कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

“अल इन्डिया रेडियोमा गाउन थाल्दा पर्‍यो लभ”

सम्बन्ध
मधु शाही

काठमाडौं — डाइनिङ टेबलमा परिकार तयार छन् । घरको तल्लो तलामा आफ्नै सुरमा काम गरिरहेका पति (संगीतकार शिलाबहादुर मोक्तान) लाई गायिक कुन्ती मोक्तानले भान्सामा धेरैपटक बोलाइसकेकी छन् । शिलाबहादुरको आउने छाँट छैन । उनी आफ्नै सुरमा रमाइरहेका छन् ।

“अल इन्डिया रेडियोमा गाउन थाल्दा पर्‍यो लभ”

‘होस्टेलभन्दा पनि कडा छ, उनको नियम,’ बल्लबल्ल माथि उक्लेका शिलाबहादुरले मुस्काएर कुन्तीप्रति इसारा गर्दै भने, ‘उनी रिसाउँछिन्, म चाहिँ सुटुक्क गएर नबोली खान थाल्छु ।’ शिलाबहादुरले खाना खाएपछि चाहिँ कुन्तीको अनुहार उज्यालो हुँदै जान्छ । सँगै रिस पनि मर्छ ।

राजधानीको कुमारीगालस्थित मोक्तान कटेजभित्रको सामान्य दैनिकी हो यो । बुबाआमाको मौन र क्षणिक शीतयुद्धबाट शीतल र सुबानी रमाउने गर्छन् । अहिलेसम्म उनीहरूले बुबाआमाबीचको चर्को झगडा सुनेका छैनन् । चित्त बुझेन भने कुन्ती बोल्दिनन् । वादविवाद गर्ने शिलाबहादुरको बानी नै छैन । छोरी शीतलले अनुमान लगाएकी छन्, ‘त्यसैले ममी–बुबाको जोडी देखेर लोभै लाग्छ ।’

हालैको भेटघाटका क्रममा मोक्तान दम्पतीले आफ्नो प्रेमप्रसंग र पछिल्लो सांगीतिक गतिविधिबारे खुलाए । दार्जिलिङको सुन्दहमा शिला र कुन्तीको पहिलो भेट भएको थियो । दुवै शास्त्रीय गुरु जेसी राईसँग संगीत सिक्ने गर्थे । पछि दुवै जनाले अल इन्डिया रेडियोमा गीत गाउन थाले । संगीतको सिकाइ र मित्रतासँगै उनीहरूको सम्बन्ध निकट हुँदै गयो । संगीतको करिअर अघि बढाउन नेपाल भित्रिने दुवैको सोचमा पनि मेल खायो । त्यसपछि उनीहरू नेपाल आए र दार्जिलिङमा फक्रिएको प्रेमलाई वैधानिकता दिए । सन् १९८३ मा नेपाल आएका उनीहरूले त्यसपछि कहिल्यै पछाडि फर्किनुपरेन । ‘त्यति बेला मेरो केही थिएन, मात्रै कुन्ती थिइन्,’ शिलाबहादुरले सुनाए, ‘उनी मेरो पूर्ण घर हुन् ।’

शिलाबहादुर र कुन्तीलाई संगीतले पक्कै जोडेको हो । तर, झन्डै चार दशक लामो सहयात्रा सहज थिएन । ‘सम्बन्ध धेरै राम्रो बनाउँछौँ भनेर सोच्ने जमानै थिएन,’ शिलाबहादुरले सत्य बोले । कुनै पनि सम्बन्ध निर्वाह गर्दा दुवैले आआफ्नो दायित्व महसुस गरेर व्यवहारमा उतार्ने कोसिस गरे, जीवनमा कहिल्यै संकट नआउने दुवैको अनुभव छ ।

कुन्ती चञ्चले स्वभावकी छन्, शिलाबहादुर भने गम्भीर । शिलाबहादुरको व्यवहार कुन्तीको भन्दा ठीक उल्टो छ रे । कुन्तीले भनिन्, ‘हामी विपरीत ध्रुवका दुई चुम्बकीय गुण हौँ ।’

कुन्ती र शिलाबहादुरको कुशल दाम्पत्यले नेपाली संगीत क्षेत्रमा ठूलै योगदान दिइरहेको छ । दुई छोरीसहित परिवारै संगीतमा होमिएको छ । कुन्ती शिलाबहादुरकै संगीतमा मात्र गीत गाउँछिन् । अहिलेसम्म कुन्ती र शिलाबहादुरको सहकार्यमा ‘कहिलेकाहीं’, ‘मायालुलाई’, ‘कुसुम’, ‘कृति’, ‘मनको सपना’, ‘शैलुङ्गे’, ‘हाम्रो भेट’, ‘मेरो मन’ लगायत १२ एल्बम आएका छन् । यति बेला भने १३ औं एल्बमको तयारीमा मोक्तान दम्पती लागिपरेका छन् । 

‘नाम जुरिसकेको छैन’, कुन्तीले सुनाइन्, ‘तीन महिनाभित्र एल्बम सार्वजनिक गर्दै छौँ ।’ 

कुन्ती शीलाबहादुरलाई कुसल संगीतकार मान्छिन् । गायकको स्वर रेन्ज कुन स्तरको छ त्यो बुझेर संगीत गर्न सक्ने क्षमता शीलाबहादुरमा रहेको कुन्तीको बुझाइ छ । शीलाबहादुर चाहिँ सुरुमा दार्जिलिङमा भेटिएकी कुन्ती र अहिलेकी कुन्तीको स्वरमा आकाशपाताल फरक पाउँछन् । उनले कुन्तीको गलाको प्रशंसा गर्दै भने, ‘उनको स्वर अरु कसैसँग मेल खाँदैन, गड गिफ्टेड हो यो ।’ 

शिलाबहादुर र कुन्ती जति नै मिलेर बसेका भए पनि उनीहरूलाई एकअर्काका साह्रै मन पर्ने र नपर्ने कुनैकुनै बानी छन् । कुन्तीको खाना पकाउँदा पकाउँदै कहिलेकाही नुन हाल्न बिर्सने, जोक्स गर्दा पनि रिसाएर बस्ने, कहिले काहिँ घर ढिलो आए चित्त दुखाउने जस्ता बानी शिलाबहादुरलाई मन पर्दैन । तर, खाना असाध्यै मिठो बनाउने, घरको पुर्ण जिम्मेवारी लिने, सबैलाई माया र केयर गर्ने कुन्तीको स्वाभाव मन छुने छ । कुन्तीलाई भने शिलाबहादुरको संगीतकार, श्रीमान् र अभिभावक तिनवटै भुमिका बराबर निर्वाह गर्ने, सकारात्मक सोच राखिदिने, घर नहुँदा सबै दायित्व पुरा गर्ने बानी मन पर्छ । ‘कहिलेकाहिँ भने जे विषयमा ’नि सकारात्मक भईदिदा गाह्रो पर्छ,’ कुन्तीले भनिन्, ‘सपिङ गर्न पटक्कै जाँगर नगर्ने र एकदमै मुडी बानी छ ।’ तर, यस्ता नराम्रो लाग्ने बानी सुधार्न उनीहरू एकअर्कालाई कहिल्यै दबाव दिँदैनन् । ए अर्काको अस्तित्व स्वीकारे मात्रै घर चल्छ भन्नेमा मोक्तान दम्पत्ती विश्वस्त छन् । 

शिलाबहादुरलाई कुन्तीको

  • मन पर्ने बानी 
  • खाना असाध्यै मीठो पकाउने
  • घरको पूर्ण जिम्मेवारी लिने
  • सबैलाई माया गर्ने

मन नपर्ने बानी

  • तरकारीमा नुन हाल्न बिर्सिने
  • जोक गर्दा पनि चित्त दुखाउने
  • घर आउन ढिलो भए रिसाउने

कुन्तीलाई शिलाबहादुरको 

  • मन पर्ने बानी
  • सबै भूमिका निर्वाह गर्ने
  • सकारात्मक सोच राख्ने
  • घरमा एक्लै भए काम गर्ने 

मन नपर्ने बानी

  • जेमा पनि सकारात्मक भइदिने
  • सपिङमा पटक्कै जाँगर नलगाउने
  • एकदमै मुडी भइदिने

प्रकाशित : आश्विन १८, २०७४ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?