कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

नक्सलबारीमा उदाए नौ लाख तारा...

नक्सलबारी (भारत) — कुनै समय किसान विद्रोहको उद्गमस्थल मानिन्थ्यो नक्सलबारी । चारु मजुमदारले सुरु गरेको विद्रोहको झिल्को यहाँबाट नेपाल पसेपछि झापा विद्रोह भएको थियो ।

 नक्सलबारीमा उदाए नौ लाख तारा...
आइतबार भने यहाँ कुनै विद्रोही किसान नेताको सम्झना भइरहेको थिएन । सन् १९७० को दशकमै चर्चित 'नौ लाख तारा उदाए...' गीतका सर्जक अगमसिंह गिरीको व्यक्तित्व र काव्य साधनाबारे चर्चा चलिरहेको थियो । सन्दर्भ थियो, गिरीको ८७ औं जन्मजयन्ती । नेपालीभाषी बहुल नेहादजोत गाउँ गिरीमय भएको थियो ।
समारोहको थालनी सिलिगुडीका गायक वीरेन गिरीले 'नौ लाख तारा उदाए...' गीतबाटै गरेका थिए । संगीतज्ञ अम्बर गुरुङ संगीतबद्ध गरेको र गाएको यो गीतमा सरकारले प्रतिबन्ध लगाएको थियो, जुन हालै मात्र फुकुवा भएको हो ।
त्यसपछि समारोह नेपाली जातिको उत्थानमा गिरीले गरेको साहित्यिक योगदानमै केन्दि्रत रह्यो । 'गिरी भारतीय नेपाली साहित्यका धरोहर हुन्,' गिरीको काव्य साधनामाथि विद्यावारिधि गरेका साहित्यकार डा. जीवन नाम्दुङले भने, 'उनी कलममार्फत सधैं नेपाली जातिको उत्थानमा लागिपरेका थिए ।'
गिरीले सन् १९४६ मा कालिम्पोङबाट प्रकाशित 'गोर्खा' पत्रिकामा 'गोर्खाको जय होस्' कविता प्रकाशनसँगै साहित्ययात्रा थालेका थिए । कालान्तरमा उनी 'कमल', 'आँखा', 'अस्तित्व' लगायतका पत्रिकाका सम्पादक बने । 'गिरी भूमिका लेखनमा पनि कुशल मानिन्थे,' नाम्दुङले भने, 'आफ्ना पुस्तकमा उनको भूमिका लेखाउन लेखकहरू मरिहत्ते गर्थे ।'
गिरीले 'नौलाख तारा उदाए...' का अलावा 'सुन हे सुन नेपाली...', 'वैशाख लाग्यो पहाडमा...', 'हिमाली पाखा मुन्तिर...' लगायतका लोकपि्रय गीत लेखेका छन् । 'यी गीत तत्कालीन अवस्थामा क्रान्तिकारी नै थिए भन्दा फरक पर्दैन,' सन् २००२ को साहित्य एकाडेमी पुरस्कार विजेता कवि प्रेम प्रधानले भने, 'गिरी क्रान्तिकारी र जातिवादी कवि भएकैले तत्कालीन सरकारको आँखाको तारो
बनेका थिए ।'
समारोहमा दुलालजोत नेपाली स्कुलका शिक्षक कमल थापाले गिरीबारे कार्यपत्र पेस गरेका थिए । दार्जिलिङ कलेजका प्राध्यापक मेघनाथ क्षेत्रीले त्यसमाथि टिप्पणी गरेका थिए ।
कालिम्पोङका कवि टीका भाइ र राजा पुनियानीले कविता वाचन पनि गरे । टीका, शिक्ष्ाक कैलाश सुब्बा र समाजसेवी गौरीशंकर शर्मालाई सम्मान पनि गरियो ।
यसैबीच, अगमसिंह गिरी स्मृति पुरस्कार यसपटक साहित्यकार नरबहादुर दाहाल र संगीतसाधक नवीन बर्देवालाई दिइने भएको छ । दार्जिलिङ क्षेत्रीय प्रशासन (जीटीए) को सूचना तथा संस्कृति विभागले प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । जनही एक लाख रुपैयाँ रहेको पुरस्कार वैशाख १ मा हस्तान्तरण गरिने जीटीएको सूचना विभागका प्रमुख विनय तामाङले जनाए ।

 

प्रकाशित : पुस १४, २०७१ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?