्म उभिए सबै गौतम बुद्धको सामुन्ने । यशोधरा भने हलचल भइनन् । दरबारका एक–एक मानिसका अनुनय–विनयका बाबजुद उनी बुद्धको दर्शनका लागि लाइन बस्न गइनन् । प्रस्टसँगै आफ्नो मनलाई भनिन्, ‘भलै उनले आफूलाई सन्त मानुन् । मेरा लागि उनी कुनै बेला पति थिए । उनीसँग बेखुस छु म । यो थाहा पाऊन् । उनलाई गर्नुपर्ने धेरै प्रश्न छन् मभित्र । यदि उनलाई भेट्न मन भए मेरो ढोकामा हाजिर हुनुपर्छ ।’ दृढ यशोधराको ढोकामा बुद्ध हाजिर हुन्छन् ।उभिएका बुद्धलाई यशोधरा प्रश्न गर्छिन् । जवाफ माग्छिन् । आफूलाई जुन बेला जे मन लाग्छ त्यही निर्णय गर्ने पतिको मनोमानी उनलाई सह्य छैन । नाबालक छोरा र सुत्केरी श्रीमती छाडेर हिँडेका महापुरुषको मनोभाव कस्तो थियो हिँड्ने यो जान्न मन हुन्छ यशोधरालाई । श्रीमान्ले आफ्नो खुशीको मार्गमा हिँडेपछि बँचेखुचेका सबै दिक्दारी स्याहारेर बसेकी यशोधराले सबै प्रश्नको हकदार ठान्छिन् आफूलाई । बुद्ध उभिएर उनको प्रश्नको जवाफ दिइरहन्छन् । आफूहरूलाई छोड्ने बेलामा बुद्धको मन पनि काँपेको थाहा पाएपछि उनको मनको ज्वाला मन्द हुन्छ ।


सामुन्ने उभिएका प्रज्वलित सिद्धार्थ उनका पति थिए नि । यशोधराको मनमा आकर्षण पनि पैदा हुन्छ । आँखै सामुन्ने उभिएका पतिलाई अँगाल्न मन हुन्छ । सक्दिनन् । चाहनाहरूको परीक्षामा फेरि उनीसँग विजय माग गर्छ समयले । झ्यालबाट आकाशमा हेर्छिन् । आफ्नो पछाडि उभिएका पतिको झंकारलाई हृदयमा भर्छिन् । आकाशमा खेलिरहेका बादलहरूको लुकामारीमा आफ्नो जोडी तैरँदै गरेको कल्पना गर्छिन् । बाँकी संसारले यशोधराले बुद्धलाई वासनाको वशमा पार्न लागेको आरोप लगाउँछन् । उनको मुलायम माया बुद्धलाई पनि पाशो लाग्छ । माया मोह र चाहनाको मुक्तिमा हिँडेकी नारी थिइनन् यशोधरा । देहभरि समेटिएको थियो उनको चाहना । कसरी लुकाइन सात वर्षसम्म । कसरी गरिन् चाहनासँग युद्ध । कसैले किन राखेन हिसाब । किन लगायो उल्टो बात । के यशोधराले सहेको लाञ्छनाको छायामा बुद्धको प्रकाश खुलेको थियो । यतिले पुगेन आफ्नौ काखमा रमाउँदै गरेको सन्तान पनि अब उनीबाट मागिन्छ । एक्लोपनबाट निस्केर उनी राहुलसँग रमाउन थालेकी थिइन् । आमा छोराको इन्द्रेणी पलहरू मनको फ्रेममा कैद गर्दै थिइन् । उनको भन्नु केवल राहुल थिए । फगत एक साथी । उनको निर्विकल्प साथलाई बुद्ध लैजाँदै थिए । मौसमभन्दा तीव्र गतिमा बद्लिएका थिए जीवनका परिस्थिति एकपछि अर्को । सत्यलाई योभन्दा नजिकबाट छाम्ने कुनै अर्को तरिका हुन्छ र ? यशोधराले पिएको अपमान, एक्लोपन, असुरक्षा, भयको के हिसाब । पलपल बोध गरेर बाँचेका क्षणहरूबाट निहारेको सत्यको के हिसाब ।

प्रदीप्त यशोधरा
यशोधराको जीवनमा सबैभन्दा प्रभाव दिने महिला थिए उनकी आमा र सासू महापजापति । आमाको तार्किक र निर्भय स्वभाव उनलाई प्रिय थियो । सासूको अविचलित व्यक्तित्व । यशोधराको नाबालक छोराको नाम राख्ने दिन हुन्छ । पण्डितले भन्छन् राहुल । अँध्यारो हुन्छ यशोधराको मुहार । उनले पण्डितसँग यो नाम मन परेन भन्छिन् । यही बेला राजा शुद्धोधनले लिली फूलको व्याख्या गर्छन् । शुद्धोधनले लिली फूलको विशेषता बताउँदै राहुल नाम किन विशेष हुन सक्छ भनेर सम्झाउँछन् । ‘लिली त्यस्तो फूल हो जो सूर्यको प्रकाशबिना नै फक्रन्छ । सबै फूललाई सूर्यको तेज अनिवार्य हुँदैन,’ भन्छन् उनी । उनकै छायामा हराएकी महापजापति ठ्याक्कै लिली फूलको प्रतीकझैं लाग्छ । श्रीमान्को बेवास्ताको ओसिलो छायामा उनी फक्रिरहन्छिन् । उनीसँग आफ्नै अस्तित्व छ । राजाको अस्तित्वसँग नजोडिएरै उनी पूर्ण छन् । तृप्त प्रतीत हुन्छिन् । न सन्तान, न पतिको प्रेम न त शक्तिको तातो केही देखिन्न उनको समीपमा । न गुनासो न विचलन, उनी ब्रह्माण्डमा आफ्नै अस्तित्वमा लीन छन् । दरबारको कर्तव्यपछि ज्ञान प्राप्तिको राजमार्गमा हिँड्छिन् ।


राज्यका अरू महिलाहरूको उनले नै गर्छिन् नेतृत्व । ‘किन महिलाले निर्वाणको बाटोमा हिँड्न सक्दैनन्,’ बुद्धलाई प्रश्न गर्नका लागि उनीसँग तर्क छ तयार । महापजापतिको तर्क र शक्ति यशोधराको लागि ऊर्जा बन्छ । आफूले नसनसमा बाँचेको जीवनको नाच छोडेर उनीहरू एकै दरबारमा कैद भएका हुन्छन् । सारा नियम र पावन्दीको बीचमा उनीहरू मनको पन्छी वेग हान्छन् । एक साझा संसार छ सासू–बुहारीको । उस्तै छ भुक्तमानी भोगाइ । बाँधिएको छ माया । महापजापति शान्त र तटस्थ महिला थिइन् । समयले जुन बेला जे माग्यो त्यसकै लागि हाजिर । कर्कलोको पातमा तैरिएको पानी जस्तै सम्बन्ध र शक्तिसँग टाँसिएरै पनि अलग । कसैसँग कुनै अपेक्षा थिएन । यसकारण उनको अनुहारमा बादल थिएन । सेता कपालहरूमा झल्कन्थ्यो दिव्यरूप । जब उनी टकटक हिँड्थिन् यशोधरा रोकिएर हेर्थिन् । राजा शुद्धोधनको छाया हटेपछि झन् खुलेको थियो उनको व्यक्तित्वको आभा । यसको चमकले ऊर्जा र उत्साह भरिदिन्थ्यो यशोधरामा ।


गहिरो नैराश्यमा घोत्लिएकी यशोधरालाई महापजापति सम्झाउँछिन्, ‘आँसु बालकको आँखामा हुन्छ, हुन्छ प्रौढको आँखामा पनि । तर यो सधैं रहन्न । कुनै क्षण सधैं रहन्न ।’ बुद्धत्व प्राप्तिपछि बुद्धले भन्ने गरेको अनित्य बोधको ज्ञान महापजापतिले आफ्नो कर्तव्यकै क्षणहरूमा पहिलाएकी हुन्छिन् । यशोधरालाई यही ज्ञानको झिल्को थमाउँछिन् । यी दुई आइमाई संसारको नजरमा न सन्त थिए न राजा । राजा र सन्तहरूको बुद्धि विवेक र शक्ति अटाउने उनीहरूको आफ्नै ब्रह्माण्ड थियो ।


यशोधराको सत्य उनकै भोगाइको रापमा प्रज्वलित हुन्छ । उनी सत्यको खोजीमा थिइनन् सत्य उनको पाउमा हाजिर थियो । यसोधरा स्वयम् एक सत्य थिइन् ।

प्रकाशित : श्रावण १८, २०७६ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?