२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

लामाको चुलो

न मेनु छ । न त वाईफाई । भित्र पस्नेबित्तिकै रेस्टुरेन्ट वा क्याफे जस्तो नि लाग्दैन । सामुदायिक स्कुलका जस्तै बेन्च र चारखुट्टे टेबल छन् ।

लामाको चुलो

वेटर अर्डर टिप्न नि आउँदैनन् । भान्साभित्र तामाङ लुक्स भएका महिला डेक्चीमा भात पकाउँदै देखिन्छन् । कुकरमा दालको सिट्ठी लाग्दैछ । बाहिर टेबलमा हात धोएर बसेकाले अर्डर टिपाएको सुनिन्छ, ‘ल दुई ठाउँमा खाना लगाइहाल्नुहोस् हतार छ । काममा फर्किहाल्नुपर्ने छ ।’ 

यस्तो दृश्य संवाद प्राय: हरेक दिन बिहानको खाना खाने समयमा एयरपोर्ट अघिल्तिरको लामा भान्साघरमा देखिन्छ । १० वर्षअघि यो भान्साघर जस्तो थियो, अहिले पनि त्यस्तै छ । १० लाखभन्दा कम लगानीमा थालिएको यो हेर्दा सामान्य भान्साघर हो । तर, यहाँ खान आइपुग्ने ग्राहकचाहिँ अचम्मै छन् । ‘हेलिकप्टरका साहु, जहाजका मालिक, सञ्चालक, पाइलट, एयरलाइन्स, अध्यागमनका कर्मचारीलगायत यहाँ पाक्ने नेपाली खानाका पारखी हुन्,’ सञ्चालक बीआर लामा भन्छन् । ती अतिथि यहाँ स्टिलको थालीमा गाउँले पारामा पस्किने खानाको स्वाद लिन चुक्दैनन् । तपाईं नि भोकले ब्याकुल भएर नेपाली खाना टेस्ट गर्न पुगिहाल्नुभयो भने कि त खाली टेबल नपाइएला, पाइए भात सकिएको अवस्था पनि हुन सक्ला । तर भान्साघरकी सञ्चालिका मती लामाले भोकले दोब्रिएको तपाईंको पेटका लागि गुन्द्रुकको अचार, गाउँको चामलको भात, अकबरे खुर्सानीको अचार, घिउ, मोही केहीबेरमै पस्केर ल्याइदिन्छिन् । ‘हाम्रो विशेषता भनेकै नेपाली टेस्ट मात्रै हो,’ सञ्चालक लामाले भने । 
बीआरलाई यो पसल सञ्चालनमा दिदीबहिनी उषा, निशा र मनीषा अनि भाइ सानुरामले साथ दिएका छन् । यहाँ नेपाली खाना र भुटन मात्रै पाइन्छ । तामाङ पृष्ठभूमिबाट आएको भए पनि नेपाली खानामा मात्रै आफ्नो परिवारले ४० वर्ष बिताइसकेको बीआरले बताए । ‘भान्साघर भनेका छौं, तर यहाँ न ढिँडो पाक्छ न त अन्य तामाङ परिकार । हामी दालभातमै मात्र केन्द्रित भयौं/छौं,’ रामेछाप थातथलो भएका बीआरले भने ।
खासमा यो पेसा उनका ठूलाबा गणेशले सुरु गरेका हुन् । ०३४ सालमा गणेशले सिनामंगलमा कुखुराको मासु, भटमास आदि खाजा बनाउन सुरु गरे । त्यसबेला कालो कोट लगाउने भन्सारका सुब्बासापहरूको खाजा खाने अड्डाका रूपमा त्यो पसल चल्यो । तिनै कालो कोट लगाउनेहरूले नै भनेपछि गणेशले खाना बनाउन पनि सुरुवात गरे । ‘गाउँमा ढिँडो र गुन्द्रुकले मात्रै नपुग्ने भएपछि उबेला दौंतरीहरूको लहलहैमा लागेर बनारस पुगेको थिएँ, त्यहीं पुगेपछि दालभात देखें । होटलमा काम गरें । त्यतै सिकेको सीपलाई यता काठमाडौं फर्केपछि उतारें,’ ७४ वर्षेले भने । त्यसबेला सिनामंगल खुबै चल्तीको बजार थियो । भन्सारमा माल छुटाउन आउनेहरू सिनामंगलमा खोलिएका फेमस होटलसम्म पुग्थे । आधुनिक खाजा अन्तर्गत चाउचाउको जमाना थियो । सादा खाना र स्पेसल खाना खुबै चल्तीमा थिए । गणेश पुराना दिन सम्झँदै भन्छन्, ‘त्यसबेला म ११ रुपैयाँ मासिक तलबमा इन्डियन एयरलाइन्सको लोडर भई काम गरिरहेको थिएँ, जब होटल चलाउन थालें, यताको कमाइले आकर्षित गरेपछि जागिर छाडें, दालभात बिक्री गर्न थालें, यो क्रमलाई मेरा सन्तानहरूले पनि निरन्तरता दिइरहेका छन् । भान्साघरले दैनिक १ सय ५० जनालाई खाना खुवाउन सक्छ । 

प्रकाशित : पुस २९, २०७३ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?