कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

मेरो उचाइ, मेरो गौरव

उषा थपलिया

मेरो उचाइ पाँच फिटलाई केही नपुग  । तर उचाइ नपुगेको हिसाबले कहिल्यै सुर्ता छाएन  । किशोरावस्थाको उत्कर्षमा समेत उचाइका कारण ग्लानि महसुस भएन । जहिलेसुकै आफ्नो शारीरिक अवस्थाप्रति मग्न । कलेज पढ्दा विभिन्न उचाइका साथीहरू भेटिए । तीनजना केटीहरूबीचको दोस्ती बढी जम्यो ।

मेरो उचाइ, मेरो गौरव

जसमा एउटी अग्लो उचाइकी, अर्की खाईलाग्दो जीउज्यानकी अनि तेस्री म, जीउज्यान र उचाइ दुवैले ठगिएकी । मिल्ने सर्कलका अरू साथीहरू पनि अग्लै थिए, तैपनि उनीहरूमाझ आफूलाई कुनै कुराले हीनताबोध गराएन । पाँच फिट पाँच इन्चको दमदार उचाइ भएकी साथीसँगको अन्तरंग अझ बढी थियो । घाँटी पूरै आकाशतर्फ तन्काएर उनीसँग कुरा गर्दै कलेज कम्पाउन्ड र क्यान्टिन सयर गर्दासमेत उनीभन्दा आफू नै लायक हुँ कि झैँ लाग्थ्यो । साथीहरू (केटा केटी दुवै) हामी दुईलाई देख्नासाथ ‘लौ हेर, अमिताभ बच्चन र जया बादुडीको जोडी आयो’ भन्थे । हिन्दी सिनेमाप्रति खासै लगाव नभएकाले सुरुमा त आशय बुझेकी थिइनँ । पछि थाहो भयो उचाइको बेमेलप्रतिकै व्यङ्ग्य रहेछ त्यो । थाहा भएपछि समेत त्यस्ता प्रतिक्रियाले दुःखी बनाउन सकेन । ‘आफूभित्र जति क्षमता छ, उचाइका कारण त्यो संकुचित भएको छैन भने, के भयो त ?’ यही भावना स्वतःस्फूर्त मनमा हरपल आइरहन्थ्यो । यदि फिल्मी दुनियाँ, सुन्दरता मापन गरिने प्रतिस्पर्धातिर रहर जागेको थियो भने सहभागिता नै जनाउन अयोग्य मापदण्डका कारण आफ्नो उचाइलाई धारेहात लगाइन्थ्यो कि ? त्यतातिर बिल्कुल लगाव रहेन ।


स्नातक राम्रोसँग नसकिँदै एउटा एनजीओमा काम गर्ने अवसर पाइयो । आफ्नै कमाइ सञ्चित हुँदै गर्दा स्कुटरको मोहले नराम्रोसँग तान्यो । स्कुटर किन्ने सामर्थ्य जुटिसकेको थियो । त्यतिबेला भने आफ्नो उचाइले नराम्रोसँग झस्कायो । ‘अर्थको हिसाबले स्कुटर किन्न त सक्ने भइयो, ओहो ! चलाउन नि ?’ आफैंभित्र प्रश्न उब्जियो । स्कुटर चढ्दा आफ्नो खुट्टाले भुइँ भेट्छ कि भेट्दैन ? ठूलो चिन्ता थियो । त्यतिबेला अहिलेजस्तो स्कुटर छ्याप्छ्याप्ती थिएनन् । कसको स्कुटरमा प्रयोग गर्नु ? कसैको स्कुटरमा हेरिहेरूँजस्तो लाग्थ्यो तर खुट्टाले भुइँ भेटाएन भने लाजमर्दो हुने होला भन्ने त्रासले हिम्मत जुटेन । यी सबैबाट पार पाउन एउटा सवारी सिकाउने केन्द्रमा गएँ । सिकाउने प्रतिबद्धता आयो । अफिसपछि बेलुकाको समयमा जिन्दगीमा सबैभन्दा रहर लागेको सीप सिक्ने उपक्रम सुरु भयो । केन्द्रमा स्कुटर रहेनछ । सिधै मोटरसाइकलमा अभ्यास सुरु । मोटरसाइकल अलि होचो भएकाले खुट्टाले भुइँ टेक्न समस्या थिएन । केही दिनमै चौर छोडेर खाली सडकमा कुदाउन सक्ने भइयो । तर, भीडभाड, चोक र अवस्था परिवर्तित बाटोमा आवश्यक पर्ने क्लज, एक्सिलेटर र गेयर चेन्जको स्वतःस्फूर्त तालमेल मिलाउन कठिन लाग्यो । सिकाउने दाइ एक दिन नराम्ररी झर्किए । एक हप्ताको लगभगमा जानै छोडिदिएँ । एकैचोटि नयाँ स्कुटर किनेर दाइ–भाइको प्रशिक्षणपछि म कुशल स्कुटरचालक बनें ।


त्यसपछि आफ्नो उचाइबाट सशंकित हुनुपर्ने केही नभएको भान भयो । छिटो, छरितो ज्यान । जहाँ पनि फिट भैहाल्ने, सबै पहिरन सुहाउने, समूहमा फोटो खिच्दा सधैं अग्रस्थान हासिल हुने । यस्तैमा समेत आफू दंग ! अरूहरूले पनि उमेरभन्दा निकै कम आँकेर मायालु व्यवहार गर्ने (यद्यपि कतिपय बेला मानमर्दनको अनुभूति पनि) । अहिलेसमेत मान्छेहरूले गरेका उमेर अनुमान गलत हुने गर्छन्, एक दुई वर्ष पनि हैन, धेरै नै । हरेक मान्छे आफूलाई सधैं जवान राख्न चाहन्छ तर उमेर, हरपल घटिरहेकै हुन्छ, परिपक्वता बढिरहेको हुन्छ । प्रकृतिको शाश्वत सत्यलाई नकार्न सकिँदैन तर बाहिरी देखावटीमै सही, आफैंमा पनि जवानको अनुभूति भैरहनु अनि दुनियाँको नजरबाट समेत सोही विश्लेषण पाउनु कम आनन्दको विषय हैन रैछ । मेरो हकमा पहिलो उचाइ र त्यसपछि छरितो जीउज्यानले ती सबै हासिल गराएको छ । केटीहरूको कम उचाइ, रूप पछि बिहेका लागि सबैभन्दा आपत् पर्ने विषय ठानिन्छ । औपचारिक शिक्षा र शारीरिक बनावट दुवै हिसाबले ह्यान्डसम केटासँग माया बस्यो, पारिवारिक सहमतिमै विधिपूर्वक बिहे भयो । उचाइले बिहेका लागि समेत अवरोध खडा गरेन । अरू विभिन्न पाटाहरूलाई केलाएर हो कि ? अरूहरूले खुब मिलेको जोडी भन्न कन्जुस्याइँ गरेनन्, जबकि उचाइको बेमेल प्रस्ट झल्कन्थ्यो हामीबीच । जब गर्भवतिपछिका दिनहरू बढ्दै गए, दोस्रो पटक म आफ्नो उचाइप्रति सशंकित हुन थालें । मलाई सन्तान प्राकृतिक रूपबाट जन्माउने ठूलो इच्छा । आफू र भ्रूणमा कुनै समस्या नभए आफैं सुत्केरी हुने औधी चाहना । दुवैमा समस्या थिएन तर उचाइकै कारण देखाएर चिकित्सकले शल्यक्रियाको एक मात्र विकल्प अघि सारेर भने— न जिद्दी गर्नु ? न वास्तविक अर्थमा आमा बनेको अनुभूति गर्ने चाहना मार्नु ? त्यही कुराले चिन्तित बनाउँथ्यो । होचो कद, खिनौटे ज्यान तर निकै ठूलो पेटलाई इंगित गर्दै अधिकांशले ‘अपरेसन नगरी सुख छैन’ भन्थे । मेरो दिग्दारी झनै थपिन्थ्यो ।


अरू सबै कुराले फिट हुन हरेक दिन
आफ्नो शारीरिक क्रियाशीलतामा कमी हुन दिएकी थिइनँ । बिहानको प्राणायाम, नियमित हिँडाइ, घरका सारा काम, अफिस, किनमेल सबैले दिनको १७ घण्टा सक्रिय बनाउँथ्यो । सुत्केरीका लागि डाक्टरले दिएको डेटको अघिल्लो दिनसमेत मेरो दैनन्दिनको सोही क्रम कायम थियो । बिहानदेखिको भातभान्सा र धन्दा सबै एक्लै उतारियो । एक बाटा लुगा हातैले धोई सुकाई, बसेरै भुइँमा पोछा लगाउँदै गर्दा सुत्केरीको पहिलो संकेत सुरु भयो । त्यसपछि मात्र मैले बेडमा आफ्नो ज्यान हुत्याएकी थिएँ । रमाइलो त भने, घरमा व्यथा लागेर कलंकीदेखि शिक्षण अस्पताल महाराजगन्ज पुग्ने मेरो स्कुटरको पछाडिको सिट थियो । बच्चा र आमा दुवैको स्वास्थ्यमा समस्या नभएकाले आफ्नो चाहनाबमोजिमै अघि बढ्न डाक्टरहरू राजी भए । घरमा सुत्केरीको पहिलो संकेत सुरु भएदेखि लगभग २२ घण्टा प्रसव वेदना खेपियो । अन्ततोगत्वा ३ किलो २५ ग्रामकी लायक छोरीको आमा बन्ने अवसर प्राकृतिक रूपबाटै प्राप्त भयो । आफूले चाहेको छोरी र प्राकृतिक रूपले आमा बन्दाको अनुभूति दुवै पाउँदा हर्षोत्कर्ष आँसु बनेर खस्यो । सुविधासम्पन्न अस्पताल र स्वास्थ्यकर्मीको सहयोगी भूमिकामा आमा बन्न त यति कष्ट, आफ्नोभन्दा केही होचो कदकी आमाले घरैमा कसैको सहाराबिना १० जना सन्तान कसरी जन्माउनुभयो ? उहाँ पो वास्तविक आमा । आमाको तुलनामा आफ्नो मातृत्व एकाएक फिक्का लाग्यो । आफ्नी आमाको साथै मेलापात, दाउरा–घाँसका दौरान आमा बन्न बाध्य हरेक आमाप्रति श्रद्धास्वरूप अस्पतालको बेडमा दोस्रो पटक आँसु खसाएँ मैले ।


आमा बनेयता आफ्नो इच्छाको कुनै काम सम्पन्न होला, नहोला भनेर उचाइप्रति विस्मित हुनुपरेको छैन । १५ वर्ष पुगेकी छोरी उचाइ र ज्यान दुवैले आफूभन्दा निकै माथि छे । मेरो होचो कद सरेको भए छोरीचाहिं दुःखी हुन्थी कि ? त्यसैले मलाई आफ्नो शारीरिक बनावटको साथै छोरीको जीउज्यानप्रति गौरव महसुस हुन्छ । उसको बनावटसँग मेरो स्याहारसुसारको लेखाजोखा हुने हुनाले उसको शारीरिक विकासप्रति म हल्का महसुस गर्दछु । मैले उसको सुसार र रेखदेखमा कुनै कुरासँग पनि सम्झौता गरिनँ । केही कल्साउँदो वर्णकी छोरी पूर्ण गोरो नभएकोप्रति असन्तुष्टि जनाउँछे कहिलेकाहीं । सम्झाउने क्रममा म आफ्नो उचाइ र आत्मसन्तुष्टि अघि सार्छु । केही काम गरेझैं लाग्छ तर मनैदेखि उसले मेरा कुरा आत्मसात् गरिसकेकी छैन, त्यसैले केही दिन मत्थर भएको तिनै गुनासो फेरि छाल बनेर उर्लिन्छ । विभिन्न घरेलु प्याक (एलोभेरा, दूध–बेसार, बेसन) लगायतले उसको चेहरा ढाकिन्छ । अनुहार पखालेपछि स्निग्ध महसुस गर्छे, गोरोपन ह्वात्तै थपिएको आभासमा ऊ रोमाञ्चक बनेको हेर्दा म आफैं पनि रोमाञ्चित हुन्छु । ऊ अहिले किशोरावस्थामा छे । यति बेला धेरै अर्ती उपदेशले खासै काम गर्दैन । नभए त यी सबै आफ्नो मनस्थिति र सोचाइको प्रभाव हो, त्यसलाई आफूभित्र वशीभूत गर्न सकियो भने प्याक नलगाउँदा पनि म उस्तै सुन्दर छु भन्ने उसलाई बुझाउन म सक्थें होला । अहिले ती कुरा बुझाउन मैले धेरै कसरत गरेकी पनि छैन । समयक्रममा बुझाउँदै जान्छु, विश्वास छ उसले अवश्यै बुझ्छे अनि आफ्नो वर्णप्रति मेरो उचाइझैं गर्व गर्छे ।


समाजमा केही मानक स्थापित छन्, जसले रूपरंग र शारीरिक बनावटलाई अघि सार्दै मान्छेहरूलाई राम्रो र नराम्रोमा वर्गीकरण गरिदिन्छन् । राम्रोको दर्जाभित्र पर्नेहरूमा अहं र नराम्रो दर्जामा पर्नेहरूभित्र हीन भावना जागृत हुने त्यही कारणले हो तर यी सबै ठाउँ, समय, चेतना र परिवेशले निर्धारण गर्छ । गोराहरूले गोरोपनकै आधारमा आफूलाई उत्कृष्ट ठानिरहँदा निग्रो समुदाय आफ्नो अवस्थाप्रति गर्व गर्दै छन् । रंग जति कालो त्यति राम्रो, ओठ जति मोटो, त्यति सुन्दर मानिने उपक्रम उनीहरूको त्यही आत्मविश्वासको बढ्दो पाइला हो ।
नेपाललगायत दक्षिण एसिया पनि गोरोपन र अग्लो उचाइको चंगुलमा फसेकै देखिन्छ । विशेषतः महिलाका लागि यो मान्यता जबरजस्त स्थापित छ । कुनै निश्चित विषयवस्तु या कथा दर्साउने केही अपवादबाहेक कलाक्षेत्र गोरो र अग्लोकै सीमाभित्र कैद छ । वस्तुहरूको उत्पादन र विज्ञापन तिनै दुई पक्षको निखारका लागि प्रयोग हुने गरेका छन् । शारीरिक अवस्थाले ती कोटीमा नपर्ने युवतीहरूको कलाक्षेत्र र सौन्दर्य प्रतिस्पर्धाप्रतिको अभिरुचि दिवास्वप्नझैं हुने गुनासो सुनिन्छ । यसमा परिवर्तन अपरिहार्य छ । क्रमिक परिवर्तन भैरहेकै छ । जस्तो, पहिला खाईलाग्दो शरीरकी महिलालाई सुन्दर मानिन्थ्यो, अहिले स्थिति उल्टिएको छ । गोरोबाहेकका रङहरूको दायरा आजभोलि केही फैलँदो छ तर उचाइको धारणा फेरिएको छैन । सौन्दर्यजगत्मा उचाइको मापदण्ड र अपरिहार्यता अझ बढेको भान हुन्छ । सौन्दर्य प्रतियोगिताका अग्ला युवतीहरूले पनि लामा गाउन र हाई हिल लगाउनैपर्ने नियमले त्यस्तै देखाउँछ ।


हरेक मान्छे आफू जे जस्तो छ, त्यही रूपमा खुसी र सन्तुष्ट नभएसम्म व्यक्तिभित्र आत्मविश्वास जाग्दैन । यसका लागि उसको आफ्नै सोचाइ/बुझाइसँगै समाजको परम्परागत धारणा पनि बदलिनु जरुरी छ । हिँडाइ र प्रस्तुतिमा स्मार्टनेस बढेको महसुसका साथ म हिल जुत्ता खुब प्रयोग गर्थे । अहिले लाग्छ, आफूले प्रयोग गर्ने हरेक कुरा सुविधाजनक भयो भने स्मार्टनेस आफ् से आफ बढ्छ । त्यसैले आफूभन्दा अग्ली छोरीले हाई हिल लगाएरसँगै हिँड्दा पनि मलाई फ्लाट लगाउन मन लाग्छ । ‘छोरीभन्दा आमा कति सानी... ?’ ‘यस्तोखाले लुगा लगाए अलि अग्ली देखिन्छ’ यस्ता टिप्पणी र सुझावले झन् हर्षित तुल्याउँछन् । आफूले चाहेको कुनै काम गर्न जिन्दगीमा उचाइले कुनै बाधा गरेन, बरु जे जति भए पनि फाइदै गरेको छ । त्यसैले निर्धक्क भन्छु— मेरो उचाइ मेरो गौरव जीवनपर्यन्त अविचलित रहिरहनेछ ।

प्रकाशित : श्रावण ३२, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?