३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बाङ्देल चित्रलाई साढे पाँच लाख

काठमाडौ — आधुनिक नेपाली चित्रकलाका हस्ती दिवंगत लैनसिंह बाङ्देलको 'सपनाहरू' शीर्षक चित्र साढे पाँच लाखमा बिक्री भएको छ ।

बाङ्देल चित्रलाई साढे पाँच लाख

बाङ्देलकै ९०औं जन्मजयन्तीको अवसर पारी आधुनिक कलाकार समाज (सोमा)ले केही दिन अघि बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु गरेको 'कलापुञ्ज-४' नामक कला प्रदर्शनीमा यो चित्र राखिएको छ । 'तर, चित्र भने प्रदर्शनीबाट बिक्री भएको हैन,' सोमाका सचिव तथा पूर्व प्राज्ञ शान्तकुमार राईले भने, 'प्रदर्शनीमा आउनुअघि नै बिक्री भइसकेको रहेछ ।'
चिउँडोमा हात राखेर सोचमग्न मान्छेको आकृति उतारिएको यो तैलचित्रलाई महाराजगन्जका एक कलापारखीले किनेका हुन् । बुधबार सकिने प्रदर्शनीबाट पनि थुप्रै चित्रहरू बिक्री भएका छन् । शङरराजसिंह सुवालको 'शान्ति' शीर्षकको तैलचित्र दुई लाख पचास हजार रुपैयाँमा बिक्री भएको छ । शान्तकुमार राईकै 'दुई महिला र शंख' शीर्षक एक्रेलिक चित्र ७५ हजार रुपैयाँमा बिकेको छ । नरेश सैंजूको 'पालुङ' शीर्षक चित्र एक्रेलिङ रङको चित्र ४५ हजारमा बिक्री भएको छ भने ८२ वषर्ीय अर्का चित्रकार चिनीकाजी ताम्राकारको 'माछापुच्छ्रे' शीर्षक तैलरङको चित्र ३५ हजार रुपैयाँमा बिकेको छ । यी सबै चित्र बैंकर पृथ्वीबहादुर पाण्डेले किनेका हुन् । सरदार भीमबहादुर पाण्डेका पुत्र पृथ्वीबहादुरले नेपाली कला र कलाकारलाई प्रोत्साहन गर्न नेपाली परम्परागत र आधुनिक चित्रहरू संकलन गर्दै आएका छन् ।
बाङ्देलका विभिन्न समयका १५ शिष्य कलाकारका साथै बाङ्देल स्वयंका तीन गरी ९० चित्र राखिएको प्रदर्शनीबाट ६८ वर्षीया कान्ति न्यौपानेको 'दिङ्ला' शीर्षक चित्र पनि ३५ हजार रुपैयाँमा बिक्री भएको छ । यो चित्र भने भोजपुरकी उषा अधिकारीले किनेकी हुन् । न्यौपाने राष्ट्रकवि माधव घिमिरेकी 'गौरी' तर्फबाट कान्छी छोरी हुन् । उनी प्रायः ग्रामीण जीवन र प्यागोडा वास्तुकलामा आधारित चित्र कोर्छिन् । प्रदर्शनीबाट रमाराज मास्केको 'हिमाल' शीर्षकको दृश्यचित्र ३५ हजार रुपैयाँमा बिक्री भएको जनाइएको छ । उनको चित्र धोबीघाट ललितपुरका केशवमान मास्केले किनेका हुन् ।
सोमाले हरेक वर्ष बाङ्देलकै सम्झनामा 'कलापुञ्ज' नामक प्रदर्शनी गर्दै आएको छ । 'चन्द्रमानसिंह मास्केपछि आधुनिक कलामा उदाउनुभएका बाङ्देलमा पश्चिमा वाद अभिव्यञ्जनावाद, प्रभाववाद, घनवाद, अतियथार्थवाद, दादावाद जस्ता ज्ञान, प्रविधि, रङ र शैली विद्यमान रहेको तथा भाषा, साहित्य, मूर्तिकला र वास्तुकलामा ज्ञान भएकाले उहाँ बहुआयामिक हुनुहुन्थ्यो,' बाङ्देलका शिष्य शंकरनाथ रिमालले भने, 'हामी उहाँकै पदचिह्न पछ्याउने प्रयास गरिरहेका छौं ।' कलापुञ्जलाई हरेक वर्ष निरन्तरता दिइने तथा यो प्रदर्शनीलाई आगामी फागुनसम्ममा पोखरामा पुर्‍याइने सोमाले जनाएको छ ।

प्रकाशित : पुस १६, २०७१ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?