कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'भलिउड'मा चम्किएका चन्द्र

मनोज पौडेल

काठमाडौं — ५० भन्दा बढी नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गरिसकेका चल्तीका युवा द्वन्द्व निर्देशक चन्द्र पन्तलाई भलिउडको रमझमले तानेको छ । त्यसो त कलिउडका विराज भट्ट, निखिल उप्रेती, रजनी केसीलगायत धेरै कलाकारलाई भोजपुरी चलचित्रले नतानेको होइन ।

'भलिउड'मा चम्किएका चन्द्र

दशकयता ठूलो फड्को मारेको भोजपुरी सिने उद्योगको मोहमा परेका पन्तले आफ्नो फिल्मी करियरको पहिलो चलचित्र निर्देशन नै भोजपुरीबाट गर्दैछन् । 

हाल वीरगन्ज क्षेत्र वरपर उनको भोजपुरी चलचित्र ‘निरहुवा चलल लन्डन’ को छायांकन धमाधम भइरहेको छ । असारे झरी दर्किरहँदा हवल्दार सुन्तली, मुखौटा, कृ, पल आदि चलचित्रको द्वन्द्व निर्देशन गरिसकेका पन्तको जोस रुझेको छैन । यो चलचित्रमा भोजपुरी सुपरस्टार दिनेशलाल यादव निरहुवा र चल्तीकी नायिका आम्रपाली दुबेको मुख्य भूमिका छ ।

साताअघि जोमसोम र पोखरामा चलचित्रको एउटा गीत तथा केही एक्सन दृश्य छायांकन गरेर वीरगन्जतर्फ आएको चलचित्र युनिट अहिले बाँकी दृश्य छायांकनमा व्यस्त छ । चलचित्रको ४० प्रतिशत दृश्यको छायांकन नेपाल र बाँकी लन्डन, स्कटल्यान्डमा गर्ने योजना रहेको पन्तले बताए । ‘६० दिनमा छायांकन सक्ने योजनाका साथ हाम्रो युनिट अहोरात्र काम गरिरहेको छ,’ उनले भने, ‘यसै गतिमा छायांकन भए योजनाबद्ध रूपमा आउँदो छठ पर्वका दिन चलचित्र रिलिज गर्न भ्याउने छौं ।’

पशुपतिनाथ प्रोडक्सन र खड्का फिल्मस्को ब्यानरमा निर्माणाधीन चलचित्रको निर्माताद्वय सुरज खड्का र सोनु खत्री हुन् । नेपालको मात्र नभई भारतको समेत भोजपुरी चलचित्र इतिहासमै सर्वाधिक बजेटको दाबी गरिएको यो चलचित्रको लागत करिब ४ करोड भारतीय रुपैयाँ रहेको पन्त बताउँछन् । भोजपुरी चलचित्रका सुपरस्टार जोडी निरहुवा, आम्रपाली र कमेडियन मनोज टाइगर समेतलाई मात्र पारिश्रमिक १ करोड भारुभन्दा बढी दिइएको छ । कलिउडका सुनील थापा र रश्मि भट्ट पनि चलचित्रमा अभिनय गर्दैछन् । थापाको भागको छायांकन लन्डनमा हुने पन्तले बताए । 

८ वटा गीत रहेको चलचित्रको जोमसोममा गरिएको एउटै गीतको छायांकनमा २० लाख रुपैयाँ खर्च गरिएको छ । ‘तुलनात्मक रूपमा नेपाली चलचित्रले अन्तर्राष्ट्रिय बजार पाइसके पनि भोजपुरी चलचित्र भारत र नेपालमा मात्र सीमित रहेकाले त्यसको पनि स्तर बढाउने हाम्रो प्रयास हो,’ पन्त भन्छन् । चलचित्रमा भारतीय चलचित्र कलाकारबाहेक सम्पूर्ण प्राविधिक नेपालकै रहेको उनले बताए । 

आगामी महिना लन्डनमा आयोजना हुन लागेको भोजपुरी फिल्म अवार्डमा चलचित्रको पहिलो गीत सार्वजनिक गर्ने योजना रहेको पनि उनले सुनाए ।  

प्रकाशित : श्रावण १०, २०७४ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?