धोबीघाटमा अगेनो

काठमाडौं — ‘नेपालमा केही गर्न सकिँदैन’ भन्ने मानसिकता बनाउँदै आउनुभएको छ भने एकपटक धोबीघाटस्थित अगेनो – द हेस्टियामा जानुहोस् । यो रेस्टुरेन्टले आममानिसका यस्तै धारणालाई ब्रेक गर्न मद्दत गर्नेछ ।

धोबीघाटमा अगेनो


साझेदारीमा उद्यम गर्न नसक्नेहरूले ‘आँ...ऽऽ पार्टनरसिपमा काम गर्नु हुँदैन । दु:ख खाइन्छ १’ भनेको पनि प्राय: सुनिन्छ । यस्तो मानसिकतालाई पनि अगेनोले गलत नै तुल्याइदिनेछ । २ करोड २५ लाख हाराहारी लगानीमा स्थापना गरिएको यो आउटलेटमा १८ जना लगानीकर्ता छन् । सायदै काठमाडौंमा यति धेरै साझेदारहरूले स्थापना गरेका थोरै उद्यम/व्यवसाय होलान् ।

धेरै लामो समयदेखि विकासे एजेन्डालाई करियर बनाउँदै आएका दीपक सापकोटा १८ लगानीकर्तामध्येका एक हुन् । ‘पार्टनरसिप बिजनेस नेपालमा चल्दैन र नेपालमा केही गर्न सकिँदैन भन्नेहरूलाई यो हाम्रो प्रोजेक्टले च्यालेन्ज गर्नेछ,’ सापकोटाले भने । खासमा आफूलाई बेकरीप्रेमी भन्ने सापकोटा धेरै लामो समययता एउटा इटिङ हब स्थापना गर्ने चाहना राख्दै आइरहेका थिए ।

‘हामी आफैं पनि धेरै होटल/रेस्टुरेन्टमा कार्यक्रम गरिरहने, तर सन्तुष्ट हुने सर्भिस, खाना भने प्राय: कहिल्यै नमिल्ने,’ हालैको एक अन्तर्वार्तामा सापकोटाले भने, ‘अन्तिममा बिल तिर्ने बेला जहिल्यै असन्तुष्ट भएर निस्किनुपर्ने अनि यस्तै पिरलोले अगेनाको आकार लिएको हो,’ उनले भने ।

यसमा लगानी गर्नेहरूले कम्तीमा ५ लाखदेखि बढीमा २० लाखसम्म रकम जुटाएका छन् । यो लगानी, टुगेदर होल्डिङ एन्ड इन्भेस्टमेन्ट प्रालिमा जम्मा हुन्छ । यसैको यो पहिलो परियोजना हो । यसले नेपालमा युरोपमा जस्तै कफी पिउने कल्चरलाई हाइप गर्ने उद्देश्य राखेको छ । तर, बिन भने नेपाली नै । लगानीकर्ताहरूले नेपाली बिन, नेपाली उत्पादन, नेपाली रैथाने परिकारलाई जोड दिने भनेका छन् । त्यसैले पनि होला यहाँ पस्नेहरूले नेपालीपनको आभास पाउँछन् । सय जना अकुपेन्सी भएको अगेनाभित्र पस्नुभयो भने बुइगल, बारदली, रमझम, जम्काभेट, विश्राम कक्ष, बैठक कक्ष नाम दिइएका कोठा/लबी छन् ।

सञ्चालकहरूले यहाँ मौलिक नेपाली झल्किने दालभातलाई विशेष परिकारमा राखेका छन् । नेपाली खानाको पारखीका लागि यो अर्को सुखद समाचार हो । यसबाहेक कन्टिनेन्टल र इन्डियन रेसिपी पनि चलाइएको छ । सापकोटा अहिले सबैभन्दा बेकरी आइटमको डिमान्डबाट चकित छन् । ‘द्वारिका होटलमा लामो समय बिताएका बेकर हाम्रो बेकरीमा छन्,’ सापकोटाले भने, ‘हामी चाँडै काठमाडौंका ७/८ वटा स्थानमा बेकरीको फ्रेन्चाइज गर्ने तयारीमा छौं ।’
अपांग र बालमैत्री अवधारणामा डिजाइन गरिएको अगेनामा पुगिहाल्नुभयो भने यहाँको एम्बिएन्सले आकर्षित गर्छ । साढे ५ रोपनी क्षेत्रफलमा काफी हरियाली छ ।

बालबालिकाका लागि करिब डेढ रोपनी खेल्ने गार्डेन छ । मध्यम वर्गीय परिवारलाई टार्गेट गरिएको यहाँको मेनु पनि महँगो छैन ।
साढे ५ सय रुपैयाँ एक्लो ज्यानका लागि काफी हुनेछ ।

प्रकाशित : जेष्ठ २६, २०७४ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?