कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नयाँ कवि, पुरानै कविता

के प्रेममाथि लेखिएका कविता कमजोरी हो ? के काव्यको भाषामा जन्मभूमिको जयजयकार गर्न सकिँदैन ? देवीदेवताबाहेक मानिस, प्रकृति, आविष्कार, जनजीवनको पनि त स्तुति हुन्छ । कविता आलोचनाको कारखाना मात्र होइन, उत्सवको अनुष्ठान पनि हो ।
राजकुमार बानियाँ

म कवि होइन  । भीडमा कुनै रुचि छैन  । भीडसँग अलि परै भाग्न मन लाग्छ । तर, कुन्नि किन हो, ‘अनुहारको भीड’ पढ्नचाहिँ अलिक हतारिएछु । विक्रम संवत् ०७० को सुरुआतमा लेख्न थालेका १७ कविको एकमुष्ट संग्रहप्रति महत्त्वाकांक्षी भएँ सायद ।

नयाँ कवि, पुरानै कविता

यी कवि कसैको फुटकर रचना मात्र आएको छ भने कसैको त त्यो पनि छैन । सबैभन्दा पहिले मैले युवासुलभ प्रेमकविता नै खोजें । तर, कताकता प्रेममाथि नै एकखाले छुवाछूतबोध भयो । कविहरूले नै प्रेमलाई दुर्लभ बनाएपछि के हुन्छ ? यो समाज स्वयं भुक्तभोगी छ । के यो प्रेमको समय होइन ? आखिर गधापच्चीसी नै ननाघेका कविहरू प्रेमबाट किन भागिरहेका छन् ?


नेपाली बृहत् शब्दकोशअनुसार उमेरका हिसाबले जवान तर विवेक र बुद्धिमा प्रौढता नआएको अवस्था नै गधापच्चीसी हो । अर्थात् १६ वर्षमाथि र २५ वर्षमुनिको चञ्चलता, अस्थिरता र उच्छृंखलताको सम्भावना भएको अवस्था । प्रगतिशील कित्ताप्रतिको बफादारिता नै हो भने पनि तिनले नाम लिइरहने चिलीका कवि पाब्लो नेरुदाले भनेकै छन्, ‘आन्दोलन गर्नु र प्रेम गर्नु एउटै कुरा हो ।’ प्रेमका कविता नलेखीकन त्यसको गहिराइ नाप्न मात्र होइन, अन्य तत्त्वबोध पनि हुन सक्दैन । हृदयको भाषा पोखिएको हुन्छ प्रेमकवितामा । कवितामा प्रेमको अलौकिक अनुभव खोइ ?


उसो त प्रेम शब्द राख्नेबित्तिकै त्यो कविता भइहाल्दैन । शीर्षक छ, अनुभूति छैन भने त्यसको कुनै अर्थ छैन । कवितामा प्रेम नै छैन भने सेक्स कसरी होओस् ? प्रेममै स्वप्रतिबन्ध छ भने सेक्समा किन नहोओस् ? साँच्चै भन्ने हो भने नेपाली कवितामा मात्र होइन, साहित्यमै सेक्स छैन । त्यसैले पठनीयता एकदमै कमजोर छ । वास्तवमा प्रेम एकखाले स्तुति हो । सबैखाले स्तुति नराम्रा अवश्य हुन्नन् । के कवि ऋतुको उपासक हुन सक्दैन ? के प्रेममाथि लेखिएका कविता कमजोरी हो ? के काव्यको भाषामा जन्मभूमिको जयजयकार गर्न सकिँदैन ? देवीदेवताबाहेक मानिस, प्रकृति, आविष्कार, जनजीवनको पनि त स्तुति हुन्छ । कविता आलोचनाको कारखाना मात्र होइन, उत्सवको अनुष्ठान पनि हो ।


कविहरू निन्दामा ज्यादा विश्वास गर्छन् भने भाट कार्यकर्ताले भद्दा स्तुति गर्ने नै भए । निन्दा त भ्रष्ट कर्मचारी, चोर नेता अनि कालो बजारी पनि गरिरहेकै छन् । हाम्रो संस्कृति विशाल छ र उदार पनि । यहाँ पवित्र र अपवित्रमा केही फरक छैन, शरीर र आत्मामा फरक छैन, बाहिर र भित्रमा फरक छैन । ओपन र सेक्रेटमा पनि त्यतिसारो फरक देखिँदैन ।
‘अनुहारको भीड’ छिचोल्दा लाग्यो, कतै नयाँ कविहरूले पुरानै कविता लेखेका होइनन् ? नित्य नवीनता र रमणीयता किन छैन कवितामा ?
संग्रहमा एक कविका आधा दर्जन कविता समेटिएका छन् । अनमोल कँडेल कवितालाई अलि बौद्धिक, दार्शनिक र रहस्यदर्शी बनाउन खोज्छन् । भूत बंगला, प्रेतात्मा, मुर्कुट्टा आदि विम्बहरू मार्फत समाजको मानसिक बिमारी खोतल्छन् । अतिवादविरुद्ध बोल्छन्, ‘नदेखाऊ अब दस टाउके ईश्वर, नबेच ख्रिस्टको क्रुसिफाइड तस्बिर अनि नघोकाऊ कम्युनिस्ट मेनिफेस्टो ।’ अर्पण उत्कर्षको काव्यिक पेग राजनीतिक विमति हो । सिंहदरबार, क्रान्तिनायक, चियापान कविता मार्फत उनले राजनीतिक झटारो हानेका छन् । मलेसियाको कामदारको मद्यपान राजकीय मूत्रपानभन्दा कैयौँ गुना जनवादी लाग्छ रे उनलाई । विवश बाबुको कवि नजर समसामयिक घटनामा ज्यादा छ । उनले बा र कमिजजस्ता सम्बन्धका केही कविता लेखेका छन् । विनय सरगमका कवितामा वैयक्तिक अनुभूति मुखर छ । कोमल शब्द र प्रकृतिका विम्बहरू खेलाउँछन् । एक थोपा पानी, यी हातबाट सबैसबै खसिजानेछन्, एउटा गुलाब, ढुंगा आदि त्यसका उदाहरण हुन् ।


विष्णु संन्यास मौलिक विम्बहरूको खोजीमा छन् । उनका कवितामा उदासी र निराशाका गाढा छाया छन् । उनलाई लाग्छ, ईश्वरहरू भन्नु संसारकै सबभन्दा खतरानाक शासक रहेछन् । जनक कार्की मानिसका कुरूपता, बिरामी सहर र हरामी समयका कविता कविता लेख्छन्, र भन्छन्— एउटा सियोको आवश्यकता छ यतिबेला । बुटवलकी जयन्ती सरगम नारीजन्य अनुभूतिहरूलाई कवितामा सविस्तार पोख्छिन् । दिलमाया, फूलमाया, भरिया बा, लाफाहरू उनका कविताका पात्र हुन् । मौनताको बर्को फालेर आगो र आँधीको उद्घोष गर्नु उनको कविताको ध्येय हो । विराटनगरका मनोज मुस्किल सरल र सहज कविता लेख्छन् । मानवीय संवेदनालाई सूक्ष्म रूपमा प्रकट गर्नु उनको विशेषता हो । रौतहटका मनोज विश्वकर्मा प्रेम र जीवनलाई आत्मसात् गरेर लेख्छन् । उनी लेख्छन्— डियर जिन्दगी ! तिमी सन्चै छौ ?


निर्भीकजंग रायमाझी सम्भावना बोकेका कवि हुन् । उनको कविता रूखमुनिको छाया पठनीय छ । छोटो, मीठो र चुट्किलो कविता लेख्छन् नेपालगन्जका रसिक राज । कविताको शक्ति सायद उनले बुझेका छन् । मान्छेविरुद्ध बन्दुक नचलोस्, मान्छेविरुद्ध पर्खाल नलागोस् भन्ने मंगल कामना छ, समर्पणश्रीको । उनको पर्यावरण कविता ‘रूख काटिएपछि’ मा प्रवाह छ । सम्पदा रिजाल नारी संवेदनाका कविता लेख्छिन्, कोमाटोज, भिडियो एक्सरेको डप्लर, जाइगेट आदि मेडिकल साइन्सका शब्दहरूसित । उनको कवितामा नेपाली समाजको चित्रण छ । शरद ऋतु कवितामै सोध्छन्, ‘थाहा छ मलाई, मानवीय प्रेम सबैभन्दा सुन्दर कुरा हो । प्रिय के म तिम्रो प्रेमको योग्य छैन ?’ शिखर भट्टले पितामाथि लेखेका केही कविता संवेदनशील छन् । सुरज रानाका ‘ओ बाहुनी’ र ‘लेस्बियन छाया’ कवितामा ग्ल्यामर छ । नवीन प्यासी अनुभूतिजन्य विम्बात्मक कविता लेख्छन् । तिनमा एक खाले रुमानी भावहरू छन् ।


अझै पनि प्रश्न छन्, कवि र कविता कविबीच दूरीबारे । आफैंप्रति इमानदारी नभए कविताको असलीपन हराउँछ । अझ आम कविहरूको समस्या भैसक्यो, रिमाल–भूपी रिराइटिङ (पुनर्लेखन) । ८० वर्ष पुरानो क्रान्तिकारी धङधङीमा चिल्लापाते कविहरू नै ‘पोलिटिकल’ र ‘भाइरल’ हुने भ्रामक आकांक्षामा देखिन्छन् । त्यसको गरिमा बुझेर नयाँ कथ्य, शैली र शिल्पको खोजीमा लाग्नुपर्नेमा त्यसमै बन्दी भएर बसेका छन् । वास्तवमा हाम्रो काव्यिक जीवन राजनीति, गरिबी र भोकको चित्रणमै अलमलिएको छ । अलिकति थपिएको भनेको पनि भद्दा राजनीति नै हो । एकैखालका स्वर, विम्ब र अनुहारका कारण कविताको ओज र तेज ओरालो लाग्दै गयो । सबै पुस्ताका कविको अधिकांश समय व्यवस्था ढाल्नमै खेर गयो । व्यवस्था ढालिसकेपछि स्वयं ढल्यो कविता । मानवीय सम्बन्धबारे कविता खासै लेखिँदैनन् । कवितामा विविधता छैन । रिमाल–भूपी स्कुलमा आलोचना या विरोध स्वर उँचो छ । राजनीतिक अभियानमा कविहरू कति धेरै कुद्छन् भने नेताभन्दा ज्यादा थाकेर सराप्न थाल्छन् । राजनीतिक वितृष्णामात्रै पोखिँदा कविता थङथिलो भइसकेको अवस्था छ ।
यो संग्रहका कविहरू कविताका नयाँ दूतहरू हुन् । तिनले लेखेका कुराले पक्कै अर्थ राख्छन् । तिनले समय कटनी या शब्दविलासका लागि मात्र लेखेका होइनन् अवश्य । तिनलाई थाहा छ, कविताको आविष्कार नै थोरैमा धेरै भन्नलाई भएको हो । तर, धेरैमा थोरै पनि भन्न नसक्नु वा थोरैमा केही पनि नभन्नु नै कविको असफलता हो । हरेक हरफ समृद्ध बनाउने सामर्थ्य राम्रो कविमा हुन्छ ।


भावना, कल्पना र विचारको त्रिवेणीमै काव्य पुष्पित र पल्लवित हुन्छ । भावनाले रसमयता ल्याउँछ र कविता मार्मिक हुन्छ । कल्पनाले सौन्दर्य सिर्जना हुन्छ र कविता सुन्दर हुन जान्छ । विचारले गम्भीरता पैदा गर्छ अनि कविता बौद्धिक र चिन्तनमूलक बन्छ । यी तीनै तत्त्वको अभूतपूर्व संगतिमै कविहरू चम्किन्छन् । कविशिरोमणि लेखनाथ पौडेलका कविता पढ्दा त्यो विराट प्रतिभा साक्षात्कार हुन्छ । छन्द होस् वा गैरछन्द, कविता तरल भाव वा विचार प्रवाहित रहने लय हो । त्यही लय, यति र गतिले गद्य कविता विशिष्ट बन्छ । हाम्रो समस्या कविताको सिर्फ फर्म्याट मात्रै छ । यी कविहरू अधकल्चा कविताहरूमै वाहवाही बटुलिरहेका छन् । तिनलाई सुन्दर र मधुर बनाउने काम बक्यौतामै छ । कविहरूले आफैंसित एकफेर सोधे पनि हुन्छ, सिर्जनाको आनन्द आफैं मात्र लिने कि पाठकलाई पनि दिने ?


उस्तै उस्तै कविता र भाव प्रस्फुटन नभइसकेका कविता झेल्न मुस्किलै हुन्छ । सरसर्ती मूल्यांकनमा यी १७ कविको स्तर औसत छ । अध्ययन, मिहिनेतमै भर पर्छ, कविको उचाइ । यद्यपि कवितामा लगाव आफैंमा खराब होइन, जे लेखे पनि कविता हुन्छ भन्नु या अपेक्षाकृत सिर्जनशील हुन नसक्नुचाहिँ कमजोरी हो । मान्छे र मानवता, प्रेम र जीवन, समाज र राजनीति, आस्था र विश्वासबारे कविहरूको काव्यिक उद्गार उस्तै छ । भीडबाट उम्किएर काव्याकाशमा छुट्टै अस्तित्वसहित उदाउने कवि हुनु सजिलो छैन । यति भन्दैमा नयाँ कविहरू हतास हुनु पर्दैन, आफ्नो काव्य प्रतिभालाई निजत्वसहित तिखार्ने, उजिल्याउने र चम्काउने स्वर्ण समय छँदै छ ।


नयाँ कविहरूले क्षणिक आत्मरति गरिरहने हो भने राम कार्कीहरूले फेरि पनि भनिरहनेछन्, ‘कविता लेखे पो पढ्नु ! कसैको व्यक्तिगत कुण्ठा किन पढ्नु ?’

प्रकाशित : श्रावण ३२, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?