अमेरिकामा इन्जिनियरिङ, गाउँ फर्केर भान्से

अमेरिकामा ५ हजार कमाएर २५ सय जोगाउन मुस्किल
आफ्नो होटलमा पर्यटकीय मौसममा दिनमै एकदेखि डेढ–लाखसम्म कमाइ 
कान्तिपुर संवाददाता

लेखनाथ — अमेरिकामा मेकानिकल इन्जिनियरिङ उत्तीर्ण युवाको योजना के हुन सक्छ ? भरसक अमेरिकामै राम्रो जागिर खोज्ने । जिन्दगी उतै ‘सेटल’ गर्ने । कास्की घान्द्रुकका राहुल क्षत्री भने गाउँ फर्किए । बुबाको होटलमा भान्से बने । 

घान्द्रुक–घोरेपानी–पुनहिल पदमार्गमा पर्ने टाडापानीमा रहेको होटलमा दूध उमाल्दै ।तस्बिर : दीपक परियार/कान्तिपुर

घान्द्रुक–घोरेपानी–पुन हिल पदमार्गमा पर्ने टाडापानीमा ८ होटल छन् । तीमध्ये होटल पानोरामा प्वाइन्ट राहुलको परिवारले चलाउँछ । उनी होटलमा खाना बनाउँछन् । पर्यटकसँग अर्डर लिन्छन् । वेटर आफैं बन्छन् । फोन उठाएर ‘बुकिङ’ लिन्छन् । भेटेजति काम गर्छन् । २८ वर्षीय राहुल इन्जिनियरिङ पढेर पनि होटल सम्हादै आएका छन् ।

Citizen

घान्द्रुक मेलाचेका उनले एसईईसम्म पर्वतको कुश्मामा पढे । पोखराबाट विज्ञानमा ‘ए लेभल’ सकाए । उच्च शिक्षा अध्ययन गर्न विदेश नै जाने साथीसँग सल्लाह भइरहेको थियो । अस्ट्ेरलिया, न्युजिल्यान्ड र अमेरिकामध्ये एक देश जाने उनको इच्छा थियो । दुई वर्षपछि अमेरिकाको भिसा लाग्यो । इदाहो स्टेट युनिभर्सिटीमा ५० प्रतिशत छात्रवृत्ति पाएर मेकानिकल इन्जिनियरिङमा स्नातक गरे ।

साढे ५ वर्ष अमेरिका बसेपछि उनलाई लाग्यो, ‘अब नेपालमै फर्किन्छु ।’ उनले आफ्नो होटलमा राम्रो कारोबार भएको देखेका थिए । पर्यटकसँग बोल्न पाउँदा उनलाई रमाइलो लाग्थ्यो । अन्नपूर्ण र माछापुच्छ्रे हिमालको छाया, गाउँका टारी खेत, पाखापखेरा खुब सम्झिए । बुबालाई नेपाल नै फर्किने योजना सुनाए । बुबाले पनि नाइँनास्ती गरेनन् । ६ महिना भयो उनी नेपाल फर्किएका ।

होटलमा पाए जति काम गर्नु उनका दैनिकी बनेको छ । ‘यहाँ छरछिमेक, आफन्तले अमेरिका छोडेर किन आइस् भने गाली गर्छन् कि जस्तो लागेको थियो,’ उनले भने, ‘तर, त्यस्तो भएन । धेरैले सकारात्मक रूपमा लिनुभयो ।’ उनी स्वयंलाई पनि यहाँ आएकोमा कुनै पछुतो छैन । अमेरिकामा भन्दा गाउँकै होटलमा बस्दा कमाइ र सन्तुष्टि बढी भएको उनको अनुभव छ ।

‘उहाँ कमाएअनुसार खर्च हुन्छ,’ उनले भने, ‘५ हजार डलर महिनाको कमाइ छ भने कर, स्वास्थ्य बिमा, खाना, फ्ल्याट भाडा, गाडीको करमा २५ सय सकिन्छ ।’ जोगाउन जाने नेपालको कमाइले जित्ने अनुभव उनी सुनाउँछन् । हुन पनि उनको होटलमा पर्यटकीय मौसममा दिनमै एकदेखि डेढलाख रुपैयाँसम्म कमाइ हुन्छ । गाउँ फर्किनुको पछाडि अर्को एउटा कारण पनि उनले खुलाए । अन्नपूर्ण गाउँपालिका ११, मेलाचेमा गाउँको लगभग आधा जग्गा राहुलको परिवारको नाममा छ ।

तर ती जमिनको उपयोग हुन सकेको छैन । बाझो जग्गामा विदेशी जातका फलफूल खेती गर्ने उनको योजना छ । एभाकाडो र किबीको खेती गर्ने, उन्नत जातको बाख्रा पाल्ने, अर्गानिक तरकारी खेती गर्ने सोच बनाएका छन् । उनले भने, ‘आफूमात्र नभई अरू गाउँलेलाई पनि व्यावसायिक कृषिमार्फत सक्षम बनाउने योजना छ ।’ अमेरिका छँदा उनले पानी किनेर तरकारी खेती गरेर पनि पैसा कमाउने देखेका छन् । गाउँमा प्रशस्त पानी हुँदा पनि उपयोग हुन नसकेको देख्दा कहिलेकाहीँ विरक्तिन्छन् ।

अमेरिका बस्दा गाउँघरको खानालाई उनले खुब ‘मिस’ गरे । वनको टुसा, निगुरो, सागपात खाएर हुर्केका उनलाई अमेरिकाको प्रशोधित खानाले उतिसारो तानेन । पदयात्रामा आउने पर्यटकलाई गाउँकै परिकार खुवाउँदा उनीहरूको मुहारमा झल्किने खुसीले अमेरिका बिर्साइदिने उनी सुनाउँछन् ।

उनलाई गाउँमै फर्किन उनका बुबाले सहयोगी भूमिका खेले । गाउँका युवा विदेश पलायन हुन थालेपछि कामदार अभाव भएको बेला छोरालाई गाउँमै बोलाए । छोरालाई अमेरिकासम्म पढ्न पठाउन उनले कम्ता संघर्ष गरेका थिएनन् । ३५ वर्षअघि उनी पर्यटकको भारी बोकेर अन्नपूर्ण आधार शिविर ओहोरदोहोर गर्थे ।

बाटोमा पर्ने होटलले मनग्गे कमाएको उनले देखे । तीन वर्ष भारी बोकेपछि उनले आफ्नै होटल खोल्ने सोच बनाए । घान्द्रुक–घोरेपानी–पुनहिल पदमार्गमै पर्ने देउरालीमा होटल खोले । १८ वर्ष चलाए । पर्यटक ओहोरदोहोर गर्दा कि टाडापानी कि घोरेपानी बास बस्न पुग्ने गरेपछि उनलाई स्थान परिवर्तन गर्न मन लाग्यो । देउरालीको होटल ज्वाइँ छोरीलाई बेचे । टाडापानीकी सीता गुरुङसँग होटल खरिद गरे ।

होटलकै कमाइ उनको परिवारको जीवनस्तर फेरिएको छ । पोखराको लामाचौरमा घर बनाएर माइली छोरीलाई राखेका छन् । कान्छी छोरी न्युजिल्यान्डमा अध्ययन गर्छिन् । श्रीमती र कान्छा छोरा होटलमै खटिन्छन् । आठवटा भैंसी पालेका छन् । अर्गानिक तरकारीको आफ्नैं बगैँचा छ । तीनजनालाई रोजगारी दिएका छन् । बुबाको मिहिनेत देखेका राहुल उनकै बाटोमा छन् ।

लेकसाइडमा पनि छिट्टै होटल खोल्ने योजना बनाएका छन् । इन्जिनियरिङ पढाको अनुभव अप्रत्यक्ष रूपमा प्रयोग भइरहेको उनी बताउँछन् । कमाइ र बचतबीच सन्तुलन मिलाउन सक्ने हो भने युवा विदेशिनु नपर्ने उनको बुझाइ छ ।

प्रकाशित : मंसिर २९, २०७५ ०९:३०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

साइबर व्यवसाय विस्थापित

सूचना प्रविधिको विकाससँगै मोबाइल र ल्यापटपलगायत उपकरणको सहज पहुँचले साइबर व्यवसाय धरापमा
कान्तिपुर संवाददाता

कास्की — पोखराको राष्ट्र बैंक चोकमा साजन पौडेलले साइबर चलाउँथे । आम्दानी राम्रै हुन्थ्यो । आम्दानीले उनी उत्साही थिए । राम्रै व्यवसाय रोजेकोमा गर्व लाग्थ्यो । उनको त्यो उत्साह लामो समय टिकेन ।

पोखराको नयाँबजारस्थित पसलमा काम गर्दै सञ्चालक । तस्बिर : बिना थापा/कान्तिपुर 

सूचना प्रविधिको विकाससँगै मोबाइल र ल्यापटपलगायत उपकरणको सहज पहुँचले साइबर व्यवसाय नै धरापमा पारिदियो । ‘सबैको हातहात र घरमा इन्टरनेटको उपलब्धता छ ।’ उनले भने, ‘अनि को धाउँछ साइबरमा ।’

कम्प्युटर सिक्ने, च्याट गर्ने, प्रिन्ट, फोटोकपीलगायत कामका लागि ग्राहकहरू आउने गरेकोमा पछिल्लो समय आउन छाडेपछि उनले साइबरलाई स्टेसनरीमा परिवर्तन गरी चलाउँदै
आएका छन् ।

कुनै बेला पर्यटकीय सहर पोखरामा करिब एक सय जति साइबर सञ्चालनमा थिए । विशेषगरी युवा पुस्ताका लागि यस्ता साइबर सूचना प्रविधिसँग खेल्ने गतिलो माध्यम बनेका थिए । तर मोबाइल, वाईफाई, ल्यापटप, कम्प्युटर, ट्याब्लेटजस्ता उपकरण र प्रविधिका कारण साइबर बन्द भएका हुन् ।

‘साइबर गएर विदेशमा रहेका श्रीमान्सँग च्याटिङमा व्यस्त भएको भर्खर जस्तो लाग्छ । तर, ७ वर्षयता साइबर जान परेको छैन,’ तनहुँ घर भई पोखराको रत्नचोकमा बस्दै आएकी ३८ वर्षीया जानुका सुवेदीले भनिन्, ‘मोबाइलमा स्काइप, भाइबर, मेसेन्जर, इमोजस्ता सुविधा पाएपछि सजिलो भएको छ ।’

मोबाइलमै नेट भएपछि चाहेको बेलामा र फुर्सदको समयमा पनि प्रयोग गर्न सकिने भएकाले साइबर धाउनु नपरेको उनले बताइन् । आफूलाई चाहिएको वस्तु बजारबाट मगाउन पनि प्रविधिले सजिलो बनाइदिएको उनको अनुभव छ ।

बजारका लेकसाइड, महेन्द्रपुल, बगर, पृथ्वीचोकलगायत बढी चहलपहल हुने स्थानमा साइबरहरू राम्रैसँग चलेका थिए । यतिबेला भने देख्न पाइँदैन । साइबरमा ग्राहकहरू निकै रहर लाग्दो गरी आउँदा राम्रो काममा हात हालिएछ भन्ने भएको साइबर सञ्चालनको अनुभव बटुलेका बगरका लीलबहादुर पुन बताउँछन् । तर ग्राहक अभावमा उनको पनि साइबर बन्द भएपछि पेन्टिङ व्यवसायमा सरेका छन् । ‘साइबर सञ्चालन सहज थियो । आम्दानी पनि राम्रो हुन्थ्यो,’ उनले भने, ‘के गर्ने समयक्रमअनुसार बन्द गर्नुपर्‍यो ।’

महेन्द्रपुलमा साइबर सञ्चालन गर्दै आएका बाटुलेचौरका अनिल गौतमले पनि एन्ड्रोइड, आइफोन आएपछि साइबर चौपट भएको बताए । निरक्षरले पनि त्यस्ता उपकरण चलाउने गरेपछि साइबरका ग्राहक स्वत: घटेको उनको अनुभव छ ।

उनले कोरियन भाषाको तालिम दिन थालेका छन् । नयाँबजारका साइबर सञ्चालक ललित चन्दले पनि पछिल्लो समय स्टेसनरी सञ्चालन गर्दैछन् । फाट्टफुट्ट आउने ग्राहकको डकुमेन्ट टाइप गर्ने, र्‍यापिङ गर्नेलगायत काम गरी व्यवसायलाई निरन्तरता दिएका छन् । ‘प्रविधिले व्यवसाय ओरालोमा पुर्‍याएको हो,’ उनले भने, ‘साइबर विस्थापितै भयो ।’

प्रकाशित : मंसिर २९, २०७५ ०९:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT