कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बीपीबारे फाटफुट सम्झना

२००८ सालमा केशरशमशेर राणाले नेपाल सांस्कृतिक परिषद् नामको संस्था खोलेका थिए । त्यसको अध्यक्ष विश्वेश्वरप्रसाद कोइराला नै थिए । त्यस संस्थाको बैठकमा उपस्थित हुन नयराज गुरुले मलाई पठाउनुभएको थियो ।
ज्ञानमणि नेपाल

 
बिसं २००७ सम्म मैले बीपीलाई देखेको थिइनँ, उनका साहसका कथाचाहिँ सुनेको थिएँ  । सं २००४ मा विराटनगर जुटमिलका मजदुरहरूले विभिन्न माग राखी हडताल गरेका थिए  ।

बीपीबारे फाटफुट सम्झना

यस हडतालमा बाहिर भित्रबाट सञ्चालन गर्ने उक्साउने कार्य गर्ने ३ सालदेखि भारतमै बसेर राष्ट्रिय कांग्रेस पार्टी खोलेका नेता थिए, तिनलाई राणा सरकारले पक्राउ गर्‍यो । मनमोहन अधिकारी आदि केही नेताचाहिँ विराटनगरमा कोही धनकुटामा थुनिए । बीपीलाई काठमाडौं ल्याउन पक्रेर पहरासाथ पहाडैपहाडको बाटो अड्डासार गरी लगिँदै थियो ।

भोजपुर बजारमा पुर्‍याउँदा मेरा भानिज दाइ पं. देवनारायण भट्टराई पनि त्यहीँ रहेछन् छत्रप्रधानको दोकानमा, त्यसको पूर्वपट्टिको दोकानको पेटीमा बसेर बिसाउँदै गर्दा केही मानिस उनलाई हेर्न झुरुप्प भएछन् । तिनलाई सम्बोधन गर्दै बीपीले उत्तेजक भाषण गर्दै टेक्दै आएको लठ्ठी ढुंगा छापेको भुइँमा बेस्सरी बजारेछन्— हेर्नुहोस् मलाई अहिले यी पहरा पाले साथ काठमाडौंमा राणा शासनले जेलमा थुन्न भनेर लाँदैछ, राणाशासन यो मैले टेकेको बाँसको लठ्ठीजस्तै छ, हेर्दा यो लठ्ठी कति बलियो देखिन्थ्यो । विराटनगरदेखि टेक्टै यसकै सहाराले म यहाँ आइपुगेको छु, तर यसलाई भुइँमा बजार्दा एकै चोटमा यो चारचिमर भएर फुट्यो । त्यस्तै हो, राणासरकार पनि यही बाँसको लठ्ठीजस्तै, तपाईंहरूले देख्ता त्यो सरकार बलियो देख्नुहुन्छ, परन्तु एकपल्ट विराटनगर जुटमिलकै हडतालजस्तै अधिराज्यभर तपाईं हामी उठेर एक धक्का दियौँ भने यो बाँसको लठ्ठीजस्तै भएर त्यो राणाशासन पनि फुटेर मासिन्छ । उनले त्यसो भन्दा मानिसहरू छक्क पर्दै परर्र ताली पिटेका थिए रे भनेर मालदाइले मलाई सुनाएका थिए र तिमीजस्तै अनुहार परेका अलिक गोरा ठ्याक्कै तिम्रोजस्तै लामो नाक भएका भनेर मेरो नाक समाएका थिए । कति साहसी कति निडर चतुर तिमी पनि त्यस्तै हुनुपर्छ है पनि भनेका थिए । यो पदमशमशेरका पालाको कुरा हो । यसपाला उनी चाँडै जेलबाट छुटेर भारतै गएका थिए । त्यसकै अर्को साल विश्वेश्वरप्रसाद कोइराला केही साथीसाथ फेरि काठमाडौं पसेका थिए, वीरगन्जतिरबाट आउँदा राहदानी लिएर मात्र प्रवेश पाइने हुँदा कोही बेपारी, कोही पण्डित विद्यार्थीहरूको रूपमा जनकपुरबाट पसेर सिन्धुलीको बाटो काठमाडौं आएका थिए ।


कांग्रेसी नेता पसेका छन् भन्ने सुराक पाएर मोहनशमशेरका जासुसहरू छ्यापछ्याप्ती थिए । तिनबाट विश्वेश्वरप्रसाद कोइराला बसेको घर पत्ता लगाएर उनी पुनः पक्राउ परे । जेलमा उनलाई असाध्यै दुःख दिइयो । मोहनशमशेरले उनलाई कायल काबु पार्न खान बस्न सुत्न साह्रै पीडा दिए । बाहिरका मान्छे भेट्नसम्म पनि दिइँदैनथ्यो । यस्तो कष्ट–पीडा भोग्नुपर्दा उनले आमरण अनशन बस्नेजस्तो कठोर निर्णय गरे । यसबारे थाहा पाएपछि यो खबर बाहिर नपुगोस् भनेर मोहनशमशेरले निगरानी झन् कडा पारे । बीपीले पनि बडो जुक्ति खियाएर त्यहीँको पालेलाई हात, लिएर आफू अनशन बसेको खबर बाहिर पुर्‍याए । त्यसपछि मोहनशमशेरलाई दबाब पर्न थाल्यो । अनशनका दिन बढ्दै गए, मोहनशमशेर चिन्त्ता पनि चढ्दै आयो र बीपीलाई धाक–धम्की लाएर वा फकाई फुल्याई माफी मगाउन उनी चाहन्थे । र ‘राजा हुन खोज्छौ, त्यसै राजा हुन पाइँदैन, राजा हुन त पुर्पुरोमा लेखेको हुनुपर्छ, पुर्पुरोमा’ भनेका थिए ।


बीपीको अनशनको २३ दिन पुगेपछि छटपटी पनि बढ्यो मोहनशमशेरलाई डर पनि पस्यो ब्रह्महत्या लाग्छ कि भन्ने भो । र माफी नै मगाउनुपर्‍यो भन्ने ध्येयले विश्वेश्वरप्रसादकी आमा दिव्यादेवी र श्रीमती सुशीला कोइरालालाई तुरुन्तातुरुन्तै झिकाएर हाजिर गराएर भने— हेर छोरालाई बचाउन चाहन्छौ भने बज्यै छोरालाई गएर सम्झाऊ है, तुरुन्त माफी माग्न लाऊ होइन भने छोरो मर्ला । दिव्या कोइराला पनि लरतरकी जमामर्द थिइनन् । कत्ति पनि डगमगाइनन् र मोहनशमशेरलाई ठाडै जवाफ फर्काइन्— महाराज ! तिमीहरूले मेरा श्रीमान्लाई पनि यसरी नै यही जेलमा कोचेर मार्‍यौ, त्यहीँको कालमोचन घाटमा दागवत्ती दिएर गएँ, त्यस्तै मेरा छोरालाई पनि मार्छौ भने मार, म त्यसैगरी दागबत्ती दिएर जानेछु । मेरातर्फबाट कदापि माफी माग्नेछैन, मेरा छोरालाई पनि हर्गिज माफी मगाउने छैन भन्ने वीरांगनाको वीरवाणी सुनेर महाराज मोहनशमशेर नाजवाफ भए । बीपीका अदम्य साहसका कथा उनका जीवनमा अरू पनि छन् । आफ्नो जीवनलाई जोखिममा पारेर पनि आफ्नो सिद्धान्तमा अडिरहने व्युत्पन्न प्रतिभाका धनी उनको यस्तो शौर्यवीर्य साहसीपना रजोवीर्यबाटै अनुप्राणित हुँदै आएको प्रतीत हुन्छ ।


सिद्धान्तनिष्ठ पिता कृष्णप्रसाद र माता दिव्यादेवीका पुत्र विश्वेश्वरप्रसाद कोइरालाको प्रतिभा अत्यन्त बेजोडकै थियो । उनले एकपल्ट भेटेको मानिसलाई कहिलै बिर्संदैनथे र कसैसँग एकपल्ट संवाद भएपछि यो मानिस यति पानीमा छ भन्ने कुरा पनि ताडिहाल्थे । मसँग उनको भेटघाट परिसंवाद धेरैपछि उनको पछिल्लो कालमा मात्र हुन थालेको थियो ।
०८ सालमा केशरशमशेर राणाले नेपाल सांस्कृतिक परिषद् नामको संस्था खोलेका थिए । त्यसको अध्यक्ष विश्वेश्वरप्रसाद कोइराला नै थिए । अरू कवि साहित्यकार इतिहासकारहरू पनि राखिएका थिए । त्यसका सचिव ईश्वर बरालद्वारा लिखित एक निम्तापत्र हाम्रो पाठशालामा पनि आयो । त्यस संस्थाको बैठकमा उपस्थित हुन नयराज गुरुले मलाई पठाउनुभएको थियो । बीपीसँग भेट हुने सो अवसर थियो । तर उनी सो बैठकमा उपस्थित भएनन् बालचन्द्र शर्माको अध्यक्षतामा बैठक सञ्चालित भयो । ०७ सालमा राजा त्रिभुवनले आफू संवैधानिक राजा भएर बस्न चाहेका थिए र जनताको लागि जनताले चुनेका जनप्रतिनिधिको संवैधानिक परिषद्को चुनावको घोषणा गरेका थिए । जनगणनाचाहिँ भयो, तर चुनाव भएन । त्रिभुवन बिरामी भएर चाँडै बितिगए । नयाँ राजा महेन्द्रले संवैधानिक भएर बस्न चाहेनन् र केही पार्टी नेतालाई हात लिएर तिनैद्वारा संसद्को चुनाउ हुनुपर्छ भन्ने आवाज उठाए । संविधानसभा कि संसद् भन्ने गलफन्दीमै चार वर्ष बिते । आखिर राजाकै जित भयो र त्रिभुवनले दिएको संविधान खारेज गरेर महेन्द्रले संसदीय चुनाउ गर्ने अन्तरिम संविधान बनाए । त्यसअनुसार राजाकै हात माथि हुने संवैधानिक अधिकार राजामै सुरक्षित हुने संसदीय संविधान बन्यो त्यसैअनुसार सं २०१५ मा संसद्को चुनाउ भयो, दुईतिहाई बहुमतले कांग्रेस विजयी बन्दा बीपी प्रथम निर्वाचित प्रधानमन्त्री बने । बीपीकै पालामा पूर्वकै एक मन्त्रीको नेतृत्वमा दुई तिहाई नम्बरका सांसदको दल पूर्वाञ्चल भ्रमणमा आयो । त्यस बेला म संस्कृत पाठशाला खोलेर पढाएर घरमै बसेको थिएँ, मन्त्री सांसद चिनेकै रहेछन् । मन्त्रीसँग भेट गरिन्, सांसदसँग भेट भयो । ‘दाजु ! तपाईं घर नबस्नुहोस्, काठमाडौ जाऊँ सान्दाजु तपाईंहरूको पढाइबाट प्रभावित हुनुहुन्छ, तपाईंलाई पनि चिन्नुहुन्छ, उहाँबाट पढाइ स्वीकृत गराऊँ भनेर ढिपी नै गरेका थिए । मैले हँ पनि भनिनँ ना पनि गरिनँ ।’


नयराज गुरु पाठशाला स्वीकृत गराउन अघि नसरी, काम हुँदैन भनी मनमनै सोचेँ र चुपै रहेँ । सान्दाजु मलाई चिन्नुहुन्छ भन्दा अचम्म लागिरहेको थियो । उनीसँग मेरो भेटघाट भए पनि बोलचाल कहिलै भएकै थिएन चुनाउमा पनि मैले पार्टीका उम्मेदवारलाई भोट हालेकै थिइनँ । नयाँ राजाले दिएको संविधानको ५५ धारा प्रयोग गरी जुनसुकै वेला मन लाग्ने साथ निर्वाचित पार्टी सरकार विघटन गरी आफैं शासन चलाउँछन् भन्ने मनमा निश्चिय भएको थियो । मैले पहिले उमेदवारहरूलाई भनेको पनि हो । लेखेको पनि थिएँ, व्यर्थको देशको धनश्रमको नास हुन्छ भनेर । मसँग स्थानीय नेता रिसाए पनि । पछि हुन पनि त्यस्तै भयो, दुई तिहाई बहुमतले निर्वाचित प्रजातान्त्रिक सरकार डेढ वर्ष पनि पूरा चल्न पाएन, राजाबाट सरकार विघटन भयो । प्रधानमन्त्रीलगायत मन्त्री सांसद थुनामा परे । सबै पार्टी प्रतिबन्धित भए । थापा शासन राणाशासनको पछि शाही शासन सुरु भयो । राणाले १०४ वर्ष शासन गरेपछि म पनि ५० वर्ष शासन गर्छु भन्ने मन बनाएर राजाले उमेद पनि राखेका थिए । संवैधानिक भएर बस्ता धेरै समय रहिन्छ भन्ने किन सोचेनन् ?


बीपी ८ वर्षसम्म यहाँ जेल परेपछि पुनः आठ वर्ष निर्वासनमा बसे । बीपी आठ वर्ष जेल बसेपछि उपचारका लागि भनेर छुटेर जाँदा विराटनगर भएर गएका थिए । म त्यसवेला विराटगरमै थिएँ । उनको स्वागतका लागि मानिसको टिनु लागेको थियो । भोलिपल्ट उनी निर्वासित आफ्ना कार्यकर्ता बसेको फारबिसगन्ज जाने भएका थिए । त्यसवेला फारबिसगन्जमा भोजपुर, विराटनगरका अरू जिल्लाका निर्वासित कार्यकर्ता बस्थे, मलाई पनि भोजपुरका एक जना साथीले जाऊँ गुरु, भनेर लिएर गएका थिए । बजार अड्डा आउँदामा भेला भएर जाने निधो भएको रहेछ । हामी पुग्दा रिजर्भ गाडी भरिएर हिँडिसकेछ । साथीले त्यहाँ आफैं जाने भनेर उभिरहेका थियौँ, त्यतिखेरै गिरिजाप्रसादले हाँकेको जिप त्यही आइपुग्यो, शैलजाले हातको इसाराले बोलाइन्, हामी चढ्यौँ । फारबिसगन्जको एक ठूलो हलमा भरिभराउ मानिस रहेछन् । बीपीले आफ्ना कार्यकर्ताहरू वनबास लागेर दुःख पाएको भने र यस तपस्याको फल एक दिन अवश्य मिल्नेछ भन्दै सहानुभूति प्रकट गर्दै ढाडस दिए । आफ्नो पनि दुःख परिस्थिति त्यस्तै थियो भन्दै सम्झाए ।


कतिपय कार्यकर्ताले भने— हाम्रो यो भुक्तमान चाँडै सकिने थियो १९–२० कै आन्दोलनले नै यो शाही शासनलाई भत्काउने नै थियो, यदि सुवर्णशमशेरले आन्दोलन नरोकिदिएका भए । यस्तो सुनेर बीपी अत्यन्त गम्भीर बने । तिमीहरूले सुवर्णप्रति अलिकति पनि अन्यथा सोच्नु हुँदैन, त्यसबेलाको परिस्थितिले आन्दोलन स्थगित गर्नु बाध्यता थियो । हामी सबै नजरबन्दमा थियौँं । बाहिर बसेर ठूलो पार्टीको ठूलो अभिभारा उनकै काँधमा थियो । सबै पार्टीका साथीलाई उनैले साथ दिएर समालेर राखेका थिए भनेर धेरै सम्झाए । नभन्दै निर्वासित सम्पूर्ण नेता कार्यकर्ताहरूको भान्सा उनैको खर्चबाट चल्थ्यो । कतिपय नेताहरूले जीवनवृत्ति नगदै पनि पाउँथे । एक जना पूर्वसांसदले मलाई भनेका थिए— सुवर्णशमशेरको नेपालको श्रीसम्पत्ति रोक्का भइरहेको थियो । साथमा पार्टीका लागि चालू खर्च नपुग हुँदा कलकत्ताको घडेरी जमिन १६ लाखमा बेचेर पनि खर्च चलाएका थिए रे । त्यहाँको माहोल शान्त भएपछि सबैले एकएक गरेर बीपीसँग एकान्त गरेर आफ्नो व्यक्तिगत र जिल्ला समस्या सुनाएका थिए । मेरो त्यस्तो एकान्तको सुनाउने सोध्ने कुरो नहुँदा मैले एकान्त गरिनँ, देखादेख मात्र भै मुखमुख केही भएन । केवल सामूहिक फोटाचाहिँ खिचाएपछि हामी हिँड्यौं ।


२०२५ सालमा निर्वासनमा रहँदा उनी बनारसको सारनाथ बस्थे । म बनारस जाँदा सारनाथको पुस्तकालय गएर पुस्तक किन्ने पढ्ने गर्थे । धेरै सिपाहीले पहरा दिएको एक घरमा उनी बस्ता रहेछन् । एक दिन म पुग्दा उनी बाहिरतिर गएका रहेछन् । सुशीला भाउजू, जगन्नाथ आचार्यहरू रहेछन् । त्यसबेला पनि भेट भएन । त्यसको केही समयपछि धरान पिण्डेश्वर महाविद्यालयका छात्रसंघका दैवज्ञराज न्यौपानेलगायत केही सदस्य बनारस गएर विश्वेश्वरप्रसाद कोइरालासँग भेट गर्न सारनाथमा पुगेछन् । परिचयको प्रसंगमा सबैले आफ्नो नाम, थर, वतन बताउँदै चिनापर्ची गरेछन् । दैवज्ञराज न्यौपानेले भोजपुर सिक्तैलगोगने भन्नेबित्तिकै ‘ए तिमी ज्ञानमणि नेपाललाई चिन्दैनौ’ भनेर बीपीले सोधेछन् । ‘किन नचिन्नु, उहाँ त हाम्रो गुरुघराना नै हुनुहुन्छ, मेरा हजुरबाले उहाँकै हजुरबासँग पढेको हो’ भनेपछि बीपीले झट्ट भनेछन्, ‘उनी त बडो बेस मान्छे उनीसँग संगत गर्नू, सोचेर काम गर्नू ।’ उनको यो कुरा सुन्दा दैवज्ञराज छक्क परेछन् । ‘ज्ञानमणि गुरुसँग कसरी बीपी प्रभावित भएका रहेछन् भनेर उनको मनमा खुलदुली भएछ र पछि मसँग भेट हुनेबित्तिकै दैवज्ञले यो प्रसंग सुनाएर मलाई सोधेका थिए ।


बीपीसँग न मेरो चिनापरिचय न त संवाद भएको थियो । ०१६ सालमा उनी प्रधानमन्त्री हुँदा पूर्वाञ्चल भ्रमणमा गएका सांसदले बीपीले मप्रति सहानुभूति राखेको सुनाएका थिए । झन् उनीहरूले त जाऊँ काठमाडौं र तपाईंको पाठशालालाई पनि स्वीकृत गराऊँ पनि भनेका थिए । नयराज गुरु अघि नसरी त्यो काम नहुने हुँदा म अघि सरिनँ । विश्वेश्वरप्रसादले मलाई कसरी चिने, कसरी मप्रति प्रभावित भएका थिए भने हाम्रो पाठशालामा परीक्षा प्रणालीको त्रिखण्डी पढाइ हुँदैनथ्यो । नियममा रही ग्रन्थ कण्ठस्थ पार्ने पढाइ हुन्थ्यो । त्यसले अनुसन्धान पद्धति पनि चलाएको थियो । ब्रह्मचर्याश्रममा पढाएर बसेको बेला ०७ सालमै दुइटा संस्कृतका लेख एउटा गद्यमा अर्को पद्यमा लेखेर अयोध्याबाट निस्कने संस्कृतंमा प्रकाशनार्थ पठाएँ । ती दुई लेख त्यहाँ छापिए । अरू लेख पठाइनँ, त्यति लेखबाट त्यहाँका विद्वान् अति प्रभावित भएछन् र मलाई ‘विद्याविशारद’ भन्ने पदवी दिएर लामो अभिनन्दनपत्र लेखेर पठाएका थिए । कारणवश त्यसपछि भारतमा लेख प्रकाशनार्थ पठाइनँ । ०९ सालदेखि पाठशालाबाटै अनुसन्धानका पुस्तिका आफ्नै खर्चबाट ससाना निकाल्न थाल्यौं । हाम्रैतर्फबाट कौटिलीय अर्थशास्त्रको व्याख्या २ भाग र इतिहास संशोधनका ५ संख्या निकाल्यौँ ।


हाम्रो यस्तो पढाइ अनुसन्धानको गतिविधि, चर्चा–परिचर्चालाई विश्वेश्वरप्रसादजस्ता प्रतिभाशाली व्युत्पन्न व्यक्तिले नसुन्ने, नबुझ्ने, नपढ्ने कुरै थिएन । त्यसमा पनि उनकै अध्यक्षतामा खुलेको नेपाल सांस्कृतिक परिषद्बाट प्रकाशित हाम्रा दुई ठूलै पुस्तक ऐतिहासिक पत्रसंग्रह र जयरत्नाकर नाटक त उनले अवश्य हेरेका पढेका थिए । प्रतिभाशाली बीपीले मलाई चिन्ने जान्ने साधन यिनै मेरा पुस्तक–पुस्तिकाहरू नै थिए ।

प्रकाशित : श्रावण ३२, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?