कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

ह्योल्मो जातिले गर्‍यो कुकार पूजा 

सुनिता साखकर्मी

काठमाडौँ — हिमाली समुदायको राष्ट्रिय पर्व एवम् नयाँ वर्ष सा–म्हो फा–ल्हो २१४६ औँ ह्योल्मो सोनाम ल्होसारको उपलक्ष्यमा सोमबार बौद्धस्तुपा प्राङ्गणमा कुकार कार्यक्रम गरिएको छ । 

ह्योल्मो जातिले गर्‍यो कुकार पूजा 

ह्योल्मो आदिवासी जनजातिहरूले परापूर्वकालदेखि नै सोनाम ल्होसारलाई मुख्य चाडको रूपमा मनाउँदै आइरहेका छन् । आफ्नो संस्कृति, परम्परा, भेषभूषा प्रदर्शन गरी ह्योल्मोहरुको जातीय पहिचानलाई आन्तरिक रूपमा मात्र नभई, बाहिरी रूपमा समेत ल्याई ह्योल्मो जातिको पहिचानको अस्तित्व कायम गर्न ह्योल्मो जब्साङ्ग देक्षेन होशाल छ्योलिङ्ग गुम्बाले कार्यक्रम आयोजना गरेको हो ।


यो पर्व हिमाली जातीको चन्द्रमास पात्रोमा आधारित हुन्छ । ६० वर्षको लुनार चक्रमा आधारित यो पर्वको एक चक्र १२ जनावरहरूले बनेको हुन्छ, जसमा ५ वटा तत्त्व (खम) हरू समेत समावेश हुन्छ र हरेक तत्त्वहरूको अघि स्त्री (म्हो) वा पुरुष (फो)को उपसर्ग दिएको हुने संस्कृतिविद् टासी लामा ह्योल्मोले बताए । उनका अनुसार वर्षको गणना : मुसा, गोरु, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बनेल नाममा गरिन्छ जस्मा जल, काठ, अग्नि, भूमि र फलामगरी पाँच तत्त्वहरूको समावेश गरिएको हुन्छ र प्रत्येक १२ वर्षमा यो चक्र दोहोरिन्छ ।


६० वर्षमा पर्ने राप्च्युङ उत्सव विशेष धूमधामका साथ मनाइन्छ । सोनाम ल्होसारको प्रारम्भ पहिलो महिनाको पहिलो दिनदेखि आरम्भ हुने भएता पनि यो ल्होसार मनाउन सुरु भनेको अन्तिम महिनाको २९ औँ दिन अर्थात् औंसीको अगिल्लो दिनदेखि हुन्छ । यो वर्ष क्ष्यु–म्हो डुलल्हो अर्थात् जल स्त्री सर्प वर्ष पर्दछ ।


यो पर्व माघ महिनाको परेवा देखि पूर्णिमा सम्म मनाइन्छ । यस महिनामा हिमपातले गर्दा कृषकहरूलाई काम गर्न पनि सम्भव नहुने र अन्नहरूको समेत भण्डार गरेर राख्ने उपयुक्त समय भएकाले ल्होसार पर्व मनाउने प्रचलनको सुरुआत भएको पाइन्छ ।


गुम्बाले वार्षिक रूपमा सोनाम ल्होसारको ल्हाप्सो कार्यक्रम आयोजना गरी काठमाडौँमा बसोबास गरी बस्ने ह्योल्मो आदिवासी/ जनजातिहरू तथा केन्द्रका सदस्यहरू बिच शुभकामना आदान प्रदान गर्छन् । ह्योल्मो परम्परागत शैलीमा ल्होसार मनाउन र आफ्नो चाड पर्व, संस्कृति रितिरिवाजको संरक्षण तथा संवर्द्धन गर्नको लागि नयाँ पिढिहरुलाई प्रोत्साहन गर्न यो कार्यक्रम आयोजना गरिएको ह्योल्मो जब्साङ्ग देक्षेन होशाल छ्योलिङ्ग गुम्बाका महासचिव टासी ल्हाप्सोल कार्यक्रमको साथै रजत महोत्सव समेत मनाउन लागेको उनले बताए ।


ह्योल्मो जब्साङ्ग देक्षेन होशाल छ्योलिङ्ग गुम्बा आदिवासी ह्योल्मो जनजातिको धार्मिक, सांस्कृतिक तथा सामाजिक विकासको निम्ति कार्य गर्न स्थापना भएको सामुदायिक गुम्बा हो । यो धार्मिक गुम्बा मात्र नभई विभिन्न जिल्लामा छरिएर बसेका ह्योल्मो जातिहरूको सामुदायिक भवन समेत भएकोले हरेक सामाजिक क्रियाकलापहरू गर्दै आएको छ ।


ह्योल्मो समुदायमा ल्होसार आउनु भन्दा लगभग ८/१० दिन अगाडिदेखि नै ल्होसारको तयारी गरिने टासीले बताए । घर आँगनको सरसफाइ देखि लिएर रक्सी, च्युरा, चामल, पिठो र लुगाफाटाको जोरजामसम्म सबै ल्होसार पूर्व नै तयार पारिन्छ ।


ल्होसार पूर्वको कृष्ण त्रयोदशीसम्ममा सरसफाइ सबै सिध्याइन्छ र चतुर्दशीको दिन चुल्हो वा अगेना माथिको धुवाँ सोहोरेर दोबाटोमा फाल्ने गरिन्छ । र त्यो बेलुका क्हुथुक्पा (क्वाँटी, नौ थरीको अन्न राखेर बनाइने जाउलो) खाइन्छ ।


ल्होसारमा ह्योल्मो आदिवासी जनजातिले बनाइने विशेष प्रकारको परिकार भनेको बाबर हो । यो बाबर पनि ल्होसार पूर्व नै तयार पारिन्छ । गोलाकार बाबरलाई थालमा फुल आकारमा सजाइन्छ यसैलाई देर्का भनिन्छ ।


प्रतिपदाका दिन बिहान शुभ साइत जुराएर घर आँगनमा धार्सीङ (ध्वजा) उठाइन्छ । यसको पूर्ण रूप दिन आवश्यक थप सामाग्री भनेको दच्र्यो (कपडामा छापिएको बुद्धका बचनहरू), खोर्लो (ध्वजाको शिरमा राखिने चक्र), स्याम्फुप (गोलाकार चक्रमा राखिने विशेष प्रकारको कपडा) र राल्डी (चक्रमाथि राखिने खड्ग) हुन् । धर्सीङ उठाउनु अघि जमिनमा गाडिने एक डेढ फुट छोडेर पनि २/३ फुटसम्म खाली भाग छोडी दच्र्यो दर्सीङमा लगाइन्छ र दच्र्यो भन्दा माथि शिरमा चक्र र चक्रमाथि खड्ग लगाइन्छ ।

प्रकाशित : माघ २१, २०७५ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?