३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मेकअप सिकाउन लन्डनबाट

काठमाडौं — उमेर काँचै हुँदासम्म बिना राईको सपना स्टाफ नर्स बन्ने थियो । खोटाङमा जन्मेकी उनी काठमाडौंमा हुर्किन् ।

मेकअप सिकाउन लन्डनबाट

मेकअप सिकाउन लन्डनबाट

अनि नर्स बन्ने चाहना पूरा गर्न लन्डनतर्फ लागिन् । समय, परिवेश र रुचिले उनलाई नर्स हैन, मेकअप आर्टिस्ट बनायो । कलेजमा पैसा तिरेर फर्मसमेत भरिसकेकी बिनाले स्टाफ नर्सको सट्टा मेकअप आर्टिस्टको पढाइ गर्ने सोच बनाइन् । डिप्लोमासम्मको अध्ययनपछि यसै क्षेत्रमा दत्तचित्त भई लागिन् । ‘कहिलेकाहीं झुक्किएरै भए पनि क्रिएटिभ बाटो अंगालिँदो रहेछ,’ बिना भन्छिन्, ‘मेकअप आर्टमा निकै ठूलो भविष्य पाए ।’ 

करिब डेढ दशकदेखि मेकअप आर्टिस्टको करिअर थालेकी उनले लन्डनमै तीनवटा मेकअप प्रदर्शनी गरिसकेकी छन् भने गएको नोभेम्बरमा लन्डनमै सम्पन्न फेसन सोमा उनले गरेको कोरियोग्राफीले प्रशंसा बटुल्यो । आफ्नै ‘क्रिस्टल हेयर एन्ड ब्युटी स्टुडियो’ सञ्चालन गर्दै आएकी उनी यतिबेला मेकअप कार्यशाला चलाउन नेपाल फिरेकी छन् । केही अघिमात्रै राजधानीमा मेकअप आर्टको कार्यशाला चलाएकी उनी शुक्रबार इटहरीमा मेकअप आर्टकैबारे प्रस्तुति दिँदै छिन् भने २४ तारिख फेरि राजधानीको होटल सांग्रिलामा कार्यशाला चलाउँदै छिन् । कार्यशालामा मेकअप आर्ट, यसको महत्त्व, सम्भावना र तरिकामा उनको प्रस्तुति केन्द्रित रहनेछ । 

‘मेकअप आर्टको जिज्ञासा राख्ने र करिअर बनाउन चाहनेहरू थुप्रै भेटें,’ बुधबारको भेटघाटमा उनले भनिन्, ‘मैले लन्डनमा सिकेको ज्ञान आफ्नो मुलुकमा बाँड्न पाउँदा निकै खुसी छु ।’ उनको विचारमा मेकअप आर्ट सोचेजस्तो सजिलो छैन । अनुहारको आकार र बनावट हेरेर त्यसअनुकूल सिंगार गर्न सक्नुमै मेकअप आर्टिस्टको विशेषता झल्किन्छ । ‘दैनिक नयाँ अनुहारको फेस सिँगार्नुपर्दा चुनौती बेग्लै हुन्छ,’ उनको अनुभव छ । तर, अनुहारमा सिँगार्नु मात्र नभई स्किन हेल्थको महत्त्वपूर्ण पाटोमा पनि आर्टिस्टमा उत्तिकै ज्ञान हुनुपर्छ । उनी सकेसम्म बजारिया सौन्दर्य प्रसाधन गुणस्तर मूल्यांकन गरेर लगाउने सल्लाह दिन्छिन् । कुराकानीका क्रममा उनले यूकेमा भन्दा नेपालमै मेकअप करिअरको सम्भावना बढी रहेको बताइन् । ‘विदेशमा व्यस्त जीवनशैलीले गर्दा पार्लर धाउने फुर्सद कहाँ हुनु ?,’ उनले भनिन्, ‘नेपालको जीवनशैली वेस्टर्न कन्ट्रीको जस्तो छैन ।’ उनी बिस्तारै आफ्नो कार्यथलो नेपाल बनाउनेबारे पनि सोच्दै छिन् । 

अनुहार सिँगार्नचाहिँ उनलाई सबैभन्दा राम्रो आँखाको लाग्छ । ‘मुहारको सुन्दर अंग नै आँखा हो,’ उनले भनिन्, ‘यसलाई सजाउँदा विशेष ध्यान दिने गर्छु ।’ उनका अनुसार सामान्य आँखाको मेकअप गर्न १० देखि १५ मिनेट समय लाग्छ । उनले मेकअप गर्नुभन्दा अघि मनोवैज्ञानिक परामर्श जरुरी रहेको पनि बताउँछिन् । धेरैको अपेक्षा राम्रो बन्ने हुन्छ । मेकअप आर्टले अकल्पनीय सुन्दरता थपिदिनेचाहिँ हैन, भइरहेकै अवस्थामा सिर्जनशीलता थप्ने हो । बिना अनुहार सुन्दर बनाउनुको साथै हेल्दी स्किन बनाउन पनि विशेष जोड दिने गर्छिन् । हालै लन्डनमा उदितनारायण झाको गीत ‘झरीसरी...’ मा अभिनय गरेकी बिना म्युजिक भिडियोतिर पनि छाउँदै छिन् । 

प्रकाशित : माघ ५, २०७३ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?