१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अमेरिकी आनालाई अलि मियाँ

लालप्रसाद शर्मा

पोखरा — नेपाली लोकदोहोरी गीतको विविध विषयको गहन अनुसन्धान गरी विद्यावारिधिको उपाधि पाएकी अमेरिकी नागरिक डा. आना मेरी स्टरलाई यस वर्षको लोककवि अलि मियाँ लोक वाङ्मय सम्मान पुरस्कार दिइएको छ ।

अमेरिकी आनालाई अलि मियाँ

अलि मियाँको ९८ औं जन्मजयन्तीे अवसरमा अलि मियाँ लोक वाङ्मय प्रतिष्ठानद्वारा शनिबार आयोजित कार्यक्रममा आनालाई पुरस्कार दिइएको हो ।

नेपाली लोकगीतअन्तर्गत दोहोरी गीतको अनुसन्धानमा मात्र नभई गायन र सिर्जनामा समेत पोख्त आनालाई क्षेत्रीय प्रशासक शंकर कोइरालाले २० हजार रुपैयाँ र सम्मानपत्र हस्तान्तरण गरे । नेपाली भाषामा दख्खलता प्राप्त गरिसकेकी आनाले सन् २००९ मा अमेरिकाको कोलम्बिया विश्वविद्यालय न्युयोर्कबाट नेपाली लोकदोहोरी विषयअन्तर्गत संगीत मानवशास्त्रमा विद्यावारिधि गरेकी थिइन् ।

पुरस्कारबाट सम्मानित भएपछि आनाले नेपाली लोकगीत, लोककाव्य र लोकसंस्कृतिको क्षेत्रमा जीवन समर्पण गरेका लोककवि अलि मियाँको सम्झनामा स्थापित पुरस्कार पाउँदा निकै खुसी भएको बताइन् । ‘सपना र खुसी दुवै पूरा भएको छ,’ उनले भनिन्, ‘अलि मियाँ धार्मिक सहिष्णुताका नमुना र नेपाली जनताको भावना अर्थात् नेपालीपन बुझेको कवि हुनुहुन्थ्यो ।’

नेपाली लोकगीतमा विद्यावारिधि अनुसन्धानरत तुलसी प्रवासले आनाको जीवनी र व्यक्तित्वबारे जानकारी गराउँदै नेपाली दोहोरी गीतको अथक साधक रहेको बताए । नाम र नागरिकताले आना अमेरिकी भए पनि प्राज्ञिक कर्मक्षेत्र र रुचिका दृष्टिले पूरै नेपाली बनिसकेको उनको दाबी थियो । ‘नेपाली लोकदोहोरी गीत, त्यसको अध्ययन अनुसन्धान तथा नेपाली लोकसंस्कृति र लोक वाङ्मयको उन्नयनमा उनी समर्पित छन्,’ उनले भने ।

अमेरिकाको हवाई राज्यको होनोलुलु उनको घर हो । हवाई विश्वविद्यालयमा एसियाली अध्ययन विषयमा एसिस्टेन्ट प्रोफेसरका रूपमा कार्यरत उनी सानैदेखि संगीत, लोकसंस्कार र लोकसंस्कृतिको अध्ययन अनुसन्धानमा गहिरो रुचि राख्थिन् । नेपाली गीत संगीतसँग सम्बन्धित ‘सिङगङ्स अक्रोश डिभाइइड्स म्युजिक’, ‘लभ एन्ड पोलिटिक्स इन नेपाली’ शीर्षकको पुस्तकसमेत उनले प्रकाशित गरेकी छन् । अन्य देशबाट प्रकाशित हुने अनुसन्धानमूलक जर्नलहरूमा सयौंको संख्यामा नेपाली गीत, संगीत र संस्कृतिसँग सम्बन्धित लेखहरू पनि प्रकाशित भइसकेका छन् ।

अध्ययन अनुसन्धानसँगै गायन र सिर्जनामा उत्तिकै पोख्त छिन् उनी । कार्यक्रममा उनले आयुष परियार र रेशक विरहीसँग केहीबेर दोहोरी गीतसमेत गाइन्– सुविधा त सम्पन्न हाम्रो (अमेरिका) छ, त्यस्तो भएनि नेपालै राम्रो छ ।

यहाँको खाना धेरै नै खाँदै छु, गुन्द्रुक ढिँडो बनाउन जान्या छु । अलि मियाँ लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा अलि मियाँपुत्र हनिफ मियाँले आना जन्मले अमेरिकी भए पनि कर्मले नेपाली चेलीजस्तै भएकीले आफूहरूले नेपालमा निम्त्याएर पुरस्कार दिएको जनाए ।

प्रकाशित : फाल्गुन १६, २०७२ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?