१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

भर्चुअल प्रेम : अप्रिल फूल

बालिका थपलिया

लेखक कृष्ण आचार्यले आफ्नो पहिलो उपन्यास ‘अप्रिल फुल’ मा अहिलेको समयको जल्दोबल्दो विषय यो विषय हो— भर्चुअल प्रेम  ।

भर्चुअल प्रेम : अप्रिल फूल

युरेका पब्लिकेसनले बजारमा ल्याएको यो पुस्तक पछिल्लो समय पुस्तक बजारमा चर्चामा रहन सफल छ । उपन्यास युवा पुस्ताको प्रेम कथामा आधारित छ । यहाँ प्रेमी–प्रेमिकाले आफनो प्रेम व्यक्त गर्ने माध्यम फेसबुक बनेको छ । फेसबुकमा पोस्ट गरेका स्टयाटस र तस्बिर अनि म्यासेन्जरको कुराकानी युवा पुस्ताका लागि प्रेम गर्ने भरपर्दो माध्यम कसरी बनिरहेको छ भन्ने उपन्यासमा बुनिएको छ ।


यसभित्र बुनिएका प्रेमका कथाहरू बाहिरी रूपमा सरल देखिए पनि प्रेमको कुनै न कुनै सन्देश बोकिरहेका छन् । लेखकले प्रेमको वास्तविकतालाई खोजी गर्ने प्रयास गरेका छन् । प्रेेमबारे उनले यसरी आफ्नो विचार व्यक्त गरेका छन्, ‘मानिसहरू संसारभर प्रेमकै खोजीमा भौँतारिइरहेका हुँदारहेछन् । म पनि यही संसारको एक मानव थिएँ । मेरो मनको फरक चाह पनि कतै प्रेम त होइन् ? आफैंसँग प्रश्न गरें ।’विवाहअघि नै सेक्स गर्ने अहिलेको पुस्तालाई लेखकले राम्ररी नियालेका छन् । उनी प्रेम स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता राख्छन् । उनी यसरी प्रेमलाई खुला बनाउँछन्, ‘आपसी सहमतिमा प्रेमी–प्रेमिका यौन प्यास मेट्छन् भने दुनियाँको टाउको किन दुख्नुपर्ने ? रेस्टुराँ वा लजमा सहमतिमा बसेका प्रेमजोडी समाउँदा प्रहरी किन अपराधी समाएझैं गर्छ ?’


पुस्तकको शीर्षकले अहिलेको प्रेमको विकृृतिलाई प्रस्ट्याउन खोजेको छ । छिनछिनमा प्रेमी अथवा प्रेमिका फेर्ने संस्कारले जरा गाडिरहेको हाम्रो समाजमा प्रेमलाई अप्रिल फुलझैं दुरुपयोग गरिँदै छ । प्रेमलाई झूटको खेल बनाइँदै छ । पटक–पटक प्रेमी अथवा प्रेमिका फेर्ने युवाको मनोभावनालाई दर्साउन सफल भएका छन् लेखक । उपन्यासको कुनै कुनै अंशमा उनले प्रेमलाई दार्शनिक ढंगले व्याख्या गर्न खोजेका छन् । उनी यसरी प्रेमसँग बग्छन्, ‘प्रेम चाहेर हुने, चाहेर दिने, चाहेर गरिने होइन । यो त स्वतः कति बेला, कोसँग कसरी हुन्छ थाहै हुँदैन । जहाँ इच्छा, रुचि, चाहना हुन्छ त्यो प्रेम असफल हुन्छ । त्यसैले प्रेम आभास हो, अनुभूति हो, विश्वास हो । जहाँ प्रेमलाई शब्दले किन्न नसकोस्, मनले चिन्न सकोस् ।’


आफ्नो भविष्यको मतलब नराखी क्षणिक प्रेममा रमाइरहेको युवा पुस्ताका केही पात्रले यस उपन्यासमा अग्रस्थान कायम गरेका छन् । बिदेसिएका श्रीमान्की श्रीमतीको यौन असन्तुष्टिलाई पनि नियालिएको छ । बिहे गर्नेबित्तिकै बिदेसिएका श्रीमान्ले अर्कै केटीसँग बसिरहेको चाल पाएपछि श्रीमतीले आफ्नो यौन चाह मेट्नका लागि परपुरुषसँग गरेको अनुरोधलाई मार्मिक रूपमा विश्लेषण गरिएको छ । सतहमा बाँच्नेहरूलाई साँच्चिकै प्रेमले अप्रिल फुल बनाउँछ । नराम्ररी झुक्याउँछ । त्यसैले प्रेमलाई गम्भीरतापूर्वक लिएमा झूटको खेतीबाट बच्न सकिने कृतिको आशय हो । पढ्दै जाँदा शीर्षक र उपन्यासको तालमेल राम्ररी मिलेझैं लाग्छ । अहिलेको समाज बुझ्न चाहनेलाई यो उपन्यासले भरपूर सहयोग गर्छ । ज्ञान र मनोरञ्जनको फयुजन बनेको छ अप्रिल फुल उपन्यास ।

प्रकाशित : श्रावण १८, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?