‘केरमेट सपना’ सँगै सकियो

चरिकोट — काठमाडौं उपत्यका धेरैको सपना हो, रहर हो । सुख र सपना पहिल्याउँदै यो सहर पस्नेहरूमध्ये थोरैले जित हासिल गर्छन्, धेरैले चाहिँ निराशा । अझ निम्नवर्गीय समाजका मानिसहरूका लागि काठमाडौं सहर निकै ठूलो संघर्षको भुमरी हो ।

‘केरमेट सपना’ सँगै सकियो

यस्तै निम्नवर्गीय पात्रहरूले काठमाडौं पसेपछि गर्नुपर्ने संघर्षलाई समेटर तरंग सांस्कृतिक परिषद् तयार पारेको नाटक ‘केरमेट सपना’ सँगै राष्ट्रिय नाटक महोत्सव आइतबार समापन भएको छ । नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले पहिलो पटक मोफसलमा गरेको महोत्सव उत्साहवद्र्धक दर्शक सहभागिताका साथ सकिएको हो ।

अन्तिम दिनको अन्तिम शोमा देखाइएको ‘केरमेट सपना’ उज्ज्वल शर्मा भण्डारीले निर्देशन गरेका हुन् । हास्यप्रधान नाटकले दर्शकलाई हँसाउँदै गम्भीर विषयवस्तुतिर लैजान्थ्यो । अभावै अभावबीच जीवन गुजार्न बाध्य मजदुरहरूको पीडा नाटकले उजागर गरेको थियो । लाल श्रेष्ठको लेखन रहेको नाटकमा राम थोकर, कुमार शाह, प्रलय चौलागाईं, लक्ष्मण थोकर, दीपज्योति थापा, साजन कुमार, लालबहादुर पौडेलले खेलेका थिए ।

पहिलो सत्रमा भने आरोहण गुरुकुल विराटनगरको प्रस्तुति ‘महादेवको सपना’ मञ्चन गरिएको थियो । प्रवीण खतिवडा निर्देशित नाटकले मिथकीय प्रस्तुति थियो । खेतीपानीमा लिप्त किसान र पृथ्वी घुम्दै हिँडेका महादेवबीचको रोचक बाजीलाई नाटकले प्रस्तुत गरेको थियो । किसान र महादेवको बाजीमा अथक मेहनतका कारण किसानले जित्छ र महादेवले हार्छन् । मेहनतको अगाडि भगवान्को पनि केही जोड चल्दैन भन्ने सन्देश बोकेको नाटकमा मिलन नेपाली, सुनीता घिमिरे, प्रयाग न्यौपाने, ममता महर्जन, मुकेश कर्ण, राजेश ठकुर, अंकिता विश्वास, रिया बुढाथोकी, भरत कार्की, विकास पराजुली, अशोक गौतमले खेलेका थिए ।

पाँचदिने महोत्सवमा विभिन्न नाट्य समूहका तर्फबाट नौ नाटक मञ्चन गरिएका थिए । ‘खुसी यसकारण लागिरहेको छ कि मोफसलमा पनि नाट्य जागरण आएछ,’ समापन समारोहमा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले भने, ‘मुलुककै लागि यो ठूलो उपलब्धि हो ।’

प्रकाशित : जेष्ठ ३१, २०७३ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?