कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भ्यालेन्टाइन डाइनिङ

एक दशक त भएको छैन । तर, ५/७ वर्षयता युवायुवतीले चाडकै रूपमा मनाउन थालेको भ्यालेनटाइन डे फुड बिजनेस गर्नेहरूका लागि पनि एउटा महत्त्वपूर्ण अवसर बनेको छ ।

भ्यालेन्टाइन डाइनिङ

‘एकले अर्कालाई माया दर्शाउने यो पर्वमा हामीले नि केही न केही नयाँ तयारीका साथ अफर ल्याउनुपर्ने बाध्यताको परिस्थति आइलाग्यो,’ रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) का केन्द्रीय अध्यक्ष प्रमोदकुमार जैसवालले भने । फेब्रुअरी १४ नआउँदै काठमाडौं, पोखरा र सौराहाका रेस्टुरेन्ट, बार र होटलले कुनै न कुनै अफर ल्याउनुपर्ने नै भएको छ । नयाँ सजावट गर्नै पर्छ । 

रोम सम्राटले आफ्ना सैनिकलाई प्रेम र विवाहमा लगाएको निषेधलाई पादरी सन्त भ्यालेन्टाइनले उल्लंघन गर्दै सार्वजनिक बिहे गराइदिएपछि सन् २६९ देखि सुरु गरेको भ्यालेन्टाइन पर्व संसारभर लोकप्रिय भएको छ । काठमाडौं पनि भ्यालेन्टाइनमा लपेटिन्छ । लाजिम्पाटमा ककटेल, लन्च र डिनरका लागि ८ वर्षअघि स्थापना भएको मेला रेस्टुरेन्ट एन्ड बारका सञ्चालकसमेत रहेका रेबान अध्यक्ष जैसवालका अनुसार अहिले सहरको व्यस्ततामा डुबेकाहरू पनि कसैलाई भेट दिनुछ वा महत्त्वपूर्ण विषयमा डिल गर्नुछ भने पनि ‘लौ ∕ भ्यालेन्टाइन डेमै भेटौं न,’ भन्छन् । 

यो दिवसमा सार्वजनिक बिदा नभए पनि अन्तत: अधिकांशले भ्यालेन्टाइन मनाउने हब इटरी हाउस, कफी सप, रेस्टुराँ हुन थालेका छन् । सिनेमा हल जाने, घुम्न निस्किनेहरूको पनि अन्तिम बसाइ रेस्टुराँ नै हुन्छ । ‘यो बेला हामी नर्मल डेको दाँजोमा थ्री टाइम्स बिजनेस सम्भावना देख्छौं,’ तीन दशकदेखि रेस्टुरेन्ट व्यवसायमा आबद्ध जैसवालले भने । उनका अनुसार अहिले भ्यालेन्टाइनमा इटरी हाउसहरूमा रातो रंगको एम्बियन्समा सजावट हुन्छ । त्यहाँ प्रेम जनाउने संकेत, चिह्न, बेलुन, रिबन राखिन्छ । अनि, त्यो दिन गीत पनि सकभर मायापिरतीकै बजाइन्छ । ‘माहोल बनाउने मात्रै होइन, उपहार पनि राख्न थाल्यौं, मेनुमा एउटा खरिदमा अर्को सित्तैमा पनि दिन थाल्यौं, यस्तो नगर्नेहरू आउटलेट त कस्तो कस्तो लाग्न थाल्यो ५/७ वर्षयता,’ जैसवालले भने । पछिल्ला वर्ष अंग्रेजी, नेपाली नयाँ वर्ष, क्रिसमस, विकेन्ड जस्तै भ्यालेन्टाइन–डे पनि एउटा यस्तो पर्व भइदियो जसले फुड बिजनेसमा पनि योगदान पुर्‍याउन थाल्यो ।

पाँचतारे होटल अन्नपूर्णले आफ्नो फेसबुक पेजमार्फत अतिथिहरूलाई भ्यालेन्टाइन दिवसको तयारीमा जुट्न आह्वान गरिसक्यो । अतिथिहरूलाई योजना बनाउन यसले फेब्रुअरी २ तारिखमै अपिल गरिसकेको छ । ५२ वर्ष अघिदेखि अतिथिहरूका लागि आफ्नो ढोका खुला गरेको अन्नपूर्णले होटलका आउटलेटहरू अरनिको, घर–ए–कबाब, कफी सप, जुनेली बार र केक सपमा भ्यालेन्टाइन दिवसलाई साइत बनाई प्रि–अर्डर र रिजर्बेसनका लागि खुला गरेको बताइसकेको छ । ती आउटलेटमा सेट मेनुहरू राखेर उसले आफ्नो पुलसाइडमा लिमिटेड टेबल रहेकाले रिजर्ब गर्न पनि अत्याएको छ । कुनै बेला स्वर्गीय अधिराजकुमारी श्रुतिको फेबरेट अन्नपूर्णको फ्रन्ट केक सपले दिल झल्किने ‘थ्री–डी’ केक पनि तयार पार्दै छ ।

बौद्धस्थित हयात होटलले रोमान्टिक डाइनिङ, स्टे प्याकेज र रोमान्टिक स्पा जर्नी गरी तीनवटा प्याकेज सार्वजनिक गरेको छ । भ्यालेन्टाइन डे र भोलिपल्ट गरी दुई दिनका लागि ल्याइएका प्याकेजमा कम्प्लिमेन्ट्री चकलेट आदि राखेको छ । काठमाडौं बाहिर घुम्न जानेका लागि चितवनको सौराहा पनि अर्को गन्तव्य हुन सक्छ । किनकि सौराहामा नौ वर्षयता यही प्रेम दिवसलाई नै साइत पारेर फुड फेस्टिभल आयोजना गरिँदै आएको छ । रेबानका मात्रै सौराहामा १ सय सदस्य रेस्टुरेन्ट छन् । ती सबैले यस पर्वमा केही न केही अफर ल्याउँछन् नै । 
अहिले प्रहरीले प्रेम दिवसको साँझ चल्तीका सहरहरूमा अलि अबेरसम्म आउटलेटहरू खुला गर्न छुट दिन्छ । 




प्रकाशित : फाल्गुन २, २०७३ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?