कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मञ्चमा नेवारी लोककथा

काठमाडौ — मायाले जीवन दिन्छ। घृणाले तिरस्कार। समाजमा यी दुवै चलिरहेको छ सर्वकालिक रूपमा। संस्कृतिविद् सत्यमोहन जोशीको नाटक 'धोंच्वलेचा' ले यस्तै सर्वकालिक सन्दर्भलाई पस्किरहेको छ।

मञ्चमा नेवारी लोककथा
नेवारी लोककथामा आधारित यो संगीत नाटक राजधानीको शिल्पी थिएटर नियमित मञ्चन भइरहेको छ।
पशुपति राईको निर्देशन रहेको नाटकले कथा वस्तुसँगै प्राचीन नेवारी समाज, कला, संस्कृति र जीवनशैलीलाई सुन्दरतम रूपमा प्रस्तुत गरेको छ। यसअघि नेवार भाषामा मञ्चन भइसकेको यो नाटक नेपालीमा भने रचना श्रेष्ठले अनुवाद गरेकी हुन् भने श्रीति प्रधानको संगीतले नाटकलाई उचाइ प्रदान गरेको छ। 'धोंच्वलेचा' अर्थात बुद्धिमान बाख्रा। नाटकमा बाख्रोको अभिनय निर्देशक पशुपति स्वयंले गरेकी छन्। बाल्यकालको सम्झना गराउने यो नाटकमा सौतेनी आमाको हेलामा परेकी युवतीले कसरी एकपछि अर्को समस्यालाई समाधान गर्दै जान्छिन् भन्ने कौतूहलपूर्ण प्रस्तुति हेर्न पाइन्छ।
हेलामै बाँच्नुपरेको भए पनि बुद्धिमान बाख्रोसित प्रेमपूर्वक हाँस्दैखेल्दै हुर्केकी युवतीलाई सौतेनी आमाले देखी सहँदिनन्। आफूले हुर्काएको प्यारो बाख्रो सौतेनी आमाले षड्यन्त्र गरेर मारिदिए पनि यो लोककथामा युवतीलाई सघाउन बाख्रो कुनै न कुनै रूपमा प्रकट हुन्छ। बाख्राको हड्डीलाई युवतीले जंगलमा खाल्टो खनेर पुरिदिन्छन्। भोलिपल्ट त्यो ठाउँमा सुन्दर योमरीको रूख फलसहित उमि्रन्छ। युवती त्यही योमरी खाएर गुजारा चलाउँछिन्। नाटकको यो सन्दर्भचाहिँ नेवार समुदायमा सांस्कृतिक रूपमा अर्थ राख्ने योमरी पूणिर्माको किम्बदन्तीसँग समेत जोडिएर आउँछ।
'लोभले लाभ, लाभले विलाप' भन्ने चर्चित नेपाली उखानसित पनि यो नाटकको तादम्यता देखिन्छ। सधंै हेला र दुःख खेपेकी युवतीले कसरी बुद्धिमान हुने र समस्यालाई कसरी बुद्धिमानी रूपमा समाधान गर्ने भन्ने सिकेकी हुन्छिन्। एकपटक षड्यन्त्रबश राक्षसहरूको घरमा रोटी पकाएर खुवाउनुपर्ने बाध्यतामा फसेकी उनी उल्टै राक्षसहरूबाट सुन, हिरामोती र गरहरनासहित उम्किन सफल हुन्छिन्। सौतेनी आमाले
आफ्नी छोरीलाई पनि राक्षसकोमा गएर हीरामोती ल्याउन लगाउँछिन्। दुर्भाग्यबश फर्केर आउन सक्दिनन्। नाटकमा पशुपति राई, श्रीति प्रधान, प्रमिला कटुवाल, सोनाम लामा, मनोज तामाङ, सपना खत्री, अनिल सुब्बा, अशेष राई लगायतले अभिनय गरेका छन्। २१ गतेसम्म नाटक नियमित मञ्चन हुने बताइएको छ।

प्रकाशित : पुस १३, २०७१ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?