कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

त्यो निसानीदेखि पल्तिर

मनप्रसाद सुब्बा

न शक्ति नै मागेँ न वरदान मागेँअमृत स्तनको एक बुँद मागेँसबथोक तिम्रै चढाऊँ के तिमीलाई म आफैंलाई आमा आज चढाएँ

त्यो निसानीदेखि पल्तिर

यसरी कला र विद्याकी अधिष्ठात्रीका चरणमा आफूलाई चढाएर पूर्णतः समर्पित थिए संगीत–कलाका अनन्य साधक गोपाल योञ्जन । संगीतमै समर्पित सयौं छन् हामीमाझ, तर सृजनात्मक संगीतमा गोपाल योञ्जनको उच्चता उक्लिनु बेग्लै कुरो हो । दार्जिलिङमा विशेष उत्साहसित सामूहिक उत्सवकै रूपमा बर्सेनि मनाइने सरस्वती पूजाको परम्पराको गहिरो प्रभावनै पनि प्रकटित भएको मान्न सकिन्छ केही हदसम्म गोपाल योञ्जनको यो गीत । नेपाली संगीत–संसारको क्षितिजमा उदित एक अत्यन्त प्रज्ज्वल प्रतिभा गोपाल योञ्जन जसले आधुनिक नेपाली सुगम संगीतलाई एक गौरवशाली क्रान्तिको मोडमा पुर्‍याएर हिमाली उचाइ दिए ।


आधुनिक नेपाली संगीतको विकास प्रक्रियामा दार्जिलिङपट्टिबाटका अत्यधिक प्रभावशाली दुई व्यक्तित्वहरू हुन् अम्बर गुरुङ र गोपाल योञ्जन । संगीत–सृजना अनि गीत–रचनामा उत्कृष्टताको उपल्लो तह उक्लेर झलमल्ल अग्ला उभिएका छन् यी कलासाधक लेजेन्डहरू । दुई तर आआफ्नै विशिष्ट पृथक् परिपाटीका । यस लेखमा भने केवल गोपाल योञ्जनको बहुआयामी सृजन–क्षमतामाथि सामान्य टिप्पणी कोर्ने धृष्टता छ यो एक सामान्य संगीत श्रोताको । संगीत सृजनामा गोपाल योञ्जन जति हृदयस्पर्शी छन्, गीत रचनामा उत्तिकै संवेदनशील । काव्यिक गरिमाका साथ उठेका उनका जीवन्त गीतहरू शब्द–चयन, विम्ब तथा प्रतीकको संयोजनाले अत्यन्त ओजमय लाग्छन् । तथापि त्यो काव्यात्मक ओज गीतको गेयतामा कतै बोझ बनेको छैन । बरु उनको काव्यिकताले गीतको सम्प्रेषणलाई मास्तिर उकासेर अरू बढी प्रभावी तुल्याएको छ ।


विविध भावयुक्त अनेकथरीका गीतहरू लेखे गोपाल योञ्जनले । लीन भइरहूँ लाग्ने भजनदेखि देशभक्ति तथा जातीय गर्वबोधका गीतहरू लेखेस मायाप्रीतिजन्य आनन्द र आघातहरूको उत्फुल्ल र मार्मिक अभिव्यञ्जनादेखि जीवन भोगाइका गहिरा अनुभूतिहरूलाई गीतको लालित्यमा पोखे । जे लेखे, वैशिष्ट्य झल्काएर लेखे । भक्ति गीतहरूमा विशेषतः उनी प्रचलित परिपाटीभन्दा पर पन्सिएको प्रस्ट देखिन्छ । सामान्य अर्थात् पारम्परिक ईश्वर–स्तुतिभन्दा फरक अभिव्यक्ति दिन्छन्, उनी आफ्ना भक्तिगीतहरूमा । यौटा दृष्टान्त—
बायाँ हातमा राखेँ सारा दुःखीलाई
दायाँ हातमा राखेँ मेरा शत्रुलाई
अनि जोडें दुई हात मेरो भगवान्
तिमीलाई गर्छु प्रणाम !
नेपाली भक्तिगीतमा यति मीठो समावेशी अभिव्यक्ति अघि सुनिएको थिएन । ईश्वरप्रतिको कोरा स्तुति हुँदैन उनको भजनाभिव्यक्ति तर हुन्छ त्यो एक उदात्त मनबाट प्रस्फुटित विश्वबन्धुत्वको भाव, एक अविचलित कर्मयोगीको इमानदारीपूर्ण मानवीय कर्ममाथि विश्वास अनि प्रेममय औदार्य ।
जबसम्म दुइ हात केही गर्न सक्छन् तबसम्म यी हात फैल्याई नआऊँ ।
भजनलाई उनी ईश्वर रिझाएर निजको निम्ति आशीर्वादको लालसा पूरा गर्ने माध्यम बनाउँदैनन् । उनको ईशास्था र भक्तिभाव पहाडको छातीमा उम्रेको पानीजस्तै चोखो छ । वसुधैव कुटुम्बकम् जस्तै सर्वसमावेशी भावयुक्त अर्को भजन छ उनको जसको पहिलो अन्तरा यहाँ राखूँ :
संसारमा जो छन् सबै तेरा सन्तान
संसारमा जे छन् सबै तेरो वरदान
पारम्परिक पारादेखि पर हटेर साँच्चै निर्मल भाव भज्छन् गोपाल योञ्जन ।


जातीय अस्मिताबोधका पनि केही बेजोड गीतहरू छन् गोपाल योञ्जनका । ती गीत सुन्दा नेपाली र नेपालीत्वमाथि गर्वबोधले छाती फुल्छ हरेक नेपाली मुटुको । सुमधुर संगीतको धुनमा तरंगमय बनेका गीत मात्र होइनन् ती तर सिद्ध कविको कविताझैं पढेरै पनि प्रशस्त स्वाद लिन सकिने जीवन्त छन् ती । ‘बनेको छ पहराले यो छाती मेरो’, ‘देशले रगत मागे,’ ‘मेरो टोपी’ जस्ता गीतहरू यस तहका केही नमुनाहरू हुन् । ‘कैलाशको शिरजस्तो अनि आमाको छातीजस्तो, नेपालीको नाम लाग्ने, ‘मेरो टोपी’ गीत सुनेपछि लाग्छ नेपाली टोपीको यत्ति मीठो विम्बात्मक काव्यिक महिमा गोपाल योञ्जनले जति अरू कुनै गीतकार तथा कविले गाएका छैनन् ।


जुन बेला गोपाल योञ्जन किशोर अवस्थाबाट गुज्रिरहेका थिए त्यस बेला जहिल्यै नेपाली टोपी, दौरा–सुरुवाल पहिरेर अगमसिंह गिरी कवि–गीतकारको आकर्षक व्यक्तित्वसित दार्जिलिङका सडक र गल्लीहरूमा हिंडिरहेका भेटिन्थे । गिरीको तीव्र जातीय अस्मिताबोधका गीत–कविताहरू अल्लारे गोपालले कति गुनगुनाए होलान् ‘नौलाख तारा’ उनका आँखामा पनि टिमटिमाए होलान् अनि सन्चोले बाँच्न नपाएका नेपालीहरूको व्यथा उनको किशोर हृदयमा पनि उम्रियो होला ! स्वजातिको त्यही प्रेम र व्यथा गोपाल योञ्जनमा हामी पछिसम्मै पाइरहन्छौं ।
जातीय अस्मिता फुकेको मात्र होइन तर अस्मिता दुःखेको मार्मिक यथार्थहरू पनि मन छुने गरी अभिव्यक्ति एक छन् उनका कति गीतहरूमा ।
कतै म त पर्साएर राखिएको बोको बनेँ
परदेश र मधेसमा नाम्लो अनि डोको बनेँ
कतै मान्छे तर्साउने दोबाटोको लाखे बनेँ
आखिरमा घर फिर्दा घरैभित्र पाखे बनेँ ।
लाहुरे शीर्षकको यस गीतमा नेपालीहरूको औसत अवस्था अत्यन्त प्रभावी ढंगमा चित्रित छ । नेपाली भाषा र नेपाली जातिको साझा आकाशमुनि विकसित दार्जिलिङे परिवेशमा हुर्केका गोपाल योञ्जनको मनमस्तिष्क हमेसा नेपाली जाति र जातीयताप्रति अगाध मायाले छपछप भिजेको थियो ।


अघिल्लो ईश्वी शताब्दीको साठीको दशक नबित्दै ‘गुराँस तेरो लाली अन्तै बाँडिदे र हिमाल, तेरो पानी अन्तै फैल्याइदे र म त हिँडें पर्वतको शिर कुल्चेर’ भन्दै दार्जिलिङको डाँडाकाँडा नाघेर उनी नेपाल पसे । आखिर नेपाली र नेपालीत्व उनीभित्र अँटाई–नअँटाई हुर्केकै थियो । रहँदा–बस्दा नेपाल राष्ट्र नै उनको मानस–मुटुको तन्तुतन्तुसम्म भिज्न गयो । निसानी–५२ पछि मरणोपरान्त बजारमा निस्केको उनको गीति एल्बम निसानी–५३ का जम्मै गीतहरू (एउटाबाहेक) नेपाल राष्ट्र र नेपाली नागरिकहरूप्रति समर्पित भावहरू हुन् । यी गीतहरूमा पनि उनको तीव्र संवेदनशीलता अनि सूक्ष्म काव्य–कौशल पर्याप्त भेटिन्छ । यो कुरो सही हो कि दार्जिलिङमै विकसित उनको संगीत प्रतिभा काठमाडौं पुगेर अझ फाँटिलो हुँदै फैलिँदै सारा नेपाली संसारमा व्याप्त बन्यो ।


गोपाल योञ्जनभित्रको गीतकार त्यस कालमा हुर्केको हो जुन समयमा दार्जिलिङे साहित्य लेखनमा ठूलै उथलपुथल मच्चिरहेको थियो । लेखनमा आयामिक आन्दोलनको झर्झराउँदो समय थियो त्यो । तेस्रो आयामेली आग्रहको प्रबल वेगमा पुराना मूल्य र मान्यताहरू बेस्सरी झक्झकाइएका थिए मात्र होइन तर लेखनशैलीमै नयाँ लहर र नयाँ रूप देखा परिरहेको थियो । तेस्रो आयामका दुई प्रवर्तक कविहरू ईश्वरवल्लभ र वैरागी काइँला, कवितामा मात्र होइन, गीतमा पनि आयामीय आकृति देखाइरहेका थिए । यही कालवरिपरि गोपाल योञ्जनको गीतकार त्यो नयाँ लेखनको प्रत्यक्ष–परोक्ष प्रभावसित हुर्किरहेको थियो ।


त्यस युगको लेखनमा पाइने यौटा प्रमुख तत्त्व हो जीवन बचाइको नग्न यथार्थबोध साथै भवितासापेक्ष आस्तित्विक प्रश्नको गम्भीर तथा व्यांग्यिक अभिव्यक्ति । स्वाच्छन्दिक कल्पना अनि भावुकताको बादलले नलपेटिएको जीवनको नांगो रूप हेरिदिने आग्रह थियो त्यसबेला । त्यसअघि प्रेमिकाहरू प्रेमीलाई ‘सुनको तारा’ खसाइमाग्थे अनि प्रेमीहरू ‘त्यो तारा मात्र होइन जून पनि झारिदिउँला’ भन्दै यथार्थको धरातलदेखि धेरै माथि उड्ने गर्थे । तर गोपाल योञ्जन प्रेमको पोखरीमा पौडिँदै पनि मानवीय सीमितता बिर्संदैनन् र आफ्नी प्रेमिकालाई भन्छन् ः

बाँचिदिन्छु तिम्रै निम्ति मरिदिन म सक्तिनँ
लाखौँ वाचा यी पिरतीको सबै निभाउन सक्तिनँ
संसारसम्म दिन सक्छु म, वैकुण्ठ दिन म सक्तिनँ
उजियालीदेखि डर लाग्छ भने घाम डुबाउन सक्तिनँ

मायाले सिँगारी राखौंला ताराले सिंगार्न सक्तिनँ
मेरो मायाको साक्षी दिन ताज बनाउन सक्तिनँ
प्रेमोन्मत्त भएर प्रेमको नाममा अपार्थिव, अवास्तविक र असम्भव कुराहरू हाँक्न उनी चाहँदैनन् । धरतीभन्दा पर मान्छेको जीवनको कुनै अर्थ छैन भन्ने यथार्थलाई आत्मसात् गर्दै उनले उतिबेलै गीत लेखेका थिए :
धरतीमै कोपिलाएँ, धरतीमै फक्रिनेछु
धरतीमै मग्मगाई धरतीमै फैलिनेछु ।
(गायक ः कुमार सुब्बा)
पार्थिव यथार्थहरूदेखि पन्सिएर गोपाल योञ्जनले गीतमा कहिल्यै अतिरञ्जनात्मक कुराहरू लेखेनन् । दन्त्यकथामा कहिएका कल्पनातीत कुराहरूले उनलाई धरतीको माटोप्रतिको प्रगाढ प्रेमबाट कहिल्यै माथि उडाएर लगेन । त्यसैले यस्तो लेखे उनले ः
सुनको फूल फुल्छ रे भन्छन् सबैले स्वर्गमा
मलाई त आफ्नै बारीको लै लै चमेली मन पर्छ
स्वर्गमा सुनको बास्ना बोकी बहन्छ हावा रे
मलाई त आफ्नै हिमालको चिसो बतास मन पर्छ ।
(गायक ः कुमार सुब्बा)
भागेर होइन तर भोगेर यथार्थहरू जिउने अविचलित मन छ एकातिर भने अर्कोतिर आधुनिकतावादी दृष्टिले देखाएको जीवनका विसंगतिहरू तथा तिनका भोगाइबाट प्राप्त तीव्र अनुभूतिहरू सूक्ष्म संवेदनशीलतासित व्यक्तिएका छन् उनका अनेक गीतहरूमा । ती मर्मस्पर्शी गीतहरू कतिले उत्कृष्ट कविताको उचाइ छोएका छन् । यस छोटो लेखमा ती जम्मै गीतको चर्चा सम्भव छैन । उनका त्यस परिपाटीका दर्जनौं राम्रा गीतहरूबाट नमुनाहरू मात्र टिप्नु पनि कम गाह्रो हुँदैन । तैपनि झट्ट सम्झिँदा आएका केही हरफहरू यहाँ राखूँ ः
म उठ्दा आकाशले मलाई किचिदिन्छ
अघि बढ्दा धरती मलाई खाल्डो खन्छ

त्यो विधवाको सिउँदो यो मेरो जवानी
त्यो एक दिनको घाम, सयौं दिनको पानी
(स्वर – नारायण गोपाल)
कहाँ जाने चरी तेरो गुँढै भत्किसक्यो
कहाँ झर्ने खोली तेरो सागर सुक्यो ।
(स्वर – किरण प्रधान)
झरे .जस्तो लाग्छ आफू तल तल साथी
हुन्न केही भन्छन् सबै नपुगी त माथि
माथि जाने बाटो छैन, समाउने लाठो छैन
आफूलाई त दिउँसै पनि लाग्छ सधैं राति ।
(स्वर – रचनाकार स्वयम्)
सामाजिक समग्रतामा देखा परेका असंगति र अव्यवस्था पनि उत्तिकै प्रभावी ढंगमा उनका गीतमा चित्रित भएको देख्छौं–सुन्छौं ः
यहाँ ढुंगाहरू गर्छन् ईश्वरको अभिनय
यहाँ कुकुरहरू पनि गर्छ मान्छेको अभिनय

भत्केको गोरेटोमा लाखौँ अभागी हिँड्छन्
सबलाई बाटो दिँदा म भीरमा खसेछु
सबलाई उठाऊँ भन्दा आफैं पो टेकिएछु ।
(स्वर – नारायण गोपाल)
सुन्छु अब कोही भोका नांगा हुन्न रे
न्यानो घामबाट कोही टाढा हुन्न रे
कस्तो लाग्यो बादलु यो केले छेक्यो घाम
घरै डढाई ताप्दा पनि तातो हुन्न आङ ।
(स्वर – रचनाकार स्वयम्)
गीतका शब्द र संगीत रचनालाई समान महत्त्व दिई नेपाली गीतलाई गर्विलो गरिमा प्रदान गर्ने गोपाल योञ्जन नेपाली संगीत फाँटमा टाढैबाट देखिने एक अग्ला स्तम्भ हुन् । झनै उनका रूमानी भावहरू आरोह–अवरोहमा उक्लिँदा–ओर्लिंदा सृजित सांगीतिक ल्यान्डस्केपको सौन्दर्यले कसलाई मक्ख नपारेको होला ! उनको उन्मादिलो रागात्मक अभिव्यक्तिदेखि अतीव सौम्य प्रणयोद्गारमा अनि पारम्परिक सम्बन्धले उप्जाएको विवशतापूर्ण मार्मिक अभिव्यक्तिहरूमा अझ कति दशकहरूसम्म जीवन्त रहिरहनसक्ने प्राणतत्त्व पाइन्छ । ‘गल्ती हजार हुन्छ’, ‘चुमेर पानाभरि’ जस्ता प्रणयोन्मादका रागाभिव्यञ्जनाहरूस ‘यति चोखो यति मीठो दिउँला तिमीलाई माया’, ‘तिमी एक फूल हौ भने म फूलको पराग’– को सौम्य प्रेमोद्गार अनि ‘तिम्रोजस्तो मुटु मेरो पनि’, ‘म कसरी भनूँ यो माया हो’– मा पोखिएको विवशताका विदीर्ण भावले आर्द्र गीतहरू समसामयिक युवा पिँढीमा पनि उस्तै प्रिय छन् ।
युगल गीतहरूमा पनि उनको निज फरक लेखन–वैशिष्ट्य टड्कारो देखिन्छ । दृष्टान्त यौटा हेरौं :
युवक ः मेरो आँखा लैजाऊ
युवती ः पर्दैन त्यो लोभ हो
युवक ः मेरो ओंठ लैजाऊ
युवती ः पर्दैन त्यो मोह हो
युवक ः मेरो वचन लैजाऊ
युवती ः हुन्छ, यदि त्यो कहिल्यै तोडिन्न भने
पछि गई त्यो ऋतुझैं फेरिन्न भने ...
गीतको यो दोस्रो अन्तरा हो जसको अर्थगाम्भीर्यमा पूर्वेली जीवनदर्शनको सानो रूप नै स्पन्दित भइरहेको थाह गर्छौं । त्यसो त, यस गीतको पाठमा पाठक र श्रोताको निमित्त विविध ढंगले विपठन गर्ने पर्याप्त स्पेस छ । (उद्धृत अनुच्छेदको अन्त्यमा वचन (शब्द, वाक्य) को अटलता, शाश्वतता इच्छित छ । तर आज शब्दहरू अर्थको स्थिर खोरबाट निरन्तर उम्किरहेको देखिन्छ, सुनिन्छ ।)


गोपाल योञ्जनका गीतहरू पढ्दा बुझ्छौं कि उनीभित्र एक सशक्त कविले निकास खोजिरहेको थियो । तर उनको सृजन–क्षमताको बृहत्तर अंश कलाको अझ सूक्ष्मतर माध्यम संगीतमै केन्द्रित रह्यो । त्यसैले आफ्नो कवित्वलाई गीतकारसम्मै सीमित राखी मूलतः उनी संगीतकार बने— नेपाली संगीत संसारका एक गौरवशाली संगीतकार । संगीतज्ञ हुनु यौटा कुरो हो, तर संगीतकार हुनु अर्कै कुरो । सांगीतिक ज्ञानको सागर भएर पनि पर्याप्त सृजन–प्रतिभा नभए संगीतकार बन्न सकिन्न । अत्यन्त संवेदनशील हृदय, सूक्ष्म सौन्दर्यचेत र उर्वर कल्पनाशक्तिबिना उच्च सृजना सम्भव हुँदैन । गोपाल योञ्जनमा यी तीनै तत्त्वहरूको संयोजित स्वरूप बढ्दो आकर्षक पाउँछौं हामी ।


धूनहरू थरीथरीका रचे उनले । प्रशस्त मौलिकता झंकृत हुने ती संगीत रचनाहरूको विस्तृतिमा उनको विशिष्ट सर्जक व्यक्तित्व अग्लो प्रकाशस्तम्भ उभिएको छ । त्यसो त, हिन्दी सिने–संगीतको स्वर्ण युग मानिने सन् साठीको दशकको संगीतले उनको प्राथमिक सृजनकालमा प्रभाव पारेन भन्न सकिन्न तथापि बिस्तारै उनको रचना–शैली त्यस प्रभावबाट मुक्त हुँदै गएको स्पष्ट देखिन्छ ।


उनका उत्कृष्ट संगीत–रचनाहरू विशेषतः भारतीय शास्त्रीय संगीतलाई आधार मानेरै सृजित छन् । मूर्धन्य संगीतकार अम्बर गुरुङले जस्तो पाश्चात्य संगीतको सफल सूक्ष्म प्रयोग गोपाल योञ्जनले नगरेको भए तापनि नेपाली लोक लयलाई टिपेर प्रायोगिक तौरमा उनले धेरै सुन्दर रचनाहरू हामीलाई छाडिराखेका छन् । तिब्बती शैली र ग्रामीण बंगालको पल्ली धुनको शैलीसमेतलाई नेपाली धुनसित संयोजन गरी अत्यन्त श्रुतिमधुर संगीत रचना गरेका छन् । (उक्त उल्लिखित गीतका उदाहरणार्थ क्रमशः श्रव्य छन् ‘मलाई देऊ या नदेऊ तिम्रो माया’ अनि ‘ओ माझी दाइ’)


साधारणतः कहरवा, दादरा, समला, ख्याम्टामा सीमित त्यस ताकको आधुनिक नेपाली संगीत अब एक तह माथि उठी गोपाल योञ्जनको झपताल. रूपक, दीपचन्दीजस्ता शास्त्रीय लय–तालमा श्रोताहरूको मनभित्र गहिरो गुन्जियो । यी शास्त्रीय ताललाई आधुनिक नेपाली सुगम संगीतमा अत्यधिक लोकप्रिय तुल्याउने संगीतकार गोपाल योञ्जन नै हुन् भन्दा अन्य नेपाली संगीतकारमाथि अन्याय नहोला । नेपाली सुर र सुगन्धसित उनले यी शास्त्रीय तालहरूमा अति माधुर्यपूर्ण संगीत सृजना गरेका छन् । खासगरी दीपचन्दीमा नेपाली सुर साह्रै सुन्दर ढंगमा निर्वाह भएको सुन्न सकिन्छ । ‘सागरभरि छाती चिरी पहाडबाट आएँ’, ‘दुखियाको कर्म’ आदि गीतहरू यसका उदाहरण हुन् । नारायण गोपालको आवाजमा गाइएका ‘तिम्रोजस्तो मुटु मेरो पनि’ (रूपक), ‘मेरो गीत मेरै प्रतिविम्ब होइन’ (झपताल), ‘जीवनदेखि धेरै धेरै नै थाकेर’ (दीपचन्दी), ‘लौ सुन म भन्छु मेरो रामकहानी’ (झपताल) जस्ता उत्कृष्ट गीत–संगीत गोपाल योञ्जनबाट पाएर हाम्रो आधुनिक सुगम संगीतले यौटा अर्को शिखर उक्लियो ।


भजन होस् या आधुनिक गीत, अर्ध शास्त्रीय या लोकाधुनिक, उनको संगीत रचनाले हरेक तहका श्रोताको मन मोहित गरेको छ । अत्यधिक सफलतासित अर्धशास्त्रीय संगीत रचना गरी नेपाली गीत–संगीतलाई एक विशेष उचाइमा उचाल्ने गोपाल योञ्जनले केही लोकलयको प्रयोग पनि निज वैशिष्ट्य झल्काएर गरेका छन् । अघिल्लो पुस्ताका संगीतकार मित्रसेन थापाको लोकाधुनिक शैलीमा रचित ‘फरियालाई भुइँमा लतारी (फिल्म–कान्छी) पनि यहाँ उल्लेख्य छ ।


उनको संगीत रचनामा एक तमासको सौन्दर्य अनुभूत हुन्छ जसले हामीलाई यस्तरी वशीभूत गर्न सक्छ कि त्यसको प्रभाव हामीमा दीर्घ समयसम्म बसिरहन्छ । माधुर्यको जीवन्त रूप हो उनको संगीत सौन्दर्य जसको प्रभावबाट प्रादुर्भूत छन् उनका कति अनुज संगीतकारहरू ।


गत सन् साठीको पछिल्लो अर्धदशक र सत्तरको अघिल्लो अर्धदशकभरि गोपाल योञ्जनको संगीत र नारायण गोपालको स्वरको संयुक्तिलाई यौटा अत्यन्त गौरवमय घटना मान्नुपर्छ नेपाली संगीत संसारमा । स्वर्ण युग नै थियो, त्यो नेपाली आधुनिक गीतको । पछि ती दुई प्रखर प्रतिभाको जोडीबीचमा भञ्ज्याङ परेर दुई अलग्ग अग्ला पहाड भई आआफ्ना कलागत व्यक्तित्वसित टड्कारो उभिरहे । नारायण गोपाल आफ्नो अनुपम गायकीसित कत्ति पनि नखस्की स्वयम् उठिरहे, गोपाल योञ्जन आफ्ना सुन्दर रचनाहरू अन्यानेक गायक–गायिकाहरूलाई गाउन दिँदै अग्लिँदै नै गए । वास्तवमा गोपाल योञ्जन एक यस्ता संगीतकार थिए जसको संगीत–रचना गाउन पाउने सामान्य गायक–गायिकाहरू नै पनि चर्चेय बन्न सक्थे ।


हिउँदे दिनजस्तो उनको छोटो जीवनको साँझतिर प्रकाशित निसानी–५२ मा उनी आफैंले गाएका उच्च र गम्भीर सृजनाहरू संगृहीत छन् । संवेदनले छपछप भिजेर गाएका छन् उनले ती गीतहरू । उनको सुमधुर सृजन र गायनको अन्तिम निसानी भनौं त्यस गीति एल्बमलाई । तर त्यस निसानीबाट अझ पल्तिर धेरै टाढाको यात्रामा अनवरत हिँडिरहनेछ गोपाल योञ्जनको नाम ... ।

प्रकाशित : श्रावण ३२, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?