२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

आँधीमय दिनका स्मृति

गंगा बीसी

हिरासतमा भएकी एक युवती पत्रकारलाई बुटले हिर्काएर लडाउने, कुल्चने र अमानवीय कार्य गर्ने तत्कालीन प्रहरी अधिकृत विक्रमसिंह थापा कहाँ होलान् ? हिरासतमा झएका बेला त्रूर प्रहरी अधिकृतको आँखा छलेर मानवीय व्यवहार गर्ने प्रहरी जवान कहाँ होलान् ?

आँधीमय दिनका स्मृति

तत्कालीन सुरक्षाकर्मीसँग मिलेर आफ्नै साथी पक्राउ गराउने उनका सहकर्मी कहाँ होलान् ? यी प्र्रश्नको उत्तर त छैन । त्यो सबै भोग्ने पत्रकार भने अहिले पनि काठमाडौंका सडकमा भेटिन्छन् । त्यसबेला आफूले भोगेका कठोर दिनहरू सम्झँदै हिँडिरहेकी । ती आँधीमय दिनको स्मरण गर्ने पत्रकार हुन्— संगीता खड्का । ‘युद्धका तीन दिन’ यसकै लिखत हो ।


काठमाडौं उपत्यकाको पश्चिम कुनामा जन्मिएकी ती युवतीले किन ज्यानको बाजी लगाएर युद्धको बाटो रोजिन् ? किन कलमले बन्दुकलाई बल पुर्‍याइन् ? यी प्रश्नको उत्तर खोज्दै खड्काले हालै ‘युद्धका ती दिन’ लेखेकी छन् । इतिहास भइसकेको माओवादी सशस्त्र युद्धले सबैलाई लपेट्यो । प्रत्यक्ष र अप्रत्यक्ष रूपमा यसको राप, ताप र प्रभावबाट कोही बाँकी रहेनन् । अझ युद्धमै सामेल भएकाहरूका भोगाइ यतिबेला कहालीलाग्दा छँदै छन्, रोचक पनि छन् । राज्यविरुद्ध विद्रोह बन्दुकले मात्र होइन, कमलले पनि बोलेको थियो । गीत संगीत र बाजाहरूले पनि बोलेका थिए । राज्यको आँखामा ती ‘आतंककारी’ भए पनि माओवादीका लागि ती ‘ती महान् योद्धा’ थिए ।


दसवर्षे युद्धले नेपाली राजनीतिमा ल्याएको परिवर्तन र त्यसले पारेको प्रभावबारे इतिहासमा आआफ्नो ढंगले व्याख्या, अनुसन्धान गर्ने क्रम आगामी दिनमा चलिरहनेछ । यसबारे आआफ्नो भोगाइ लेख्ने काम पनि भइरहनेछ । महेन्द्र पुलिस क्लब भृकुटीमण्डपमा भोगेको यातना सम्झदा पनि पीडा हुन्छ तर पनि उनले पुस्तकमा सम्झेकी छन् । ती कठोर दिनको सम्झना नगरी उनको यात्रा अघि बढ्न सक्दैनथ्यो । किनकि संकटकालमा पक्राउ पर्नु भनेको जीवन अन्तिम विन्दुमा पुग्नुजस्तै थियो । मान्छे कति बेला खरानी हुन्थ्यो या बेपत्ता हुन्थ्यो कुनै लेखाजोखा हुँदैनथ्यो । पत्रकार एवं साहित्यकार कृष्ण सेन इच्छुकको त्यही महेन्द्र पुलिस क्लबको यातनाले हत्या गरेको थियो । इच्छुक र खड्का केही दिनको अन्तरालमा २०५९ जेठमा पक्राउ परेका थिए । सँगसँगै चर्को यातना पाएका थिए । इच्छुक प्रहरी हिरासतबाट फर्केनन्, संयोगले खड्का फर्केर आइन् । इच्छुकलाई नमारिएको भए अहिले मर्मस्पर्शी संस्मरण लेख्थे होलान् । ती अमानवीय क्रूर यातनाको सविस्तार बयान गर्थे होलान् । बाँचेर आएकी संगीताले ती दिनका सम्झना गरेकी छन् ।


‘हामीलाई भित्ताको अलगअलग कुनामा राखिएको थियो । सेन दाइलाई प्रहरीले एकहोरो पिटिरहँदा हामीलाई निकै पीडा भइरहेको थियो । हातखुट्टा बाँधिएका थिए । आँखामा पट्टी बाँधिएको थियो । यस्तो अवस्थामा चिच्याहटबाहेक अरू विकल्प थिएन,’ खड्काले लेखेकी छन्, ‘चर्को यातनाले सेन दाइको अवस्था जटिल बन्दै गएको थियो । दिउसो तीन बजेको हुँदो हो, उहाँले बान्ता गरिरहनुभएको थियो । प्रहरीको टोली पुनः हलभित्र आयो र भन्यो— ‘यसले हामीलाई कुनै सहयोग गरेन । अब मार्न लानुपर्‍यो । ल हिँड ।’ सेन दाइले भन्नुभयो, ‘म हिँड्न सकिनँ, मलाई तान्नुस् ।’ प्रहरी अधिकृतले फत्फताउँदै भनेका थिए, ‘यो त संसारमै नभएको क्रान्तिकारी रहेछ, मर्न हिँड भन्दा तानेर लानोस् पो भन्छ !’


त्यति बेलाका प्रहरी अधिकृतहरूले बयान लिने बेला न्यूनतम मानवीय व्यवहार प्रदर्शन नगरेको अनुभव खड्काको छ । ‘बयान लिनेले म विक्रमसिंह थापा हुँ, मेरो हातमा परेपछि जस्तोसुकै कठोर मान्छेले पनि हामीलाई सहयोग गर्छ । तैंले पनि गर भने’ उनले लेखेकी छन् । आफ्नो नामको घमण्ड प्रदर्शन गर्दै बयान लिने अनौठो तरिका रहेछ त्यसबेला । सायद सत्ता र शक्तिको उन्माद थियो । तिनै प्रहरी अधिकारीको बुटको चोटलाई लेखकले यसरी सम्झेकी छन्, ‘मलाई जोडले लात्तीले हान्यो । म सिलिङबाट गुड्दै भुइँमा आइपुगें । रिसले चुर भएर ऊ बर्बराउन थाल्यो— यी आतंककारीलाई दया गरेर हुन्छ र कहीं ? लैजा यसलाई जंगलमा लगेर गोली हान्दे ।’


सँगै हिरासतमा रहेका कृष्ण सेन इच्छुक मारिएको खबर उनले प्रहरी हिरासतमै पाइन् । हत्याको खबरले उनमा उत्पन्न गराएको अनुभूति यस्तो छ, ‘सेन दाइको हिरासतभित्रै हत्या भएको खबर छापिए पनि त्यो कुरा साँचो हो भनेर हाम्रो मनमस्तिष्क मान्न तयार थिएन । प्रहरीले त्यति चर्को यातनामा पनि एक इन्च पनि आफ्नो आस्था नगुमाउने ती क्रान्तिकारी योद्धा साँच्चिकै सतीसाल हुनुहुन्थ्यो ।’ २०५९ जेठमा सेनको हत्या भएको थियो ।


प्रहरी र सेनाको हिरासतमा एक सय दिन बेपत्ता अवस्थामा रहेर जेल सरुवा हुँदाको ‘सुखद’ अनुभूति पनि उनले पुस्तकमा वर्णन गरेकी छन् । जेल चलान भएपछि उनी बाँचिन् । बेपत्ता अवस्थाबाट पर्खालभित्रको खुला दुनियाँमा पुगेकी थिइन् । वरिपरि ठूलो पर्खाल भए पनि जेल एउटा सानो संसार थियो । भद्रगोल जेलमा रहेका बेला २०५९ माघमा सरकार र माओवादीबीच वार्ता चल्यो । त्यसैबेला संगीता अदालतको आदेशले छुटिन् ।
सरकार र माओवादीबीच वार्ता भंग भएपछि फेरि युद्ध चर्कियो । माओवादी कार्यकर्ताको कठोर भूमिगत यात्रा सुरु भयो । र, सुरु भयो संगीताको भूमिगत जीवन । माओवादीको सञ्चार विभागमा काम गर्ने संगीता भूमिगत रेडियो चलाउने भन्दै काभ्रेको पहाडी भूभागतिर लागिन् । त्यो अवस्था हेर्दा राज्यविरुद्ध माओवादीले सशस्त्र आक्रमण मात्र होइन, सञ्चारको आक्रमण त्यत्तिकै दह्रो बनाएको मान्न सकिन्छ । ओढारबाट सुरु भएको खड्काहरूको रेडियो यतिबेला भने लाइसेन्स पाएर सहरमा बजिरहेका छन् । अब ओढारको रेडियो इतिहास भइसक्यो, संगीताको सम्झनाझैं ।


माया प्रेमलाई कुनै युद्ध वा भूगोलले छेक्दैन भन्ने भनाइ सही हो । माओवादी युद्धका बेला सयौ युवायुवती माया प्रेममा परे, विवाहमा बाँधिए । तीमध्ये एक हुन्— लेखक संगीता । जुन कुरा उनले पुस्तकमा सरल तरिकाले लखेकी छन् । ‘२०६० पुस ९ गते शैलेन्द्र घिमिरे (राजन) रेडियो टिममा आइपुग्नु भयो । भौगोलिक विकटता र सम्पर्कको माध्यम नहुँदा हामीबीच महिनौँसम्म सम्पर्क भएको थिएन । मनभित्र रोपिएको प्रेमलाई हामी दुवैले टाढैबाट हुर्काइरहेका थियौं ।’ युद्धमै प्रेम र विवाह गरेको यो जोडीको यात्रा जारी छ । रेडियो सञ्चालन गर्दा सेनाको घेराबन्दीलगायत भोगेका र देखेका जटिलताको सविस्तार व्याख्या पुस्तकमा छ ।


काभ्रेबाट आधा महिना हिँडेर स्याङ्जा, पाल्पा पुगेको मार्चका कथा यो पुस्तकमा छन् । माओवादीले शाही शासनका बेला ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ नीति लिएपछि बुटवल क्षेत्रमा युद्धमा प्रत्यक्ष सहभागी भएर ‘वार रिपोर्टिङ’ गरेको अनुभव यसमा समेटिएको छ । २०६२ मा रुकुम पूर्वको चुनबाङ बैठकको प्रभाव उनको जीवनमा पर्‍यो । गाउँतिर भूमिगत भएको जीवन जन्मथलो काठमाडौं फर्कन पाउनु व्यक्तिगत र राजनीतिक दृष्टिकोणले अर्को प्रस्थान विन्दु थियो । माओवादीले बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक कार्यदिशा लिएपछि यो अवस्थामा आइपुग्यो । स्याङ्जा, पोखरा हुँदै उनको ‘वार जर्नालिज्म’ सहर पस्यो । भूमिगत जीवन खुल्दै गयो, उनको पत्रकारिता पनि सहर केन्द्रित हुन थाल्यो ।


२०६२ मंसिरमा माओवादी र कांग्रेस, एमालेलगायत दलसँग १२ बुँदे समझदारी भएपछि शाही शासनविरुद्ध आन्दोलन चर्कियो । जसले संसद् पुनःस्थापना हुँदै राजाका अधिकार कटौती गर्दै संविधानसभातिर लग्यो । संगीता खड्कालाई पनि त्यो राजनीतिक आन्दोलनले सहरतिर तान्दै लग्यो । हाल उनी सहरमै केन्द्रित छन् जसरी पूर्वमाओवादी पनि सहरमै कन्द्रित छ ।


‘युद्धका ती दिन’ का लेखक खड्का मिसन बोकेकी पत्रकार हुन् । विगतमा उनले माओवादी युद्धको सहयोगीका रूपमा ‘युद्ध पत्रकारिता’ गरिन् । यो एक मिसन लिएर हिँडेकी पत्रकारको भोगाइ हो । यो पढ्दा थाहा हुन्छ, सहरमा हुर्केकी उनको जीवन दुर्गम गाउँ, जंगलमा अभ्यस्त हुन अर्को युद्ध लड्नुपरेको छ । प्रहरी र सैनिक हिरासतमा पाएको यातना अकल्पनीय छ । बरु मर्न तयार, आस्थालाई बन्धकी नराख्ने अठोट किताबमा झल्किन्छ । खड्कालाई चिन्नेहरूलाई थाहा हुन्छ, उनी जस्तो लवजमा बोल्छिन्, लेखाइ पनि त्यस्तै छ— सीधा । उनको यो यात्रामा प्रत्यक्ष गाँसिएका दर्जनौं पात्रलाई उनले भुलेकी छन् । उनीहरूलाई किताबमा सँगसँगै हिँडाउन सकेको भए किताब जीवन्त हुने थियो ।अब उनी त्यो युद्धमा फर्कने छैनन् र युद्धका दिन भोग्नुपर्ने छैन । खालि सामुन्नेमा एउटै प्रश्न खडा छ— के युद्धमा देखेको उनको सपना पूरा भयो ?

प्रकाशित : श्रावण २५, २०७६ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?