जाडोका परिकार

मधु शाही

काठमाडौं — बादलले आकाश धमिल्याउँदै छ । घाम लाग्दैन । जाडो मौसमको छनक पाउनेबित्तिकै अरूलाई जस्तै गायिका सुनीता दुलालको मनले पनि केही तातो परिकार खाने चाहना राख्छ । अर्गानिक, हेल्दी र मिठो परिकार के होला ?

थुप्रै पटक विदेश घुमफिर गर्दा अनेक स्वादका परिकार चाखे पनि उनी नेपाली मौलिक खानाको मिठास कहिल्यै भुल्न सक्दिनन् । त्यसैले उनी जाडोले अलि बढी नै छोप्दा भान्सामा गुन्द्रुक पकाउने निधो गर्छिन् । 

होम साइन्सको विद्यार्थीसमेत रहेकी उनलाई पकाउन अल्छी लाग्ने कुरै भएन । भटमास मिसाएको गुन्द्रुकको झोल खाँदा जाडो त्यसै भाग्ने उनको अनुभव छ । गुन्द्रुक पकाउने सुनीताको आफ्नै रेसिपी छ । भटमासमा थोरै तेल हालेर भुट्ने । अदुवा, प्याज, लसुनजस्ता मसला मिक्स गरेर पिस्ने । भुटेको भटमास र गुन्द्रुक प्याजसँगै एकनासले फ्राई गर्ने । ‘कसैले टमाटर राखेको मन पराउँदैनन्,’ उनी भन्छिन्, ‘म चाहिँ अलि अमिलो, पिरो खाने हुँदा टमाटर र खुर्सानी मज्जाले राख्छु ।’

गुन्द्रुक पकाउँदा सुनीताले एउटा नेपाली उखान चाहिँ जहिले सम्झेकी हुन्छिन् । ‘गुन्द्रुक पकाउन र साली फकाउन गाह्रो हुँदैन भन्छन्,’ उनी हाँस्दै थप्छिन्, ‘भुलुक्क उमालेपछि तातो सुप खान तयार भइहाल्छ ।’ जाडो मौसममा गुन्द्रुकको झोल खाँदा स्वादिलोसँगै चिसो हराएको अनुभव हुने सुनीता दाबी गर्छिन् । यी बाहेक, चाकु, तरुल, सखरखण्ड जस्ता कन्दमूल उसिनेर खाँदा स्वाथ्यमा समेत लाभदायक हुने उनी बताउँछिन् । 

माघीको रौनक जारी छ । सहरमा शनिबार माघी महोत्सव नै भयो । उता लिम्बू समुदायमा ‘कक्फेवा तङनाम’ जारी छ । सुनीताले भनेजस्तै प्राय: यी पर्वका खानामा पनि कन्दमूल छुट्दैन । जाडोको यस्तै परिकारमा रमाउनेमध्ये पर्छिन् अभिनेत्री वर्षा राउत पनि । पकाउने कुरामा उनी बाध्यतामा छैनन् । ‘प्राय: आमाकै हातले पकाएको खान्छु,’ उनी भन्छिन्, ‘रहर लागे कहिलेकाहीँ किचनमा पनि सघाउँछु ।’ जाडोमा उनको मनपर्ने परिकार गहतको दाल हो । यो चाहिँ आफैं पनि पकाउने गर्छिन् । गहतको दाल अदुवामा झानेर खानासँग खानु जाडो लागेपछिको नियमित रुटिन जस्तै रहेको उनी बताउँछिन् । ‘गहतको सुप कहिल्यै छुटदैन जाडोमा,’ थप्छिन्, ‘आफैं बनाएर भए पनि खाने गर्छु ।’

वर्षाको रोजाइ र चित्रकार ज्योतिप्रकाश बीकेको चिसो मौसमको परिकार उस्तै रहेछ । ज्योति गहतको दालमा अदुवासँगै लसुनका सिंगै पोटी राख्छन् । मज्जाले उमालेपछि तातो सुपको स्वाद मिठो हुने उनको अनुभव छ । चिसो मौसममा क्यानभास चलाउनुपर्दा आन्तरिक इनर्जीको खाँचो हुन्छ । उनी बिहानदेखि स्टुडियोमा क्यानभास पोत्न थाल्छन् । त्यसबेला उनकी पत्नीले पकाएको गहतको रस सुरुप्प पिउँदै कुची चलाउनुको आनन्द बेग्लै लाग्छ उनलाई । ‘पत्नीले जाँगर गरिन् भने खान पाइन्छ,’ उनी थप्छन्, ‘नभए, आफैं पकाउने ढंग छैन ।’ तर, अदुवा र लसुन काट्ने काममा चाहिँ उनी आफ्नी पत्नीलाई सघाउने गर्छन् । 

कवि विमला तुम्खेवालाई जाडोको मनपर्ने परिकार के भनेर सोध्यो भने उनी दिल खोलेर हाँस्छिन्, र भन्छिन्, ‘लिम्बूकी छोरी तोङबा नै खाइन्छ ।’ कोदोबाट बनेको हुनाले त्यसको रस खाँदा स्वास्थ्यमा फाइदा हुने उनको विचार छ । तातो पानी मिसाउँदै खाँदा विमला मनैदेखि गर्मीको महसुस गर्छिन् । ‘हाम्रा पुर्खाले त्यसै तोङबा बनाएका रहेनछन्,’ उनी थप्छिन्, ‘तोङबा खाएपछि जाडो कता हराउँछ हराउँछ ।’ विमलाले कहिलेकाहीँ घरमै तोङबा बनाउँछिन् । नहुँदा बजारबाट ल्याएर भए पनि जाडोभरि कहिल्यै छुटाउँदिनन् ।

कलाकार कमलमणि नेपालको जाडोको मिठो परिकार मकै र भटमास हो । आकाश खुलेर घाम लागेको छ भने उनी सुन्तला खाने गर्छन् । अँध्यारो बादलले छोपेको मौसममा चिसो बढ्न थालेपछि भने कमल भान्सामा मकै नै भुट्न जान्छन् । ‘मकै जति चपायो उति मिठो स्वाद आउँछ,’ उनी भन्छन्, ‘सुन्तलाचाहिँ घाम लाग्दा मात्रै खान्छु ।’

प्रकाशित : माघ ४, २०७३ ०९:२८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

गाउँमा चित्रकार

कान्तिपुर संवाददाता

काठमाडौं — सुनकोसी र रोशीको संगमस्थल दुम्जा सांस्कृतिक र भौगोलिक रूपमा ऐतिहासिक मानिन्छ । शैक्षिक सुधार गरेबापत लखेटिएका राणा प्रधानमन्त्री देवशमेशर यही बाटो धनकुटा पुगेका थिए ।

कुनै समय पूर्वको यो नाका बीपी, मातृकादेखि गिरिजासम्मका पुख्र्यौली भूमि पनि हो । हरेक वर्ष हुने दुम्जाको जात्रामा स्थानीय तामाङ समुदायको उपस्थिति र सेलो गीत यो क्षेत्रको मौलिक चिनारी हो । यस्ता अनेक पक्षलाई प्रवद्र्धन गर्दै ग्रामीण पर्यटन विकास गर्ने ध्येयसाथ हालै सहरबाट चित्रकारहरूको एक समूहले दुम्जामा खुल्ला कला कार्यशाला गरेको छ । 

एक साता लामो दुम्जा कला यात्रा–२०७३ अन्तर्गत पाँच कलाकारले स्थलगत चित्र लेखन गरेका छन् । सुरेम देशारको संयोजकत्वमा अनिल महर्जन, जयराम महर्जन, सुरेन्द्रराज अधिकारी र राजेन्द्र देशारले यो कलायात्रामा भाग लिएका थिए । धरणीधर स्मृति पुस्तकालयको निम्तोमा दुम्जा पुगेका उनीहरूले कठिन भौगोलिक अवस्थाका बीच ग्रामीण/प्राकृतिक सौन्दर्य, भूकम्पपछिको जनजीवन, दैनिकीलगायत विषयमा १६ वटा चित्र तयार पारेका छन् । मूर्तिकार राजेन्द्र देशारले भने सरस्वतीको मूर्ति निर्माण गरे । दुम्जा–५ बालुवाटारस्थित देवीस्थानबाट सुरु भएको कलायात्रा रुपटार, घ्याम्पाटार, बसेरी, ओख्रेनी, दोभानडाँडा, काफ्लेचौर, ओध्रेकोट, हायुगाउँ, ज्यामिरे, सिमलचौर, दारिमबोट, उपल्लाथोक, माझथोक, पानीपोखरी हुँदै आँपघारीमा आइपुगेर सम्पन्न भएको संयोजक देशारले जनाए । 

कलायात्राका क्रममा कलाकारहरूले देवीस्थान माध्यमिक विद्यालय, जनजागृत प्रावि, पञ्चकन्या निमावि, कुशेश्वर विद्यापीठ माविमा पुगेर विद्यार्थीसँग कलाबारे अन्तरक्रियासमेत गर्न भ्याए । ‘गाउँगाउँमा चित्रकलाको प्रदर्शन गरी गाउँलेसँग छलफलसमेत गर्‍यौं,’ यात्राबाट फर्केपछि देशारले भने, ‘ग्रामीण पर्यटन प्रवद्र्धन गर्न कला गतिलो माध्यम बन्न सक्छ ।’ यात्रा क्रममा बनेका चित्रहरू यही माघ २४ गते जागरणकवि धरणीधर कोइराला जयन्तीका दिन दुम्जामा नै प्रदर्शन गरिने उनले जनाए । 

प्रकाशित : माघ ४, २०७३ ०९:२८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT