कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

‘गुरुकुल नखुलेको भए म रक्सी बेचिरहेको हुन्थेँ’

टर्निङ प्वाइन्ट

काठमाडौं — उम्दा अनुहार पनि हैन । बलिष्ठ ज्यान पनि छैन । तर विपिन कार्की ‘हिरो’ बनेर देखिए ‘जात्रा’ मा । हुन त त्यसअघि नै उनी ‘पशुपति प्रसाद’ बाट भष्मे डनका रूपमा मासमा चिनिइसकेका थिए । हरेक फिल्म र हरेक चरित्रमा भिन्न अवतारमा पदार्पण हुने विपिनको शैली यति बेला ‘नाका’ मा आउँदै छ ।

‘गुरुकुल नखुलेको भए म रक्सी बेचिरहेको हुन्थेँ’

सुनील पोखरेलका प्रिय चेला विपिनको अभिनय भने रंगमञ्चबाट सुरु भयो । पछिल्लो पटक ‘रसोमन’ मा देखिएका विपिन झन्डै तीन वर्षपछि फेरि गुरुकै नाटक ‘हरियो ढुंगा’ मा देखिँदै छन् । अभिनय करिअरमा दुइटा टर्निङ प्वाइन्ट पार गरेका विपिनका लागि दुवैको कारक आरोहण गुरुकुल रहयो । 

 

म २०३९ भदौ ५ मा मोरङको बाहुनीमा जन्मेको हुँ । घरमै दाइ अर्जुन कार्की पनि फिल्म क्षेत्रमै हुनुहुन्छ । तराई भए पनि विकट गाउँमा हुर्केँ । गाउँमा बाइक आउँदा पनि कुदेर हेर्न जान्थ्यौं । मलाई बाइकको स्मेल खुब मन पथ्र्यो । पछि अलिक बजारमा सर्‍यौं, मोटरसाइकल कुद्ने ठाउँमा । नयाँ ठाउँमा कमलमणि नेपाल दाइको छिमेकी भएँ । 

बुबा भारतीय आर्मीमा हुनुहुन्थ्यो । घरमै टिचर डेरा लिएर बसेकाले पनि पढाइ राम्रो थियो । स्कुलमा प्राय: फस्ट हुन्थें । स्कुलमा पनि सबैले मन पराउँथे । म त्यो बेला पनि रमाइलो गर्थें । १४ वर्षमा एसएलसी दोस्रो श्रेणीमा पास गरें । मलाई साइन्स पढ्न मन थियो । तर सीएमए पढायो भने जागिर खान सजिलो हुन्छ भन्दिएपछि आमाले सीएमए पढाउन धनकुटा पठाउनुभयो । त्यहाँ स्कलरसिपमा नाम निकालें तर घरमा भनिनँ । घरबाट आएको पढाइ खर्च फुर्माइस गर्दिन्थें । त्यति बेलाको त्यो पैसा जोगाएको भए सायद धरानमा जग्गा नै किन्न सक्थें होला । 
बदमास थिएँ । होस्टलमा बस्थें तर धनकुटाका लोकल केटाहरूसँग संगत चर्को थियो । 
स्नुकर खेल्नेदेखि महँगा होटलमा साथी लिएर खान जान्थें । एसएलसीपछि एकाएक मुक्त भएजस्तो लाग्थ्यो । 
मलाई उटपटयाङ कुरा गर्न सानैदेखि मन पथ्र्यो । अझै पनि सरहरूले मलाई ‘तँ जस्तो टयालेन्टेड र फटाहा अहिलेसम्म कुनै स्टुडेन्ट आएको छैन’ भन्नुहुन्छ । एक पटक टोले फुटबल म्याच भयो । म खेल्न जान्ने नभए पनि क्याप्टेन थिएँ । दाइहरूको आडमा आफ्नो लेभलकालाई हेप्थें । ढकाल टोलको टिमसँग हाम्रो म्याच भयो । मैले हावामा हानेको बल क्रस बारमा लागेर फर्कियो । खेल हुँदै थियो । मैले बल च्याप्प समातेर ‘यो पोल दुई इन्च होचो छ’ भनेर निहुँ खोजें । खेल रोकेरै नापियो । आखिर अर्को पोस्टमा खाल्डो परेको कारणले त्यो पोस्ट होचो ठहर्‍याइयो । गोल दिइयो । सानैमा म्याराडोना, पेलेको त्यस्तै किस्सा सुनेको प्रभावले काम गर्‍यो । 
सीएमए पढाइमा भने मलाई खासै चाख बसेन । बरु त्यही बेला दाइले काठमाडौं आएर ‘पापी’ फिल्म खेलेको थाहा पाएँ । घर आएर फोटो देखाउँदा दंग पर्थें । पछि फिल्म हेरेको त दाइ फयाट्टै मर्ने रोलमा रहेछन् । मनै खिन्न भयो ।
पहिले गाउँमा पनि दाइ, कमल दाइहरूले नाटक गर्थे । मलाई पनि ससाना रोल दिन्थे । त्यतिमै पनि मैले दर्शकलाई इन्जोय गराइदिन्थें । आफ्नो कामबाट दर्शक हाँस्दा मक्ख पर्थें । सीएमएपछि मैले जागिर पनि सुरु गरें । क्लिनिक पनि खोलें तर त्यसमा मन अडिएन । २०५६ सालमा काठमाडौं आएँ । दाइ त्यस बेला फाइटर बनिसक्नुभएको थियो । दाइसँगै लाजिम्पाटमा बस्थें । घरमा खाना पकाउनको अल्छीले दाइको सुटिङमा जान्थें । तर जहिल्यै फाइटकै सुटिङमा मात्रै जाँदा वाक्क लाग्थ्यो । रत्नराज्य लक्ष्मी क्याम्पसमा पढ्न थालें । त्यसपछि मेरो नेपाली साहित्यतिर झुकाव बढ्यो । बदमासीचाहिँ अझै छुटेको थिएन । क्यान्टिनमा त्यो बेला नै १५/१६ सय रुपैयाँ उधारो थियो । 
त्यो बेला कमल दाइ काठमाडौं आएर नाटकमै लाग्नुभएको थियो । मैले पनि एक/दुइटा नाटक हेरेको थिएँ । पछि गुरुकुल खुल्यो । कमल दाइकै कारण म पनि पुग्न थालें । ब्याक स्टेजको काम कसैले नअह्राई पनि गर्दिन्थें । त्यो बेला क्याम्पसको पढाइ बिहान थियो । दिनभरको फुर्सदको समय गुरुकुल जाने गर्न थालें । बिस्तारै सौगात (मल्ल) दाइ, राजकुमार (पुडासैनी) दाइको पनि प्यारो हुँदै गएँ । त्योबाहेक साइड जबका रूपमा मैले रक्सीको मार्केटिङ पनि गर्थें । तर त्यो काम पनि मन परेन । बिस्तारै नेपाली साहित्य र नाटकप्रतिको झुकाव बढ्न थाल्यो । गुरुकुल खुल्नु नै मेरो लागि टर्निङ प्वाइन्ट भइदियो । सुनील सरलाई देखेको ६ वर्षपछि उहाँले मलाई मेरै नामले बोलाउनुभयो । त्यत्रो मान्छेले नाम नै काढेर बोलाउँदा मेरो मुटु ढक्क फुलेर आयो । म पनि अब केही हो कि भन्ने 
लाग्यो । त्यसपछि नाटकहरूमा छिटपुट रोल पाउन थालें ।
रक्सी बेच्ने काम छोडेपछि दाइले मलाई रेडियो अडियोको मार्केटिङमा जागिर लगाइदिनुभयो । त्यहीं पनि मैले मार्केटिङमा अरूलाई फ्लप खुवाइदिएको थिएँ । रेडियो अडियोमै जागिर एकदम राम्रो भइरहेका बेला सुनील सरले गुरुकुलमै बस्ने प्रस्ताव गर्नुभयो । त्यो दिन बल्ल मैले खोजेको पाएँ भन्ने लाग्यो । गुरुकुल आएँ । मेरो दुर्भाग्य, म आएको केही समयमै गुरुकुल बन्द हुन पुग्यो । बल्ल मैले मेजर रोल पाउन थालेको थिएँ । फेमस हुँदै थिएँ । बन्द हुने कुराले साह्रै चित्त दुख्यो । तर छोटो बसाइमा पनि मैले गुरुकुलबाट जीवन बुझें । बाइक फेरीफेरी चढ्नुपर्ने, चमकधमकमा रमाउने मान्छे पूरै बदलिएँ । मैले जे देखाइरहेको थिएँ, त्यो बाहिरी आवरण केही रहेनछ । मान्छे भएर देखाउनुपर्ने चिज अरू नै रहेछ । काम देखाउने रहेछ भन्ने पाठ सिकें । सुनील सर, सौगात दाइजस्ता गुरु पाएँ ।
सुनील सरले अन्तर्वार्ताहरूमा गुरुकुलको बेस्ट एक्टरमा मेरो नाम लिएको सुन्दा मन नै आनन्दित हुन्छ । लागि पर्‍यो र एउटा उद्देश्यमा निरन्तर केन्द्रित रहयो भने सफलता पाइने रहेछ । म सौगात दाइको कामको क्रेजी फयान हो । गुरुकुल बन्द भएपछि उहाँ ‘दासढुंगा,’ ‘कागबेनी’ जस्ता फिल्म खेल्नतर्फ लागेपछि मलाई पनि रहर जाग्यो । त्यसअघि नेपाली फिल्मभन्दा म नाक खुम्च्याउने गर्थें । मैले पनि सौगात दाइको सोर्स लगाएर ‘आचार्य’, ‘लुट’ मा मुख देखाउन पाएको थिएँ । पछि ‘छडके’ मा बिन्दुको रोल पाएँ । मैले बिन्दुको चरित्रमा जति मिहिनेत आजसम्म कुनै फिल्ममा गर्न पाएको छैन । त्यो समय नै दिइँदैन । ‘छडके’ पछि भने मैले खाली बस्नुपरेको छैन । 
‘पशुपति प्रसाद’ पछि त मलाई एकै दिन सात फिल्मको अफरसमेत आएको छ । बरु अहिले अलिक कम छ ।
मलाई धेरै फिल्म गर्नु पनि छैन । जति पनि खेलूँ, मेरो चरित्रका कारण चिनिन सकूँ । विपिन कार्कीका रूपमा त अहिले पनि मलाई बाहिर हम्मेसी कसैले चिन्दैन । चरित्रमा न्याय गर्न सकेको रहेछु भनेर मलाई त्यसमै खुसी लाग्छ । पैसा नै कमाउनु थियो भने अहिले रक्सी डिलर राखेर बसिरहेको हुन्थें होला ।
-प्रस्तुति : सुशील पौडेल

प्रकाशित : पुस २, २०७४ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?