मलाई मन पर्छ  - रागिनी उपाध्याय कुलपति, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान

कान्तिपुर संवाददाता

काठमाडौँ — ठाउँ नेपालमा मुक्तिनाथ क्षेत्र । यो ठाउँ मलाई ईश्वरले बनाएको ल्यान्डस्केप पेन्टिङजस्तै लाग्छ । मुलुकबाहिर चाहिँ अस्ट्रियाको भियना । आर्ट र कल्चरको हिसाबले निकै लोभलाग्दो लाग्छ । फ्रान्सको पेरिस अर्को त्यस्तै लोभलाग्दो ठाउँ हो । एउटै थलोमा आर्ट र कल्चरका थुप्रै म्युजियमहरू घुम्न चाहनुहुन्छ भने पेरिस ठीक छ । 


परिकार
सादा दाल, भात र तरकारी । यसपछि थाई सी फुड । लेमन ग्रास मिसिएको थाई सी फुडको स्वादको सधंै पारखी हुँ ।

पेय
प्राय: वाइन पिउँछु । शिराज ब्रान्डको ड्राई वाइन पहिलो रोजाइमा पर्छ । ड्राईचाहिँ किनभने यसमा सुगरको मात्रा कम हुन्छ ।

पुस्तक
बीपी कोइरालाको ‘तीन घुम्ती’ उपन्यास र ‘कर्णेलको घोडा’ कथा । ‘तीन घुम्ती’ नारी मनोविज्ञानको उत्कृष्ट सिर्जना हो । उत्ति बेलै ‘कर्णेलको घोडा’ मा बीपीले नारीको बोल्ड यौन मनोविज्ञान प्रस्तुत गरेको पाउँदा अचम्मित हुन्छु । यो एउटा मास्टरपिसको हो जस्तो लाग्छ ।

लेखक
बीपी कोइराला । विदेशी साहित्यकारमाचाहिँ सेक्सपियर । सेक्सपियरका कथाहरूको म फयान हुँ । भारतीय साहित्यकार अमृता प्रितम पनि खुब पढ्छु ।

गीत
नारायणगोपालको ‘गल्ती हजार हुन्छन्, यहाँ होस हराएको बेला, एक्लै तिमी नआऊ म मात्तिएको बेला...’ । यो गीत निकै अर्थपूर्ण लाग्छ मलाई । यसले बेहोसी मनोविज्ञानलाई गम्भीर ढंगले प्रस्तुत गरेको छ ।

गायक/गायिका
प्राय: भावुक र ट्राजेडी गीतहरू सुन्छु । यस मामिलामा नारायणगोपाल छुटाउनै मिलेन । हिन्दी गीतमा चाहिँ लता मंगेशकर । यी दुईका गीत सुन्दा ऊर्जा मिलेको अनुभूति हुन्छ ।

फिल्म
नेपालीमा यादव खरेलको ‘प्रेमपिण्ड’ सधंै सम्झिराख्छु । हिन्दीमा ‘मुगले आजम’ ले निकै छोयो । प्राय: क्लासिकल फिल्महरू मन पर्छ ।

अभिनेता/अभिनेत्री
सामाजिक हिसाबले अर्थपूर्ण फिल्म र अभिनयका लागि आमिर खान । अभिनेत्रीमा इलेयाना डी क्रुज बोल्ड छिन् ।

ग्याजेट
ओपो र आइफोन दुवै चलाइराखेकी छु ।ओपो फिटो खिच्न ठीक छ । आइफोन पनि सजिलो लाग्छ ।

रंग
कोबाल्ट ब्लु । यो धेरै गाढा नीलो पनि हुन्न, धेरै चम्किलो पनि हुन्न । मेरो स्वभाव पनि यस्तै छ । चित्र कोर्दाचाहिँ टपिकमा पनि भर पर्छ ।
चित्रकार
नेपालीमा मनुजबाबु मिश्र । विदेशीमाचाहिँ स्पेनिस सरियालिस्टिक आर्टिस्टसाल्भाडोर डाली ।

प्रकाशित : पुस २०, २०७४ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्

‘अस्वीकृत विचारक’ को सम्झना

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘अस्वीकृत विचार साहित्य’ का एक प्रवर्तक डा. कविताराम श्रेष्ठको ४५ औं स्मृति दिवसमा मंगलबार श्रद्धाञ्जलीसभा गरिएको छ । शुभचिन्तकहरूले गरेको कार्यक्रममा उनको साहित्यिक, सांस्कृतिक एवं सामाजिक योगदानबारे चर्चा गरियो । 

ओखलढुंगामा २००४ माघ ११ मा जन्मिएका श्रेष्ठ ७ वर्षदेखि बेलायतमा बस्दै आएका थिए । क्यान्सर लागेर लन्डनमा उपचाररत उनको मंसिर ३ मा उहीं निधन भएको थियो । उनका २८ वटा साहित्यिक कृति प्रकाशित छन् । पाँचवटा सहलेखन गरेका छन् । ओखलढुंगाबाट प्रकाशित हुने ‘जुनकिरी’ हस्तलिखित म्यागाजिनमा विसं २०१७ मा पहिलो निबन्ध ‘वनमारा’ निकालेका उनको अन्तिम पुस्तक लन्डनबाट ‘लाइट अफ हिमालय’ शीर्षकमा छापिएको थियो ।
कविताराम सहितको ‘अस्वीकृत विचार साहित्य’ ले जर्जर समाजविरुद्ध कडा आवाज प्रस्तुत गर्दै आएको छ । ‘साहित्यिक विकासका लागि बुट पालिस अभियान’ पनि उनकै टोलीले चलाएको थियो । उनी स्कटल्यान्डको अबर्डिन मेडिकल स्कुलका भिजिटिङ प्रोफेसर थिए । उनकै संयोजकत्वमा ओखलढुंगा सदरमुकाममा युगकवि सिद्धिचरण श्रेष्ठको सालिक निर्माण गरिएको थियो । र, सिद्धिचरणको ‘मेरो प्यारो ओखलढुंगा’ नामक कवितालाई सार्थक तुल्याउन कवितारामले २०६७ मा त्यही नामको पुस्तक प्रकाशन गरेका थिए । श्रद्धाञ्जली कार्यक्रममा पूर्वसांसद रामहरि खतिवडा, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, साहित्यकार प्रेमनारायण प्रेमी, कवि शैलेन्द्र साकार, पत्रकार चेतनाथ धमला, कोमल राजभण्डारी, रामविनय श्रेष्ठ, भीमप्रसाद श्रेष्ठ, विन्दिया प्रधान, धनकुमार श्रेष्ठलगायतले श्रेष्ठका योगदानबारे बोलेका थिए ।

प्रकाशित : पुस २०, २०७४ ०७:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्