१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

पुरुष पनि पीडित

कान्तिपुर संवाददाता

काठमाडौँ — अहिले जारी ‘मी टु’ अभियानलाई केही नेपाली अभिनेत्रीले ‘महिला भर्सेस पुरुष’ जस्तो ठान्न नहुने बताइरहेका छन्  । यौन दुव्र्यवहारविरुद्धको यो अभियान पुरुषविरोधी नभएको तिनको भनाइ छ  ।

पुरुष पनि पीडित

यही बेला भारतका केही पुरुष सेलेब्रिटीले आफूहरू पनि कुनै बेला यौन दुव्यर्वहारको सिकार भएको अभिव्यक्ति दिएका छन् ।

बलिउडमा अभिनेत्री तनुश्री दत्ताले मी टु मुभमेन्टको आगो झोसेकी हुन् । उनले आफूलाई कलाकार नाना पाटेकरले ‘सेक्सुअल्ली हर्‍यास’ गरेको बताएपछि अन्य सेलेब्रिटीले मुख खोलेका थिए । सुरुमा महिलाहरू बोलिरहे पनि अहिले सोनु निगम, रणवीर सिंह, आयुष्मान खुराना, इरफान खान लगायतले आफ्नो अनुभव सुनाएको टिलम्यांगो डटकमले उल्लेख गरेको छ ।

सोनुको मुद्दा अलि पुरानै हो । सन् २००७ मा उनले पत्रकार सुवास के. झाविरुद्ध बोलेका थिए । झाका कारण आफू यौन उत्पीडनमा परेको सोनुले बताएका थिए । आफू इन्डियन आइडलको जज हुँदाताका झाले अभद्र म्यासेज पठाउने गरेको सोनुको भनाइ छ । ‘मेरा धेरै तेस्रोलिंगी साथीहरू छन्,’ उनले जीन्युजसँग भनेका छन्, ‘मैले तिनीहरूसँग कहिल्यै असहज महसुस गरिनँ । तर, झाले मलाई धेरै चोटी अश्लिल म्यासेज पठाउने र निरन्तर फोन गर्ने गर्थे ।’

झाका कारण परिवारलाई नै अप्ठ्यारो परेपछि सोनुले म्यासेज र कलको वास्ता गर्न छोडेका रहेछन् । त्यसपछि भने पत्रकार झाले आफ्नाबारे जथाभावी समाचार छापेको सोनुको आरोप छ ।

रणवीरले पनि जुम टीभीसँगको अन्तर्वार्तामा कास्टिङ काउचबारे अभिव्यक्ति दिएका छन् । ‘एक जना घटिया निर्देशकले मलाई अप्रोच गरेको थियो,’ उनले भनेका छन, ‘त्यो कुरालाई मैले पाठका रूपमा लिएको छु ।’

टेलिभिजन कार्यक्रम प्रस्तोताका रूपमा करिअर सुरु गरेका आयुष्मानले आफ्ना सुरुवाती दिनमा कास्टिङ निर्देशकहरूबाट यौन प्रस्ताव आएको बताएका छन् । इन्डिया टुडेसँगको कुराकानीमा उनले भनेका छन्, “महिला/पुरुष दुवै निर्देशकले त्यस्तो प्रस्ताव गरेका थिए । एक जना पुरुष निर्देशक ‘तिमीलाई महसुस गर्न चाहन्छु’ भन्थे, उनको गुप्तांग मलाई देखाउन चाहन्थे ।’’ फिल्म दिने सर्तमा यौन प्रस्ताव राख्नु वा यौन दुव्र्यवाहार गर्नु सबैभन्दा अनैतिक कार्य भएको आयुष्मानको भनाइ छ ।

इरफानका अनुसार, यस्ता सर्त उनका अघि पनि निकै राखिएका थिए । हलिउडमा मी टु भाइरल भइरहेका बेला इरफानले काम दिने लोभ देखाएर निर्देशकहरूले यौन प्रस्ताव राख्ने गरेको बताएका थिए ।

प्रकाशित : कार्तिक ८, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?