तन्दुरुस्ती सफलताको पहिलो सर्त

मधु शाही

काठमाडौं — बलिउड अभिनेत्री शिल्पा शेट्टीलाई फिटनेश गुरु मानिन्छ । खास गरी योगमार्फत शरीर स्वस्थ र तन्दुरुस्त राख्न उनी जोड दिने गर्छिन् । तन्दुरुस्ती सफलताको पहिलो सर्त हुने उनी मान्छिन् ।

 तन्दुरुस्ती सफलताको पहिलो सर्त

फिटनेसलाई सौन्दर्य मन्त्र बनाएकी अर्की बलिउड अभिनेत्री हुन्, विपाशा वसु । युटयुबमा उनले ‘३० मिनेट वर्क आउट’ भन्दै भिडियो नै अपलोड गरेकी छन् । यो भिडियोका भ्युअर्स ३ करोडभन्दा बढी पुगिसकेका छन् । 


फिटनेसको प्रभाव नेपाली कलाकारमा पनि उत्तिकै छ । उमेर पाक्दै गएका अभिनेता राजेश हमाल, अभिनेत्री करिश्मा मानन्धरलगायतका सेलेब्रिटीको फिजिकल फिटनेसले सधंै चर्चा पाइरहन्छ । यसको रहस्य के होला ? राजेशले सामाजिक सञ्जालमार्फत दर्शकलाई जवाफ दिइरहेका हुन्छन् । उनले फिटनेस वर्क आउट गर्दै गरेका विभिन्न तस्बिर फेसबुकमा राखेका छन् । कहिले राति त कहिले बिहान खिचिएका फोटाहरू उनको फेसबुकमा देख्न सकिन्छ । रातमा समेत वर्क आउट गरेको फोटोले उनी फिटनेसप्रति कति गम्भीर छन् भन्ने खुलाउँछ । आफ्नो मात्रै होइन, उनी ‘स्वस्थ्य रहनु’ भन्दै फयानहरूलाई उत्तिकै अभिप्रेरित गरिरहेका हुन्छन्, फेसबुकमार्फत । 


त्यस्तै, फिटनेसमा सचेत हुने अभिनेत्रीमध्ये बेनिसा हमाल पनि पर्छिन् । बिहान होस्् या बेलुकी, जति बेला समय मिल्छ, उतिबेला उनी जिमका लागि तयार हुन्छिन् । ‘कार्डियो’ उनको मन पर्ने एक्सरसाइज हो । कहिलेकाहीं फिल्म सुटिङमा व्यस्त हुँदा भने उनी जिम धाउन पाउँदिनन् । ‘तर, जहाँ भइन्छ त्यहाँ हल्का एक्सरसाइज गरेकै हुन्छु,’ उनी भन्छिन्, ‘एक्सरसाइज नहुँदा मुड अफ भएजस्तो लाग्छ ।’ साताको दुई–तीन पटक चाहिँ उनी जसरी भए पनि जिमखाना जाने गर्छिन् । ‘शरीरलाई तन्दुरुस्त राख्न व्यायाम आवश्यक छ,’ उनी सल्लाह दिन्छिन्, ‘त्यहीअनुसार दैनिक खानपानमा पनि ध्यान दिनुपर्छ ।’ हेभी एक्सरसाइज गर्नेले खानपानको सन्तुलन मिलाउन सकेन भने शरीरलाई उल्टो असर गर्ने उनको अनुभव छ । 


कलाकार एवं कार्यक्रम प्रस्तोता सञ्जय गुप्ता पनि वर्क आउटमा उत्साहित महसुस गर्छन् । उनको इन्स्टाग्राम फोटोले धेरै कुरा खुलाउँछ । हरेक एक्सरसाइज मुभमेन्टमा सेल्फी खिच्दै उनले फोटो पोस्ट गरेका छन् । नियमित व्यायामका लागि उनी साइकलसमेत प्रयोग गर्छन् ।

गायिका सुनीता दुलालले पनि फिटनेसप्रति चासो देखाएकी छन् । ‘आजैदेखि एक्ससाइज सुरु गर्दै छु, र अब सधैं गर्नेछु’ भन्ने स्टाटससहित उनले पनि जिमखानाको फोटो फेसबुकमा राखेकी छन् । उनको फोटामा वर्क आउट गर्दा निकै रमाइलो हुने र सधंै यसलाई जारी राख्नु भन्दै शुभेच्छुकहरूले प्रतिक्रिया दिएका छन् । 


फिटनेसमा रमाउनेमध्ये रंगकर्मी सिर्जना सुब्बा पनि पर्छिन् । उनको एक्सरसाइज गर्ने तरिका भने अलिक बेग्लै छ । उनी जिममा धाउनुभन्दा आउट डोर ट्राभलिङ गर्न मन पराउँछिन् । ‘नेचर लभर छु,’ उनी भन्छिन्, ‘साइक्लिङ जस्तो गुड एक्सरसाइज केही हँुदैन ।’ फिजिकल एक्सरसाइजसँगै शान्त वातावरण स्वास्थ्यका लागि आवश्यक रहेको उनको मत छ । त्यही भएर फुर्सद पाउनासाथ उनी राजधानीको कोलाहल छोडेर साइकल यात्रामा निस्किन्छन् । भन्छिन्, ‘साइकल साथीजस्तै हो । यसले सधैं फ्रेस मुड दिन्छ ।’ 

 

प्रकाशित : कार्तिक २३, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?