कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

इतिहास : जसले गाडी बोके

६० वर्षअघिसम्म राजधानी काठमाडौंमा जति गाडी चल्थे, ती सबै मकवानपुरको भीमफेदीबाट भरियाहरूले बोकेर लगेका हुन्थे । यसरी गाडी बोकेर ल्याउने क्रम २०१३ सम्म चल्यो ।
प्रताप विष्ट

अहिले गाडीले मान्छे बोक्छ, उहिले मान्छेले गाडी बोक्थे ! त्यसो त, उहिले पनि गाडीले नै मान्छे बोक्थ्यो । तर समयको यात्रा यस्तो थियो— त्यति बेला कति गन्तव्यसम्म तिनलाई मान्छेले नै बोकेर पुर्‍याउनुपर्थ्यो । अनि मात्र मान्छेहरू त्यसमा यात्रा गर्न पाउँथे ।

इतिहास : जसले गाडी बोके

६० वर्षअघिसम्म राजधानी काठमाडौंमा जति गाडी चल्थे, ती सबै मकवानपुरको भीमफेदीबाट भरियाहरूले बोकेर लगेका हुन्थे । विक्रम संवत् १९८० को दशकदेखि काठमाडौंमा मोटरबाटो बन्न सुरु गरेको थियो । उपत्यकाको सीमित सडक सञ्जाल थानकोटसम्म मात्र थियो भने वीरगन्जदेखिको बाटो भीमफेदीबाट उक्लिएकै थिएन । 

यसरी गाडी बोकेर ल्याउने क्रम २०१३ सम्म चल्यो । २०१० देखि बन्न थालेको पृथ्वी राजमार्ग भीमफेदी–थानकोट तीन वर्षसम्ममा जोडिएपछि भारतदेखि गाडी गुडेरै काठमाडौं आउन थाले, भरियाले बोक्नुपरेन ।
त्यस बेला गाडी बोक्ने भरियाहरूका कथा चाखलाग्दा छन्, ‘लाहुरेबा’ हरूले सुनाउने लडाइँको कहानीजस्तै । तर जति वर्ष बित्दै गयो, यस्ता कथा सुनाउने पात्रहरू सकिँदै छन् । यो संवाददाताको खोजीमा त्यस्ता पात्र अब दुई जना मात्र भेटिएका छन्— ९० वर्षीय जुक्तबहादुर वाइबा र ८५ वर्षीय हीराबहादुर घलान ।
थाहा–५ तसरका वाइबा धामीझाँक्री हुन् । तर उनलाई गाउँमा गाडी बोक्ने भरिया भनेरै चिन्छन् । उनका अधिकांश दाँत झरिसकेका छन् । टाउकोमा कपाल छैन । तर शरीरको ताकत अहिले पनि छ घर–घरमा पुगेर बिरामीलाई ढ्याङ्ग्रो ठोकेर झारफुक गर्छन् । उहिले गाडीको नोल बोकेको काँधमा अहिले ढ्याङ्ग्रो बोक्छन् । 

वाइबाले २००० सालतिरबाट गाडी बोक्न सुरु गरेका हुन्, त्यति बेला उनी १६ वर्षका थिए । ६ फिट अग्लो र बलियो भएकाले गाडी बोक्ने नाइकेले उनलाई गाउँवाट छानेर लगेको थियो । पहिलोपटक भीमफेदीबाट सानो गाडी नोल लगाएर चारतिर ८/८ जना गरी ३२ जनाले बोकेर ७ दिनमा थानकोट पुर्‍याएको उनी अझै सम्झिन्छन् । त्यति बेला उनले ५ रुपैयाँ ज्याला पाएका थिए । त्यसमा तीन रुपैयाँ बाटो–खर्च लाग्यो । दुई रुपैयाँ घरमा बुझाए । ‘आम्मै ! घरमा एकैचोटि दुई रुपैयाँ पाउँदा त सबै दंग,’ उनी सुनाउँछन् । एक दशकभन्दा बढी अवधिमा साना ठूला गरेर सयभन्दा बढी गाडी बोके उनले । 

गाडी बोक्दा चिप्लिने डरले सबै भरियाले परालको चप्पल लगाउँथे । त्यही बानीले वाइबालाई अहिले पनि समस्या पारेको छ । अरू चप्पल उनलाई मन नपर्ने, परालको लगाउन नातिहरूले नदिने । उनी खाली खुट्टै गाउँ डुल्छन् । एक खेप खाडी ओसार्दा ४ जोर चप्पल फाट्ने गरेको उनी सुनाउँछन् ।
गाडी बोकेर कमाउन थालेपछि गाउँमा सजिलै बिहे गर्न सकेको वाइवा बताउँछन् । ‘त्यति बेला २, ४ वटीसँग विवाह गरेको भए पनि हुन्थ्यो, तर त्यसो गरिनँ,’ उनी हाँस्दै सुनाउँछन् । तीन वर्षअघि पत्नी बितेपछि उनी नातिको साथमा छन् । 

वाइबाकै घरबाट आधा घण्टा उकालो हिँडेपछि पुगिने थाहा–५ पुरन्डीमा छ घलानको घर । घुँडा दुख्ने समस्याका कारण उनी २ वर्षदेखि लौरोको सहारामा मात्रै घर भित्र–बाहिर गर्न सक्छन् । ‘सयको हाराहारीमा गाडी बोकेर काठमाडौं पुर्‍याइयो,’ उनी भन्छन्, ‘ अहिले आफैंलाई अरूले बोकेर भित्र–बाहिर गराउन पर्ने भो ।’ 

गाडी बोकेकै कमाइले घलानले पुरन्डीमा ३० रोपनी जग्गा जोडेका थिए । रमाइलो के भने, अहिले गाडी बोकेको कुरा गर्दा उनकै नातिनातिना पत्याउँदनन् । ‘गाडी बोकेको कुरा गर्दा पत्याउँदैनन्, गाडी पनि बोक्न सकिन्छ भनेर उल्टै जिस्काउँछन्,’ उनी भन्छन्, ‘पहिला पैसाको पनि दु:ख थियो, कामको पनि दु:ख थियो, अहिलेको जस्तो सजिलो कहाँ थियो ?’ 

वाइबा र घलान दुवैजना एकैपट्टिबाट गाडीको नोल बोक्थे । सुरुको पटक ७ दिनमै गाडी काठमाडौं पुर्‍याएबापत ३२ जनाको उनीहरूको टोलीलाई राणाजीले नाइकेमार्फत २० रुपैयाँ बक्सिससमेत दिएका थिए । 

साना गाडीमा लामा—लामा नोल बाँधेर चार कुनामा ८/८, १६/१६ र २४/२४ जना तन्नेरीहरूले काँधमा बोकेर हिँड्थे । त्यति बेला भरिया र नाइकेहरूले ८/८ जनाले बोक्ने गाडी ३२ मोडेल, १६/१६ जनाले बोक्ने गाडी ६४ मोडेल र २४/२४ जनाले बोक्ने ९६ मोडेलको गाडी भन्ने गर्थे । भीमफेदी, कुलेखानी, मार्खु, चित्लाङ, चन्द्रागिरि हुँदै काठमाडौं पुर्‍याउँदा ७ दिनदेखि १२ दिनसम्म लाग्ने गर्थ्यो ।

 वाइबा र घलानको भेट नभएको १० वर्षभन्दा बढी भइसक्यो । ‘गाडी बोक्ने जीवित पात्रहरू यी दुई मात्र हुन सक्छन्,’ इन्द्रसरोवर, मार्खुका ९२ वर्षीय दलबहादुर बलामीले भने, ‘गाडी बोक्नेहरू अधिकांश यसै भेगका थिए, धेरै मरिसके ।’ त्यति बेला गाडी बोक्ने भरियाहरू प्राय: मार्खु, कुलेखानी, चित्लाङ, फाखेल र वज्रबाराहीका थिए । गाडी बोकेका फाखेलका हीराबहादुर बलामी र चित्लाङका धनबहादुर गोलेको २ वर्षअघि मृत्यु भइसकेको छ । 

प्रकाशित : जेष्ठ २७, २०७४ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?