३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

वर्तमानको प्रतिविम्ब

कान्तिपुर संवाददाता

 
हामीमध्ये धेरैलाई बेलायती स्टेफन हकिङको नाम थाहा छ  । उनको जन्ममिति, जन्मस्थान, उनले सामना गरेको रोग, उनका कामलगायत सारा व्यक्तिवृत्त हामीलाई कण्ठस्थ हुन सक्छ  ।

वर्तमानको प्रतिविम्ब

तर नेपालमा मानिसको मनोबल, प्रयत्न र सिर्जनात्मक सक्रियताका सामु मृत्यु पनि पराजित हुन्छ भन्ने प्रमाणित गर्ने व्यक्तिहरूमा महेश थापाको पनि नाम आउँछ भन्ने थाहा भएन भने ‘नजिकको तीर्थ हेला’ हुन्छ । समकालीन नेपाली साहित्यका आसलाग्दा प्रतिभा निबन्धकार, कथाकार, आत्मवृत्तान्त लेखक, चिन्तकका साथै राष्ट्रियस्तरका चेस खेलाडी पनि हुन् थापा ।


पत्रकारिताका माध्यमबाट आफ्नो अलग्गै पहिचान बनाउँदै रङ्गीन सपनालाई सार्थक बनाउने अभियानमा लागेका युवा महेश थापा अप्रत्याशित रूपमा आइलागेको ‘मोटर न्युरोन’ जस्तो डरलाग्दो रोगको सामना गर्न बाध्य हुन्छन् । तर उनी आत्तिँदैनन्, डराउँदैनन् बरु बलियो आत्मबल, तीव्र जीवनेच्छा र सिर्जनाप्रतिको उत्कट अभिलाषाको हतियार प्रयोग गरेर नजिकै आइरहेको मृत्युलाई पर धकेल्न सफल हुन्छन् । निरन्तर साधनाबाट मानिसले चाहेमा गर्न नसक्ने केही छैन भन्ने कुराको प्रेरक हुन् महेश । दायाँ हातको माझी औँलाका भरमा आफ्ना विचारलाई दुनियाँसामु प्रस्तुत गर्ने महेशका ‘अल्पविराम’ (आत्मवृत्तान्त, २०७०), ‘नमोनमः’ (व्यङ्ग्य निबन्धसङ्ग्रह, २०७४) र ‘मरीचिका’ (कथासङ्ग्रह, २०७५) प्रकाशित छन् । तीमध्ये ‘मरीचिका’ कथाकृतिबारे यहाँ संक्षेपमा चर्चा गरिएको छ ।


‘मरीचिका’ १६ ओटा कथाको सङ्ग्रह हो । सङ्ग्रहको पहिलो कथा ‘मरीचिका’ प्रविधिले ल्याएका वैभवबाट मानिस साँच्चिकै खुसी र सुखी हुन सक्छ त भन्ने प्रश्नमा केन्द्रित छ । मानिसजस्तै देखिए पनि रोबोटमा मन हुँदैन । मानिससँगको सम्बन्धबाट पाइने सबै कुरा रोबोटबाट खोज्नु मृगतृष्णा मात्रै हुन्छ भन्ने यस कथाको निष्कर्ष छ । दोस्रो कथा ‘होड–२’ विश्वेश्वरप्रसाद कोइरालाको ‘होड’ शीर्षक कथाको पृष्ठभूमिमा लेखिएको छ । कोइरालाको कथामा यौनका मामिलामा पुरुषभन्दा महिलाहरू कमजोर हुन्छन् भन्ने निष्कर्ष छ । ‘होड–२’ कथाले त्यसको खण्डन गर्दै महिला होइन बरु पुरुषचाहिँ यसमा कमजोर छन् भन्ने पुष्टि गरेको छ । ‘निम्तोपत्र’ कथामा सहरिया मध्यमवर्गीय समाजमा बढ्दै गएको आडम्बरी प्रवृत्ति र अझै पनि कायम रहेको जातीय संकीर्णताप्रति तिखो व्यङ्ग्य गरिएको छ ।


चौथो कथा ‘यात्रा’ इच्छामरणसँग सम्बन्धित छ । इच्छामरणलाई वैधानिकता दिनुपर्छ भन्ने अभियानका अभियन्ता महेश थापाले आफ्नो अभियानलाई यस कथाका माध्यमबाट प्रस्तुत गरेका छन् । म पात्र मर्न चाहन्छ । त्यसैले ऊ इच्छामरणलाई कानुनी रूपमा मान्यता दिएको स्विजरल्यान्डको यात्रामा गएको छ । मानिसले चाहँदा जिउन मात्र होइन मर्न पनि पाउनुपर्छ भन्ने यस कथाको सार रहेको छ । ‘अभयदान’ कथामा कुनै अनिष्ट आशङ्काबाट ग्रसित व्यक्तिहरूको मनोदशा र आफ्नो आशङ्का गलत भएको थाहा पाउँदा तिनीहरूमा हुने खुसीको अवस्थाको प्रतिविम्बन गरिएको छ । ‘अभीप्सा’ शीर्षकको कथा उपभोक्तावादी संस्कृतिले अहिलेका युवायुवतीलाई पारेको प्रभावको विषयमा आधारित छ । एउटा आइफोनका लागि एउटी शिक्षित अविवाहित युवती विवाहित र बूढो मानिससँग यौनसम्पर्क राख्न तत्पर भएको अवस्था यसमा चित्रत छ । आजको मानिस भौतिक सुखसुविधा र सहरी रमझममा अल्मलिएर आफ्नो विवेक गुमाउन विवश भएको विषयलाई पुच्छर शीर्षक कथामा प्रस्तुत गरिएको छ । सहरलाई किचकन्याको प्रतीकका रूपमा प्रस्तुत गर्दै यसमा भोगविलासका लागि मानिसले आफ्नो विवेक गुमाउने गरेको हुँदा ऊ विवकशील मानिस नभएर पशुसरह भएको देखाइएको छ । मानिसमा पुच्छर पलाएको स्वैरकल्पना मार्फत आजका मानिसमा रहेको विवेकहीनताप्रति तिखो व्यङ्ग्य गरिएको छ ।


‘द द द’ शीर्षक कथा स्वैरकाल्पनिक छ । यसमा अन्य ग्रहबाट आएका ३ छोरा र बाबु एलियनको कथासँग जोडिएको स्वैरकल्पनाका साथै सुर, असुर र मानिसलाई ब्रह्माजीले क्रमशः इन्द्रिय दमन गर, दान गर र दया गर भनी अर्ती दिएको मिथकीय सन्दर्भलाई जोडिएको छ । प्रकृति र प्रविधिमाथि कब्जा गरेर होइन बरु तिनको समउपयोगमा चाहिँ मानिसको सुख हुन्छ भन्ने यस कथाको सार छ । ‘प्रेमको लाली’ शीर्षक कथामा प्रेमभित्र रहने स्वार्थलाई चित्रण गरिएको छ । पलायन कथामा गणतन्त्रपछि पनि यथावत् रहेको जातीयलगायतका विभेद र त्यसबाट सिर्जित मनोविज्ञानका कारण विदेश पलायन हुन विवश एक दलित युवाको विषयलाई आख्यानीकरण गरिएको छ । क्रान्तिको पोको शीर्षक कथा जनयुद्धको परिवेशमा लेखिएको छ । यसमा केही क्रान्तिकारीहरूबाट भएका यौनशोषणको चित्रणका माध्यमबाट क्रान्तिलाई तुहाएर आफ्नो स्वार्थ पूरा गर्ने नेतृत्ववर्गप्रतिको तिखो व्यङ्ग्य गरिएको छ ।


‘धर्मो रक्षति रक्षितः’ शीर्षक कथामा धर्मका नाममा हुने विकृतिप्रति व्यङ्ग्य गरिएको छ । दाउ कथामा पुरुषले आफ्नी श्रीमतीलाई कुनै वस्तुसरह जुवाको दाउमा राख्ने प्रवृत्तिको चित्रण गर्दै यदि महिलाहरू यस प्रवृत्तिका विरुद्ध उभिए भने पुरुषको भलो हुँदैन भन्ने सार निष्कर्ष छ । कल्पभीर कथा युवा पुस्ताले अन्धविश्वासलाई तोडेर अघि बढ्न आवश्यक छ भन्ने विषयमा आधारित छ । ‘मोबाइल’ शीर्षक कथामा मोबाइल प्रविधिले परिवारका सदस्यबीचमा पनि शङ्का र फाटो सिर्जना गरेको देखाइएको छ । ‘अपहृत हाँसो’ कथामा एक जना लाटो मानिसको चरित्रमा केन्द्रित छ । चाहेको कुरा नपाउँदा खोसिएको खुसी फर्कन गाह्रो हुन्छ भन्ने विषय यसमा चित्रण छ ।


साहित्यलाई शक्तिशाली बनाउने महत्त्वपूर्ण उपकरण हो, व्यङ्ग्य । अभिधा, लक्षणा र व्यञ्जना (व्यङ्ग्य) शब्दका तीनवटा शक्ति मानिन्छन् । तीमध्ये साहित्यमा तेस्रो शक्ति वा व्यङ्ग्य सर्वाधिक उपयोगी मानिन्छ । व्यङ्ग्य प्रयोगका दृष्टिले नेपाली साहित्य निकै उर्वर छ तर पछिल्लो समयका लेखकहरूमा यसप्रतिको रुचि घट्दो अवस्थामा छ । यस्तो अवस्थामा महेश थापाको नमोनमः नेपाली व्यङ्ग्य साहित्यका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हो भने प्रस्तुत मरीचिका मार्फत नेपाली कथा साहित्यमा व्यङ्ग्य प्रयोग अर्को उल्लेख्य प्राप्ति हो । वर्तमान युगका बेथिति, विसङ्गति, व्यभिचार अनि आजको मान्छेका विवशताको चित्रण र तीप्रतिको व्यङ्ग्य यस सङ्ग्रहका कथाको मुख्य विशिष्टता र प्राप्ति हो ।


यथार्थको आत्मसातीकरण र त्यसलाई कलात्मक रूपमा प्रस्तुत गर्ने कुरा आख्यान लेखनको मुख्य चुनौती हो । अधिकांश आख्यानकारहरू यथार्थलाई आत्मसात् गर्ने कुरामै चुक्छन् र त्यसको क्षतिपूर्तिका लागि प्रस्तुतिमा नौल्याइँ खोज्ने नाममा प्रयोगको दलदलमा फस्छन् । अर्काथरी आख्यानकारहरू भने यथार्थलाई त आत्मसात् गर्छन् तर त्यसलाई आख्यान कलामा ढाल्ने कुरामा सिपालु हुँदैनन् । थोरै लेखक मात्रै यी दुवै कुरामा सफल हुन्छन् । यस सङ्ग्रहका स्रष्टा ती थोरै सफल आख्यानकारमध्ये एक हुन् भन्न हिच्किचाउनु पर्दैन । मरीचिका शब्दले भौंतारिएको, गन्तव्यको टुङ्गो नभएको अवस्थालाई बुझाउँछ । वर्तमानमा हामी त्यही गन्तव्यहीन अवस्थामा छौँ । प्रस्तुत सङ्ग्रहका कथाहरूले हामीले भोगेको वर्तमानलाई प्रतिविम्बन गर्छन् र त्यो भनेको मरीचिकाको अवस्था नै हो । यसरी कथ्य विषय र कथा कथनको कला दुवैमा यस सङ्ग्रहका कथा सफल र उत्कृष्ट छन् । साथै बिम्ब, प्रतीक, स्वैरकल्पना, मिथक आदि हरेक उपकरणको ठीकठीक प्रयोग गरेर स्रष्टाले आफू एक जना कुशल कथाकार भएको पुष्टि गरेका छन् । समष्टिमा भन्दा यसका स्रष्टा बधाईयोग्य छन् अनि मरीचिका नेपाली कथा साहित्यको एउटा सफल कृति बनेको छ । स्रष्टा महेश थापाबाट नेपाली साहित्य क्षेत्रले धेरै आशा गर्न सक्छ ।

धनप्रसाद सुवेदी

प्रकाशित : श्रावण ३२, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?