१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बदलिँदै दरको मेनु

तीज

काठमाडौं — हरियो दुधौले मकै छोडाएर भाँडामा राख्ने । मजाले उम्लिएको दूधमा खीर पकाएजस्तै गरी त्यो मकै राख्ने । अनि निकै बेर उमाल्ने । जसरी खीर बनाइन्छ, उसैगरी आवश्यक सबै सामग्री राख्ने । पाकेपछि तयार हुन्छ— ‘मकै खीर’ ।

बदलिँदै दरको मेनु

धेरैलाई यो परिकार नौलो लाग्न सक्छ । तर, गायिका कोमल वलीले सानैदेखि दरको रूपमा मकैको खीर खाएको सम्झिइन् । बुधबार दर पकाउने सुरमा रहेकी उनले आमाको हातले बनाएको मकै खीरको स्वाद बिर्सन नसकेको बताइन् । उनकी आमा अझै पनि तीजको दरमा मकैको खीर बनाउन सल्लाह दिन्छिन् ।

समयले कोल्टे फेरेसँगै बस्ने, खाने, हिँडडुल गर्ने शैलीमा रुपान्तरण हुँदै छ । अहिले दरको स्वाद पनि फेरिन थालेको कोमलको अनुभव छ । उनले धेरै पहिले दरकै रूपमा ‘सिल्ला रोटी’ खाएको पनि सुनाइछन् । ‘अचेल हराउँदै छ,’ उनले भनिन् । उनका अनुसार दूधमा रोटीका टुक्रा बनाएर फेरि पकाउने परिकारलाई ‘सिल्ला रोटी’ भनिन्छ ।

तीज मनाउने शैलीमा आएको परिवर्तनसँगै अचेल मौलिक परिकार पनि हराउँदै छन् । यसपालि दर बनाइरहँदा कोमलले मासुका परिकार बढी छनोट गरेको बताइन् । ‘अचेल मासुबिना पनि दर बन्छ र भन्ने भइसक्यो,’ उनले भनिन्, ‘म पनि मासुका थुप्रै भेराइटी बनाउन रुचाउँछु ।’

रंगकर्मी सरिता गिरीले दुई वर्ष भयो आमाका हातको दर खान छुटाएको । अहिले उनकी आमा अस्ट्रेलियामा छिन् । ‘ममीले पकाएको खीर जहिले पनि सम्झिन्छु,’ उनले भनिन्, ‘बाल्यकालमा दर खाँदाको क्षण निकै रमाइलो हुन्थ्यो ।’ उनकी आमाले घरमै सबै सामान जुटाएर परिकार बनाउँथिन् । कुनै पनि परिकार बाहिरबाट किनिँदैनथ्यो ।

‘यो त आमाको समयको कुरा भयो,’ सरिताले भनिन्, ‘अहिले हाम्रो समय अर्कै छ । फकाउने झन्झटतिर लाग्न कोही चाहँदैनन् ।’

व्यस्तता र बजारको सहज उपलब्धताका कारण यस्तो बदलाव आएको सरिताको ठहर छ । उनले भने फलफूल र थरीथरीका मिठाई बढी किन्ने गरेको बताइन् । तीजको दिन व्रत बस्नुपर्ने हुँदा उनी अघिल्लो दिन नुन कम भएको खाना पकाउने सुरमा छिन् । उनका अनुसार, धेरै नुन खाए दर खाएको भोलिपल्ट व्रत बस्दा तिर्खाले सताउन सक्छ । त्यसैले उनी दरमा फलफूलप्रति विशेष ध्यान दिने गर्छिन् ।

अभिनेत्री वर्षा शिवाकोटी दर पकाउन निकै रहर गर्छिन् । उनी आमा, सानीआमाहरूले पकाइरहेका बेला सहयोगी पनि बन्ने गर्छिन् । मिठाई, सेल रोटी, अचार, दही लगायतका परिकार उनको दरको मेनुमा पर्छन् ।

उनको घरमा पहिलेपहिले दर शाकाहारी हुन्थ्यो रे । ‘अचेल माछामासुका परिकार बन्ने गरेका छन्,’ उनले सुनाइन् ।

वर्षाले सानैमा आमाले दरको रूपमा ‘ढकनी’ पकाएर खुवाएको अहिलेसम्म बिर्सेकी छैनन् । माछामासु र सागसब्जीका थरीथरीका परिकार एकैसाथ राखेर खानुमै दरको विशेष अर्थ रहेको उनले बताइन् ।

प्रकाशित : भाद्र ८, २०७४ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?