पौडेरै पुग्छन् दिनहुँ कार्यालय

एजेन्सीहरू

काठमाडौं — ट्राफिक जामबाट आजित नहुने सायदै कोही होलान्? दिनहुँजसो सडकमा हुने जामले सर्वसाधारणको घण्टौं समय त्यत्तिकै खेर जाने गरेको छ। अझ उकुसमुकुस हुने गर्मी र माइक्रोमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यता त छँदै छ।

पौडेरै पुग्छन् दिनहुँ कार्यालय

त्यसैमा पनि सडकमा हिँडिरहेको मानिस देख्यो कि सहचालकले सिट नभए पनि सवारी साधन रोकेर यात्रु चढाउने गरेको दृश्य पनि हामीले सधैं देख्दै आएका छौं, अझ हामीमध्ये धेरैले भोगेका पनि हौंला। ट्राफिक जामको मार नेपालीले मात्रै भोग्ने गरेको ठान्नुभएको छ भने त्यो गलत हुन सक्छ। अन्य मुलुकमा पनि ट्राफिकको व्यवस्था उस्तै छ। यहाँ भने जर्मनीको म्युनिक सहरको ट्राफिक जामको कुरा गर्न लागिएको हो। 

बीबीसीका ड्यानियल लोहरले हालै ‘क्यापिटल’ स्तम्भअन्तर्गत ‘माई कम्युट’ मा सार्वजनिक गरेको भिडियोमा एकजना जर्मनका कर्मचारीको कार्यालय पुग्ने अनौठो यात्राको चर्चा छ। म्युनिक सहरमा ट्र्राफिक जाम त छँदै छ, सब–वे रेलहरूमा खुट्टासमेत राख्न नसकिने गरी यात्रु खचाखच भरिएका हुन्छन्। 

बिहान कर्मचारीहरूलाई समयमै कार्यालय पुग्न सधैं सास्ती र तनाव खेप्नैपर्ने हुन्छ। तर, यसरी सास्ती खेप्नुभन्दा त्यसको विकल्प रोज्ने एक्लो निस्किए ४० वर्षीय बेन्जामिन ड्याभिड। उनले यसका लागि एउटा जुक्ति निकाले। हरेक बिहान उनी स्थानीय इसार नदीमा पौडी खेल्दै कार्यालय पुग्न थाले। कुलटर्सट्रयान्डस्थित आफ्नो कार्यालयसम्मको दुई किलोमिटर यात्रा उनी यसरी नै पूरा गर्छन्। त्यो पनि एक–दुई दिन मात्रै होइन, विगत दुई वर्षदेखि उनी पौडेरै कार्यालय पुग्ने गरेको भिडियोमा देखाइएको छ। यसो गर्दा उनी आफूलाई आनन्दको अनुभूति हुने गरेको बताउँछन्। व्यस्त सडकमा गुड्ने सवारी साधान र साइकलमा यात्रा गर्ने हजारौंमध्ये ड्याभिड मात्र फरक देखिएका हुन्। भीडको पछाडि दौडनेहरू धेरै भए पनि उनी पृथक् शैली अपनाएर चर्चामा आएका छन्। निसास्सिने गरी सवारी साधनमा यात्रा गर्नुभन्दा स्वास्थ्यका लागि लाभदायक र मनोरञ्जन पनि हुने भएकाले जलमार्ग रोजेको उनले बताएका छन्। 

सार्वजनिक स्थानहरूमा संस्कृति र वाणिज्य क्षेत्रका लागि काम गर्ने एउटा सानो समूह ‘थिंकटयांक’ का संस्थापक एवं प्रवक्तासमेत रहेका बेन्जामिन बल्डेप्लेट्जस्थित आफ्नो अपार्टमेन्टबाट बिहानै निस्कन्छन्, सडक पार गर्दै इसार नदीमा सीधैं हाम फाल्छन्। आफ्नो बासस्थलबाट दुई किलोमिटर टाढा रहेको कार्यालय डेढ घण्टा लगाएर पुग्ने गर्छन्। सवारी साधनमा यात्रा गर्दा त यति समयमा पुग्नै गाह्रो हुन्छ। अफिस सुरु हुनुअगावै गन्तव्यमा पुगेपछि टावेलले आफ्नो जीउ पुछेर टिसर्ट लगाई नजिकैको क्यापेमा कफी खाएर केही क्षण विश्राम गर्छन् अनि अफिस छिर्छन्। 

नदीमा हामफाल्दा विशेष खालका वाटरप्रुफ ब्याग मात्रै प्रयोग गर्दैनन् उनी। पौडी खेल्न सहज होस् भनेर हावा भरिएको ब्यागको पनि उपयोग गर्छन्। स्विट्रल्यान्डको ब्यासेलमा पौडी खेल्नेहरूका लागि डिजाइन गरिएको ‘विकेलफिस्क’ ले उनको पौडीलाई सहज बनाइदिएको छ। पौडीबाजका लागि यो अत्यन्तै उपयोगी मानिन्छ। विशेषखाले यो ब्यागले बेन्जामिनको ल्यापटप, कागजात र सुक्खा कपडा सुरक्षित राख्छ। यो ब्याग झुन्डयायो अनि आफ्ना हातहरूले पानीमा छयाप्छयाप र छुप्छुप गर्दै उनी गन्त्यतर्फ लाग्ने गरेका छन्। मौसम र पानीको तापक्रमअनुसार बेन्जामिनले आफ्नो पहिरनको छनोट गर्ने गरेका छन्। उनी साधारण खालका कपडा लगाउँछन् र सधैं रबरको चप्पल लगाएर खोला तर्छन्। 

मानिसले खोलामा सिसाबाट बनेका बोतलदेखि बिग्रेका साइकलसम्म फाल्ने गरेकाले खुट्टा घाउ लाग्नबाट बच्न रबरको चप्पल लगाउने गरेको बताउँछन्। 

म्युनिख जर्मन सहरको अति व्यस्त सडकमा घण्टौं ट्राफिक जाम भए पनि ३० हजार मानिसले सधैं भीडभाड भएको सवारी साधनमै यात्रा गरिरहेकाले उनी आफूलाई सहयोग गर्न अन्यलाई अपिल गरेका छन्। दुई साताअघि यस्तै असाधारण काम अमेरिकी नागरिकले गरेको समाचार सम्प्रेषित भएको थियो। समाचारमा कर्ट भोन ब्याडिन्स्कीले हरेक दिन लस एन्जेलसबाट हवाई जहाजमा यात्रा गर्दै कार्यालय पुग्ने गरेको उल्लेख थियो। 

जर्मन नागरिक बेन्जामिनको कार्यालय पुग्ने मार्गमा नदी थियो, अमेरिकी नागरिक कर्टसँग हवाईजहाजमै अफिससम्म पुग्ने सम्पत्ति थियो। त्यसैले उनीहरू कार्यालय पुग्नकै लागि अनौठो 
मार्ग रोजे। 

काठमाडौंवासीका लागि त कार्यालय जानका लागि यो विकल्पै छैन, तिनीहरू हिँड्ने भनेकै सडक मार्गबाटै हो, सार्वजनिक यातायातका साधन नै चढ्ने हो। चालक र सहचालकले सवारी साधनमा जति कोचे पनि यात्रा गर्नैपर्ने बाध्यता पनि त छ, राजधानीवासीलाई। यो बाध्यताबाट उन्मुक्तिका लागि ट्राफिक व्यवस्थापन अनुशासित हुनैपर्छ।

प्रकाशित : श्रावण २०, २०७४ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?