कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाति पुस्ताको रोजाइमा दौरा-सुरुवाल

‘केही वर्षयता दौरा–सुरुवाल मन पराउने युवा पुस्ता बढेको छ । डिजाइनमा आएको परिमार्जन एउटा कारण हुन सक्छ, अर्को चाहिँ परम्पराप्रति युवा मोह ।’
मधु शाही

काठमाडौँ —  गुल्मीका २५ वर्षे रेसम बस्नेतले सँधैजसो आधुनिक पोसाकमै सजिए  । यस पटकको दसैंमा भने उनी भिन्न देखिए, पुख्र्याैली पहिरन दौरा–सुुरुवालमा  ।

नाति पुस्ताको रोजाइमा दौरा-सुरुवाल

किनमेलको चटारोबीच दसैंअघि काठमाडौं इन्द्रचोक पुगेर उनले रेडिमेड दौरासँगै इस्टकोट र ढाका टोपी किने । यसअघि प्राय: उनको रोजाइमा जिन्स पाइन्ट र टिसर्ट पथ्र्यो ।

‘साथीभाइका कारण दौरा–सुरुवालतिर मोह जाग्यो,’ उनले भने, ‘सुरुवालको जाङ ठूलो हुने हुँदा
अलिक असहजचाहिँ हुने रहेछ ।’

अमेरिकामा बस्ने कुशल श्रेष्ठ स्वदेशी पहिरनमा रमाउन चाहन्छन् । उनले यसपटक काठमाडौंमा रहेका आफन्तमार्फत दौरा–सुरुवाल मगाए । मौलिक पोसाक भए पनि उनको रोजाइँ भने आधुनिक शैलीमा छ । दौरा–सुरुवालमा केही मोडिफाइ गरिएका डिजाइन उनी रुचाउँछन् । खुट्टामा धेरै चुना नपरेको पाइन्ट स्टाइलको र दौरामा तुनाको सट्टा बटम डिजाइन राखेको पहिरन उनले रोजेका छन् । साथै कम्मरमा पटुकीजस्तै झल्किने ढाकाको पेटीसमेत उनले मगाए ।

‘युवा पुस्ताको चाहनाअनुकूल मौलिक पहिरनको शैलीमा पनि परिवर्तन आइरहेको छ,’ डिजाइनर कल्पना लिम्बु योङहाङले भनिन्, ‘यो स्वाभाविक पनि हो ।’

डिजाइनमा फयुजन
‘द हाइल्यान्ड आर्ट’ की प्रोपाइटरसमेत रहेकी कल्पना मौलिक पहिरन पनि समयसापेक्ष मोडिफाइ हुनुपर्ने धारणा राख्छिन् । एकातिर पुख्र्यौली पहिचान, अर्कोतिर त्यसको व्यवसायीकरण । यी दुवै चुनौती एक साथ पार गर्न मौलिकतामा आधुनिकता मिसाउनुपर्ने उनको तर्क छ । उनकै अनुभव सुन्ने हो भने डेढ दशक पहिले दौरा–सुरुवाल लगाउनुपर्छ भन्ने चासो युवाहरूमा खासै थिएन । पछिल्लो समय भने दौरा–सुरुवाल मन पराउने युवा पुस्ता बढेको छ ।

‘डिजाइनमा आएको परिमार्जन एउटा कारण हुन सक्छ,’ उनको अनुमान छ, ‘अर्कोचाहिँ परम्पराप्रति युवाहरूको मोह ।’ उनका अनुसार अचेल दौरामा हातैले बुनेको ढाकाको बोर्डर राख्ने चलन छ ।

समयानुकूल मान्छे छिटोछरितो पहिरन रुचाउँछ । यो बुझेर कल्पनाले ११ वर्ष पहिले दौरा–सुरुवालमा हल्का डिजाइन चेन्ज गरिन् । सुरुवालमा तुना राख्ने चलन पुरानै हो । अचेल युवाहरू इँजारको सट्टा इलास्टिक राखेको मन पराउँछन् । त्यस्तै, दौरामा प्रयोग हुने तुनाहरूको सट्टा पनि हुक वा बटन चलनमा आएको छ । कल्पना भने तुनाको सट्टा बटन राख्नेमा सहमत छैनन् । यस्तो प्रस्ताव राख्ने ग्राहकलाई उनी निकै बुझाएर तुना नै राख्न लगाउँछिन् । ‘दौराको सौन्दर्य त्यही तुनामै हुन्छ,’ उनले भनिन् ।

बजारमा पोलिस्टरदेखि सुतीसम्मका दौरा–सुरुवाल पाइन्छन् । खाँडीको सबै भन्दा राम्रो मानिन्छ । यो दसैंमा मात्रै कल्पनाले ४ सयभन्दा बढी ग्राहकको दौरा– सुरुवाल माग पूरा गरिन् । औपचारिक कार्यक्रम र चाडपर्वमा दौरा–सुरुवाल लगाउन थालिएको उनको भनाइ छ । ‘मैले ४ हजारदेखि ७ हजार रुपैयाँसम्म पर्ने दौरा–सुरुवाल सिलाउने गरेकी छु,’ उनले सुनाइन् ।

‘पुरानै ठीक’
दौरा–सुरुवाल अभियन्ता राजानन्द माण्डव्यको भने आधुनिक डिजाइनप्रति विमति छ । ‘पैसा कमाउने नाममा जे पनि गर्न हुन्न । दौरा–सुरुवाललाई आधुनिक डिजाइनको खाँचो छैन,’ उनले भने, ‘डिजाइनरहरूले यसको ऐतिहासिक र मौलिक महत्त्व बुझ्न जरुरी छ । बजारमा के चल्छ भन्ने हिसाबले पुरानो शैलीलाई बिगार्न हुन्न ।’

त्यसो त केही वर्षयता राजानन्द लगायतका केहिले दौरा–सुरुवालको महत्त्व र लोकप्रियतालाई जीवित बनाउने अभियानै थालेका छन् । राष्ट्रिय पोसाक दिवस घोषणा गरेर पाँच वर्षयता उनीहरू यो अभियानमा लागेका हुन् । संयोजक छन् उनै राजानन्द ।

उनका अनुसार, सयौँ वर्षअघि लेखिएको मानिने ऋग्वेद र त्यसपछिको अथर्ववेदमा पोसाकबोधक शब्द ‘द्रापी’ उल्लेख छ । ‘द्रापी’ बाट ‘दौरा’ भएको उनको दाबी छ । विसं १६८० मा कोरिएको सिद्धिनरसिंह मल्लको एउटा रेखाचित्रमा तुना बाँधेको दौरा देखिन्छ भने मल्लकालीन मूर्तिहरूमा पनि यो पोसाक प्रयोग भएको पाइन्छ । ‘मेरो अध्ययनको आधारमा, दौरा–सुरुवाल नेपालका लगभग ७० प्रतिशत समुदायले लगाउने गरेका छन्,’ उनले भने ।

प्रकाशित : कार्तिक ८, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?